नागरिक संवाद

काँग्रेस सच्चिन जरुरी छ : बाबुराम भट्टराई

बिहिबार, १९ असोज २०७४, १० : ०५ नागरिक


तत्कालीन नेकपा (माओवादी)ले ‘दीर्घकालीन जनयुद्ध’ सुरु गरेपछि, शान्ति प्रक्रियामा हस्ताक्षर गरेपछि र संविधानसभाबाट नेपालको संविधान जारी गरेपछि जहिल्यै डा. बाबुराम भट्टराई चर्चाको शिखरमा रहे । परम्परागत कम्युनिस्ट दलले मुलुकका वर्तमान समस्या हल गर्न नसक्ने ठान्दै माओवादी दलमात्र होइन, संसद्समेत परित्याग गरी नयाँ शक्ति पार्टीको नेतृत्व गर्दै आएका उनी मंगलबार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग एकता सहमति गर्ने पंक्तिमा आइपुगेर फेरि अर्को राजनीतिक झड्का दिन सफल भएका छन् । डा. भट्टराईका निम्ति फेरि राजनीतिको अर्को ‘इनिङ’ सुरु भएको छ । दुई प्रमुख वाम दलसँग एकता सहमति गरेलगत्तै बुधबार उनकै निवासमा नागरिकका गुणराज लुइँटेल, सुवास घिमिरे, महावीर पौड्याल र प्रशान्त लामिछानेले गरेका संवाद:

लोकतन्त्र उन्नत बनाउने कुरा गर्दा कांग्रेस किन झस्कने ? कांग्रेस यस्तोमा फसेको छ कि न पार्टीमा लोकतान्त्रिक मूल्य÷मान्यता अवलम्बन गर्छ न राज्यमा ।


तालमेल कसरी सम्भव भयो ?
यो विषयमा पहिले पनि पटकपटक कुरा हुने गरेको हो । इतिहासको खास खास मोडमा यस्ता घटना हुन्छन् र त्यसका लागि नेतृत्वको एउटा प्रयत्न पनि चाहिन्छ । वस्तुगत र विषयगत अवस्था मिल्नुपर्छ । त्यसो हुँदा संविधानअन्तर्गतको पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि यसले आगामी कैयौं वर्षसम्मको राजनीतिलाई दिशानिर्देश गर्छ । त्यसकारण यतिबेला यो हुन आवश्यक थियो । नेतृत्वमा रहने व्याक्तिहरूले यो बुझेर प्रयत्न गरेको हो । पहिले प्रयास भए पनि यो सफल भएन । संविधानसभाबाट संविधान जारी भएपछि एउटा ध्रुवीकरणमा जानुपर्छ भन्ने पक्षको मान्छे हुँ । अहिले परिस्थिति परिपक्व बन्यो ।
 
तपाईँले माओवादी छाड्नुभयो र नयाँ शक्ति गठन गर्नुभयो । अहिले फेरि वाम गठबन्धनमा छिर्नुभयो । यो कम्युनिस्ट पार्टी नै हो वा समाजवादी दल ?
यसमा हाम्रा फरकफरक विचार छन् । मेरो आफ्नो र नयाँ शक्ति पार्टीको मान्यता वाम लोकतान्त्रिक र समुन्नत समाजवादको कार्यनीति भएको समूह नै नेपालको वैकल्पिक शक्ति हुन्छ भन्ने छ । हिजो हतारमा मस्यौदा गरिएको हुनाले कम्युनिस्टबीचको मात्र एकता, नयाँ कम्युनिस्ट पार्टी भन्ने देखिएको छ । दुईवटा ठूला कम्युनिस्ट पार्टी त्यसमा सहभागी भएकाले उहाँहरूले त्यो भन्नु स्वाभाविक थियो । नयाँ शक्तिको तर्फबाट हाम्रो मत समाजवादी पार्टी राख्दा उपयुक्त हुन्छ भन्ने हो ।

आवश्यकताले तालमेल गरेको भन्नुभयो तर एक पक्ष भने आसन्न खतरा देखेर यो सम्भव भयो भन्छन् नि त ?
राजनीतिक अस्थिरता हुने खतरा भयो । हामीले जुन मिश्रित शासकीय प्रणाली अपनाएका छौँ र थोरै परिमार्जित गरिएको संसदीय व्यवस्थाले कुनै पनि दललाई स्पष्ट बहुमत नदिने सम्भावना धेरै हुन्छ । यस्तो स्थितिमा मिल्न सक्ने शक्तिहरूले चुनावभन्दा पहिले नै तालमेल गरेर जाने र चुनावपछि नयाँ ढंगको पार्टी निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने बोध भएको हो । तर हाम्रो देशमा षड्यन्त्र देख्ने प्रवृत्ति (कन्सपिरेसी थ्योरी) अलि धेरै छ । त्यसले गर्दा यताउता के हो भन्ने पनि आउँछ । तर हाम्रो हकमा त्यो होइन । यो कसैको विरुद्ध होइन, जनता र राष्ट्रको हितमा हो ।
 
