८ वैशाख २०८१ शनिबार
अन्य

'साहित्यको अन्तर्राष्ट्रिय स्तरबारे लेख्न आवश्यक छ'

राम लोहनी, समालोचक

समालोचक राम लोहनी त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान विषयका अध्यापकका रूपमा कार्यरत छन् । समसामयिक विषयवस्तुमा सटीक टिप्पणी गर्ने लोहनी पुस्तक अध्ययनलाई प्राथमिकतामा राख्छन् । उनी पढ्नुलाई आफ्नो पेसा, धर्म र बाध्यता पनि हो भन्छन् ।

तपाईंको हातमा अहिले कुन पुस्तक छ ?
मेरो हातमा प्रायः एकभन्दा बढी पुस्तक हुन्छन् । अहिले कृष्णसम्बन्धी केही किताब, ग्यारेट जोन्सले लेखेको कार्लमाक्र्सको जीवनी, युवल हरारीको स्यापिएन्स, भाषाविज्ञानका केही पुस्तक एकैसाथ पढ्दै छु ।
यसअघि कुन पुस्तक पढ्नुभएको थियो ?
हरि थापाको रजगज र मदनकृष्ण श्रेष्ठको महको म पढेको थिएँ । यीसँगै अन्य पुस्तक पनि पढियो ।
 

मनपर्यो कि परेन ? किन ?
पढेका पुस्तक मनप¥यो या परेन भन्न गाह्रो हुन्छ । विषयवस्तु मनपरेकै कारण ती पुस्तक छनोटमा परेका हुन् । म किताबको गुण–दोषका आधारमा चर्चा गर्नुलाई उपयुक्त ठान्छु । रजगजमा हाम्रो देशको कानुन, राजनीति र प्रशासनलगायत क्षेत्रमा व्याप्त भ्रष्टाचारका विवरण छन् । पुस्तकमा धेरै कुरा थाहा भएकै विषयवस्तु भए पनि ती सबैलाई एकसाथ संकथनका रूपमा उपलब्ध हुनुलाई राम्रो मानेको छु । विगत २०÷३० वर्षभित्र भएका भ्रष्टाचारको सांगोपांगो वर्णन भएकाले समसामयिक राजनीतिमा चासो राख्नेका लागि पुस्तक उपयुक्त छ ।
मदनकृष्ण श्रेष्ठ एक वरिष्ठ कलाकार र सामाजिक अभियन्ता पनि भएकाले उहाँका बारेमा धेरैलाई जान्ने चासो छ । पुस्तकमा उहाँको कलायात्रा र जीवनका सुखदुःखका क्षणलाई रेखीय शैलीमा प्रस्तुत गरिएको छ । भाषा सरल छ, तर पुस्तक पढिसक्दा उहाँ आफैँ लेखक बन्न जरुरी थियो र ? भन्ने प्रश्न मेरो मनमा उठ्यो । उहाँको जीवनीको बहुआयामिक पाटोलाई आलोचनात्मक दृष्टिले दोस्रो व्यक्तिद्वारा लेखिएको भए अझ राम्रो हुन्थ्यो भन्ने कुरा चाहिँ खड्कियो । कलाकारिताको उचाइको सापेक्षमा उहाँको लेखन निम्छरो देखियो ।
 

अब के पढ्ने योजना छ ?
योजना नै बनाएर पढ्ने बानी छैन, पढ्दै गरेका पुस्तक र ती क्षेत्र नै मेरा चासो हुन् । पछिल्लो समय नेपालीमा के–कस्ता पुस्तक प्रकाशित भए भनेर जानकारी भने राख्छु । पछिल्लो समय प्रकाशित भएका २०–२५ वटा नेपाली पुस्तक साथमा छन्, यिनै पढ्ने योजना छ । त्यस्तै महाभारत दोहो¥याउँदै छु । पढ्नैपर्ने भनेर छुट्याएका पुस्तक पनि थुपै्र छन् ।

कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ ?
ज्ञान–विज्ञानका क्षेत्रमा भएका उपलब्धि नेपालीमा लगभग लेखिएका छैनन् । दर्शनशास्त्रको इतिहास, विज्ञानको इतिहास, ज्ञानको इतिहास आदि विषयमा लेखिनु आवश्यक छ । ज्ञान–विज्ञान र साहित्यमा अन्तर्राष्ट्रिय स्तर कहाँ छ भन्ने कुरा लेख्न सकियो भने नयाँ लेखकले आफूलाई कहाँ उभ्याउने भन्ने ठहर गर्न सक्छन् ।
हाम्रै इतिहास पनि प्रस्ट छैन । हाम्रो समाज, इतिहास र विविधतामाथि भरपर्दाे अनुसन्धान कृतिको अभाव सधैँ खड्किन्छ । नयाँ कृति मात्र होइन, विदेशी भाषाका उत्कृष्ट कृति पनि नेपालीमा अनुवाद भएर आऊन् भन्ने लाग्छ । यसले मात्र हाम्रो स्तरबोध हुन्छ ।

