आस्थाले अडिएका गन्तव्य

मङ्गलबार, १७ असोज २०७४, १० : ४६ भीम चापागाईं


वर्षायामको उखर्माउलो गर्मी छल्दै चिसो खान होस् वा हिउँदको मुटु छेड्ने चिसोमा न्यानो खोज्न, तराईका बासिन्दाको रोजाइमा पर्छ इलाम । इलामको नाम सुन्नेबित्तिकै जिल्लाबाहिरका नर–नारीलाई चियैचियाले ढाकिएका थुम्काले ढाकिएको पहाडको झल्को आउनु स्वभाविक हो । तर, आन्तरिक पर्यटकको ठूलो हिस्सालाई चाहिँ यहाँका महत्वपूर्ण धार्मिकस्थल र शक्तिपीठले लोभ्याइरहेका छन् ।  माइपोखरी, गजुरमुखी, पाथीभरा, माइस्थान, नारायणस्थान, भीमसेनस्थान, माङ्सेबुङ, मिक्लाचोङ, सेतीदेवी, सिंहवाहिनी, माईको उद्गमस्थल, माई र पुवामाई नदीजस्ता धार्मिकस्थलले बर्सेनि हजारौँलाई आकर्षण गरिरहेका छन् । यहाँका किरात धार्मिकस्थल र बौद्धगुम्बाले भने नेपालका मात्र होइन, विश्वभरकै श्रद्धालु आफूतिर तान्नसमेत भ्याइसकेका छन् ।
धार्मिकस्थलप्रति प्रगाढ आस्थावान् नर–नारी साता–पन्ध्र दिनसम्म धाएर आउँछन् इलाम । जीवनसुख, सन्तानसुख र दिवंगत पितापुर्खालाई तार्ने मात्र होइन, आफूमा शारीरिक तथा मानसिक स्फूर्ति बढ्ने विश्वासले पनि धार्मिक क्षेत्रमा हजारौंको भीड लाग्नेगरेको छ । धार्मिक स्थलहरूमा पूजाआजा, श्राद्ध गर्ने, परेवा उडाउनेजस्ता भाकल पु¥याउने जिल्लाबासीको संख्या धेरै छ । जिल्लाभित्र मात्रै होइन, देश–विदेशबाट समेत यहाँका धार्मिकस्थलमा आउनेको संख्या कम छैन । उनीहरू शक्तिपीठको दर्शन गर्नुका साथै धर्मग्रन्थ, दर्शन र ज्ञानबारे जानकारी लिन पनि धार्मिकस्थल आइरहेका छन् ।
माङ्सेबुङ गाउँपालिकामा रहेको धार्मिकस्थल लारुम्बा विश्वभरका किरात धर्मावलम्बीका लागि आस्थाको केन्द्र बनेको छ । आफ्नो संस्कार नै मानिने मदिरा, पशुहत्या, हिंसा, पशुबलिजस्ता विकृति हटाउने सफल प्रयास गरेको लारुम्बा विश्वभर चर्चित मात्र छैन, जिल्लाबासीकै लागि पनि अनौठो छ । किरात समुदायको यो धार्मिकस्थलमा जाँड, रक्सी, चुरोट, खैनी, सुर्ती, मासुजस्ता स्वास्थ्यलाई हानी गर्ने कुनै वस्तु खान–पिउन पाइँदैन । त्यतिमात्र होइन, धर्मगुरु आत्मानन्द लिङ्देनको आश्रमस्थल वरपरको करिब डेढ किलोमिटरभित्र मासुका लागि पशुपक्षी पाल्नसमेत वर्जित छ । स्थानीयले आफ्नो धार्मिकस्थलप्रतिको आस्थामाथि सम्मान गर्दै यो आचारसंहिता पालन गरेका छन् ।
यहाँका घरैपिच्छे कुनै महत्वपूर्ण चुनावमा आफ्नो प्रचारप्रसारका लागि राखिएझैं राता, सेता र पहेँला झन्डा गाडिएका छन् । प्रत्येक घरका आँगनमा तीनवटा बाँसका लिंगामा सूर्यअंकित अर्को ध्वजा पनि छ । सबै किराँती समुदायका घरमा यो झन्डा अनिवार्यजस्तै छ । भौगोलिक रूपले निकै विकट छ लारुम्बा । इलाम सदरमुकामबाट भन्दा झापाको दमकबाट यहाँसम्म पुग्न नजिक (१३ किलोमिटर) पर्छ । वर्षामा रतुवाखोलामा बाढी आउँदा दमक र इलाम सदरमुकामसँग लारुम्बाको यातायात सम्बन्ध टुट्छ । हिउँदमा भने हजारौँको संख्याका श्रद्धालु र पर्यटक ल्यान्डरोभर गाडी चढेर लारुम्बा पुग्छन् ।
