६ वैशाख २०८१ बिहीबार
समाज

खेत जोतिरहेका बेला फेला परे ‘मोस्ट वान्टेड’

महाशाखाको हिरासतमा रहेका ठकुन्ना ।

काठमाडौं- तीन जनाको हत्या, दर्जनौं डकैती र उपत्यकामा बम पड्काएको आरोप लागेर १० वर्षदेखि फरार रहेका सशस्त्र भूमिगत समूहका सदस्य प्रकाशसिंह ठकुन्ना पक्राउ परेका छन् ।
दर्जनौं अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले १० वर्षदेखि खोजी गरिरहेका उनी बिहीबार महेन्द्रनगरको तिलाचौरमा ट्याक्टरले खेत जोतिरहेको अवस्थामा फेला परेका हुन् ।

हत्या, बलात्कार, डकैती र विस्फोटको घटनामा पक्राउ परे पनि प्रहरीको सेटिङमा भागेका मोस्ट वान्टेड अभियुक्त १० वर्षपछि महेन्द्रनगरमा खेतमा भेटिए ।

ठकुन्ना राष्ट्रिय विभूति सेना नामक सशस्त्र भूमिगत समूह गठन गरी उपत्यकाका तीन जनाको हत्या गरेको, १ करोड ७ लाख डकैती भएको ११ वटा शृंखलाबद्ध डकैतीमा संलग्न भएको र भोटाहिटीमा बम विस्फोट गराएको आरोपमा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।
१० वर्षअगाडि पक्राउ परे पनि प्रहरीसँग सेटिङ मिलाएर भागेका उनलाई खोज्न प्रहरीको विभिन्न निकाय खटिएको थियो । उनलाई बिहीबार खेत जोत्दाजोत्दै पक्राउ गरेर महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार काठमाडौं ल्याएको छ ।
महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी हत्या र सशस्त्र गतिविधिको आरोपमा ठकुन्ना फरार रहेको सूचनाको आधारमा पक्राउ गरी उनको आपराधिक पृष्ठभूमिबारे अनुसन्धान सुरु भएको बताए ।
लोहनीका अनुसार ठकुन्नाको नाममा उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा रहेका हत्या, विस्फोट र डकैतीको आरोपसँग सम्बन्धित मिसिल मगाएर अध्ययन थालिएको जानकारी दिए ।
प्रहरी रेकर्डअनुसार हत्या, डकैती, र विस्फोट अभियोगमा २०६४ असार २१ मा महानगरीय प्रहरी वृत्त बौद्धले उनलाई पक्राउ गरेको थियो । प्रहरीसँगको मिलेमतोमा उनी हिरासतकक्षबाट मध्यरातमै भागेका थिए ।
ठकुन्नाले बयानमा आफूलाई बौद्धको हिरासत हेर्ने प्रहरीले बेलुका २ बजेतिर हिरासतकक्षको ढोका खोलेर भगाएको दाबी गरेका छन् ।
पूर्वजवानदेखि सशस्त्र समूहसम्म
ठकुन्ना नेपाली सेनाका पूर्वजवान हुन् । जवानका रूपमा सेनाको उच्च अधिकारीको घरमा सहयोगीका रूपमा कार्यरत रहँदा घर नजिकैको खाजाघरकी युवतीलाई बलात्कार गरेको आरोपमा उनी सेवाबाट बर्खास्त भएका थिए ।
जागिर खोसिएपछि उनले सेनाका अर्का जवान कैलाशबहादुर सिंहसँग मिलेर काठमाडौं र तराईमा दर्जनौं आपराधिक घटना गराएको प्रहरी रेकर्डमा उल्लेख छ । यसै क्रममा उनीहरूले राष्ट्रिय विभूति सेना नामक भूमिगत समूहको नाममा आपराधिक गतिविधि गर्दै आएका थिए ।
२०५८ मा माओवादी अपहरणमा परेर २ महिनापछि सम्पर्कमा आएका सिंहलाई सेनाले शंका गरेर जागिरबाट निष्कासन गरेको थियो ।
जागिर खोसिएपछि विदेश जाने प्रयास गर्दा उनलाई दलाल समूहले चार लाख ठगेको थियो । त्यसपछि उनी आफैं रकम असुलीको धन्दामा संलग्न हुँदै ठकुन्ना भूमिगत समूहको सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चासँग मिलेर चन्दा संकलन, बम विस्फोट र अपहरणमा संलग्न रहेका उनी केही समयपछि नेपाल डिफेन्स आर्मीमा संलग्न भएर उपत्यका इन्चार्ज भएका थिए ।
महाशाखाले २०६४ फागुन ८ मा सिंहलाई गोली हानेर डिल्लीबजारमा नियन्त्रणमा लिएपछि उनी नेपाल डिफेन्स आर्मीका उपत्यका इन्चार्ज र विभूति सेनाका प्रमुख रहेको खुलेको थियो । ठकुन्ना सिंहभन्दा अगाडि नै पक्राउ परे पनि फरार भइसकेका थिए ।