हरेक निर्वाचनका बेला ‘एक वाम, एक ठाम’ भन्ने चर्चा हुन्छ, अहिले पनि निर्वाचनको बेला यो तालमेल भएको छ । यो दिगो हुन्छ भन्ने के आधार छ ?
अन्तर्विरोध त भइरहन्छन् । सापेक्षरूपमा आउने अन्तर्विरोध हल गर्दै अघि बढ्ने प्रक्रिया नै राजनीति हो । नेपालको जुन राजनीतिक परिवेश छ त्यसमा विकास र समृद्धिलाई केन्द्रमा राख्ने, नेपालको राष्ट्रिय एकतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतामा केन्द्रित रहने, सुशासन प्रत्याभूति गराउने जस्ता सोच भएका शक्ति एक ठाउँ आउनुपर्ने आजको आवश्यकता नै हो । तालमेल घोषणा भएको कार्यक्रममा नेताहरूको विचार हेर्नुभयो भने पनि त्यसमा समान चासो छ । नयाँ एकता र ध्रुवीकरणतर्फ लैजानुपर्छ र जान्छ भन्ने लाग्छ । म यसलाई पूर्णरूपमा सफल पार्नेतर्फ नै केन्द्रित रहन्छु ।

भनेपछि सिद्धान्तको राजनीतिले भन्दा पनि विकास निर्माणको राजनीतिले तपाईँहरूलाई एक ठाउँमा ल्यायो ?
सिद्धान्तको अन्त्य त कहिल्यै पनि हुँदैन । विश्व ब्रह्माण्ड र समाजको गतिका नियम हुन्छन् । तिनै सिद्धान्त हुन् । जबसम्म समाज र ब्रह्माण्ड गतिशील हुन्छ तबसम्म त्यसका खास नियम र सिद्धान्त हुन्छन् । त्योभन्दा बाहिर त हामी छैनौँ । अहिलको हाम्रो सिद्धान्त भनेको नेपाली समाजले एउटा राजनीतिक परिर्वतनको शृङ्खला पूरा ग¥यो । अब यसलाई जोगाएर अगाडि जाने हो भने आर्थिक विकास र समृद्धिको अजेन्डालाई प्रमुख बनाउनुपर्छ । गरिबी र बेरोजगारी अन्त्य गरेर नेपाललाई राष्ट्रिय औद्योगिक क्रान्तिको बाटो हुँदै विश्वको समुन्नत देशको दाँजोमा पु¥याउने मुख्य अजेन्डा हुनुपर्छ । त्यस निम्ति सर्त भनेको देशको हिमाल–पहाड–तराई मधेसको जुन जातीय÷क्षेत्रीय विविधता छ, त्यसको बीचमा एकता सन्तुलन कायम गर्ने, नेपालको राज्यसत्तामा भ्रष्टाचार र अनियमितताको बिगबिगी छ, त्यसको अन्त्य गरेर सुशासन सदाचार कायम गर्ने र भूराजनीतिको जटिलता व्यवस्थित गर्ने कुरा पूर्वसर्त हुन् । तर लक्ष्य विकास र समृद्धि हो । यसलाई हाम्रो तत्कालको नीति, कर्यक्रम र सिद्धान्त भन्दा पनि हुन्छ ।

यो कुनै पुरानो पार्टीमा मर्जर होइन । पुराना पार्टीहरू सबै हिजोको अवस्थाबाट माथि उठेर नयाँ विकल्प दिन खोजेको हो ।

