८ वैशाख २०८१ शनिबार
अन्य

संस्कृतमनीषीलाई शिष्यको गुरुदक्षिणा

‘प्रज्ञाद्योतित संस्कृतमनीषी प्रा.डा. वेणीमाधव ढकाल’ उनकै शिष्य प्रा.डा. नारायणप्रसाद खनालले आफ्ना गुरुको योगदान चर्चा गर्दै लेखेको पुस्तक हो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले यो पुस्तक प्रकाशन गरेका हुन् । यस ग्रन्थमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र उपाध्याय ढुंगेल, प्रा.डा. चुणामणि बन्धु, प्रा. गोपीकृष्ण शर्मालगायत प्रसिद्ध विद्वान्ले शुभसम्मति र शुभकामना दिएका छन् ।

प्रतिष्ठित पत्रिकामा धार्मिक र आध्यात्मिक विषयमा लेख लेख्दै आएका ढकाल विभिन्न विषयमा शोध तथा विद्यावारिधि गर्नेका लागि गहकिलो स्रोतव्यक्ति बन्न सक्छन् । ढकाललाई देशकै गहनाका रूपमा लिनुपर्छ । उनको परिचय दिने खालको पुस्तक लेखेर उनका शिष्य प्रा.डा. नारायणप्रसाद खनालले सबैभन्दा ठूलो गुरुदक्षिणा दिएका छन् ।

