coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आरोहण प्रमाणपत्र रोक्का, आरोही दुःखी

हिमाल चढ्दै गरेका आरोही । तस्बिर सौजन्य : छाङदावा शेर्पा

काठमाडौं – वाह ! हिमाल चढाउने पेसा । नाम पनि, दाम पनि । हिमाल चढाउने आरोहीलाई धेरैले यसै भन्छन् । हिमालका चुनौतीसँग लड्ने साहस जुटाएर अरुलाई हिमाल चढाउँछन् उनीहरू । तर, उनीहरू आफ्नो कामप्रति सन्तुष्ट छैनन् । दुई वर्षयता सरकारबाट हिमाल चढेको प्रमाणपत्र नपाउँदा उनीहरू निराश भएर हिमाल चढिरहेका छन् ।
लाक्पा राङ्डु शेर्पाले गत वर्षको सिजनमा चार विदेशीलाई सगरमाथाको चुचुरो चुमाए । तीनलाई सरकारले सगरमाथा चढेको प्रमाणपत्र दियो । तर, लाक्पाले प्रमाणपत्र पाएनन् । ‘हाम्रो सहायताले हिमाल चढेका व्यक्तिले प्रमाणपत्र पाउँदा मैले भने पाइन,’ माउन्टेन गाइड लाक्पाले गुनासो गरे, ‘हिमाल चढ्ने पेसा भए पनि पैसाको लागि मात्रै हामी हिमाल चढ्दैनौं । यतिपटक हिमाल चढेको भनेर गर्व गर्न पनि हिमाल चढ्छौं । तर गर्व गर्ने आधार पनि छैन । सरकारले हामीलाई प्रमाणपत्र नै दिँदैन।’

यस्तो गुनासो लाक्पाको मात्र होइन, हिमाल चढाउने सबै आरोहीको हो । सगरमाथा आरोही संघका महासचिवसमेत रहेका लाक्पाका अनुसार हिमाल चढेका प्रमाणपत्र नपाउँदा अधिकांश आरोही निराश छन्।

सरकारले दुई वर्षअघिसम्म हिमाल चढाउने पेशामा रहेका र रोेयल्टी तिरेर हिमाल चढ्ने दुवै आरोहीलाई प्रमाणपत्र दिँदै आएको थियो । तर, सन् २०१२ देखि रोयल्टी तिरी अनुमति लिएका सफलल आरोहीलाई मात्र प्रमाणपत्र दिने व्यवस्था ग¥यो । तर, अनुमति लिएर आरोहणमा जानेलाई हिमाल चढाउने पेसाकर्मी आरोहीलाई भने प्रमाणपत्र दिने व्यवस्था सरकारले हटायो । अनुमति नलिई हिमालको चुचुरो पुग्नेलाई प्रमाणपत्र दिने कानुनमै उल्लेख नभएको भन्दै पर्यटन विभागले उक्त व्यवस्था हटाएपछि आरोही असन्तुष्ट भएका हुन्।

‘आरोहीले हिमाल चढेको प्रमाण जुटाएर ल्याउँछन् भने प्रमाणपत्र दिनुपर्छ,’ नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक संघका अध्यक्ष सुनारबहादुर गुरुङले भने, ‘अरूलाई हिमाल चढाएर देशलाई राजस्व उठाइदिने आरोहीले सरकारबाट प्रमाणपत्र बाहेक के नै पाउँछन् र ?’ चुचुरोमा पुगेको प्रमाणको लागि पनि सरकारले हिमाल चढाउने आरोहीलाई चुचुरोमा पुगेको प्रमाणपत्र दिनुपर्ने उनको भनाइ छ।

आरोही मिङ्मा शेर्पाका अनुसार हिमाल चढ्नु भनेको ज्यानका बाजी राख्नु हो । ज्यानको बाजी राखेर हिमाल चढ्दा पनि सरकारले प्रमाणपत्र नदिनु आरोहीप्रतिको घात हुने मिङ्माको धारणा छ । ‘हिमाल चढेर कमाउने पैसा अन्य पेशा अपनाएर पनि कमाउन सक्छन् आरोहीले,’ उनले भने, ‘आफूलाई साहसी देखाउनको साथै मैले यतिपटक फलानो हिमाल चढेको भनेर गर्व गर्न चढ्छन् । तर सरकारले आरोहीलाई भने बेवास्ता गरिरहेको छ ।’ उनका अनुसार हिमाल चढ्नु भनेको पद बढाउनु जस्तै हो । तर, बढेको पदको कुनै आधार सरकारले नदिँदा आरोही बेखुसी रहेका उनले बताए।

