विजयादशमीको महत्व

मङ्गलबार, १० असोज २०७४, १२ : १८ कमलप्रसाद आचार्य


विजया दशमी अथवा बडादसैँ पर्व समस्त हिन्दूहरू तथा नेपालीहरूको अत्यन्तै विशिष्ट पर्व हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा तिथिसम्म पन्ध्र दिनसम्म मनाइने यस पर्वभित्र हाम्रा विविध सामाजिक, धार्मिक र सांस्कृतिक पक्ष समाहित छन् । खासगरी नारी महाशक्तिका रूपमा प्रख्यात विविध देवी स्वरूपहरूको विशेष पूजा अर्चना र आराधनासहित मनाइने यस पर्वलाई शक्ति आराधनाको विशेष पर्वका रूपमा लिइन्छ । अनेकौँ असुरहरूको विनाश गर्ने आठ हात भएकी सिंहबाहिनी प्रख्यात देवीलाई दुर्गा भनिन्छ । दुर्गा आदिशक्तिकी द्योतक हुन् । दुर्ग नामक राक्षसको वध गरेकीले यिनको नाम दुर्गा रहन गएको पाइन्छ । शक्तिको प्रतीक यिनै देवीका नौ वटा विविध स्वरूपहरूको नौ दिनसम्म पूजा अर्चना गर्ने कार्य आश्विन शुक्ल प्रतिपदादेखि नवमी तिथिसम्म गरिन्छ । यसरी नौ दिनसम्म लगातार भगवती दुर्गाकै विविध स्वरूपहरूको पूजा अर्चना गरिने भएकोले बडादसैँ पर्वलाई दुर्गाेत्सव पर्वका रूपमा पनि लिइन्छ ।
     खासगरी दुर्गा माताहरूको अर्चना गर्दै मनाइने यो दुर्गाेत्सव पर्व क्रमैसँग भगवती दुर्गाका विविधस्वरूप अन्तर्गत पर्ने शैलपुत्री ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्द माता, कात्यायिनी, कालरात्रि, महागौरी र सिद्घिदात्री गरी जम्मा नौवटी शक्तिस्वरूपीणी देवीहरूको विशेष व्रत, पूजा र उत्सव आदि गरी मनाइने गरिन्छ । यसरी आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म जम्मा नौ दिन भगवती दुर्गाका विविध स्वरूपहरूको आराधना गर्दै मनाइने यो पर्वलाई नवरात्रि पनि भनिन्छ । माथि वर्णित सबै देवी स्वरूपहरू भगवान् शिवकी अर्धांगिनी देवी पार्वतीसँग सम्बन्धित छन् । देवी पार्वतीलाई शिवाशक्तिका रूपमा लिइन्छ । शिवाशक्ति भनेको कल्याणदायिनी शक्ति हो । आफ्नो वा आफूले प्राप्त गरेको शक्ति लोककल्याणको दिशामा परिचालित गर्न सकेमा नै स्वशक्तिको सही सदुपयोग हुनुका साथै आफ्नोसमेत कल्याण हुन्छ ।
    यस विपरीत आफूले प्राप्त गरेको स्वशक्ति अकल्याणकारी मार्गमा ल्याएमा त्यस्तो शक्ति क्रमशः निस्तेज हुँदै स्वयंमा आफूलाई नै निस्तेज तुल्याउँछ । त्यसैले हामीले कहिल्यै पनि स्वशक्तिको दुरुपयोग गर्नु हुँदैन । आफूलाई दुष्कर्मको दिशातर्फ धकेल्नु हुँदैन । यसबाट नै स्वच्छ र कल्याणकारी समाजको निर्माण हुन्छ । जसले ईश्वरीय शक्तिप्रति सधैँ आस्थावान् रहेर उपयुक्त तथ्यलाई मनन गर्छ त्यस्तो व्यक्तिबाट दुष्कर्म हुनै सक्तैन । ईश्वरीय शक्तिप्रतिको आस्थाबाट नै मानवको शरीर र मन दुवैको स्थिति सही दिशामा परिचालित हुनपुग्छ । यसकै माध्यमबाट मानवले आफैँमा आत्मसुधार र आफ्नो आत्मविकास पनि गर्न सक्छ । यसले नै मानवलाई विवेकशील र दूरदर्शी तुल्याउँछ । यस विपरीत दिशामा परिचालित भएर ईश्वरीय शक्तिप्रति अनास्था गर्ने आफ्नो लाभलाई मात्र महत्व दिने अरूका अर्ती उपदेशलाई मनन नगर्ने आफ्नो शक्तिमा अहंकार गर्ने लोभमा परी अनेकौँ किसिमका अकर्म गर्न प्रवृत्त हुने, आफ्ना भुलहरू सुधार्न नचाहेर र एकपछि अर्को भूल गर्दै जाने र नास्तिक भावना भएको मानवको भविष्य अन्धकारमय हुन पुग्छ भन्ने तथ्यमा बडादसैँं पर्वले महत्वपूर्ण प्रकाश पार्दै आएको पाइन्छ ।
