अनिष्टको सङ्केत !

शुक्रबार, २० असोज २०७४, ०९ : ५८ रघुनाथ लामिछाने


एउटा तथ्याङ्क

 

काठमाडौँको दक्षिणकाली नगरपालिकाका प्रमुख– एमाले : ४२६८ । माओवादी : २४८१ । दुईको जोड्दा : ६७४९ । जित्ने कङ्ग्रेसको : ४६९८ ।
बेनी नगरपालिकाका प्रमुख– एमाले : ५६३४ । माओवादी : ३९६१ । दुईको जोड्दा : ९५९५ । जित्ने कङ्ग्रेसको : ५६७९ ।
रौतहटको चन्द्रपुर नगरपालिका– एमाले : ८८३१ । माओवादी : ७८९४ । दुईको जोड्दा : १६७२५ । जित्ने कङ्ग्रेसको ९७८० ।

 

नेपाली कङ्ग्रेस अहिलेसम्म टिकेको उसको पौरखले हुँदै होइन । वामपन्थीहरूको फुट र पुर्खे कङ्ग्रेसले धर्म नछाडिदिएका कारण मात्र उसको आकार अलि ठूलो देखिँदै आएको थियो । अब भने ऊ वास्तविक आकारमा आउनेवाला छ ।


कथाको माग
तथ्याङ्क भन्छ– नेपालमा वामपन्थी विचारधारा मन पराउनेको सङ्ख्या बढी छ । अझ यो मतमा दुई ठूला वामपन्थी दलबाहेक अरुका गणना गरिएको छैन । तर विडम्बना, जित्ने सधैँ नेपाली कङ्ग्रेस हुन्छ । यस्तो अवस्थामा यी दुई ठूला दलको मिलन किन र के आधारमा भयो भनेर घोत्लिनु आवश्यक नै छैन । बलियो हुन र शासन शक्तिमा पुग्न तालमेल भएको हो । राजनीति गर्ने पनि शासनमा पुग्नकै लागि हो । धेरै परिचर्चा जरुरी छैन ।
दुवैले एकअर्काप्रति हात बढाउनुपर्ने अवस्थाको सिर्जनाचाहिँ दक्षिणी हावाले ग¥यो । पहिलो र तेस्रो दललाई मिलाइदिएर दशकौँसम्म ‘पर्म सरकार’ खडा गरिदिने त्यो हावाको सिरेटोले कडा प्रतिपक्षी नेता केपी ओली र उनको दललाई नराम्रोसँग चिस्याउनु नै यो मिलनको प्रथम आधार बन्यो । जसका लागि ओली र उनको दल त्यो हावालाई बीचमै निष्क्रिय तुल्याइदिन जस्तोसुकै कदम मोल्न पनि तयार थिए जुन माओवादीसँगको सहकार्यपछि सम्भव भएको छ ।
प्रतिदिन पुड्किँदै गएको माओवादी केन्द्र सत्ताको चाबी त बगलीमा लिन पाएर मख्खै थियो तर दश वर्षसम्मको काटमार, कङ्ग्रेसको चाहिनेभन्दा बढी दक्षिणी झुकाव अनि गएका चुनावहरूमा ऊसँगको मिलापले खासै उभो नलागेको जस्ता निष्कर्षका कारण ‘के गरौँ, के’ को अवस्थामा थियो । यस्तो अवस्थामा ऊ पनि विकल्प खोजीमा थियो । आखिर कन्याइमाग्ने र कन्याइदिनेको मेल यसरी रूपान्तरण हुन पुग्यो तालमेलमा ।
एमालेसँग तालमेल र पार्टी एकतासम्म गर्ने कुराप्रति माओवादी पार्टीमा गोपाल किरातीलगायत ४ जनाले विरोध जनाउनुले पनि बुझिन्छ कि सिङ्गो माओवादी सगोत्री एमालेसँग मिल्न लालायित छ । ४ हजार जना त केन्द्रीय सदस्य नै रहेको माओवादीमा ४ जनाको विरोध अपवाद भन्न पनि नसुहाउनेखालको छ । त्यसैले यो मिलाप दुवैका लागि र अझ माओवादीका लागि बढी जरुरी थियो भन्ने निष्कर्ष गलत हुन्न ।
 

