७ वैशाख २०८१ शुक्रबार
राजनीति

उम्मेद्वार छान्दै सिन्धुका दल

सिन्धुपाल्चोक – दशैँ अवधिभर चुनाव केन्द्रीत छलफल र बैठकमा व्यस्त सिन्धुपाल्चोकमा क्रियाशील राजनीतिक दलहरूले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेद्वार छनोट र सिफारिस गर्न थालेका छन्। 

जिल्लामा सक्रिय तीन ठूला राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रले दुबै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट र सिफारिस गर्न थालेसँगै राजनीतिक सरगर्मी बढ्दो छ । केन्द्रमा बामपन्थी र प्रजातन्त्रिक शक्तिबीच ध्रुविकरण प्रयास भइरहँदा जिल्लाका प्रमुख दलका नेतामा द्विविधा र अन्योल सिर्जना गरे पनि स्थानीय राजनीति भने थप रोमाञ्चक बनिरहेको छ । स्थानीय तह निर्वाचनको पारो सेलाउन नपाउँदै संघारमै आइपुगेको केन्द्र र प्रदेशसभाको निर्वाचनले जिल्लाको राजनीतिक ह्वात्तै तातिन पुगेको छ। 

दुबै निर्वाचनमा चुनावी तालमेल गर्दै त्यसपछि एउटै कम्युनिष्ट पार्टी बनाउने घोषणा गरेकामध्ये माओवादी केन्द्रले सबैभन्दा पहिला उम्मेदवार छनोट गर्दै केन्द्रमा सिफारिससमेत पठाइसकेको छ । अर्को कम्युनिष्ट शक्ति एमाले उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेको छ । दशैँ अवधिभर उम्मेद्वार छान्न बैठक, भेला र छलफल गरेको कांग्रेसले सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको छ। 

माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा, युवा नेता सरल सहयात्री पौडेल र पूर्वसभासद् राजकुमार पौडेललको नाम सिफारिस गरेको छ । उसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट पूर्वसभासद् दावा तामाङको एकल नाम सिफारिस गरेको छ । केन्द्रीय निर्वाचनतर्फ समानुपातिक उम्मेदवारका लागि झम्क बराइली र बलराम बिकको नाम सिफारिस गरिएको केन्द्रका जिल्ला नेता युवराज दुलालले बताए। 

माओवादी केन्द्रले प्रदेशतर्फ प्रत्यक्षमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, प्रदेशसभा १ बाट लालकान्छा तामाङ र २ बाट माधव सापकोटाको नाम सिफारिस गरेको छ । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा १ का लागि युवराज दुलाल र २ का लागि चन्द्रबहादुर थापाको एकल नाम सिफारिस गरेको छ । उसले नेत्र दंगाल, अमृता थापा, रोहिणी बिक, चन्द्र धिमालकोटी, श्यामकृष्ण श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, लम्लम शेर्पा र उत्तम आलेलाई प्रदेशसभा समानुपाति उम्मेदवार सिफारिस गरेको छ। 

कांग्रेसले गाउँ र क्षेत्रीय समितिबाट आएका नाममा अझै थप गर्दै केन्द्रमा जम्बो उम्मेद्वारको सूची पठाएको छ । उसले प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट सूचना तथा सञ्चारमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सोनामकुमार योञ्जन लामाको नाम सिफारिस गरेको छ । २ बाट भने पार्टी सभापति विकास लामा, तारानाथ दाहाल र आइतमान तामाङ सिफारिसमा परेका छन्। 

प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, प्रदेशसभा १ बाट विष्णुबहादुर खत्री, भूपेन्द्रबहादुर थापा, बालकृष्ण बस्नेत, भोला बोहरा, बलदेव तिमल्सिना र लक्ष्मी श्रेष्ठको नाम कांग्रेसले सिफारिस गरेको छ । प्रदेशसभा २ मा कृष्णप्रसाद न्यौपाने, भिष्मप्रताप भण्डारी, जंगबहादुर लामा र राजेन्द्रकुमार श्रेष्ठसहित सात जना सिफारिसमा परेका छन् । 

कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा १ का लागि महासमिति सदस्य विकास तामाङ, बिलबहादुर तामाङ, यज्ञप्रसाद दंगाल र टंकबहादुर कार्कीसहित सात जना र २ का लागि पाशाङ दोङ, जिमी लामा, मधुसुदन सिग्देल, सागरकुमार श्रेष्ठ र गंगाकुमारी चापागाईसहित सातै जनाको नाम पठाएको छ। 

उसले केन्द्रका लागि समानुपातिकतर्फ हरिहरण श्रेष्ठ, भोजराज श्रेष्ठ, विनोद मोक्तान, राजेन्द्रमान ताल्चाभँडेल, कान्छा लामा, श्यामबहादुर श्रेष्ठ, चेतकुमार घोरासैनीसहित १४ जना र प्रदेशतर्फ प्रेमध्वज लामा, लीला नेपाल, विष्णुप्रसाद न्यौपाने, ज्ञानु तिमल्सिना, शिव सुनार, मिरा लामा, सुदर्शन आचार्य, इन्द्रलोचन धिताल, कर्मातोप्के लामा, हरिकुमार शर्मासहित ३७ जनाको नाम सिफारिस गरेको छ । आकांक्षी धेरै हुँदा उम्मेद्वारको सूची लामो भएको कांग्रेस प्रचार समिति संयोजक अनुप न्यौपानेले बताए। 

एमालेले बुधबार चारवटै प्रदेश समितिको बैठक राखेर प्रदेशसभाका लागि सम्भावित उम्मेदवारको प्रारम्भिक नाम संकलन गरेको थियो । क्षेत्रीय समितिको बैठकले बिहीबार प्रतिनिधिसभाका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको एमाले प्रचार संयोजक यज्ञ सापकोटाले बताए । ‘शुक्रबार बस्ने जिल्ला समिति बैठकले आएका नाममा छलफल गरी उम्मेद्वारको अन्तिम नाम सिफारिस र सार्वजनिक गर्छ,’ उनले भने।

प्रकाशित: १९ आश्विन २०७४ १०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App