प्रत्येक मंसिर १८ मा गुरु आत्मानन्द लिङ्देनको जन्मदिनमा विशेष समारोह नै आयोजना गरिन्छ । अनि, समारोहको उद्घाटन गर्न आइपुग्छन्, देशका कार्यकारी प्रमुखहरू । जन्मोत्सव समारोहको उद्घाटन अहिलेसम्म राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीले गरेका छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली र पूर्वसभामुख सुवासचन्द नेम्बाङलगायतका महŒवपूर्ण व्यक्ति यस्तो अवसरमा लारुम्बा आइसकेका छन् । जन्मोत्सव समारोहमा राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि, प्रशासन प्रमुखहरू र सञ्चारकर्मीसमेतलाई निम्तो दिइन्छ ।
    यहाँ आयोजना गरिने विशेष समारोहहरूमा महिला, पुरुष र बालबालिका सबै सेतो पहिरनमा सजिन्छन् । उँधौली अर्थात् मंसिरे पूर्णिमामा गुरु आत्मानन्द लिङ्देनबाट आशीवर्चन लिनु यहाँको संस्कार हो । नेपालमात्र नभई भारत, भुटान, बंगालदेश, श्रीलङ्का, चीन, हङकङजस्ता मुलुकबाट यहाँ धर्मावलम्बी आउँछन् । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपस्या गरी मन्दिर स्थापना गरेको ठाउँ भएकाले पनि यो स्थल निकै महत्वको मानिन्छ । आपसी प्रेम, मित्रता, शान्ति र बूढापाकादेखि बालबच्चासम्मले संगठित रूपमा धर्मको पालना गरेको उदाहरणीयस्थल हो लारुम्बा । स्थानीय शिक्षक नन्द नेम्बाङ भन्छन्, ‘लारुम्बा इलाम मात्र नभई विश्वको एक गहना हो, जसले मानवलाई अनुशासन, नियम र धर्मप्रतिको आस्था सिकाएको छ ।’ उनी धर्मभित्रको विकृति हटाउने उदाहरणका रूपमा पनि लारुम्बालाई लिन्छन् ।
    जैविक विविधताले भरिपूर्ण माइपोखरी (उचाई २ हजार १ सय २१ मिटर) प्राकृतिक मात्र होइन, आफैँमा धार्मिकस्थल नै हो । हिन्दु, बौद्ध, किरातलगायत सबै धर्मावलम्बीले माइपोखरीलाई आ–आफ्नो आस्थाको केन्द्र मान्छन् । ९ कुनामा फैलिएको माइपोखरीका प्रत्येक कुनाको आ–आफ्नै महत्व र विशेषता रहेको माइपोखरी मन्दिरका पुजारी तुलाराम पौड्याल बताउँछन् । ‘प्रत्येक कुनामा बेग्लाबेग्लै महत्वका लागि पूजापाठ गरिन्छ,’ उनी भन्छन्, ‘ऐतिहासिक र पौराणिक हिसाबले माइपोखरी रहस्यपूर्ण धार्मिकस्थल मानिन्छ ।’
पहाडको चुचुरोमा रहेको माइपोखरीमा परापूर्वकालमा देवीदेवताले देशका बेग्लाबेग्लै ९ धार्मिक पोखरीको पानी ल्याएर मिसाएकाले माइपोखरी दर्शन गर्दा तीन ९ वटै पोखरी पुगेको विश्वास गरिन्छ । माइपोखरीको नजिकै ९ हेक्टरमा फैलिएको धार्मिक वन छ । कोणधारी धुपी–सल्लासहित दुर्लभ गलैंचे झ्याउ पाइनु माइपोखरीको विशेषता हो । वनमा हिन्दु, किरात धर्मावलम्बीका लागि मन्दिर र गुम्बा छन् । बर्सेनि हजारौं श्रद्धालु आउँछन्, पूजापाठ र दर्शन गर्छन् । २०६९ सालमा माइपोखरीमा पानी घट्दा सबै धर्मावलम्बी मिलेर संयुक्त रूपमा पूजापाठसमेत गरेका थिए ।
