८ वैशाख २०८१ शनिबार
अर्थ

खुम्बुका मजदुरले भारी नबोक्ने

खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटक र उनीहरूसँग रहेका पर्यटन मजदुर । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु – अखिल नेपाल पर्यटन मजदुर संगठनले ज्यालादर वृद्धिसम्बन्धी विगतको सम्झौता कार्यान्वयन नगरेसम्म पर्यटकको भारी नबोक्ने निर्णय गरेका छन् । खुम्बु क्षेत्रमा भारी बोक्ने मजदुरहरुले २०७३ माघ २६ गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँग ज्याला वृद्धि सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म काम नगर्न संगठनमा आबद्ध मजदुरहरु सहमत भएका हुन् । 

यसअघि टानले अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ, नेपाल ट्रेकिङ ट्राभल, ¥याफ्टिङ, एयरलाइन्स मजदुर युनियन, अखिल नेपाल पर्यटन मजदुर संघ, नेपाल पर्यटन श्रमिक संघ गरी चारवटै मजदुर युनियनसँग १३ बँुदे सम्झौता गरेको थियो । सम्झौतामा तलब–भत्ता वृद्धि, मजदुर कल्याण कोष स्थापना, मजदुर परिचयपत्र, दुर्घटना बिमा, भारीको तौल, छात्रावृत्ति लगायत मागहरु यथाशीध्र सम्बोधन गरिने भनिए पनि कार्यान्वयन नगरेपछि बाध्य भएर भारी नबोक्ने निर्णय गरेको पर्यटन मजदुरले बताएका छन् । 

सम्झौता अनुसार खुम्बु क्षेत्रका मजदुरको ज्याला ३० प्रतिशतले बढाउने सम्झौतामा उल्लेख गरे पनि कार्यान्वयनमा नआएकाले अक्टोबर १ देखि भारी नबोक्ने निर्णय गरिएको संगठनका केन्द्रीय उपाध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिए । शेर्पा भन्छन्, ‘सम्झौता भएका विषय सम्बोधन गराउन अखिल नेपाल पर्यटन मजदुर संगठन ट्रेड युनियन महासंघका तर्फबाट टानलाई १५ दिने अल्टिमेटम दिइएको  छ ।’

यो वर्षको सिजन सुरु भइसकेको अवस्थामा टानले ज्याला सम्बन्धमा परिपत्र नगरेकाले पुरानै ज्यालामा मजदुरलाई पर्यटकको भारी बोकाइरहेका छन् । केन्द्रीय उपाध्यक्ष शेर्पाका अनुसार टानले सम्झौता कार्यान्वयनमा आनाकानी गरेकाले मजदुरले भारी नबोक्ने निर्णय गरेका हुन् । साथै, पर्यटकको भारी बोक्न प्रयोग गरिने जोक्पे समेत प्रयोग बन्द गरिने निर्णय गरिएको छ । तर पर्यटकलाई कुनै पनि किसिमवाट अवरोध नगर्ने माओवादी केन्द्र निकट मजदुर संगठनले जनाएको छ । पर्यटकको भारी बोकेबापत पाउने दैनिक ज्याला एक हजार दुई सय ५० हो । उनीहरुले दैनिक ज्याला कम भएको भन्दै आन्दोलन गरेपछि टान गत वर्ष ज्याला बढाउन सहमत भएको थियो ।

प्रकाशित: १८ आश्विन २०७४ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App