coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जानी राखौँ

वर्षा शर्मा

हरियो सागपात र तरकारी हाम्रो जीवनका लागि अति आवश्यक खाना हो । यसमा हामीले भिटामिन, प्रोटिनजस्ता पोषक तत्वहरु पाउँछौँ । यसको नियमित सेवनले आँखाको शक्ति कम हुनबाट बच्छौँ, आइरनयुक्त तरकारी खानाले एनोमिया हुँदैन । शरीर सन्तुलित रहन्छ । ज्वरो आउने, टाउको दुख्ने, माइग्रेनको दुखाइ आदिबाट बचिन्छ  । रङ्गीचङ्गी तरकारीहरू जस्तो चुकन्दर, मुला, परवल, भेडे खुर्सानी, भिण्डी, कर्कलो, चम्सुर आदि सेवन गर्नाले भिटामिन, प्रोटिन,  मिनरल्स आदि पाइन्छ र यसले रोगसँग लड्ने क्षमता विकास गर्छ । यसले शरीरको उचित विकास पनि गराउँछ । हरियो सागसब्जी त हाम्रालागि अति आवश्यक खान्कीमध्ये पर्छ । झन् बालबालिकाको विकासका लागि पनि यसको महत्वपूर्ण भूमिका छ ।
स्वस्थ जीवन जो–कोहीलाई पनि मनपर्छ । स्वस्थ जीवनका लागि पौष्टिक तत्वयुक्त खान्कीबाट आउँछ । उसो भए आवश्यक पौष्टिक तत्व पाइने हरिया सागसब्जी तथा तरकारी कसरी चिन्ने ? धेरैलाई थाहा नहुन सक्छ । म तरकारी विशेषज्ञ त होइन तर वर्षौंदेखिको मेरो भान्साको अनुभवले केही कुरा त अवश्य बताउन सक्छु ।
हामीले भान्सामा तरकारी किन्नुपर्दा केही कुरामा ध्यान दिन सक्यौँ भने तपाईंले भान्साको खान्कीमा पोषण पनि थपिरहनु भएको हुन्छ ।
काउली
काउली किन्दा कस्सिएको, सफा र सेतो अनि त्यसमा दाग नलागेको किन्नु पर्छ । काउली हामीलाई मात्र मन नपरी किरा फट्याङ्ग्रालाई पनि मन पर्ने हुनाले काउली किन्नुअघि नियालेर हेरी किन्नु पर्छ ।
रामतोरिया (भिन्डी)
भिन्डीसमेत भनेर चिनिने रामतोरिया किन्दा टुप्पो भाँच्दा पिटिक्कै भाँचियो भने नरम भएको तत्कालै बुझ्नुहुन्छ । यस्तै नरम खालको छान्नु पर्छ । भाँच्दा सजिलै नभाँच्चिने भिन्डीतर्फ आँखा नलगाएकै राम्रो, चाहे त्यो हेर्दा जतिसुकै राम्रो किन नहोस् । साथै, सानो–सानो गाडा हरियो रङको छान्नु पर्छ । गिलो खालको छान्नु हुँदैन । गिलो रामतोरिया बासी हुन सक्छ ।
काँक्रो
काँक्रो किन्दा गाढा हरियो तथा तुलनात्मक रुपमा गरुङ्गो किन्नु पर्छ । कुनै–कुनै सेतो तथा पहेँलो पनि राम्रो हुन्छ । हल्का गिलो किन्नु हुँदैन । यस्तो तीतो पनि हुनसक्छ । धेरै पहेँलो पनि किन्नु हुँदैन ।

गाँजर

गाँजर किन्दा धेरै नरम र मोटो नकिन्ने मध्यम आकारको, लामो, पातलो र गर्मीमा भए सुन्तला रङको छान्नु राम्रो हुन्छ । जाडो याममा भने अलिअलि रातो रङको गाँजर किन्नुपर्छ ।
बन्दाकोभी
बन्दाकोभी किन्दा अलि गरुङ्गो, हल्का रङको पात भित्रपट्टि फर्केको, पातमा कुनै दाग नलागेको, बाहिर प्वाल परेको हुनुहुँदैन वा कुहिएको हुनुहुँदैन साथै पहेँलो रङको पात भएको कहिले पनि किन्नु हुँदैन ।
साग
 कुनै पनि साग किन्दा ओइलिएको, पहेँलो भइसकेको साथै भिजेकोजस्तो लाग्ने अनि पात छुट्ट्याउँदा पनि नछुट्टिने खालको साग किन्नु हुँदैन । हरियो, लहराएको पात छुट्ट्याउँदा सरक्क छुट्टिने खालको किन्नु पर्छ ।

आलु
तरकारीमा आलु हामीलाई नभई नहुने चिज हो । यो बच्चादेखि बूढासम्मका सबैलाई जसरी पकाएर दिए पनि मनपर्ने तरकारी हो । आलु किन्दा ठिक्क साइज हल्का खैरो, नउम्रेको, गिलो नभएको साथै डल्लाडुल्ली नपरेको लिनुपर्छ । नयाँ आलु छ भने हल्का माटो लागेको हुनसक्छ । आलुको थुप्रो लगाएर राख्नु हुँदैन । छिटै पकाएर खाइहाल्नु पर्छ ।               
गोलभेंडा
गोलभेंडा किन्दा रातो र साह्रो खालको किन्नुपर्छ । दाग वा प्वाल परेको नरम खालको किन्नु हुँदैन । स्थानीय गोलभेंडा किन्नु छ भने हल्का पहेँलो रातो र सानो आकारको लिँदा राम्रो हुन्छ । जसबाट हामीले अमिलोअमिलो तरकारी र पोलेर निकालेपछि पिसी चटनी बनाउन सक्छौँ । यसको स्वाद तिख्खर हुन्छ ।

लसुन प्याज
लसुन र प्याजलाई पृथ्वीको सञ्जिवनी बुटी भनिन्छ । यसले हाम्रो स्वास्थ्यलाई धेरै नै राम्रो प्रभाव पार्छ । यो  किन्दा पनि ठूलो साइज सफा कडा सजिलैसँग बोक्रा निस्कने लसुन भए सेतो रङको प्याज प्याजी र हल्का गुलाबी रङको हुनुपर्छ । दाग लागेको कालो खालको किन्नु हुँदैन ।
भन्टा
भन्टा किन्दा गाढा प्याजी र हरियो प्वाल नभएको साथै छुँदा कस्सिएको हुनुपर्छ ।


विशेष ध्यान दिनुपर्ने कुरा
—    तरकारी किन्दा जहिले पनि सिजन अनुसारको किन्नु पर्छ ।
—    सधैँ ताजा तरकारी किन्नु पर्छ ।
—    तरकारी भेट्ना र पात ताजा छ कि छैन भन्ने हेर्नुपर्छ ।
—    यदि आदि बिग्रेको छ भने त्यसलाई काटेर नबिग्रेको पनि किन्नु हुँदैन ।
—    जरा सुकेको छ भने हामीलाई एक हप्तासम्म फ्रिजमा राखेर खान सक्छौँ ।
—    बजारबाट आधा काटेको तरकारी नकिन्ने, जस्तै पाकेको फर्सी लौका आदि  ।

प्रकाशित: ९ आश्विन २०७४ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App