जिल्ला र जिल्लाबाहिरका हजारौं पर्यटकको भीड लाग्ने माइपोखरी रामसार क्षेत्रमा समेत सूचीकृत छ । रामसार क्षेत्र घोषणा भएपछि माइपोखरीप्रतिको धार्मिक आस्था पनि अझ उचाईमा पुगेको पुजारी पौड्याल बताउँछन् । ‘जैविक विविधता अवलोकन र अध्ययन गर्न आउने जोकोही मन्दिर आउँछन्, दर्शन गर्छन् र फर्किन्छन्,’ उनी भन्छन्, ‘देशका उच्चपदस्थ अधिकारी मात्र होइन, डाक्टर, वैज्ञानिक, प्राध्यापकलगायत पनि मन्दिरमा दर्शन गर्न आउँदा मन्दिरप्रतिको आस्था अझ प्रगाढ हुँदैछ ।’   
श्रद्धालुको अत्यन्त भीड लाग्ने अर्काे धार्मिकस्थल हो पाथीभरा मन्दिर । रोङ गाउँपालिकामा पर्ने पाथीभरा मन्दिर मेची राजमार्गबाट नजिकै रहेकाले पनि भक्तजनको जमघट यहाँ बढी हुने गरेको छ । ताप्लेजुङको पाथीभरा मन्दिर जान असमर्थहरूका लागि इलामकै पाथीभरा काफी मानिन्छ । ताप्लेजुङको पाथीभरा ‘दिदी’ र इलामको पाथीभरा ‘बहिनी’का रूपमा परिचित छन् । जंगलभित्र चिसो र अग्लो भूभागमा पर्ने भएकाले पाथीभराको महिमा अझ बढेको छ ।
प्रत्येक मंगलबार र शनिबार विशेषगरी तराईबाट आउने भक्तजनको भीड लाग्छ यहाँ । इलाममा पर्यटक भित्रिने मुख्य द्वार झापा–इलामको सीमा जोरकलशभन्दा नजिकै परेकाले पनि पाथीभरा पुग्न हम्मेसी कोही छुटाउँदैनन् । कन्याम आउने पर्यटक नजिकैको पाथीभरा मन्दिर पुग्छन् । यहाँ पूजापाठ गर्नेको संख्या बाह्रैमास उस्तै रहन्छ । पाथीभरा मन्दिरका पुजारी श्याम गजुरेल भन्छन्, ‘कहिलेकाहीं त यहाँ आउने भक्तजति सबैलाई टीका लगाइदिनसमेत भ्याइँदैन ।’ यहाँ मन्दिर छ । मन्दिरमा विभिन्न देवीदेवताका मूर्ति छन् । हिन्दु धर्मप्रति अगाध आस्था राख्ने जिल्लाबासी कुनै न कुनैबेला पाथीभरा मन्दिर पुगेर दर्शन गर्न छुटाउँदैनन् ।
सन्दकपुर गाउँपालिका–४ माबुमा रहेको कार्थाेक नामग्यालिङ गुम्बा बौद्ध धर्मावलम्बीका लागि दक्षिण एसियामै प्रख्यात छ । नेपालका विभिन्न स्थानसहित भारत, भुटान श्रीलंका, बंगलादेश, कोरिया, ताइवानजस्ता देशमा बौद्धधर्म प्रचारका लागि जाने बौद्धगुरु उत्पादन गर्ने यो गुम्बामा पनि धर्मावलम्बीको जमघट निकै बाक्लो हुने गरेको छ । गुम्बामा ‘३ वर्ष ३ महिना ३ दिन ३ घन्टा ३ मिनेट ३ सेकेन्ड’ शिक्षा लिएपछि बौद्धगुरु उत्पादन गराइन्छ । गुम्बामा बौद्धशिक्षा लिउञ्जेल नङ, दारी, कपाललगायत काट्न नपाउने नियम छ ।
धार्मिक शिक्षा दिएर विश्वभर बौद्धधर्म विस्तार गर्न यहाँको गुम्बाले योगदान गरेको स्थानीय अगुवा उमेश गुरुङ बताउँछन् । करिब २५ वर्षअघि अमेरिकी एक संस्थाको सहयोगमा यहाँ बौद्धगुम्बा बनेको थियो । गुम्बामा प्रख्यात बौद्धमार्गी लामाहरूले प्रार्थना गर्ने र शिक्षादीक्षा दिने गरेका छन् । इलामै अग्लो डाँडो सन्दकपुर नजिकै पर्ने भएकाले त्यहाँ पुग्ने पर्यटकसमेत बौद्धगुम्बा दर्शन गर्न पुग्छन् । प्रत्येक बुद्धजयन्तीमा यहाँ ठूलो धार्मिक समारोह आयोजना गरिन्छ । ‘गुम्बाको दर्शन र यहाँ प्रार्थना गर्न विश्वभरका धर्मावलम्बी जम्मा हुने गरेका छन्,’ स्थानीय साङ्गे शेर्पाले भने, ‘गुम्बा पुग्दा हामीलाई नै बौद्ध धर्मावलम्बीको लुम्बिनी पुगेझैं लाग्छ । टाढा र विदेशमा बस्नेहरूका लागि त झन् कति चिज लाग्दो हो ।’