सेभेन समिट ट्रेक्सका सञ्चालक समेत रहेका मिङ्माले हिमाल चढ्न जाने बेला आरोहीले प्रमाणपत्र नपाएको गुनासो गर्दै आएका छन् । पिक प्रमोसन कम्पनीका निर्देशक आङबाबु शेर्पा पनि आरोही हिमाल चढ्न जान आनकानी गर्ने बताउँछन् । ‘हिमाल चढाउन जान अरोही पहिलाको जस्तो खुसी हुँदैनन्,’ आङबाबुले भने, ‘उनीहरूको गुनासो नै छ, ज्यानकै बाजी राखेर हिमाल चढ्दा पनि प्रमाणपत्र पाइँदैन ।’ आरोहीले आफ्नो प्रमाणपत्र देखाएर अन्य कम्पनीमा पनि रोजगारी पाउने हुँदा प्रमाणपत्र आवश्यक रहेको उनी बताउँछन्।

सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पा पनि हिमाल चढेको प्रमाण र जागिरको लागि प्रमाणपत्र दिनु आवश्यक रहेको बताउँछिन् । ‘एक कम्पनीबाट अर्को कम्पनीमा रोजगारको लागि जाँदा कुन, कुन हिमाल चढेको भनेर सोध्छन्,’ उनले भनिन्, ‘यो यो चढेँ भनेर आफूले भन्दा पत्याउँदैनन्, देखाउने प्रमाणपत्र हुँदैन ।’ त्यसैले संघबाट प्रमाणपत्रको लागि बारम्बार ताकेता गरिरहेको उनले बताइन् । ‘आरोहीको प्रमाणपत्रको लागि बारम्बार ताकेता गरिरहेका छौं,’ उनले भनिन्, ‘सधैं गर्छौं गर्छौं भन्छन् तर प्रमाणपत्र दिने व्यवस्था कहिल्यै थालेका हैनन्।’

मन्त्रालयमा फेरिइरहने मन्त्री र सचिवका कारण पनि प्रमाणपत्र दिने काममा ढिलाइ भएको उनको अनुमान छ । हिमाल आरोहणमा रोजगारी पाउन पनि सजिलो नभएको बताउँदै संघका महासचिव समेत रहेका माउन्टेन गाइड लाक्पा भन्छन्, ‘काम खोज्न गयो भने कुन–कुन हिमाल कतिपटक चढेको सोध्छन् । हामीले भन्दा पत्याउँदैनन् । प्रमाणपत्र नै देखाउनुपर्छ । सरकारले प्रमाणपत्र दिँदैन । के देखाउने ?’ उनी ११ पटक सगरमाथाको चुचुरो पुगिसकेका छन् । उनले १० पटक चुचुरो पुगेको प्रमाणपत्र पाए पनि ११ औं पटक पुग्दाको प्रमाणपत्र नपाउँदा ११ पटक चुचुरो पुगेको आधार नभएको गुनासो गरे।

पर्यटन विभागका अनुसार कानुनकै कारण प्रमाणपत्र रोकिएको हो । ‘आरोहणमा सहयोग गर्ने आरोहीलाई प्रमाणपत्र दिने कानुनमा उल्लेख छैन्,’ विभागका महानिर्देशक दिनेश भट्टराईले भने, ‘तर आरोहीलाई प्रमाणपत्र दिनुपर्छ भन्ने पक्षमै हामी छौं ।’ उनका अनुसार विभागले पर्वतारोहण नियमावली २०५९ संशोधन गरेर आरोहीलाई प्रमाणपत्र दिन मिल्ने गरी पर्यटन मन्त्रालयमा पठाएको छ । ‘हामीले आरोहीलाई प्रमाणपत्र दिन मिल्ने गरी नियमावली संशोधन गरेर मन्त्रालयमा पठाइसकेका छौं,’ उनले भने । उनका अनुसार संशोधित नियमावली कार्यान्वयनमा आएपछि जुन पदको लागि हिमाल चढेको छन्, त्यही अनुसार आरोहीले प्रमाणपत्र पाउँछन् । सरदार, पथप्रर्दशक वा अल्टिच्युट हाइ वर्कर जुन पदमा चढेका हुन् त्यही अनुसार प्रमाणपत्र पाउनेछन् ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पनि आरोहीलाई प्रमाणपत्र दिने कुरामा आफूहरू सकारात्मक रहेको बताए । नियमावली संशोधन कार्य अघि बढेको उनले बताए । ‘आरोहीलाई प्रमाणपत्र दिने कुरामा हामी सकारात्मक छौं,’ उनले भने, ‘चाँडै नियमावली संशोधन गराएर आरोहीलाई प्रमाणपत्र दिलाउन हामी पनि लागेका छौं ।’ उनका अनुसार नियमावली संशोधनपछि हिमाल चढ्ने सबै आरोहीले भूमिका अनुसारको प्रमाणपत्र पाउनेछन् । सरकारले ६५ सय मिटरभन्दा बढी उचाइका हिमालको प्रमाणपत्र दिन्छ । आरोहण पूरा गरेपछि चुचुरोमा पुगेको आधार खुल्ने प्रमाण पेश गर्नुपर्छ । चुचुरोमा पुगेको प्रमाण पुगेपछि आरोहीले प्रमाणपत्र पाउँछन् ।

 

प्रकाशित: १८ आश्विन २०७४ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App