८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेसँग तालमेल गर्ने माओवादी केन्द्रको निर्णय, दाहाल नेतृत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं- नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो। यसअघि नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बाम एकता खाँचो रहेको भन्दै तालमेल गर्ने निर्णय गरेको थियो।

चुनावी तालमेलका लागि माओवादीले अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति बनाएको छ। समितिमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहनेछन्। समितिले गरेको निर्णय नै मान्य हुने माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिलो चरणअन्तर्गत एमालेसँग चुनावी तालमेल गर्न लागेको बताए। 'पहिलो प्रयासमा एमालेसँग चुनावी तालमेल गर्न लागेका हौं। हाम्रो लक्ष्य भने पार्टी एकीकरण नै हो,' श्रेष्ठले नागरिकन्युजसँग भने।

उच्चस्तरीय समितिले एमालेसँग चरणबद्ध छलफल गर्ने उनले बताए। स्रोतका अनुसार चुनावी तालमेलका लागि दुबै पार्टीबाट सहमतिका ड्राफ्टसमेत तयार भएको छ। दुबै पार्टीका शीर्ष नेताहरुले ड्राफ्टलाई अन्तिम रुप दिएर सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको स्रोतले बतायो।

प्रकाशित: १७ आश्विन २०७४ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App