तीन जनको हत्या, ११ डकैती
२०६४ जेठ २१ मा त्रिभुवन विमानस्थलको गल्फचौरमा गोली हानेर शंकर अधिकारीको हत्या, असार १० मा अजिम फेसन होम लाजिम्पाटका सञ्चालक सुरवीर श्रेष्ठको सिफलमा भएको हत्या र असार २२ मा बत्तीसपुतलीमा मेरीरोज श्रेष्ठको हत्यामासंलग्नता देखिएपछि महाशाखाले सिंहलाई पक्राउ गरेको थियो ।
उपत्यकाका व्यापारीलाई धम्क्याएर पैसा असुल्न सक्रिय उनीहरूले भोटाहिटीमा बम विस्फोट गराएका थिए । यी तीनवटै हत्या घटना र विस्फोटमा ठकुन्ना समेत संलग्न रहेको महाशाखा अधिकारीको दाबी छ ।
२०६४ मा पक्राउ परेपछि सिंह कारागार पुगे । राष्ट्रपतिले कैद मिनाहा गरेपछि उनी हालै कारागारमुक्त भएका थिए । प्रहरीसँगको मिलेमतोमा फरार भएका ठकुन्ना कहिले भारत त कहिले नेपालमा बस्दै आएका थिए । २०७१ वैशाख २८ मा महाशाखाले ९ वर्षदेखि उपत्यकामा शृंखलाबद्ध डकैतीमा संलग्न तेजबहादुर थापामगरलाई पक्राउ गरेको थियो ।
मगरको बयानमा उनको समूहमा राजेश गुप्ता, मिलन सुवेदीसँगै ठकुन्नासमेत संलग्न रहेको खुलेको थियो । महाशाखामा रहेको रेकर्डअनुसार मगरसहितको समूह २०६३ भदौदेखि २०६४ जेठसम्म उपत्यकामा भएका ११ वटा डकैतीमा समेत संलग्न रहेको खुलेको थियो ।
रेकर्डअनुसार उनीहरुले यसबीचमा शान्तिनगरस्थित रीता शाहको घरमा १६ लाख, बानेश्वर पञ्चकुमारी मार्गस्थित  बाबुकाजी कार्कीको घरबाट १९ लाख, गोंगबु महादेवटारमा कटकबहादुर गुरुङको घरबाट १ लाख डकैती गरेका थिए ।
सामाखुसीमा रहेको अर्चना गौतमको घरबाट २ लाख, लैनचौरस्थित रवीप्रसाद कसजुको घरबाट ३२ लाख, खड्काभद्रकालीस्थित जोनी लामाको घरबाट १२ लाख, बाँसबारीस्थित पाकिस्तानी नागरिक मोहमद अन्जाम फारुकको डेराबाट २ लाख डकैतीको घटनामा समेत मगर समूहकै संलग्नता खुलेको थियो ।
प्रहरी रेकर्डअनुसार सरस्वतीनगरमा रहेको प्रेमप्रसाद गेलालको घरमा भएको ६ लाख डकैती, बूढानीलकण्ठमा योगनाथ पौडेलको घरमा भएको ३ लाख डकैती, मन्डिखाटारमा प्रवीण अधिकारीको घरमा ९ लाख डकैती र कुलेश्वरमा प्रमोदप्रसाद चौधरीको घरमा ५ लाख डकैतीमा समेत मगर र ठकुन्नाको संलग्नता खुलेको थियो ।

प्रकाशित: २० आश्विन २०७४ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App