१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस नेतृत्वमा ६ दलीय गठबन्धन

काठमाडौं- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल गर्दै चुनावपछि पार्टी एकीकरण गर्ने सहमति भएको भोलिपल्ट बसेको ६ दलीय बैठकले लोकतन्त्रवादीहरूबीच कार्यगत एकता गरेर जाने सहमति भएको हो ।  

गठबन्धनमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक आबद्ध छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको बैठकले प्रजातान्त्रिक शक्तिहरूबीच चुनावी तालमेल गरेर जान सात सदस्यीय कार्यदल गठन गरेका छन् ।
कांग्रेसबाट दुई र अन्य पाँच दलबाट एकएक सदस्य रहने गरी सात सदस्यीय कार्यदल गठन गरिएको हो । दलहरूले बिहीबार नै कार्यदलमा रहने नेताहरूको नाम टुंगो लगाउँदै निर्वाचन तालमेलसहितका विषयमा काम सुरु गर्ने भएका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दल मिलेर जाने सहमति भएको बताउँदै कांग्रेस नेता रामचन्द्र पौडेलले त्यसका गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए । ‘६ दलका सात नेता सहभागी कार्यदल गठन भएको छ,’ पौडेलले नागरिकसँग भने, ‘कार्यदलले अब कसरी जाने भन्ने खाका तयार गर्नेछ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले ६ दलबीच मिलेर जाने सैद्धान्तिक सहमति भएको जानकारी दिँदै कसरी अघि बढ्ने भन्ने खाका कार्यदलले तयार पार्ने जानकारी दिए । ‘लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरू मिलेर अघि बढ्नेछ, दलबीच सैद्धान्तिक सहमति बनेको छ,’ तामाङले भने, ‘त्यसको खाका कार्यदलले तय गर्नेछ ।’
बिहीबार बस्ने बैठकमा कार्यदलमा सहभागी हुने नेताहरूको नाम टुंगो लगाइने भएको छ । ६ दलीय कार्यदलले प्रदेश र केन्द्रको निर्वाचनमा कुन जिल्लामा कुन दलको उम्मेदवारी बनाउन सकिन्छ भन्ने गृहकार्यसमेत गर्नेछ । ‘निर्वाचनमा कसरी जाने र कुन जिल्लामा कुन दललाई उम्मेदवार बनाउँदा उपयुक्त हुन्छ भनेर कार्यदलले निर्धारण गर्नेछ,’ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले नागरिकसँग भने, ‘अब समय पनि धेरै छैन, कार्यदलले भोलिदेखि नै काम थाल्छ ।’
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रजातान्त्रिक शक्तिहरू एकताबद्ध भएर जाने सहमति भएको बताए । ‘कार्यदलले प्रजातान्त्रिक शक्तिहरू एकताबद्ध भएर कसरी जाने भने गृहकार्य गर्नेछ,’ महतोले भने ।
एमाले, माओवादीसहितका दलहरूले मुलुकलाई धु्रवीकरण गरेर संघीय लोकतान्त्रिक गणतन्त्रसहितको परिवर्तनलाई संस्थागत हुन नदिने षड्यन्त्र सुरु भएको ठहर गर्दै ६ दलले त्यसको एकताबद्ध भएर सामना गर्ने सहमति गरेका छन् । ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने शक्तिहरू मिलेर अघि बढ्न सहमत भएका छांै,’ कांग्रेस नेता पौडेलले भने ।
६ दलबीच घोषित मितिमै प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न एकजुट भएर लाग्ने  सहमति भएको छ । ‘प्रजातान्त्रिक शक्तिहरू एकजुट भएर जानुपर्छ भन्नेमा सहमति छ,’ राप्रपा प्रजातान्त्रिकका महामन्त्री पाण्डेले भने, ‘हामीबाट निर्वाचन बिथोल्ने र प्रभावित गर्ने कुनै पनि काम हुँदैन ।’
सरकारबाट बाहिरिने वा सहभागी दललाई हटाउनेसहितका विषयमा ६ दलीय बैठकमा छलफल नभएको उनले बताए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता साझेदार माओवादीले बेइमानी गरेको भन्दै लोकतान्त्रिक गठबन्धन बनाएर जान प्रस्ताव गरेका थिए । एमाले, माओवादीसहितको गठबन्धन देशी र विदेशी शक्तिहरूको डिजाइनमा भएको भन्दै देउवाले लोकतान्त्रिक शक्ति मिलेर अघि बढ्न नसके फेरि धेरै लामो समय संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने तर्क गरेका थिए ।
राप्रपा अध्यक्ष कमल थापाले कांग्रेसकै कारण आफ्नो दल विभाजन भएको भन्दै असन्तुष्टि जनाएका थिए । लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसले अन्य लोकतन्त्रवादी दलहरूलाई संरक्षण गर्दै लैजानुको साटो विभाजन गरेको भन्दै थापाले विशेष परिस्थितिमा सिर्जना भएकाले मात्र आफ्नो दल बैठकमा सहभागी भएको तर्क गरेका थिए ।
थापाले उपप्रधानमन्त्री कहिल्यै नमागे पनि प्रधानमन्त्रीसहित कांग्रेस नेताहरूले आफूलाई बदनाम गराउने काम गरेको गुनासो गरेका थिए । ‘मेरो विषयमा किन हल्ला मच्चाउने काम भयो’ भन्ने प्रश्न गर्दै थापाले बैठकमा भनेका थिए, ‘लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको सुरक्षाका लागि हाम्रो दल सहकार्य गर्न तयार छ ।’
बैठकमा सहभागी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा मात्र तालमेल गर्ने वा कसरी जाने भन्ने प्रश्न गरेका थिए । बैठकमा खासै नखुलेका यादवले एउटै घोषणापत्रसहित मोर्चा बनाएर जाने कि कसरी भन्ने प्रश्न गरेका थिए ।
त्यसअघि कांग्रेस सभापति देउवाले ती तलका नेताहरू मंगलबार र बुधबार बिहान छुट्टाछुट्टै भेटेर गठबन्धन बनाएर अघि बढ्ने विषयमा छलफल गरेका थिए । यसैगरी राप्रपा अध्यक्ष कमल थापा र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूबीच पनि छुट्टाछुट्टै छलफल भएको थियो ।

प्रकाशित: १९ आश्विन २०७४ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App