coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नोट नपुगेर भुक्तानी रोकियो

इलाम- नेपाल बैंक लिमिटेडको सदरमुकामस्थित शाखामा नोट अभाव भएको छ । चाडबाडको मुखमा एकैपटक धेरै रकम भुक्तानी गर्नुपर्दा ५ सय र हजार रुपैयाँ दरका नोट नै अभाव भएको बैंकले जनाएको छ।

नोट अभाव भएपछि शाखाले १० लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिन नसकेको प्रबन्धक मोहन निरौलाले बताए । ‘हिजो (सोमबार) नोट नपुगेर ५५ लाख र २५ लाख  हाराहारीका दुई भुक्तानी रोक्न बाध्य भयौं,’ उनले भने, ‘एकैजनालाई ठूलो भुक्तानी दिँदा दसैंको मुखमा धेरैजनालाई सानो भुक्तानी दिन समस्या पर्ने देखिएकाले भुक्तानी रोक्नुपर्ने अवस्था आएको हो ।’ उनले दसैंअघि मंगलबारसम्म बैंक खुल्ने जनाए ।

            साताअघिसम्म सामान्य रहेको भुक्तानी एकाएक चुलिएपछि नोट अभाव भएको हो। दसैं–तिहारको मुखमा बैंकले एकैदिनमा ११ करोड रुपैयाँसम्म भुक्तानी गरेको छ । बैंकले बिहीबारदेखि सोमबारसम्म मात्रै ५४ करोड रुपैयाँ भुक्तानी गरेको प्रबन्धक निरौलाले बताए। ‘गत बुधबार आएको नोट सोमबारसम्ममा गइसक्यो,’ उनले भने, ‘अब २ करोड हाराहारी मात्रै बाँकी रहेकाले दसैंअघि सानो भुक्तानी मात्रै गर्न सक्ने अवस्थामा छौं ।’ कर्मचारीको तलब–भत्ता, ठूला ठेक्काको रकमलगायतको यहीबेला भुक्तानी गर्नुपरेकाले नोट अभाव भएको उनले जनाए।

            दसैं–तिहारका लागि खुद्रा नोट भने योपटक अभाव नभएको बैंकले जनाएको छ । करिब ४ हजार २ सयजनालाई ४ हजार रुपैयाँका दरले १ करोड ६८ लाख रुपैयाँभन्दा बढीको खुद्रा नोट वितरण गरिएको उनले जनाए । योपटक ५ र १० का नोट कम आएकाले २०, ५० र सयका नोट वितरण गरिएको थियो । ‘यो वर्ष खुद्रा नोट चाहिँ अभाव भएको खासै गुनासो आएन,’ निरौलाले भने । बैंकले असोज २ देखि खुद्रा नोट सटही गरेको थियो । सदरमुकामका दर्जन हाराहारी निजी बैंकलाई पनि नेपाल बैंकले १० लाख रुपैयाँका दरले खुद्रा नोट दिएको थियो । निजी बैंकले पनि सर्वसाधारणलाई खुद्रा नोट वितरण गरेका थिए ।

प्रकाशित: १० आश्विन २०७४ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App