७ वैशाख २०८१ शुक्रबार
खेल

फुटबल खेलाडीको बिदाइ

काठमाडौं- एएफसी एसिया कप छनोट फुटबल खेल्न नेपाली पुरुष फुटबल टोली त्यसतर्फ गएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवरलगायतले टोलीलाई बिदाइ गरे ।

नेपालले एसिया कप छनोटअन्तर्गत समूह ‘एफ’ को खेलमा ताजकिस्तानसँग अवे खेल खेल्दै छ ।

खेल  असोज २४ गते ताजकिस्तानको घरेलु मैदान हिजोर सेन्ट्रल रंगशालामा हुनेछ । समूह चरणको तीन खेल सकिँदा नेपालले १ अंक मात्र जोडेको छ । तीनमध्ये दुई खेल घरेलु मैदानमा खेलेको नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । यमनसँग बराबरी नतिजा नै नेपालले हालसम्म गरेको गतिलो प्रदर्शन हो ।

छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । अर्को खेलमा नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो । ताजकिस्तानविरुद्धको खेलले नेपालको एसिया कप खेल्ने सम्भावनालाई थप प्रस्ट पार्नेछ ।

अर्को वर्ष हुने एसिया कप छनोट फुटबलमा २४ टिमलाई  ६ समूहमा विभाजन गरेर एएफसीले प्रतिस्पर्धा गराइरहेको छ ।

एउटा समूहमा ४ टोली छन् । प्रत्येक टोलीले होम एन्ड अवे गरी ६ खेल खेल्नेछ । हरेक समूहको विजेता र उपविजेता टोलीले सन् २०१९ मा एसिया कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

हालसम्म नेपाल समूह ‘एफ’ को पुछारमा छ । समूहमा फिलिपिन्स शीर्ष स्थानमा छ । फिलिपिन्सले तीन खेलबाट ७ अंक, दोस्रो स्थानमा रहेको यमनले ५ र ताजकिस्तानले ३ अंक जोडेका छन् ।

प्रकाशित: २१ आश्विन २०७४ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App