विलय र प्रलयको अलाप
डा. बाबुराम भट्टराई सूर्य चिह्न लिएर चुनाव लड्ने भए । हृदयेश त्रिपाठीलगायत केही मधेसकेन्द्रित नेता पनि एमालेकै चिह्नमा चुनाव लड्ने निष्कर्षमा पुगेका छन् । माओवादीचाहिँ ‘कानुनी र प्राविधिक’ शब्दका आडमा अहिलेलाई सूर्यबाट चुनाव नलड्ने देखिएका छन् ।
वास्तवमा निर्वाचन आयोगले पार्टीगत आधारमा चुनाव चिह्न दिइसकेपछि त्यो चिह्नमा आएको मत गनेर जित्ने मान्छे सोही पार्टीको हुन्छ । सोही पार्टीको मान्छे भएपछि पार्टीको ह्विपदेखि सबै निर्देशन पालना गर्नु उसको कर्तव्य हुन्छ । नत्र निष्काशनसम्मको भागिदार बन्न तयार हुनुपर्छ । कुरो यति सोझो छ तर पनि केही मानिस चिह्न यो लिएर लड्ने तर हामी उक्त पार्टीका होइनौँ भन्छ भने त्यो जनता झुक्याउने असफल प्रयासबाहेक केही होइन । त्यसैले समस्या यो भन्नेमा हैन, पत्याउनेमा छ ।
त्यसैले जो जो सूर्य चिह्न लिएर चुनावमा भाग लिन्छन् उनीहरू स्वतः एमाले हुन्छन् । यसमा एकीकरण, विलय, प्रलय जस्ता कुनै विशेषण जोड्न आवश्यकै छैन । हैन, हामी सूर्य चिह्न लिए पनि स्वतन्त्र वा अर्कै पार्टीको हौँ भन्ने हो भने तिनीहरू पद्मरत्न तुलाधर, श्याम श्रेष्ठ, हरि रोका मार्काका स्वतन्त्रमात्र दरिने छन्, वास्तविक स्वतन्त्र हैन । यसबारे अहिले यति थाहा पाए पुग्छ ।
 

अनिष्टको सङ्केत
नेपाली कङ्ग्रेसका नेता रामचन्द्र पौडेलले यो वाम तालमेल प्रक्रियालाई अनिष्टको सङ्केत भनेका छन् । उनले सय प्रतिशत सही भनेका छन् कि यो अनिष्टकै सङ्केत हो । तर मात्र नेपाली कङ्ग्रेसका लागि । सुरुमै उल्लेख गरिएका केही प्रतिनिधिमूलक तथ्याङ्कले नै भन्छन् कि यो मुलुकमा वामपन्थी मत बढी भए पनि सधैँ कङ्ग्रेसले शासनसत्तामा हालिमुहाली चलाउँदै आयो । अब दुई ठूला वाम पार्टीको मिलन भएमा कङ्ग्रेसले यस्तो अवसरबाट सदाका लागि हात धुनुपर्नेछ । यस अर्थमा पौडेलको भनाइ सोह«ै आना सही छ । विमति जनाउनुपर्ने आवश्यकता नै छैन ।
नेपाली कङ्ग्रेसले सबैभन्दा बढी सत्तामा बसेर आजसम्म के ग¥यो त भन्ने प्रश्नको उत्तरमा मुलुकको गरिबी र अविकास नै पर्याप्त छन् । उसले बिपी बेच्नेबाहेक अर्को कामै गरेन भन्दा पनि हुन्छ । बजारले सधैँ एउटै माल स्वीकार्दैन र नयाँ नयाँ स्वादको खोजीमा हुन्छ भन्ने सामान्य उपभोगीय मान्यता पनि बुझेन कहिल्यै कङ्ग्रेसले । त्यसैले कङ्ग्रेस क्रमशः ओरालो लागेकै थियो । अब भने त्यो ओरालो गति ठ्याक्कै देखिने अवस्था जुरेकोमात्र हो ।
नेपाली कङ्ग्रेस अहिलेसम्म टिकेको उसको पौरखले हुँदै होइन । वामपन्थीहरूको फुट र पुर्खे कङ्ग्रेसले धर्म नछाडिदिएका कारण मात्र उसको आकार अलि ठूलो देखिँदै आएको थियो । सनातनी मतकै कारण कङ्ग्रेस अझै केही चुनाव महत्वपूर्ण शक्तिका रूपमा रहने निश्चित छ तर उसको क्षयीकरण भने रोकिने सम्भावना देखिन्न । किनकि ऊसँग नयाँ पुस्ता तान्ने कुनै आकर्षक सपना छैन भने आफ्नो कित्ताका ज्येष्ठहरूलाई टिकाइरहने क्षमता पनि छैन ।
त्यसैले वामपन्थी दलहरू, जसको झगडाको फाइदा लिँदै कङ्ग्रेसले जहिले पनि अल्पमतको शासन चलायो, अहिले त्यही वैशाखी भाँच्चिदा यसलाई अनिष्टको सङ्केत देख्नु उसका लागि स्वाभाविकै मान्नुपर्छ । खाइपाइ आएको सुविधा खोसिँदा वा खोसिने सम्भावना आइलाग्दा जोसुकै पनि तिल्मिलाउनु मानवीय स्वभाव नै हो । यही कारण पनि कङ्ग्रेसको प्रारम्भिक प्रतिक्रिया हतासको भन्दा पनि सुझबुझपूर्ण नै मान्नुपर्छ ।
 

