१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

छक्कापञ्जा २ : एकसातामै ५ करोड

काठमाडौं – यो दसैंको फूलपातीदेखि हलमा भित्रिएको नेपाली फिल्म ‘छक्कापञ्जा २’ ले एकसातामै पाँचकरोड कमाइ गरेको निर्माण पक्षले दाबी गरेको छ । फुलपातीको दिन पहिलो दिनमै फिल्मले १ करोड ६३ लाख रुपैयाँका कमाइ गरी एक दिनको सर्वाधिक कमाइमा कीर्तिमान कायम गरेको निर्माता तथा निर्देशक दीपाश्री निरौलाले बताइन् । उनले वितरकको हवाला दिँदै कुनै पनि नेपाली फिल्मले यसअघि यति कमाइ नगरेको दाबी गरिन्। 

रिलिजको पहिलो दिन राजधानीमा फिल्मले झन्डै एक करोड व्यापार गर्न सफल भयो । मोफसलका हलबाट उसले झन्डै ६५ लाखको व्यापार गरेको थियो । दोस्रो दिन एक करोड ४५ लाखको कलेक्सन गरेको फिल्मले तेस्रो दिन पनि त्यही हाराहारीमा व्यापार गरेको थियो।

एकहप्ता बित्दैगर्दा पनि हाउसफुल रहेको ‘छक्कापञ्जा २’ ले यो अवधिमा ‘छक्का पञ्जा’ले एकमहिनामा गरेको व्यापार गरिसकेको छ । ‘त्यो बेला एकमहिनामा पाँच करोड कमाएको थियो अहिले एक हप्तामै त्यति व्यापार भएको खबर पाएका छौं,’ निर्देशक दिपाश्री निरौलाले भनिन्, ‘म त खुशीले झन् दोब्बर मोटाउँला जस्तो भैसक्यो ।’ पहिलो शृंखलाले १६ करोड व्यापार गरेर नेपाली फिल्ममा कीर्तिमानी राखेको थियो । निरौलाले  व्यापारको अनुपात यस्तै रहे दोस्रो शृंखलाले आफ्नै फिल्मको रेकर्ड तोड्ने  विश्वास व्यक्त गरिन् । ‘सय दिनको सोह्र करोड बीस दिनमा पुर्‍याउँछौ भनेर वितरकहरु भनिराछन्,’ निरौलाले थपिन, ‘विदेशमा जापान र अष्ट्रेलियातिर पनि चलेकाले आम्दानी पक्कै बढ्छ ।’
दर्शकको अपार मायाले हौसिएकी उनी दसैं अवधीभर हलमै बिताएको बताउँछिन् । ‘यो वर्ष टीका थिएन त्यसैले हलमै दर्शकमाझ फिल्म हेरें,’ उनले भनिन्े, ‘बुढाबुढी आमाबुबाहरू पनि निकै मन पराए।’

विदेश जाने मोह युवामा धेरै छ कस्ता कस्ता हस्तीहरू विदेशमै पलायन भएका छन् । जे जसरी जस्तो सपना पालेर विदेश गए पनि स्वदेशमै फर्कनुपर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ । विदेश जाने विभिन्न प्रक्रियामध्ये टिनएजरहरूले रूचाउने कागजी विवाहको प्रक्रिया कति खतरनाक हुन्छ भनेर कथानक हिसाबले देखाउन खोजिएको निरौलले दाबी गरिन् । ‘बाबुआमा मरेपछि देश फर्केर के काम उनीहरू जिउँदो हुँदै खुशी राख्नुपर्छ भनेर पनि देखाएका छौं’,निरौलाले सुनाइन्, ‘धेरै कलाकारलाई नअल्मल्याई जोड्न खोजेको छु।’

चितवनस्थित इन्द्रदेव र गणेश हलमा फिल्म फूलपातीदेखि नै हाउसफूल रहेको अवस्था छ । पहिलो दिन पहिलो सोमा टिक नपाउनेहरूले कुरेर रातीको सो हेरेको इन्द्रदेव सिनेमा हलका म्यानेजर हरि रेग्मीले बताए । विकासराज आचार्य र सामीप्यराज तिमल्सेनाको कथाले कन्सल्लटेन्सी मार्फत् विदेश जान खोज्ने युवामा आउने समस्यालाई प्रस्तुत गरेको छ ।   कथा राम्रो बुने पनि गीतमा भने आफू चुकेको फिल्म युनिटले स्वीकार गरेको छ । ‘नाइलनको सारी’लाई चोरीको आरोप लागेको थियो भने   पश्चिमे लयको ‘झ्याम्म झ्याम्म’ले समेत दर्शकको चित्त बुझाउन सकेको थिएन । त्यसो भए तापनि फिल्म चल्नुमा कथा र प्रस्तुतिलाई जस दिन चाहन्छन् निर्माता दिपकराज गिरी।

‘दर्शक हाँस्न चाहन्छन्,’ उनले भने, ‘तर हामीले यस पटक हाँसोसँगै एउटा मिसन फिल्ममा भरेका छौं ।’ पहिलो फिल्म जस्तो हाँसोको फोहरा नछुट्ने स्विकारेका दिपकले सन्देशमूलक बनाउन भने सफल रहेको बताए ।  कमेडीमा अनुशासनभित्र रहेर श्रृंगाररस घुसाउने प्रयत्न गरिएको दाबी उनले गरे । दसैंको मुख्यदिन गए पनि अझै हलमा फिल्मले पकड राखिरहेको उनी बताउँछन् । अब टीका लाउन पहाडघर पुगेकाले शहर र काम गर्ने थलो फर्केर पनि फिल्म हेर्ने भएकाले तिहारसम्म देशका ८० हल ‘छक्कापञ्जा २’ कै रहने दाबी उनले गरे।

‘आजदेखि बिदा सकियो तर हलमा दर्शकको चाप उस्तै छ,’ गिरीले बताए, ‘यो दर्शकलाई फिल्म मन परेको संकेत हो ।’
‘छक्का पञ्जा २’ मा दिपाश्री निरौलाको निर्देशन दोहोरिएको छ ।  फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, सरोज खनाल, केदार घिमिरे, स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, शिवहरी पौडेल, आयुश्मान देशराज, स्वरुपपुरुष ढकाल, किरण केसी, लक्ष्मी गिरी, बुद्धिमान तामाङ लगायतका कलाकारको भूमिका रहेको छ।

 

प्रकाशित: १८ आश्विन २०७४ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App