पढेकामध्ये सबैभन्दा मनपरेको पुस्तक ?
त्यस्ता धेरै पुस्तक छन् । तर, एउटाको मात्र नाम लिन गाह्रो छ । जिद्दु कृष्णमूर्तिको कमेन्टरिज अन लिभिङ, फ्रिटजोफ काप्राको टर्निङ प्वाइन्ट, गेरी जुकावको डान्सिङ वु ली मास्टर्स, लिओनार्ड स्लेनको अल्फावेट भर्सस द गडेस, जरेड डायमन्डको गन्स, जम्र्स एन्ड स्टिल, कार्ल पप्परको ओपन सोसाइटी एन्ड इट्स इनिमिज, चाल्स भ्यान डोरेनको हिस्ट्री अफ नलेज लगायत पुस्तक तथा नेपालीमा धच गोतामेका उपन्यास, शिरीशको फूल, सुम्निमा, शंकर लामिछानेका कृति, माधवी, कारागार, लक्ष्मी निबन्ध, भैरव अर्यालका हास्यव्यंग्य लगायत कृति मनपर्छ ।

नपढी नहुने पुस्तक ?
नपढी नहुने भनेर पुस्तकको सुझाव दिन सजिलो छैन । व्यक्तिगत रुचि आदि कारण पुस्तकको महŒव फरक पर्न सक्छ ।  तर, मान्छेका व्यक्तिगत र सामाजिक आयामलाई परिचित गराउने, आफ्नो परिवेश बुझ्ने प्रकृतिका पुस्तकचाहिँ पढ्नुपर्छ । मेरो कुरा गर्दा कृष्णमूर्तिको कमेन्टरिज अन लिभिङ, अल्फ्रेड एड्लरको अन्डरस्ट्यान्डिङ लाइफ, विल ड्युरन्टको प्लिजर्ज इन फिलोसफी पढ्नुपर्छ भन्ने लाग्छ ।

तपाईंको पुस्तकसँगको साइनो कस्तो छ ?
यो जीवनको एउटा अंग हो । मानिसका आ–आफ्नै चासो, क्षमता र संलग्नता हुन्छन् । अध्यापनका क्षेत्रमा लागेकाले पढ्नु मेरो पेसा, धर्म र बाध्यता पनि हो । समय बिताउन पनि पुस्तक अध्ययन गर्छु ।
मेरो चासोमा विविधता छ । मूलतः म मान्छेलाई केन्द्रमा राखेर लेखिएका पुस्तक पढ्न रुचि राख्छु । भाषाविज्ञान पेसागत क्षेत्र भएकाले त्यस्ता पुस्तक पनि मनपर्छ । समसामयिक राजनीति, विज्ञान र साहित्यका किताब प्रायः मेरो छनोटमा पर्छन् । मान्छेको विकास क्रम र यस क्रममा भएका वैचारिक क्रान्तिको चर्चा गरिएका कृतिले सधैँ तान्छन् । मेरा लागि पढ्ने विषय, पढिने वस्तु, पे्ररणा दिने, जिज्ञासा पैसा गर्ने पहिलो चिज मान्छे नै हो ।
 

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका ?
एउटा भाषामा लेखिएका पुस्तक अन्य भाषीले पढ्ने एउटै तरिका अनुवाद हो । नेपाली लेखक अनुदित छैनन् । लगानी गर्न सक्ने केहीले सामान्य कृति पनि अनुवाद गराएका छन् । त्यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली लेखनको सही प्रतिनिधित्व हुन पाएको छैन । नेपाली लेखकका कृति अन्य मुलुकमा नपढिनुको पछाडि यिनै कारण रहेका छन् ।

पढ्न मन लागेर पनि नपाएको पुस्तक ?
पहिले त्यस्ता पुस्तक हुन्थे तर अहिले चाहना भए जुनसुकै पुस्तक पनि प्राप्त गर्न गाह्रो छैन । मुख्य कुरा समय र लगानी हो । यी दुवै कुरा छैन भने पढ्न मन लाग्नु आफैँमा अमूर्त स्वैरकल्पनाभन्दा बढी केही हुँदैन । आरइबिएच रोबर्टको अ ग्रामर अफ खस ल्यांग्वेज भन्ने किताबको रेफरेन्स एक ठाउँमा छुस्स फेला पारेको थिएँ । त्यो किताब प्राप्त गर्ने कुनै पनि प्रयास सफल भएन । कतिसम्म भने त्यो किताबको बारेमै पूरा जानकारी समेत पाउन सकिएन ।

घरमा कतिवटा पुस्तक छन् ?
यति भनेर ठ्याक्कै भन्न सक्दिनँ । ई–बुक समेतको सूची बनाउने हो भने ठूलो संख्या हुन सक्छ तर भौतिक पुस्तक करिब चार–पाँच हजार जति छन् कि !

प्रकाशित: २१ आश्विन २०७४ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App