८ वैशाख २०८१ शनिबार
कला

दसैंका गीतमा पीडा

काठमाडौं- दसैं आयो
खाउँला पिउँला
कहाँ पाउँला
चोरी ल्याउँला
धत्त पापी म त छुट्टै बसौंला

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो । तर, अहिले यो गीत विरलै सुनिन्छ । संगीत र प्रविधिमा आएको परिवर्तनले दशैं र तिहारका गीतमा माया पिरती, दुःख, व्यथाका भावले स्थान पाएका छन् । दशैंमा रमाइलो गर्ने पुस्ता मरुभूमिमा श्रम गर्न गएपछि गायक संगीतकारले पनि उनीहरूकै भावनालाई प्रतिनिधित्व गर्ने गरी गीत तयार गर्ने गरेका छन् । त्यसैले आजभोलिका दसैं गीतमा उमंगभन्दा पीडा नै ज्यादा झल्कने गरेको पाइन्छ । ज्योतिप्रकाश विकले रचना गरेको तलको गीत यस्तै भावना समेट्ने प्रतिनिधि गीत हो ।
यो दसैंमा पनि म त घर आउने भइन
साथीसंगी सायद मेरो कर्ममा नै छैन

विदेशिएको छोराले दसैंमा घर परिवारको सम्झना गर्दै गरेको विलौना यो गीतमा छ । ‘धेरै नेपाली युवा यतिबेला खाडीमा दुःख गरिरहेका छन्,’ गायक तथा गीतकार ज्योतिप्रकाश विक भन्छन्, ‘उनीहरूका लागि दसैं एउटा बिझाउने घाउ नै बन्छ । त्यसैले त्यस्तै गीत गाएँ ।’
चालीस लाख बढी युवा वैदेशिक रोजगारीमा रहँदा उनीहरूले पठाउने रेमिट्यान्सबाटै नेपालमा रहेका परिवारले दसैं मनाउँछन् । तर, विदेशमा रहेकाहरू दसैंमा एक्लो महसुस गर्छन् । गाउँघर साथीसंगीको याद अनि विगतका दसैंमा परिवारसँग गरिएका रमाइलो नै उनीहरूको मन बुझाउने साथी बन्ने गरेका छन् ।
‘मेरो परदेशी मायालुको खबर आएन’ बोलको पुस्कल शर्मा र पूर्णकला विसीले गाएको गीतले पनि परदेशीकै पीडा बोल्छ ।
भन्छेउ आमा, रोएनी रोइछैनौ
था’छ तिम्रो साथ कोइछैन
खालीखुट्टा गर्दैछु छौ कि गामवेशी पाखा

एउटा छोराले दसैंमा आमाको दुःख सम्झदै पशुपति शर्माले दसैं गीतमा नेपाली आमाको पीडा पोखेका छन् ।
बसेकी छु तिमीलाई नै कुरी
परदेशीको मन कति निष्ठुरी

विष्णु माझी र ऋषि खड्काको स्वरको गीतले पनि दसैं परदेशिएका र उनका परिवारका लागि झझल्को मात्र हुने औंल्याएको छ ।
आउँछु भनु था’छैन आउने दिन
आउन्न भनौ क्यारी मन दुखाउने

जय देवकोटाले पनि विदेशिएपछि दसैंमा घर फर्किन नपाएको पीडा नै ओकलेका छन् । कुलेन्द्र विक र देवी घर्तीले पनि ‘यो दुःखीलाई के दसैं के तिहार’ भन्दै गीतमा दसैं मनाउन नपाउँदाको पीडा ओकलेका छन् ।
‘दसैं आयो, यसपाली त आउनुस न ए हजुर’ भन्दै शान्ति सुनार र भगिरथ चलाउनेले  पनि  परदेशकै पीडा दसैं गीतमार्फत् दर्शक स्रोतामाझ ल्याएका छन् ।  राजु परियार र जमुना रानाले ‘यसपालि म आउँदैछु घर’ भनेर पीडाका गीतभन्दा विपरित केही सान्त्वना दिने प्रयास गरेका छन् । उनले झैं ‘होला गाउँघरमा रम्म र झम्म म पनि त आउँदैछु दसैको दिनसम्म’ भनेर पूर्णकला विसी र अमितबाबु रोकायाले पनि आशा देखाएका छन् ।
अरुबेलाभन्दा कम गीत रेकर्ड गराएकी गायिका पूर्णकला विसी देशका युवाहरू परदेशिएकाले पनि दसैंमा यस्तै भावका गीत बढी आएको बताउँछिन् । परदेशमा बस्नुको पीडा परदेशीले गीत वा एल्बम निकालेर पोख्ने कारणले पनि दसैंमा यस्ता भावको गीतको बाहुल्य रहेको उनको अनुमान छ ।
‘विदेशमा बस्नेले पनि दसैं तिहारका गीतमा लगानी गर्ने र लेख्ने चलन बढेको छ,’ उनले भनिन्, ‘आफ्नै पीडा गीतमा बढी पोख्छ्न । हामीले पनि उहाँहरूलाई नै लक्ष्य गर्दै गीत गाउने गरेका छौं ।’
एल्बमको बजार सकिएर कलाकारको आम्दानी स्टेज कार्यक्रममा खुम्चिएपछि गायक गायिकाको सिर्जना पनि स्टेज लक्षित भएको छ । ‘स्टेज कार्यक्रममा पनि कलाकारले कमाउने भनेको विदेशबाट नै हो । कलाकार पनि यही दसैंको बेला विदेशतिरै हुन्छन् । उताका श्रोताले पनि यस्तै गीत सुन्न चाहन्छन् । त्यही भएर पनि उमंगभन्दा दुःखका गीत बढी आएका हुन्,’ खरेलले भनिन् ।

प्रकाशित: १० आश्विन २०७४ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App