४ वैशाख २०८१ मंगलबार
कला

‘यो साल बिहे खान पाइयोस्’

कठमाडौं- ‘यो साल तेरो बिहे खान पाइयोस्’ रंगकर्मी सुनिल पोखरेलले टीका लगाइदिँदै सरिता गिरीलाई आशीर्वाद दिए । तर, पोखरेलको आशीर्वादमा सरिताले नियमापत्ति गरिन्,
‘गर्दिन म बिहेसिहे ।’
‘गर । मलाई तेरो बिहे खाने रहर छ,’ जमरा लगाउँदै पोखरेलले थपे ।
‘बिहे गरेर तपाईँ खुशी हुनुहुन्छ ? सरिताले प्रश्न गरिन् ।
‘तेरो बिहे भयो भने म खुशी हुन्छु ।’ पोखरेलले चलाखीपूर्ण उत्तर दिए ।
अग्रज रंगकर्मी सुनिल पोखरेल र उनकै चेली सरिता गिरीबीचको रोचक वार्ताको सन्दर्भ थियो, रंगकर्मीको सामूहिक टीका । अघिल्ला वर्षहरू झैं नयाँ तथा पुराना पुस्ताका रंगकर्मी कोजाग्रत पूर्णिमाका दिन सिनामंगलस्थित शिलान्यास हुन लागेको नाटक घर ‘पुरानो घर’मा भेला भएका थिए । टीका थाप्न आउनेलाई सत्यमोहन जोशी, प्रचण्ड मल्ल, अभि सुवेदी, सुनिल पोखरेल र टीका पहारीले कसैलाई समृद्धिको त कसैलाई दीर्घायु र सुस्वास्थ्यको आशीर्वाद दिइरहेका थिए । यही क्रममा सुनिल पोखरेलले सरिताको विवाहको कामना गरेका थिए ।
कोजाग्रत पूर्णिमाका दिन केही वर्षयता रंगकर्मीहरू एकै ठाउँ भेला भएर अग्रजबाट सामूहिक टीका लगाउँछन् । हाल अस्तित्वमा नरहेको गुरुकुल नाटकघरले सुरु गरेको यो परम्परालाई पछिल्लो समय खुलेका नाटकघरले निरन्तरता दिइरहेका छन् ।
गुरुकुल पुरानो बानेश्वरबाट बिस्थापित भएसँगै केही समय रोकिएको परम्परा अनामनगरस्थित मण्डला नाटकघरले करिब ५ वर्ष चालु राख्यो तर गत सालबाट मण्डलाले पनि यसलाई निरन्तरता दिएन । तर, यो साल बिहीबार नै शिलान्यास भएको ‘पुरानो नाटकघर’ले अग्रजबाट टीका थाप्दै पुरानो चलनलाई निरन्तरता दिएको छ ।
‘पूर्णिमाभन्दा अघिल्ला दिनमा हामी रंगकर्मीको परिवारसँगै आआफ्नै दसैं हुन्छ । तर, पूर्णिमाको दिनमा सबै रंगकर्मीको सामूहिक दसैं होस् भन्ने लाग्छ । गुरुकुल र मण्डलाको यो चलन पुरानो घरमा ठाउँ सरेको हो,’ पुरानो घरका सुलक्षण भारतीले बताए । ‘पुरानो नाटकघर’ नाम दिएको नयाँ नाटकघरमा टीका थाप्न पत्रकार किशोर नेपाल, रंगकर्मी विजय विस्फोट, लेखक तथा नाट्य समालोचक शिव रिजाल तथा दोस्रो र तेस्रो पुस्ताका थुप्रै रंगकर्मी उपस्थित थिए ।
पूर्णिमाको दिनमा हरेक साल उपस्थित भएर आशीर्वाद दिँदै आएका अभि सुवेदीले नयाँ ठाउँमा सामूहिक टीका लगाउँदा बेग्लै मजा आइरहेको बताए ।
‘थाह छैन किन हो तर आज मलाई बेग्लै मजा आइरहेको छ,’सधैं उत्सााहित भेटिने अभि सुवेदीले नागरिकसँग बताए, ‘ नयाँ पुराना रंगकर्मी भेला हुने अवसर हो यो । मलाई त यो काम अनुपम लाग्छ ।’ अभि सुवेदीझै ९७ वर्षीय सत्यमोहन जोशीलाई पनि रंगकर्मीको सामूहिक टीकाको परम्परा विशेष लाग्छ । पहिलो खेपदेखि नछुटाइ सहभागी हुँदै आएका जोशी टीकालाई हिन्दू धर्मसँग भन्दा पनि सनातन धर्मसँग जोडेर हेर्नु पर्ने धारणा राख्छन् ।
‘ रंगकर्मीले यसरी टीका लगाउँदा त झन् राम्रो सन्देश जान्छ ।  रंगकर्म मात्र यस्तो ठाउँ हो जहाँ जात र सम्प्रदायको नाममा भेदभाव हुन्न । त्यसैले म त यस्ता कार्यक्रमको पक्षमा छु,’ जोशीले भने । मुस्लिम समुदायका नााजिर हुसेन आफ्नो घरमा टीका लगाउँदैनन् । तर, नाटकघरमा पूर्णिमाको दिन हुने सामूहिक टीकामा नाजिर पनि आफ्नो निधार रातै पारेर कानमा जमरा सिउरिन रुचाउँछन् ।
‘मैंले यो टीकालाई ‘पोजेटिभिटी’ बाँड्ने अवसरमा रुपमा बुझेको छु । टीका लगाइरहँदा मेरो मनमा कहिलै पनि धर्म वा सम्प्रदायको अवशेष टाँसेजस्तो लाग्दैन । एकाधपटक सुटिङ परेर छाडें हुँला नत्र यो दिन मैंले सकभर छुटाउने गरेको छैन,’ नाजिरले भने ।
सामूहिक टीकासँगै बिहीबार नै सत्यमोहन जोशीले ‘पुरानो नाटकघर’को शिलान्यास गरेका थिए । मण्डला थिएटरसँग आबद्ध सुलक्षण भारती र सिर्जना अधिकारीको जोडीले व्यक्तिगत ५ आना जग्गामा नाटकघर निर्माण गर्न लागेको हो । सुलक्षणले भूकम्पले घर भत्काएपछि सोही ठाउँमा नाटकघर बनाउन लागेको जानकारी गराए । डेढ सय दर्शक क्षमताको नाटकघर फागुनसम्म तयार गर्ने दुवैको लक्ष्य छ ।

प्रकाशित: २० आश्विन २०७४ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App