७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘बृहत् वाम एकताः समृद्धिको आधार’

काठमाडौँ-  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपाल निकटका युवा संगठनले बृहत् वाम एकताले लामो समयदेखिको नेपाली जनताको भावनालाई सम्बोधन गरेको बताएका छन्।

तीन वटै पार्टी निकटका युवा संगठनको यहाँ आज बसेको संयुक्त बैठकले वाम एकतालाई सुदृढ र सक्रियतापूर्वक सफल बनाउन आआफ्नातर्फबाट योगदान गर्ने निर्णय गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनले उठाउँदै आएको गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा आर्थिक– सामाजिक– सांस्कृतिक रुपान्तरणको विषयलाई एकता प्रक्रियाले सार्थक निष्कर्षमा पुर्‍याउने विश्वास युवा संगठनले गरेका छन्।

राजनीतिक अधिकारको प्राप्तिपछि अबको बाटो विकास र समृद्धिको दिशामा गएको जनाउँदै उनीहरुले हालसम्मको परिवर्तनले प्रमाणित गरिसकेको विकास र समृद्धिको नेतृत्वसमेत कम्युनिस्ट एकताले मात्रै सम्भव रहेको ठहर गरेका छन् । एकता प्रक्रिया नेपाली समाजलाई समाजवादी लक्ष्यप्राप्तिका लागि कोसेढुंगा सावित हुने ठहर गर्दै युवा संगठनले एकता प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन पार्टी नेतृत्वलाई सार्थक सहयोग गर्ने र सक्रियतापूर्वक लाग्ने निर्णय गरेका छन् ।

बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा एकता प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्ति र देशभक्तलाई आग्रह गरिएको छ । यसरी आग्रह गर्नेमा युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र राष्ट्रिय युवा अभियानका अध्यक्ष कमल शाही छन्। रासस

 

प्रकाशित: २० आश्विन २०७४ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App