त्यसो भए यो नयाँ पहल सोसल डेमोक्रयाट (सामाजिक प्रजातन्त्रवादी) जस्तो देखियो । त्यसो हो भने कांग्रेस र तपाईँहरूबीच के फरक भयो त ?
नेपालमा कांग्रेस र कम्युनिस्ट भन्ने कित्ता विभाजन छ । तर हिजोको दक्षिण पनि हिजोको स्थानमा छैन र वाम पनि हिजोको स्थानमा छैन । त्यसकारण हिजोका वाम शक्तिहरु नयाँ सन्दर्भमा नयाँ ढंगबाट एकताबद्ध हुनुपर्छ भन्ने हो । यसरी हेर्दा यो अग्रगामी, वामपन्थी प्रगतिशील शक्ति हो । त्यो भनेको उन्नत लोकतान्त्रिक शक्ति पनि हो । आफूलाई प्रजातान्त्रिक शक्ति भन्नेहरूले एउटा औपचारिक प्रजातन्त्रको मात्र कुरा गर्छन् तर जनताको सहभागितामूलक प्रजातन्त्रमा सहभागितामूलक विषयको उठान गर्दैनन् । त्यसो हुँदा हामी वामपन्थीहरूमा त्योभन्दा अग्रगामी प्रगतिशील विचार छ भन्ने लाग्छ ।

तपाईंँले आर्थिक समृद्धिका लागि वैकल्पिक शक्तिको आवश्यकता देख्नुभयो । यो एकताले त्यो परिपूर्ति गर्छ या आवश्यकता सकिएको हो ?
वैकल्पिक शक्तिको आवश्यकता त छँदैछ, त्यसैको खोजी हो । नयाँ शक्ति पार्टीले त पाँच स अर्थात् समृद्धि, सहभागितामूलक लोकतन्त्र, सुशासन, स्वाधीनता र समाजवाद भन्ने गरेको छ । अरु पार्टीले यसलाई आआफ्नो ढंगबाट व्याख्या गर्छन् । हामी सबैले एक ठाउँमा आएर वैकल्पिक शक्ति निर्माण गर्न खोजेको हो । हामी पुरानोतर्फ फर्कन खोजको होइन । यो कुनै पुरानो पार्टीमा मर्जर होइन । पुराना पार्टीहरू सबै हिजोको अवस्थाबाट माथि उठेर नयाँ विकल्प दिन खोजेको हो । त्यसो हुँदा यो वैकल्पिक शक्ति निर्माणकै प्रयत्न हो ।
 
तपाईँहरूबीच प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाने विषयमा सहमति भएको हो ?
हाम्रो अनौपचारिक कुराकानीमा त प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ भन्ने छ । हामी र माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भन्छौँ, एमाले प्रधानमन्त्री भन्छ । तर आमरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने समझदारी छ । हाम्रो साझा घोषणापत्र बनाउने बेला यसलाई टुंगो लगाउँछाँै । मेरो विश्वासमा प्रत्यक्ष निर्वाचित कार्यकारीलाई मुख्य नारा बनाएर निर्वाचनमा जान्छौँ । मुख्य ध्यान विकास र समृद्धिमा हुन्छ ।
 
यो एकताबाट एकाथरी झस्केका देखिन्छन् । विशेषगरी कांग्रेस त्यो स्थितिमा छ । यसरी वामहरू एक भए भने प्रजातान्त्रिक मूल्य–मान्यताविरुद्ध जान सक्छन् भन्ने चिन्ता छ नि ?
यसलाई म अत्यन्तै पिछडिएको चिन्तन भन्छु । यो त हिजोको शीतयुद्धकालीन धङधङी हो । त्यसलाई फाल्न आवश्यक छ । हामी वामपन्थी प्रगतिशील शक्तिहरू उन्नत लोकतन्त्र चाहन्छौँ । चुनावमा भोट हाल्ने अधिकारमात्र होइन, हरेक निर्णयमा जनताले प्रत्यक्ष सहभागिता जनाउन पाउने सहभागितामूलक लोकतन्त्रको कुरा गर्दैछौँ । लोकतन्त्रलाई उन्नत बनाउने कुरा गर्दा नेपाली कांग्रेस किन झस्कने ? कांग्रेस यस्तो रुढीवादमा फसेको छ कि न उसले पार्टीभित्र लोकतान्त्रिक मूल्य÷मान्यता अवलम्बन गर्छ न राज्यमा । नेपाली कांग्रेस संकित होइन, सच्चिन जरुरी छ । यो प्रतिस्पर्धी राजनीति हो, एकअर्काबाट सिकेर रूपान्तरण हुन जरुरी छ । यो कसैका विरुद्ध हैन । यो ध्रुवीकरणले लोकतन्त्रलाई अझै मजवुत बताउँछ । छिमेकीहरूको सम्बन्ध  पनि अझ उचाइमा लैजान्छ । त्यसो हुनाले कोही त्रसित हुन आवश्यक छैन ।
 
