६ वैशाख २०८१ बिहीबार
अन्य

मचिदैनन् दसैंमा पीङ

वसन्तपुरका मनिल शाक्य दसैं नजिकिएसँगै खुसीले गद्गद् हुन्थे । उनको खुसी हुनुको कारणमध्ये एक थियो–पीङ । उनी आफ्नो टोलमा हालिने पीङमा घण्टौं लाम बसेर खेल्ने दर्गथे । ‘दसैं भनेकै पीङ जस्तो लाग्थ्यो मलाई,’ उनले भने, ‘खाने, ल्याउने त जहिल्यै हुन्छ । पीङचाँही दसैंमा मात्रै खेल्न पाइन्छ ।’ त्यसैले त घण्टौं पालो कुरेर पीङ खेलिथेँ उनी ।

तर, अहिले उनको टोलमा दसैंमा पीङको कोलहल मच्चिदैन् । ‘सररर...चाचा हुइइइइ’ शब्द गुञ्जिदैन् । उमेरले सात दशकका शाक्यलाई पीङ खेल्ने सोकचाँही अझै छ । 

उसो त एक गाउँदेखि अर्को गाउँसम्म पुग्ने सररर...चाचा हुइइइइ चिचावटले चाडपर्वको झल्कोसँगै बेग्लै उत्साह समेत थप्छ । जसले शाक्य जस्ता हरेको मनमा छुट्टै भाव पैद गराइदिन्छ ।

टोलटोलमै हालिने पीङमा युवायुवती मात्रै नभएर बालक, वृद्ध समेत झुम्न्छन् । दसैं मनाउन आफ्नो गाउँ टोल आएकाको भेट हुने माध्यम बनिदिन्छ पीङ । निधारमा रातो टिका अनि कानमा पँहेलो जमरा लगाएर पीङमा मच्चिनेहरुको चित्कारले कम्ता उमंग ल्याउँदैन् । 

तर, खै र ? आजकाल यस्तो देख्न पाउनु । न पहिलाको जस्तो जताततै पीङ हालिन्छ । न त पीङमा झुम्नेहरुको जमात नै धेरै हुन्छ । ‘दसै तिहारको मनोरम मौसम । मनसुने बादल कपास झै फाट्दै गएर निलो देखिएको आकाश । उस्तै बेगमा चल्ने चीसो हावा । त्यही हावासँगै पीङको लठ्ठो (डोरी) समाएर उड्दा कम्ता मज्जा आउँदैन्,’ युवा संस्कृतिविद्ध ओम धौबडेल भन्छन्, ‘तर, के गर्नु युवाहरुले यसलाई भुल्न थालिहाले ।’
वर्षमा एक पटक जमिन छोड्नपर्ने मान्यता रहेको छ । त्यसैले पनि दसैंबेला पीङ हालेर खेलिन्छ । दसैंमै पीङ हाल्नुको सन्र्दभचाँही प्रकृतीसँग जोडिएको संस्कृतिविद्ध धौबडेल बताउँछन् । ‘सरद ऋतुमा चल्ने हावाले शरिरलाइ उफ्रान मदत्त गर्दछ,’ उनले भने, ‘त्यसैले पनि दसैंबेला नै पीङ हाल्ने परम्परा रहेको छ ।’

नेपाली समाजमा पीङको सन्र्दभ जन्मिदै जोडिएर आउँछ । बालखा हुँदै कोक्रोमा हालेर हल्लाइन्छ बच्चालाई । त्यही बेलादेखि पीङ खेल्ने कसरत सुरु हुने उनी बताउँछन् । जन्मदेखि जोडिएको परम्परागत संस्कृतिलाई पीङलाई भुल्न थालेको प्रति भने उनी दुखित छन् । ‘पीङबाट लिने आनान्द बुझ्न सकेनौं हामीले,’ चिन्ता व्यक्त गर्दै उनले भने, ‘पहिला टोलटोलमा हालिने पीङ अहिले पीङ कता हालेको छ भनेर खोज्नुपर्दछ ।’
पीङ एक प्रकारको खेल हो । मनोरञ्जनात्म खेलको साधन पीङ मनोरञ्जनको साधन सबैको हातमा पुगेसँगै लोभ हुने अवस्थामा पुगेको बुझाई संस्कृतविद्ध पुरुषोत्तम लोचन श्रेष्ठको छ। 

‘हरेको हातमा मोवाइल, इन्टरनेट पुगेको छ,’ उनले भने, ‘पीङमा गएर झुम्नुको सट्टा मोवाइलमै झुम्न थाले पछिल्लो पुस्ता ।’ उनका अनुसार दुइ दशकअघिसम्म नेपाली सेनाले टुंडीखेलमा पीङ हालिदिने गर्दथ्यो दसैंबेलामा । त्यहाँ पीङ खेल्न आउनेको झुम्म निकै बाक्लो हुन्थ्यो । तर, अहिले न सेनाले पीङ हाल्छ । न युवापुस्ता पीङ हाल्न तात्छन् । सहरी क्षेत्रमा भने खाली ठाउँमा अभाव भएको कारणले पनि पीङ हाल्न समस्या भएको छ।

