coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

साढे २६ लाख तलब खाने विदेशी पाइलट हटाइए

काठमाडौं- नेपाल वायुसेवा निगममा उपमहाप्रबन्धक बराबरको हैसियतमा प्रतिमहिना २६ लाख ५० हजार रुपैयाँ (२६ हजार ५ सय अमेरिकी डलर) तलब खाइरहेका एक विदेशी पाइलटलाई सञ्चालक समितिले हटाउने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको हालै बसेको बैठकले क्यानेडियन नागरिक ६६ वर्षीय ग्याब्रिएल एसेन्जो (गेब) लाई कामबाट हटाउन निगम व्यवस्थापनलाई निर्देशन दिएको हो ।
‘नौ महिनादेखि निगममा कार्यरत पाइलट गेबलाई कामबाट हटाउने निर्णय भएको छ,’ निगम उच्च स्रोतले बिहीबार नागरिकसँग भन्यो, ‘सञ्चालक समितिका सदस्यहरू गेबको नियुक्तिलाई लिएर पहिलेदेखि नै असन्तुष्ट थिए र लामो प्रयासपछि उनलाई हटाउने निर्णय भएको हो ।’
स्रोतका अनुसार निगम कर्मचारी विनियमावली विपरीत निगम महाप्रबन्धक सुगतरत्न कंसाकारको ‘एकल निर्णय’ मा गेबलाई मासिक साढे २६ लाख रुपैयाँ तलब दिने गरी २०७३ माघ ५ गतेबाट दुई वर्षका लागि नियुक्त गरिएको थियो । निगम व्यवस्थापनले ‘निगमलाई अतिआवश्यक व्यक्ति’ र ‘प्राविधिक विशेषताले भरिपूर्ण’ भन्दै गेबलाई काममा लगाएको थियो । गेबले निगममा जहाज उडाउने काम भने गर्दैनन् । उनको काम निगमको जहाज सञ्चालन, चालकदलको तालिम, उडान मापदण्ड र सुरक्षा, नियम पालना लगायत हेर्ने हो ।
‘उक्त बैठकमा सञ्चालक समिति सदस्यहरूले गेबको नियुक्तिको औचित्य पुष्टि गर्न आग्रह गर्दा महाप्रबन्धक कंसाकारले उचित जवाफ दिन सकेनन्,’ स्रोतले भन्यो, ‘गेबलाई नियुक्त गरेर निगमलाई फाइदा होइन उल्टै आर्थिक नोक्सानीमात्र हुन पुगेको छ ।’
‘गेबको विज्ञता जहाज उडाउने होइन, वायुसेवा कम्पनीको सञ्चालन चुस्तदुरुस्त बनाउने हो,’ गेबको नियुक्तिबारे महाप्रबन्धक कंसाकारले यसअघि नागरिकसँग भनेका थिए ।
निगम छिर्नुअघि निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्समा मासिक १२ देखि १४ लाख रुपैयाँ तलब खाएका गेबलाई महाप्रबन्धक कंसाकारले एकैचोटि झन्डै दोब्बर तलब दिएर दुई वर्षका लागि नियुक्त गरेका थिए । गेबलाई हिमालय एयरलाइन्सले २०७३ माघमा कामबाट हटाएको थियो । गेब ‘बोइङ ७४७’ वाइड बडी जहाजका पाइलट हुन् ।
गेबले निगममा नौ महिनासम्म तलब खाएका छन् । जसवापत उनले २ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझेका छन् । निगमले २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुईथान जहाज ल्याएपछि त्यसलाई सफलतापूर्वक सञ्चालन गर्ने जिम्मेवारी गेबलाई दिएको थियो ।
गेबलाई मासिक २६ हजार ५ सय डलर तलब दिने, गेबको श्रम स्वीकृति र भिसा प्रक्रिया तथा उनकी श्रीमतीको भ्रमण भिसामा लाग्ने सम्पूर्ण खर्च निगमले बेहोर्ने, निगम मुख्यालयमा सहयोगी कर्मचारी, टेलिफोन, इन्टरनेटसहित सुविधासम्पन्न पूर्णवातानुकूलित कार्यालय दिने, निगम जाने कुनै पनि गन्तव्यमा गेब र उनकी श्रीमतीलाई वार्षिक चारथान बिजनेस क्लास टिकट निःशुल्क दिने, दुवैजनालाई नेपाल फर्कंदा दुईथान बिजनेस क्लास टिकट दिने, गेबलाई ११ तह (उपमहाप्रबन्धक) सरह दुर्घटना बिमा र औषधी उपचार खर्च दिने तथा विदेशमा हुने तालिम, सभा, सम्मेलन, आन्तरिक तथा अन्तर्राष्ट्रिय स्टेसनको अडिटजस्ता कामको खर्च निगले दिने महाप्रबन्धक कंसाकार र गेबबीच भएको सम्झौतापत्रमा उल्लेख छ ।
सम्बद्ध स्रोतका अनुसार निगममा नियुक्त भएको पाँच महिनापछि मात्र गेबले श्रम स्वीकृति पाएका थिए । त्यसअघि गैरकानुनी तरिकाले निगममा काम गरेका गेबबारे जानकार हुँदाहुँदै पनि निगम व्यवस्थापनले ‘आँखा चिम्लिएर’ उनलाई काममा लगाएको थियो । ‘यति लामो अवधिमा उनले निगममा के योगदान गरे व्यवस्थापनका उच्च अधिकारीले मूल्यांकन गर्नुप¥यो,’ स्रोतले भन्यो ।
निगम सञ्चालक समिति अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहने व्यवस्था छ । हाल पर्यटन सचिवमा महेश्वर न्यौपाने छन् । सदस्यमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, अर्थ मन्त्रालयका सहसचिव जीवन सिटौला, निजी क्षेत्रबाट मुक्तिराम पाण्डे र निमानुरु शेर्पा तथा विज्ञ सदस्यका रूपमा निगमकै पूर्वनिर्देशक अच्युतराज पहाडी छन् ।
‘गेबलाई लाखौं तलब दिनुको कारण के हो भने ऊसित हामीसँग नभएको ‘आइडिया’ भएर हो, कमिसन खान नियुक्त गरेको होइन,’ महाप्रबन्धक कंसाकारले भनेका थिए, ‘यतिका क्षमतावानलाई नियुक्त गरेन भने निगमलाई जनकपुर चुरोट कारखाना र हिमाल सिमेन्ट कारखाना बन्नबाट कसैले जोगाउन सक्दैन । त्यसकारण निगमलाई थप उचाइमा पु¥याउन गेबजस्ता पाइलट अतिआवश्यक छन् ।’

प्रकाशित: २० आश्विन २०७४ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App