पछिल्ला दुई वर्ष देश जटिल मोडबाट गुज्रियो । नाकाबन्दीलगायतका विषयले माओवादी र एमालेलाई एक ठाउँ हुन दिनुहुन्न भन्ने जस्तो पनि भयो । यस्तै जटिलताले राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँ ल्याएको हो ?
त्यस्तो होइन । सुगौली सन्धिपछि वैदेशिक सम्बन्ध जटिलताबाट गुज्रेको छ । हामी अलि परनिर्भर भएर गएकै हौँ । आर्थिक सूचकांक हेर्ने हो भने पनि निर्यात भन्दा आयात १५ गुणा बढी भइराखेको छ । यो धान्नै नसक्ने अवस्थामा छ । यस्तो अवस्थामा सही अर्थमा स्वाधीन र आत्मनिर्भर बन्ने हो भने हामीले आफूलाई आर्थिकरूपमा सम्पन्न बनाउनुपर्छ । त्यसका निम्ति बाह्य शक्तिसँगको सम्बन्धमा पनि विविधीकरण गरेर जानुपर्छ भन्ने अर्थमा सबैतिर राम्रो सम्बन्ध राख्ने हाम्रो प्रयत्न छ । भारतसँग हाम्रो आर्थिक, राजनीतिक, सामाजिक, सम्बन्ध अलि बढी भएका कारण ऊसँग बढी समस्या हुनु पनि स्वाभाविक हो । त्यसैले यो भारतविरुद्ध लक्षित हो कि भनेर शंकित हुन जरुरी छैन । यो नेपाली जनताको हितमा भएको एकता हो । छिमेकसँग असल सम्बन्ध राखेर जानुपर्छ भन्ने हो ।

कम्युनिस्टहरूसँग अन्तर्राष्ट्रिय समुदाय झस्कने गर्छ । यस कारण तपाईँहरू पार्टीको नाममा कम्युनिस्ट नराख्ने विषयमा पनि छलफल गर्दै हो ?
यो अरुका कारणले गर्दा होइन । कुनै खास परिवेशमा हिजोका लोकतान्त्रिक, उदारवादी भन्ने पार्टीहरूले आफूलाई समयअनुकूल परिमार्जित गर्दै लगेका छन् । युरोपमा नै भन्नुस् न, फ्रान्समा म्याक्रोनको पार्टी नयाँ ढंगबाट उदय भयो । हिजोका कम्युनिस्ट पार्टीहरू पनि पुरानो ढंगबाट जान नसकेर रूपान्तरित हुँदै अगाडि बढेका छन् । नेपालको सन्दर्भमा हेर्दा पनि हाम्रो तत्कालको कार्यक्रम भनेको राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्दै समाजवादको दिशमा जाने हो । साम्यवाद, स्वर्ग, रामराज्यको कल्पना मानिसले सुरुदेखि गर्दै आएको छ । तत्कालको कार्यक्रम भनेको राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्ने, बेरोजगारी अन्त्य गर्दै समाजवादमा जाने कार्यभार हो । पार्टी एकताको दिशामा जाँदा नामको विषयमा छलफल हुने हो । महाधिवेशनमा जाँदा यो विषयमा छलफल गरेर जाने भन्ने हाम्रो सहमति छ ।

आर्थिक, राजनीतिकलगायतका मुख्य विषयमा घोषणापत्रमा नै उल्लेख हुन्छ ?
चुनावी घोषणापत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रम ल्याउँछौं । नेपालको विकासका निम्ति के हुने भन्ने गम्भीर बहस आवश्यक छ । संविधानसभामा एउटा समितिको सभापति भएर काम गर्दा भएका बहस र छलफलका आधारमा के भन्छु भन्दा हामी नेपालमा भर्खरै निर्वाहमुखी कृषि अर्थतन्त्रबाट औद्योगिक पुँजीवादतर्फ उन्मुख हुँदैछौँ । त्यसैले हामीले पहिलो चरणमा राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्ने, कृषिको आधुनिकीकरण, औद्योगिकीकरणको विकास र विस्तारमा जोड दिन्छौँ । उत्पादकत्वको विकास नगरिकन समाजलाई अगाडि लैजान सकिँदैन । गरिबी र बेरोजगारी अन्त्य गर्ने र उत्पादक शक्तिको विकास गर्ने पहिलो चरणको मुख्य काम हुन्छ । हाम्रो देश विभिन्न जाति, क्षेत्र, वर्ग, लिंग र समुदायमा विभाजित भएको हुनाले तिनिहरूबीच असन्तुलन नहोस् भनेर सामाजिक सुरक्षा र सामाजिक न्यायमा पनि उचित ध्यान दिनुपर्छ । त्यसो हुनाले समाजवादउन्मुख राष्ट्रिय औद्योगिक पुँजीवाद न्यूनतम कार्यक्रम हुन्छ । एउटा चरणमा पुगेपछि हामी समुन्नत समाजवादतर्फ जान्छौँ भन्ने नै हो ।

