८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस खुम्चिँदै, मधेस केन्द्रित दल प्रभाव बढाउँदै

काठमाडौं- तेस्रो चरणको स्थानीय तह निर्वाचनमा मधेस केन्द्रित दलहरू उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो प्रभाव र पकड कायम गरेका छन् । ती मधेस केन्द्रित दलले वर्चस्व कायम गर्दा प्रदेश नम्बर २ मा परम्परागत शक्ति मानिँदै आएको कांग्रेसको स्थिति कमजोर हुँदै गएको तथ्यांकले देखाएको छ ।
 

सदरमुकाममा कांग्रेस कमजोर
बढी जनसंख्या भएका सदरमुकाम र महेन्द्र राजमार्गको आसपासमात्रै होइन, भित्री मधेसका सहरमा कांग्रेसको पकड गुमेको मतपरिणामले देखाएको छ । प्रंदेश २ का ८ जिल्लाका सदरमुकाममा कांग्रेसले अहिलेसम्म मलगंवामा मात्रै विजय हासिल गरेको छ । कांग्रेसको प्रभाव रहेको मानिएका जिल्ला सदरमुकामहरू जनकपुर, जलेश्वर र गौरमा राजपाले विजय प्राप्त गरेको छ भने सिरहामा संघीय फोरमले जित हासिल गरेको छ । मतगणना जारी रहेका पर्साको वीरगन्ज र सप्तरीको राजविराजमा कांग्रेसले अरू दललाई पछ्याउँदैछ ।  

रौतहटको गौरमा उम्मेदवार नै उठाउन नसकेको कांग्रेस बाराको कलैयामा प्रतिस्पर्धामा आउन सकेन । गौरमा उम्मेदवार नै नदिएका कांग्रेसले संघीय फोरम नेपालसँग कार्यगत एकताको घोषणा ग¥यो तर फराकिलो अन्तरले गौरमा तेस्रो स्थानमा सीमित भयो ।
कलैयामा पनि कांग्रेस प्रतिस्पर्धामा आउन सकेको छैन ।  त्यहाँ एमाले र संघीय फोरमबीच प्रतिस्पर्धा जारी छ । प्रदेश २ को सम्भावित राजधानी जनकपुरमा स्थानीय तहमध्येमा नै सबैभन्दा बढी करिब १० हजार मतले कांग्रेस पराजित हुन पुग्यो, त्यहाँ राजपाका लालकिशोर साहले अत्यधिक मतअन्तरले विजय प्राप्त गरे ।
कांग्रेसको गढ मानिएको सिरहामा कांग्रेस दुई तहमा सीमितमात्रै भएन, पहिलोपटक सदरमुकाम सिरहाबाट पकडसमेत गुमायो । संघीय फोरमले मेयर जितेको सो स्थानमा उपमेयरमा भने एमाले आएको छ । महोत्तरी सदरमुकाम जलेश्वरमा पनि राजपाले नै जित हासिल ग¥यो । सप्तरीको राजविराजमा कांग्रेस निकटतम प्रतिस्पर्धी हुन सकेको छैन । तर, यसअघि स्वतन्त्रले जित्दै आएको मंलगवामा कांग्रेसले पहिलोपटक मेयर जितेको छ ।
 

उपमहानगरमा नि प्रतिस्पर्धी भएन
पर्सा सदरमुकामसमेत रहेको प्रदेशका एकमात्र महानगर वीरगन्जमा कांग्रेस प्रतिस्पर्धामा देखिए पनि तीन उपमहानगरपालिकामध्ये कलैया र सिमरामा प्रतिस्पर्धीसमेत हुन सकेन । जनकपुरमा फराकिलो अन्तरले पराजित हुन पुग्यो । ७ सय ५३ स्थानय तहमध्ये सबैभन्दा बढी अन्तरले हारजित भएको यो तह बन्न पुग्यो ।
पूर्वपश्चिम राजमार्गका नगरपालिकामध्ये बाराको निजगढ, रौतहटको चन्द्रपुर र सप्तरीको शम्भुनाथमा कांग्रेसले जितेको छ । यी ठाउँलाई क्षेत्रलाई एमाले–माओवादीको पकड क्षेत्र मानिँदै आएको थियो ।
 

मधेस केन्द्रित दलको सदरमुकाममा धमाका
मधेस केन्द्रित दलमध्ये राजपा र अन्यमा संघीय फोरमले मात्रै ५१ तहमा सानदार जित हासिल गरेका छन् । ती दलले सदरमुकाममा पहिलोपटक बलियो उपस्थितिमात्रै देखाएनन्, बढी जनसंख्या भएका मधेसका विभिन्न तहमा बलियो पकड जमाउन सफल भए । सबैभन्दा बढी ७ स्थानमा जित हासिल गरेर राजपा महोत्तरीमा पहिलो पार्टी भयो । अन्य, ८ जिल्लामा पनि ती दलको उल्लेख्य र प्रभावशाली उपस्थिति देखियो ।
 

संघीय फोरमभन्दा राजपा कमजोर
पछिल्लो मधेस आन्दोलनको लिगेसी आफूसँग रहेको दाबी गर्ने राजपा सिरहा र पर्सामा भने एक सिट पनि ल्याउन सकेन । संघीय फोरमले भने सबै जिल्लामा पकड जमाउन सफल भएको छ । स्थानीय तहको परिणामले संघीय फोरम र राजपालाई ‘रिकभर’ हुने मौका दिएको छ ।
 

एमाले दुई जिल्लामा शून्य
एमाले यो प्रदेशका दुई जिल्लामा शून्यमा छ । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा एक तहमा पनि जित हासिल गर्न सकेन । गौर र चन्द्रपुरमा प्रतिस्पर्धामा देखापरे पनि सिंगो जिल्लामा आधा दर्जन पनि वडाध्यक्ष जित्न सकेन । गत संविधानसभा चुनावमा एमाले २ स्थानमा जित हासिल गरेको थियो ।
एमालेले महोत्तरीमा पनि तहको नेतृत्व गर्न नपाउने भएको छ । संविधानसभा चुनावमा जलेश्वर रहेको क्षेत्रसहित २ स्थानमा विजयी हुन सफल भएको थियो ।

माओवादी सप्तरीमा शून्य
गत संविधानसभा चुनावमा तीन स्थानवाट विजयी भएको माओवादी केन्द्र सप्तरीमा शून्य तहमा समेटिए पनि सिरहामा ५ तह जितेर पहिलो पार्टी हुन सफल भएको छ । सिरहा र सर्लाहीमा राम्रै उपस्थिति देखाएको माओवादी माओवादी चौथौ स्थानमा आएको छ ।
 

राप्रपा र राप्रपा प्रजातान्त्रिक शुन्य
कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक शून्य तहमा समेटिएका छन् । पहिलो र दोस्रो चरणमा विजयी भए तापनि यी पार्टी तेस्रो चरणको चुनावमा प्रतिस्पर्धामा समेत आउन सकेनन् ।

साना दलको विजयी
संसद्भित्र रहेका साना दलमध्ये बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र हरिचरण साह नेतृत्वको नेपाली जनता दलले एक–एक तहमा जितेका छन् । पर्सामा नेपाली जनता दलले विजयी हासिल गरेको हो । सो दलका चुनाव चिह्न लिएर लडेको अर्को दल संघीय समाजवादी पार्टी नेपालले पनि एक तहमा विजय हासिल गरेको छ । पर्सामा विजयी हासिल गरेको यो दल संसद्भित्र छैन ।

प्रकाशित: १० आश्विन २०७४ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App