धुपुको च्युरा मिल र दशैँका पुराना सम्झना

शुक्रबार, १३ असोज २०७४, १६ : ५४ रमेशकुमार पौडेल


दशैंसँगै चैत्र बैशाख देखिको गर्मी र असार देखिकोे वर्षा लगभग अन्त्य हुन्छ। त्यसैले यो पर्व असोज या कात्तिकका केही दिन रमाइलो गर्ने मेसो मात्रै होइन। ऋतुको एउटा चक्र पार गरेर अर्को चरणमा प्रवेश गरेको संकेत पनि हो। एकै खालको मौसमले दिक्दारी, हैरानी बनाएको हुन सक्छ। दशैंले हामीलाई त्यो आलस्यबाट मुक्त गराएर भिन्न परिवेशमा लैजान्छ। तर दशैंले यस्तो पनि गर्छ र भन्ने प्रश्न उब्जने बेला आइसकेको छ। किन कि दशैं पहिले पहिलेको जस्तो भएन भन्नेहरु अलि अलि हैन प्रशस्नै हुन थालेका छन्। 

अघिल्लो महिना पूर्वी पहाड संखुवासभाको धुपु गाउँ पुग्दा ‘पुक पुक पुक’ गर्दै डिजेल इन्जिन बाला अन्न कुटाउने पिसाउने मिल चलेको आवाज सुनियो। धुपुमा विजुली नपुगेको होइन। तर कामको चाप बढ्यो रे। बिजुली आउने र जाने गरेर हैरानै पार्दो रहेछ। दशैँको लागि पिठो पिस्न, तेल पेल्न, धान कुटाउन र चिउरा कुटाउन मिलमा भिड लागेको थियो। खेतमा भर्खर पाकेको नयाँ धानको चिउरा कुटाउनेहरु प्रशस्तै थिए। मिलको कामदारलाई धान भुट्न र घान हाल्न भ्याइ नभ्याइ थियो।

नयाँ धानको च्युरा स्वादिलो मात्रै होइन छुट्टै खालको हर्र बास्ना आउने पनि हुन्छ। स्वाट्ट एक फ्वाक मुखमा हालियो। मिलको त्यो पुक पुक आवाज, सुगन्धिन स्वादिलो च्युरा र मिलको भिडभाडले मलाई पुरानो दशैंको सम्झना गरायो। हो त दशैं आउँदा पहिला पहिला हामी पनि यसै त गर्दथ्यौं। नारायणगढदेखि १२ किलो मिटर पश्चिम नवलपरासीको मुकुन्दपुर भैसाखोरीमा थियो हाम्रो घर। राजमार्गदेखि लगभग तीन सय मिटर पर रहेको हाम्रो घरभन्दा लगभग पाँच सय मिटर पर उत्तरमा डाँडा काँडासहितको घना जंगल थियो।

घरदेखि दक्षिणमा नारायणी नदी थियो। नदी घरदेखि निकै पर त्यस्तै एक ढेड किलो मिटर तल थियो होला। तर वर्षायाममा नदी गडगडाउँदा घरसम्मै प्रष्ट आवाज आउँथ्यो। नदीको त्यो आवाज जब कम हुन्थ्यो, उत्तर तर्फको जंगलको हरियाली झनै गाढा हुन्थ्यो तब बाबा भन्नु हुन्थ्यो लौ दशैं आउने बेला भयो। यसो त्यसो मेसो मेलो मिलाउनु पर्ने भो। खेतका आलीहरुमा भट्ट र मास हुर्केका हुन्थे, गह्राका धान पहेलो हुन थाल्थे। चिउराका लागि भनेर एकाध गह्रामा चाडै पाक्ने धान रोपिएको हुन्थ्यो। त्यो धान छिप्पिनु भनेको दशैंको तयारी सुरु गर्नु पर्ने समय आयो भन्ने सन्देश झै हुन्थ्यो।

धान काटेर, एकरात भिजाएपछि मात्रै मिल लैजाने गरिन्थ्यो । चामल कुट्ने, पिठो पिस्ने मिल त घर नजिकै थिए तर च्युरा मिल थियो घरदेखि लगभग तीन किलो मिटर टाढा बेल्डिहा भन्ने ठाउँमा । बिहानै नगए मिलमा चाडै पालो आउँदैन थियो । बिहानै फेरि गाडी नपाउने समस्या थियो । त्यसैले हिँडेरै पार गर्नु पर्दथ्यो त्यो दुरी। बेल्डिहामा शुक्रबारे हाट लाग्थ्यो। सरसमानहरु पनि किन्नु पर्ने भएका कारण च्युरा कुट्ने दिन पनि प्राय शुक्रबार नै जुर्दथ्यो । तर जति नै चाडो गरेर गए पनि मिलमा कुट्ने पोका पुन्तुराहरुको लामो लाइन लागि सकेको हुन्थ्यो। चिउरा कुट्ने, तेल पेल्ने र हाट बजारमा समान किन्ने । यी तीन काम फत्तै गर्दा लगभग साँझ पर्दथ्यो । हामी भोक मार्न त्यही कुट्दै गरेका च्युरोहरु यस्सो झिकेर मुखमा हाल्थ्यौं । 

अरुकै घानको च्युरा खाए पनि खासै रिसाउँदैन थिए। किन कि बिहानदेखि पालो कुरेको केटो भोकाएको छ भन्ने उनीहरुले बुझिसक्थे। चिउरा कुटेर फर्कदा पनि उही गाडी नपाउने समस्या थियो। हिँड्दै घर आउँदा झमक्क साँझ परेकै हुन्थ्यो । थकित भएर आएका बेलामा ताजा च्युरा दुधमा भिजाएर खाँदा जुन स्वाद आउँथ्यो त्यो अहिले कहाँ पाउने।