उनका अनुसार ३० वर्ष पहिलाको तुलनामा अहिले २० प्रतिशत पनि पीङ हालिदैन् । ‘टोलटोलमा हालेको पीङले ठूलै रौनक दिन्थ्यो,’ उनले भने, ‘हामीले परम्परा र संस्कृतीलाई भुल्दै गएपछि पीङमा हुने रौनक पनि गुमाउँदै गएका छौं । पहिलाको तुलनामा अहिले हालेको पीङ त कतिपनि होइन् ।’ सामाजिक जीवन तथा संस्कृतीको अभिन्न अंग पीङलाई बचाउएर राख्नुपर्ने उनको बुझाई छ ।

गाउँघरमा समेत पीङ पहिलाको जस्तो बाक्लो नहुने गरेको ओखलढुंगाका ६३ वर्षिय टिकाराम कार्की बताउँछन् । ‘गाउँघरमा अहिले युवाको संख्या निकै कम छ,’ उनले भने, ‘युवाहरु जति विदेश गएपछि त्यसको असर चार्डपर्वमा तथा संस्कृतीम समेत देखिने रहेछ ।’ उनका अनुसार पहिला गाउँघरका मान्छेहरु भेला भएर पीङ खेल्ने तथा पीङमै नाचगान गर्दथे । तर, अहिले यस्ता गतिविध गाउँमा पनि लोभ हुन थालेको उनले सुनाए ।
कार्की पनि पीङका पारखी हुन् । पीङ खेल्दाको मज्जा छुट्टै हुने बताउँदै उनले भने, ‘पीङ हालौं, खेलौं जस्तो त लाग्छ नै । तर, के गर्नु पीङ हाल्न चाहिने जनशक्ति नै गाउँमा हुँदैन् ।’ आफ्नै गाउँ तथा टोलमा नहाले पनि अर्को कुनै गाउँमा हालेमा त्यहाँ गएर भएपनि पीङ खेल्ने गरेको उनले सुनाए । तर, गाउँमा पीङ नहालेपछि दसैं आए जस्तो नै नहुने अनुभव उनको छ । ‘पीङ हाल्दा गाउँमा जती रौनक हुन्छ नि,’ उनले अनुभव सुनाए, ‘त्यती रौनक पीङ नहुँदा हुँदैन् ।’ दसैंतिहारको महत्व मध्ये पीङ पनि एक रहेको बुझाई उनको छ।

बाँसको लिंगे पीङ र काठको रोटे पीङ गरी सामान्यतय दुई प्रकारका हुन्छन् । प्रचलनमा बढीचाँही लिंगे पीङ नै छ । कता कता रोटे पीङ पनि प्रचलनमा छ । 

दसैं आएसँगै बाँस ल्याएर पीङ हाल्दाको जमात खुबै रमाइलो हुने बुझाई संस्कृतविद्ध धौबडेलको छ । तर पीङ हाल्न जोशजाँगरसँगै प्राविधिक ज्ञान र व्यावहारिक सीप चाहिने उनी बताउँछन् ।
 

कसरी हाल्ने लिंगे पीङ
लिंगे पीङ हाल्न ४ वटा बाँस चाहिन्छ । बाँसलाई बलियोसँग गाडेर सक्दो निहुर्याउँदै दुई जोडीमा जोल्ट््याएर बलियोसँग बाँध्नुपर्छ । प्रत्येक जोडी बाँस टाँड परेको कापमा अडिने गरी गरालो तेर्साउनुपर्छ । गरालोले बाँसको ‘क्रस’लाई जोड्छ । गरालो काठ वा बाँस नै प्रयोग गर्न पनि सकिन्छ । गरालोको दुबैतिर लठारो (मोटो डोरी) बाँधिन्छ । लठारो बाबियोको घाँसबाट बाटिन्छ । पछिल्लो समयमा जुटबाट पनि लठारो बनाएको पाउँछौं । लठारो मोटो बनाउनुपर्छ । 
 

कसरी खेल्ने
पीङको विकास वनमान्छे हुँदैदेखि भएको मानिन्छ । वनमान्छेले आगोको आविष्कार गर्नुभन्दा पहिले नै पीङ खेल्ने प्रविधि जानेका थिए । जंगली लहरा, डोरी समाएर छलाङ मार्ने गरिन्थ्यो । लठारोको सबभन्दा तल जोडिएको काम्रोमा पैतालाले टेक्दै दुवै हातले दुवैतिरको लठारो समातेर उभिनुपर्दछ । पीङमा खेल्न बलको पनि आवश्ता पर्दछ । शुरुमा पीङ खुट्टा हालेपछि धकेलिनुपर्छ । त्यसपछि बल प्रयोग गरेर मचिनुपर्दछ । जती मच्चियो, त्यती हुकिन्छ पीङ । विस्तारै उठबस गरेर मच्चाउँदै–मच्चाउँदै धेरै माथिसम्म पुग्न सकिन्छ । पीङ खेल्नको लागि अनुभव, साहस र बलमा पनि भर पर्दछ । शारीरिक व्यायामको दृष्टिले पीङ खेल्नु उत्तम मानिन्छ।

मानसिक दृष्टिले पीङ खेल्दा प्राप्त हुने आनन्द बेग्लै हुन्छ । आफ्नै गाउँ, आफ्नै परिवार र आफ्नै परिवेशमा पीङ खेल्ने अवसर पाउनले पनि दसैंको महत्व बढाउने जानकाहरु बताउँछन् ।

(नागरिक परिवारबाट साभार)
 

प्रकाशित: १३ आश्विन २०७४ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App