बौद्ध धर्मका अनुयायीले शिक्षा लिने अर्काे स्थान माइजोगमाई गाउँपालिकाको १ सय ३४ वर्ष पुरानो साङेछोलिङ गुम्बा पनि हो । १९४० सालमा स्थापित गुम्बाका प्रमुख पेम्बा लामाले यहाँ बौद्धमार्गी विद्यार्थीलाई पढाउने गरेको बताए । यहाँको पाठशालाका लागि जिल्ला शिक्षा कार्यालयले अनुदानसमेत दिएको छ । अहिले यहाँ ३० बौद्धमार्गी अध्ययनरत छन् । हिसेहोसेर सेरफ रडिलिङ प्राथमिक विद्यालयको नाममा विद्यार्थीलाई औपचारिक शिक्षा नै दिइन्छ । पाठशालामा नयाँबजार, जोगमाई, सोयाङलगायत गाउँका विद्यार्थी पढ्छन् । हिन्दुको गुरुकूल र बौद्धको गुम्बापाठशालामा भाषाबाहेक सबजसो विषय मिल्छन् पनि । ‘हिन्दुहरू गुरुकूलमा संस्कृत भाषामा पढाउँछन्, हामी पाली भाषामा । मूल फरक यत्ति हो,’ पेम्बाले भने ।
माङ्सेबुङ गाउँपालिकास्थित गजुरमुखीदेवीको मन्दिर पनि श्रद्धालुका लागि आकर्षणको केन्द्र हो । जिल्लाको पश्चिमी भू–भागमा पर्ने यो मन्दिरमा इलाम र जिल्लाबाहिरका श्रद्धालु आउँछन् । झापाबाट सोझै गजुरमुखीसम्म पुग्ने मोटरबाटोको सुविधा छ । यो सडक भएर झापासहित तराईका बासिन्दा इलाम सदरमुकाम नआई सोझै गजुरमुखीसम्म पुग्न सक्छन् । वर्षायाममा कच्ची सडकमा सवारी साधन चल्न गाह्रो भएपनि हिउँदमा गजुरमुखीधाम आउनेको भीड निकै बाक्लो हुन्छ ।
पर्यटकीय क्षेत्र सन्दकपुरसँगै रहेको माई नदीको उद्गमस्थल पनि सबै धर्मावलम्बीका लागि आस्थाको केन्द्र हो । जिल्लाकै अग्लो ३ हजार ६ सय ३६ मिटर उचाईमा रहेको यो स्थानमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउँछन् । सन्दकपुरको चुचुरोमै रहेको माईको उद्गमस्थलमा आएका श्रद्धालु यहाँ पूजापाठ र प्रार्थना गर्छन् । जिल्लाकै ठूलो र धार्मिकस्थल मानिने माई नदीको शिर भएकाले यहाँ हजारौं धर्मावलम्बीले सजाएका ध्वजापतका बाक्लै देखिन्छन् । स्थानीय शेर्पा च्यालेट होटलकी निमाफुटी शेर्पा भन्छिन्, ‘माई नदीको उद्गमस्थलमा हिन्दुमात्र होइन, सबै धर्मावलम्बी पुग्छन् र पूजाअर्चना गर्छन् ।’ सन्दकपुरमा पर्यटक टिकाउन यो धार्मिकस्लले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
प्रत्येक माघेसंक्रान्तिमा मेला लाग्ने माई, पुवामाई र जोगमाईको त्रिवेणीस्थित माइबेनीको शिवालयमा धर्मावलम्बीको भीड लाग्छ । माइबेनी मेला भर्न नेपालका मात्रै होइन, भारतको दार्जिलिङ, सिक्किम, मिरिक, सिलिगुडी, कालिम्पोङ र भुटानबाट समेत हजारौं दर्शनार्थी आउँछन् । प्रत्येक माघे संक्रान्तिका दिन जिल्लाका अरू मुख्य सहर सुनसान हुन्छन् । ती सहरका व्यापारी र उपभोक्ता सबै माइबेनी मेला झर्छन् ।