जब दशैं आउँथ्यो, भारतबाट लाहुरेहरु रेडियो बजाउँदै गाउँ पस्थे। काँधमा बेडिङ र गुन्टा कसेका लाहुरेले घरमा भारी बिसाएपछि सवैभन्दा पहिला साना केटाकेटीलाई नै चकलेट बाँड्थे । गाउँको शिरानमा रहेको देवि मन्दिरमा घटस्थापनादेखि सुरु हुने दुर्गा पुजा, फूलपाती भित्राउँदाको तामझाममा केटा केटी बुढाबुढी सवै भुलेका हुन्थे।

तेल च्युराको मेसो सकिएपछि घर लिपपोतको काम सुरु हुन्थ्यो। रातो माटो र कमेरो खोज्न जंगल छिर्नेहरुले गाउँने गीतमा पनि दशैंका उमंगहरु नै मिसिएका हुन्थे। कुनै केमिकलयुक्त पेन्ट नपुगेको ठाउँमा माटोको लिपपोतले नै घर चिटिक्क पर्दथे। चुना र गेरु जस्ता बजारिया रंगहरुसमेत आवश्यक थिएनन्। भित्तामा राम्रा चित्र कोरेर रंगाउने चलन थियो । तँभन्दा म के कम भने झै भित्तामा राम्रा चित्र बनाएर टर्च लाइट र रेडियोमा प्रयोग हुने पुराना ब्याट्रिको कालोले रंगाउने काम हुन्थ्यो। 

जब दशैं आउँथ्यो, भारतबाट लाहुरेहरु रेडियो बजाउँदै गाउँ पस्थे। काँधमा बेडिङ र गुन्टा कसेका लाहुरेले घरमा भारी बिसाएपछि सवैभन्दा पहिला साना केटाकेटीलाई नै चकलेट बाँड्थे । गाउँको शिरानमा रहेको देवि मन्दिरमा घटस्थापनादेखि सुरु हुने दुर्गा पुजा, फूलपाती भित्राउँदाको तामझाममा केटा केटी बुढाबुढी सवै भुलेका हुन्थे। जंगलबाट कमेरो र रातो माटो मात्रै आउँदैन थियो। पिङ हाल्ने लिंगा र बाबियो काट्न बलिया ठिटाहरु कस्सिएर जंगलभित्र टाढा टाढासम्म पुग्थे। लिंगो गाड्ने र बाबियोको डोरी बाँट्ने कामले पनि दशैंको सुसन्देश टोल टोलमा पुर्‍याउथ्यो। च्युरा कुटाउने धान मात्रै होइन काँक्रा र केरा पनि घर मै तयार हुन्थे । खसी बोका पनि खोज्दै टाँढा हिँड्नु पर्दैन थियो । 

यी पो हुन पुराना दशैँका रंग र उमंगहरु। जहाँ एका प्रकारको छुट्टै सुगन्ध पनि मिसिएको हुन्छ। नारायणगढ बजारमै आएर बस्दा पनि मेरो घर नारायणी नदीभन्दा मुश्किलले पाँच सय मिटर पर छ। तर गाउँमा जस्तो वर्खामा नारायणी गडगडाएको स्वर खासै सुनिदैन यो घरमा । सहरको कोहलाहलमा बिलाएको छ नदीको स्वर। र नदीको स्वर झै हराएको छ दशैंको रंग र उमंग पनि। 

हो दशैं लागेपछि पहिला जस्तो भिडभाड अहिले पनि हुन्छ। किनमेल अहिले पनि चल्छ तर पैसाले किनेको च्युरामा खेतको नयाँ धानको च्युराको जस्तो स्वाद र वासना पटक्कै छैन । हो बजारमा देश विदेशका स्तरीय पेन्टहरु आएका छन्। घर रंगाउने रंगका बजारमा अनेकन दोकानहरु छन् । तर जंगलमा सेतो कमेरो र रातो माटो खोज्न जाँदाको जस्तो सुरिलो गीत रंग किन्न जाँदा पसलमा कहाँ सुन्न पाउनु। 

खेतै भए पनि दशैंका लागि भन्दै अगौटे घान रोपेर च्युरा कुट्न मिलमा लैजाने फुर्सद छैन सहरमा। साच्चै सहरमा त च्युरा मिल पनि बन्द हुँदै पो छन् रे। वास्तावमा साना साना कुराले नै दशैंमा रंग, सुगन्ध र उमंग थप्दो रहेछ । ती चीजहरु अहिले बजारको कोहलाहलमा बिलाएका छन्। बजारको आवाजमा सिंगो नारायणी नदीको गडगडाहट त बिलाउँदो रहेछ भने दशैंको उमंग हराउनु के ठुलो कुरो भयो र। 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन...

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा...

विप्लवको ‘अभिजित’

कवि तथा गीतकारका रूपमा परिचित विप्लव प्रतीक उपन्यासकारको रूपमा पाठक माझ आउने भएका छन् । ‘अविजित’ शीर्षकको उपन्यास कात्तिक ११...

कल्पना जयन्ती, तथ्य स्मृति

कल्पना जयन्ती, तथ्य स्मृति

आज धार्मिकहरूका लागि लक्ष्मीपूजा मात्र होइन, साहित्यिकहरूका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पनि हो । वर्षाैंदेखि हामी देवकोटालाई आजका दिन...