सर्वसाधारणको चासो
‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भन्नेहरू पनि छन् यो त्रिपक्षीय मिलापलाई लिएर । मुलुकको शासन व्यवस्था यस्तो भुत्ते बनाइयो कि कसैको बहुमत आउन आकासै पल्टनुपर्छ । भनाइको मतलव यो देशमा स्थिर सरकार बन्ने सम्भावनै तुहाइयो । यस्तो अवस्थामा कुनै ठूला दलहरू मिल्छौँ भन्नुको मतलव उनीहरूले बहुमत ल्याउँछन् भन्ने हो । बहुमत ल्याए भने कम्तीमा पनि एउटै दलले ५ वर्ष शासन चलाउँछन् भन्ने हो । यस्तो अवस्थामा मुलुकले कम्तीमा पनि आफ्नो महत्वपूर्ण समय सरकार बनाउने र गिराउनेमा मात्र व्यतीत गर्नुपर्दैन र त्यो समय विकास निर्माणमा लगाउँछ भन्ने हो ।
त्यसैले सर्वसाधारणले सरल भाषामा बुझ्ने भनेको अब यो मिलापकर्ताहरूले एउटै पार्टीका रूपमा वा कुनै पृथक आवरणमा हामी स्थिर सरकार दिन्छौँ भनेर चुनावमा जानेछन् । अरु दलको तुलनामा यिनीहरूकै त्यस्तो सम्भावना देखियो भने जनमत पनि अवश्य पाउनेछन् । त्यसैले कङ्ग्रेसका लागि यतिबेला गठबन्धनप्रति अरण्यरोदन गर्दै हिँड्नुभन्दा उनीहरूको स्थिर सरकारको भन्दा दरिलो प्रतिबद्धता के हुन्छ भनेर खोजी गर्नपट्टि लाग्नु सबैभन्दा हितकर हुनेछ । अनि ‘बुद्धिजीवी÷विश्लेषक’ हरूले पनि कि राजनीतिक स्थिरताको गायन्त्री मन्त्र जप्न छाड्नुपर्छ हैन भने कम्तीमा एक निर्वाचनपछिको कार्यकाल धैर्य गर्ने हिम्मत जुटाउनुको विकल्प छैन ।
 

अन्त्यमा
अकबरलाई एकपटक ज्वाइँसँग साह«ै रिस उठेछ । अनि आफ्ना बुद्धिमान मन्त्री वीरबललाई आदेश दिएछन् कि सुइरो बनाएर ल्याउनू, ज्वाइँलाई घोचेर तह लाउनुप¥यो । आज्ञापालक वीरबलले नभन्दै सुइरो बनाएर राजाका अगाडि राखे । अकबर छक्क परेर सोधे– यो तीन÷तीनवटा सुइरो किन ? वीरबलले भनेछन्– एउटा फलामको जुन सर्वसाधारणको ज्वाइँलाई घोच्न । यो चाँदीको चाहिँ मलाई घोच्न । अनि यो सुनको चाहिँ हजुरलाई...।
राजा अकबर जङ्गिए– किन घोच्ने मलाई ? मैले त ज्वाइँलाई पो घोच्न भनेको त । अनि वीरबलले उत्तर दिएछन्– सर्वसाधारण पनि कसै न कसैको ज्वाइँ हुन्छन्, म पनि कसैको ज्वाइँ हुँ र हजुर पनि कसैको ज्वाइँ पर्नुहुन्छ । त्यसैले हजुरले भनेअनुसार सबैका ज्वाइँलाई घोच्न फरक फरक सुइरो ल्याएको हुँ । ज्वाइँहरूलाई ठीक पार्न खोज्दा आफू पनि परिने रहेछ भन्ने बुझेपछि बल्ल उनले ती सुइरो फिर्ता गर्न लगाएछन् ।
अहिले कङ्ग्रेसहरू सत्ता गठबन्धनमै रहेर प्रतिपक्षीसँग मिलेको भन्दै माओवादीलाई अनैतिकको बिल्ला भिडाउन ब्यस्त छन् । हिजो पनि माओवादीले प्रतिपक्षी कङ्ग्रेससँग हाम्फाल्दा आजकै जस्तै एमालेसँग सत्ता गठबन्धनमै थियो । त्यतिबेलाचाहिँ पुष्पकमल दाहाल अर्थात माओवादी अनैतिक भएनन् ? अर्कोलाई घोच्न तयार पारेको सुइरोले आफूलाई पनि सिध्याउँछ भन्ने सामान्य ज्ञान कता डुल्न गएको थियो त्यतिबेला ? अहिले भाग खोसिन लागेको चिन्ताले बर्बराएरमात्र हुन्छ ? 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...