नयाँ राजनीतिक पहलपछि अबको पाँच वर्षमा नेपाल कस्तो हुन्छ भन्ने सोच्नुभएको छ ?
हाम्रो सहमतिले परिवर्तन ल्याउँछ भन्ने हो । नेपालमा सही अर्थमा उन्नत लोकतन्त्रको अभ्यास गर्ने, समुन्नत समाजवादमा जाने, सुशासनको ध्येय राख्ने दलहरू एक ठाउँमा आए भने नेपालको जातीय क्षेत्रीय विविधतालाई ठीक ढंगबाट सम्बोधन गरे भने हामीले आउँदो निर्वाचनमा स्पष्ट बहुमतमात्र होइन, दुईतिहाई आउने र त्यसो हुन सक्यो भने नेपालको शासकीय स्वरूपमा जानु त्रुटि छ, त्यसलाई सच्च्याएर हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान सक्छौँ । त्यसो भयो भने देशमा राजनीतिक स्थिरता आउँछ । राजनीतिक स्थिरताले विकास र समृद्धि ल्याउँछ ।
 
तालमेलसँगै पार्टी एकतामा जाने निर्णयप्रति कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
आमरूपमा एकदम उत्साह छ । यसले गर्दा देशमा एउटा अलिकति दक्षिणपन्थी एउटा वामपन्थी शक्ति भए भने त्यसको प्रतिस्पर्धाले देशलाई राजनीतिक स्थिरतातर्फ लैजान्छ भन्ने आमबुझाइ पाएको छु ।  कतिपयमा यो कसरी भयो, कसैको हात पो छ कि भन्ने शंका पनि छ । शक्तिकेन्द्रहरूमा पनि थोरै शंका आउनु, तरंगित हुनु पनि स्वाभाविकै हो । जिम्मेवारीपूर्ण ढंगबाट हामी सबै नेता प्रस्तुत हुनु र सबैलाई बुझाएर जान सक्यौँ भने यसको महत्व बोध सबैले गर्छन् ।
 
तपाईँहरू आफैँ मिल्नुभएको हो भन्नेमा कसरी विश्वस्त हुने त ?
म आफैँलाई यसमा विश्वास छ । ४० वर्ष राजनीतिक जीवन बिताएको आधारमा म के भन्छु भने हामीले नै महत्वपूर्ण विषयमा निर्णय लिँदै आएका छौँ । बिपी कोइरालादेखि हाम्रो पुस्तासम्म आउँदा अन्तर्विरोधहरू हल गर्न संघर्षका विभिन्न उपाय अपनाएर आफैँ काम गर्ने गरेका छौँ । अर्को पाटो के छ भने नेपालको भूराजनीति अत्यन्तै जटिल छ । क्रान्तिकारी परिवर्तनको बेला स्वतः बाह्य शक्ति आफँै हात हाल्न आइपुग्छ । २००७, २०४६, ०६२÷०६३ का परिवर्तन हामीले नै गरेका हौँ तर सुरु भएपछि बीचमा उनीहरू आए । त्यसरी आउँदा यो सबै काम बाह्य शक्तिले गरे भन्ने भ्रम पर्छ । यो यथार्थ होइन ।

जुन एकता हुँदैछ, त्यहाँ पाँच जना त पूर्वप्रधानमन्त्री हुनुहुन्छ, यो अवस्थामा पदीय बाँडफाँटमा समस्या हुँदैन ?
हो, हामीमा रहेको न्यून राजनीतिक संस्कारका कारण ती शंका जन्मनु स्वाभाविक हो । के भन्छु भने म कुनै पदको आकांक्षी नभई निस्वार्थरूपमा यो अभियानलाई सफल पार्ने र देशलाई समृद्ध बनाउन जनुसुकै ठाउँमा रहेर पनि काम गर्ने मेरो प्रतिबद्धता छ । हामीले एउटा प्रणाली विकास गर्नुपर्छ । जसरी नेताहरूको एउटा ठूलो टिम थुप्रन्छ त्यसलाई प्रणालीगत ढंगबाट अवकाश लिँदै जाने र नयाँ पुस्ता अगाडि आउने सिस्टम विकास गर्नुपर्छ । म यो प्रस्ताव पार्टीमा राख्छु ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...