coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खनाल र नेम्बाङ पार्टीबाट सर्वसम्मत

खनाल र नेम्बाङ  तस्बिर : भीम चापागाईं

इलाम – नेकपा एमालेले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नम्बर १ र नेम्बाङलाई क्षेत्र २ बाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छानेको एमालेले जनाएको छ । 

 ‘खनाल र नेम्बाङ दुवै राष्ट्रिय राजनीतिमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति हुनुभएकाले बैठकले सर्वसम्मत रूपमा उहाँहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ,’ एमाले जिल्ला सचिवालय सदस्य नवराज शंकरले भने। 

खनाल र नेम्बाङ दुवैको गृहजिल्ला इलाम हो । पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र –१ कै सांसद् हुन भने नेम्बाङ क्षेत्र २ कै । खनालले अहिलेसम्म यो क्षेत्रबाट ४ पटक चुनाव जितेका छन् भने उनी एकपटक पराजित भएका छन् । खनालले २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा त्यही क्षेत्रबाट कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यलाई र २०६४ मा कांग्रेसकै बेनुपराज प्रसाईंलाई पराजित गरे । खनाल ०५६ को निर्वाचनमा चाहिँ प्रसाईंसँगै पराजित भएका थिए । इलाममा २ वटा मात्रै निर्वाचन क्षेत्र रहेका बेला २०५१ र ०४८ सालका दुवै निर्वाचनमा खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई इलाम क्षेत्र १ बाट पराजित गरेका थिए । 

पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ पनि त्यही क्षेत्रबाट लगातार ३ पटक चुनाव जित्ने सभासद् हुन् । उनले २०७० सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका भेषराज आचार्यलाई पराजित गरे । २०६४ सालमा नेम्बाङले कांग्रेसका केशव थापा र  ०५६ मा कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । तर, यो पटक साविकका ३ निर्वाचन क्षेत्र घटेर २ वटामा सीमित भएपछि भने भौगोलिक क्षेत्र हेरफेर भएको छ । 

जिल्लाका दलहरू अहिले निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहरदेखि गाउँसम्म छलफलमा जुटेका छन् । जिल्लास्थित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलका नेता–कार्यकर्ताभित्र उम्मेदवारको नाममा छलफल चलिरहेको छ । यसअघिका निर्वाचहरूका आधारमा जिल्लामा सबैभन्दा ठूलो दलका रूपमा एमाले, दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी छन् । 

जिल्लामा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीचमै देखिने भएपनि मंगलबार एमाले–माओवादी र नयाँशक्तिबीच ६० र ४० प्रतिशत उम्मेदवारको भागबण्डासहित सहमति भएपछि कांग्रेस र कम्युनिस्ट दलबीच प्रतिस्पर्धाको सम्भावना बढेको छ । तर, अहिलेसम्म उम्मेदवार भागबण्डाको खाका टुंगो नलागेको दलहरूले जनाएका छन् । प्रदेश तहका उम्मेदवार भागबण्डामा एमालेसँग सहमति हुनसक्ने भएपनि प्रतिनिधिसभाका प्रत्यक्षतर्फका दुवै उम्मेदवार (खनाल र नेम्बाङ) लाई भने माओवादीले समर्थन जनाउनसक्ने माओवादी स्रोतले जनाएको छ । 

इलामको चुनावी विगत 
२०४८ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट एमालेका झलनाथ खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई र क्षेत्र २ बाट एमालेकै मणिकुमार लिम्बूले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । २०५१ सालमा एमालेका खनालले उनै भट्टराई र क्षेत्र २ मा चाहिँ गुरुङले उनै लिम्बूलाई पराजित गरे । त्यसपछि इलाममा निर्वाचन क्षेत्रको संख्या ३ बनाइएको थियो। 

०५६ को निर्वाचनमा क्षेत्र १ बाट कांग्रेसका बेनुपराज प्रसाईंले एमालेका झलनाथ खनाललाई, २ बाट एमालेका सुवास नेम्बाङले कांग्रेसका कुलबहादुर गुरुङलाई र ३ बाट कांग्रेसका केशव थापाले एमालेका अगम बान्तवालाई पराजित गरे । २०६४ सालमा क्षेत्र १ बाट एमालेका खनालले कांग्रेसका उनै प्रसाईंलाई, २ बाट नेम्बाङले कांग्रेसका केशव थापालाई र ३ बाट कुलबहादुर गुरुङले एमालेका धर्म उप्रेतीलाई पराजित गरे । ०७० सालमा क्षेत्र १ बाट एमालेका खनालले कांग्रेसका हिमालय कर्माचार्यलाई, २ बाट एमालेका नेम्बाङले कांग्रेसका भेषराज आचार्यलाई र ३ बाट केशव थापाले एमालेका टेकहादुर राईलाई पराजित गरेका थिए। 

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्लाका ४८ गाउँ विकास समिति र १ नगरपालिकामध्ये एमालेले १ नगरपालिकासहित ४५ गाविसमा कब्जा जमाएको थियो । भर्खरै (गत असार १४) सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये एमालेले ७ मा प्रमुख र ९ वटामा उपप्रमुख जितेको छ । कांग्रेसले ३ स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुखमै चित्त बुझाएको छ। 

जिल्लाका ८१ वडामध्ये ४४ वटामा एमालेको प्यानल, १६ वटामा कांग्रेसको प्यानल, एउटा–एउटामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीका प्यानल विजयी भएका छन् । बाँकी १९ वडामध्ये एमालेका ३, कांग्रेस १४ र माओवादीका १ वडाध्यक्ष विजयी भएका छन्। 

 

प्रकाशित: १८ आश्विन २०७४ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App