     हामी शक्तिको मातले उन्मत्त हुन पुगेको अहंकारी व्यक्तिलाई असुर भन्छौँ । यस्ता असुरहरूमा हिंस्रक प्रवृत्ति पाइन्छ । ंिहंस्रक प्रवृत्तिको विकास मानवमा भयो भने मानवले जस्तोसुकै नीच कर्म पनि गर्न पछि पर्दैन । सुर शब्दले देवतालाई बुझाउँछ । शक्ति र बुद्घिको सही प्रयोग सुरमा रहेको मानवले नै गर्न सक्तछ । यसरी मानवले आफ्नो कर्मका माध्यमबाट नै आफूलाई सुर वा असुरका रूपमा समाजमा परिभाषित गर्छ । उसको कर्मले नै उसलाई सुर वा असुरका रूपमा समाजमा परिभाषित गर्ने गर्छ । हाम्रो समाजमा कसैलाई देवताजस्तो मानव र कसैलाई राक्षसजस्तो मानवका रूपमा चर्चा गर्ने गरिएको पनि पाइन्छ । यस्तो चर्चामा उसको सत्कर्म अथवा दुष्कर्म नै जिम्मेवार रही आएको हुन्छ । जसले आफ्नोसमेत कुनै पर्वाह नगरी आफूलाई लोककल्याणकारी दिशामा समर्पित गर्छ । त्यसलाई सज्जन अथवा देवतासमान र जसले विभिन्न किसिमका विध्वंश मच्चाएर लोकको अहित गर्छ त्यसलाई नै दुष्ट वा राक्षससमान मान्ने गरिन्छ ।
       उपर्युक्त तथ्यलाई पुष्टि गर्न हामी बलिरहेको दियोको प्रकाशलाई अगाडि सार्न सक्छौँ । बलिरहेको दियोको प्रकाशमा असीमित महिमाहरू अन्तर्निहित छन् । हामी बलिरहेको दियोको प्रकाशमा रातिसमेत ईश्वरको पूजा गर्न सक्छौँ, लेखपढ गर्न सक्छौँ । आफूलाई आवश्यक पर्ने खानेकुरा तयार गर्ने कार्यमा पनि प्रकाशले हामीलाई सहयोग गरिरहेको हुन्छ । यस विपरीत त्यही दियोको प्रकाशलाई कसैले चोरी गर्ने, लुटपाट गर्ने काममा पनि उपभोग गर्न सक्छन् । पहिलोमा सत्कर्मको उद्देश्य समाहित छ भने दोस्रोमा दुष्कर्मको । ईश्वरीय शक्तिमा पनि त्यस्तै किसिमको प्रकाश पाइन्छ । यो प्रकाशमा शक्तिका साथै बुद्घिको सही र विवेकपूर्ण प्रयोगको उद्देश्य समाहित छ । दियोको प्रकाशलाई सही कर्मका लागि प्रयोग गर्ने कि दृष्कर्मका लागि प्रयोग गर्ने भन्ने कुरा मानवको मन र मस्तिष्कमा नै निर्भर हुन्छ । तर यो निश्चित छ कि जुन मानवले जस्तो कर्म गर्छ, त्यस्तै कर्मफल भोग्नबाट भने ऊ किमार्थ वञ्चित हुन सक्तैन ।
    यस किसिमको प्रकाश प्रत्येक ईश्वरीय उत्पत्ति र उनीहरूका लीलामा पनि पाइन्छ । आधा शक्तिकी प्रतीक भगवती दुर्गाका विविध देवीस्वरूपहरूको उत्पत्ति र कार्यमा पनि यही प्रकाश अन्तर्निहित गुणलाई सही किसिमले मनन गर्न सकेमा मात्र मानवले आफू पनि बाँच र अरूलाई पनि बाँच्न देऊ भन्ने मानवीय मूल्य र महत्वको सिद्घान्तभित्र अन्तर्निहित प्रकाशलाई आफ्नो जीवनमा परिभाषित गर्नसक्छ । यस्तो मानवबाट नै सही अर्थमा मानवीय सभ्यताको विकासमा सहयोग पुग्नसक्छ । उपर्युक्त शाश्वत सत्यलाई मनन गर्दा बडादसैँ पर्वमा विभिन्न शक्तिपीठहरूमा पुगेर विविध देवी स्वरूपहरूको पूजा उपासना गर्नुमा आफूलाई लोकल्याणकारी मार्गमा लाग्ने शक्ति प्राप्त होस् भन्ने रहेको देखिन्छ । राजनीति दलका नेताहरूका लागि यो अति जरुरी र सान्दर्भिक छ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...