माइबेनीमा मकर नुहाउँदा मनोकांक्षा पूरा हुने विश्वास छ । नजिकै रहेको शिवालयमा सद्बीज छर्दा धर्म हुने विश्वासमा हरेक वर्ष दर्शनार्थीको घुइँचो लाग्छ । मकरसंक्रान्तिको दिन माइबेनीमा स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा छ । माइखोलामा भाकल गर्नेहरूले पनि त्यसैदिन परेवा उडाउँछन् । धर्मसिन्धुका अनुसार मकरसंक्रान्तिमा सूर्योदय हुनुपूर्वको नदीस्नान अझ उत्तम मानिन्छ । यस दिनको स्नानले कर्मसिद्धि हुने, आरोग्यता ल्याउने र छालासम्बन्धी रोगको निवारण हुने विश्वास गरिन्छ । मकरस्नानको सम्बन्ध शारीरिक शुद्धिका साथै चित्तशोधनसित पनि रहेको विश्वास छ । यसैले भक्तजन माघेसंक्रान्तिको अघिल्लै दिन माइबेनी पुगिसकेका हुन्छन् ।
१९२० सालतिर तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालामा माइबेनी मेला लाग्न सुरु भएको स्थानीय अग्रज बताउँछन् । पहिले महिना दिनसम्म लाग्ने मेला दुई साता, एकसाता हुँदै अहिले ३ दिनमा झरेको छ । इतिहासकार युद्धप्रसाद वैद्यले संकलन गरेको तथ्यअनुसार बडाहाकिम थापाकी पत्नी बदनकुमारी (राणा प्रधानमन्त्री जंगबहादुरकी छोरी) धर्मकर्मप्रति आस्थावान् भएकाले काठमाडौंमा माघेसंक्रान्तिमा मकर नुहाउँथिन् । मकर नुहाउने चलन भएको समाजमा हुर्किएकी बदनकुमारीले इलाममा माघेसंक्रान्तिका दिन मकर नुहाउन नपाउने भएर बडाहाकिमसँग विस्मात गरेपछि उनले माइबेनीको त्रिवेणीमा नुहाउन सल्लाह दिए ।
वैद्यको ‘सात भाइको डायरी’ अनुसार बडाहाकिम थापाले यहाँ मेला लगाउने निश्चय गरेपछि जिल्लाभरिका थरी–मुखियामा ‘आ–आफ्नो सातु–चामल लिइ मेला भर्न आउनू’ भन्ने पूर्जी काटियो । अनि गाउँघर टाढा–टाढाका मानिस पनि आफ्नो गाउँघरको बाजागाजासमेत लिएर मेला भर्न आउन थालेको इतिहास छ । इलाम तिल्केनीका लोकनाथ दाहाल, नरेन्द्रनाथ बाँस्तोला, इलाम सिङफ्रिङका रघुवीर बुढाथोकीलगायतको सक्रियतामा २००१ सालतिर यहाँको शिवालय निर्माण भएको इतिहास भेटिन्छ ।
सदरमुकाममा रहेका सिंहदेवी, नारायणस्थान, माइस्थान, भीमसेनस्थान मन्दिर र नजिकै चुरेघाँटीमा रहेको बौद्धगुम्बा पनि इलाममा पर्यटक पल्काउने धार्मिकस्थल हुन् । नजिकैको पुवाखोला आफैं धार्मिक क्षेत्र हो भने यहाँ रहेको सेतीदेवी मन्दिर सदरमुकामबासीले प्रार्थना गर्ने गन्तव्य हो । पुवाखोलामा नुहाउँदा छाला चिलाउने, लुतोजस्ता रोग निको हुने, शरीरमा स्फूति र जाँगर बढ्ने विश्वास छ । नयाँबजारमा हरेक बालचतुर्दशीमा धार्मिक मेला लाग्छ । यसदिन स्थानीय मन्दिरमा सद्बीज छर्ने चलन छ ।
इलाम भन्नेबित्तिकै पर्यटकीयस्थलको झल्को आउने पर्यटकले धार्मिकस्थललाई पनि निकै महत्वका साथ लिएको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली बताउँछन् । ‘इलाम थुम्का–थुम्कामा हराभरा चियाबारी, झुम्का–झुम्का अलैंची, अम्लिसो अनि नीलो आकाश र छ्यांग देखिने हिमालका लागि मात्रै होइन, मनैदेखि चिताएको इच्छा पूरा गराउने विश्वासका धार्मिकस्थलले पनि सुसज्जित छ,’ उनी भन्छन्, ‘जिल्लामा रहेको धार्मिक पर्यटनको सम्भावना खोजी गरिरहेका छौं ।’

(नागरिक परिवारबाट साभार)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...