लेखकले चितवन साहित्य परिषद्को मुखपत्र वागीश्वरीको १८ फागुन ०७३ मा प्रकाशित अन्तर्वार्ताबाट पुस्तकको सुरुवात गरेका छन् । उनले अन्तर्वार्तालाई विषयसूचीभन्दा अगाडि राखेका छन् ।
पुस्तकको प्रथम परिच्छेदमा ढकालको जीवनी र व्यक्तिŒवअन्तर्गत वंश परम्परा, जन्म र शिक्षादीक्षालगायतको चर्चा गरिएको छ । पुस्तकमा उल्लेख गरिएअनुसार ग्रन्थ नायकका पुर्खालाई पाल्पामा बिर्ता प्राप्त भएको देखिन्छ । पण्डित चूडामणि ढकाल र छोरी दिव्यलक्ष्मीको कोखबाट कान्छो छोराका रूपमा २००६ वैशाख २६ गते जन्मेका वेणीमाधवले पिताबाटै अक्षरारम्भ गरेका थिए । व्रतबन्धअघि नै विभिन्न स्तोत्र र चण्डी पाठ गर्न सक्ने भएका उनको आठ वर्षमा व्रतबन्ध भएपछि रुद्री श्राद्ध पद्धति र वेद घरमै अध्ययन गरेका थिए ।
११ वर्षको उमेरमा उनका पिताले ढकाललाई साँहिला काका भुवनेश्वरसँग भारतको ऋषिकेश पठाएको पुस्तकमा वर्णन गरिएको छ । उनले त्यहाँ स्वर्गद्वारी महाप्रभु स्वामी सच्चिदानन्दका शिष्य स्वामी अनन्तानन्द गिरिद्वारा स्थापित नेपाली संस्कृति महाविद्यालयमा प्रथम पूर्वमध्यमा गरे ।
त्यसपछि उद्धासीन संस्कृति महाविद्यालय, निर्मल महाविद्यालय र गोरखपुरस्थित गोरक्षनाथ संस्कृति विद्यापीठ एवं सम्पूर्णानन्द संस्कृत महाविद्यालयलगायतमा अध्ययन गरी साहित्याचार्यसम्मका परीक्षा प्रथम श्रेणीमा पास गरेका थिए । उनले गढवाल विश्वविद्यालयबाट बिए र सम्पूर्ण संस्कृत विश्वविद्यालयबाट स्वर्ण दर्शनामा समेत आचार्य गरेको देखिन्छ ।
भारतको अध्ययनपश्चात् नेपाल फर्किएर त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाल्मीकि अध्ययन संस्थानमा प्राध्यापन गरेका उनले लिच्छविकालिकानामभिलेखनां साहित्यिकमनुशीलन् विषयमा ०४९ सालमा महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।
उत्तर मध्यमापछि उनले पाल्पामै निम्नमाध्यमिक र माध्यमिक तह अध्यापन गराउनु साथै प्रधानाध्यापक समेत भए । ०२७ देखि ०३० सम्म हरिद्वारको जयराम महाविद्यालयमा पनि अध्यापन गराए । उनी त्यहाँ साहित्य विभाग अध्यक्ष समेत भए । भारतका विभिन्न विद्यालय र विश्वविद्यालयमा अध्यापन गराएका ढकालले ०३३ सालमा नेपाल आएर गृह मन्त्रालयअन्तर्गत अनुसन्धान अधिकृतका रूपमा काम गरे ।
उनी ०३४ भाद्रदेखि महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत तत्कालीन संस्कृत अध्ययन संस्थानअन्तर्गत वाल्मीकि विद्यापीठको सहायक प्राध्यापकका रूपमा सेवा प्रवेश गरेर प्राध्यापक भए ।
०६५ चैत १४ गतेबाट सेवानिवृत्त भएपछि उनी नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोग अध्यक्ष बने । उनले तीन धारा छात्रावासको सुपरीवेक्षक, पाठयक्रम परामर्श समिति संयोजक तथा अन्य विभिन्न समितिमा अध्यक्ष भई काम गरिसकेका छन् । उनी ०७२ वैशाख १५ मा पुनः दोस्रो पदावधिका लागि पनि सेवा आयोग अध्यक्ष भए ।
उनी निरन्तर कृति लेखन तथा प्राज्ञिक यात्रामा छन् । ढकालले ०४४ देखि ०४७ सालसम्म धर्म निसान (१–४) खण्डको हिन्दीबाट नेपालीमा अनुवाद गरेका थिए । त्यसै कालमा विद्यावारिधि समेत गरेका उनले जर्मनीमा भएको संस्कृत सम्मेलनमा सहभागिता जनाएका थिए ।
यसबीच अरुणदय, मर्यादा, प्राचीन नेपाल, हेमवती, धर्मसन्देशलगायत पत्र–पत्रिकामा शोधपूर्ण लेख उनले प्रकाशन गराए । यस हिसाबले यो समय उनको प्राज्ञिक जीवन निर्माणको पूर्वाद्ध मात्र हो । यसैबेला उनले पितृवियोग समेत भोग्नुप¥यो ।
जीवनको उत्तराद्धमा महेन्द्र संस्कृत विश्वविद्यालयको प्राध्यापक बनेका उनले विभिन्न पदक र विभूषण समेत प्राप्त गरेका छन् । विश्वविद्यालयमा उनी साहित्य शिक्षण विधाको विभागीय प्रमुख समेत भए ।
उनका प्रकाशित कृतिमा कार्तवीदीय महाकाव्यम्–०५० (आंशिक सम्पादन), हरिकेलि महाकाव्यम्–०५१ (सम्पादन), हरिकेलि नवनीतम् ११–१३ सर्गको संस्कृत टीका एवं अनुवाद, ब्रह्मासर्ग शांकर भाष्यम् समन्यामाध्ययको आंशिक अनुवाद (०५५), काव्य दीपीका संस्कृत टीका एव नेपाली अनुवाद, हरिहर प्रार्थना पुष्पाञ्जली अनुवाद, संस्कृत नेपाली बृहत् शब्दकोष सम्पादन, चन्द्र सम्भव महाकाव्यम् सम्पादन, स्तुति कुसुमाञ्जली अनुवादलगायत छन् । उनले शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रका लागि विभिन्न पाठ्यपुस्तक पनि लेखेका छन् ।
उनले नेपाल सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कार (०५४), महेन्द्र विद्याभूषण पदक (०५४), शिक्षा दिवस पदक (०५९), जयतु संस्कृतम् पुरस्कार (०६०) पाणिनी पुरस्कार (०६०) लगायतबाट उनी सम्मानित भइसकेका छन् । ढकालद्वारा नेपाली संस्कृत र हिन्दी भाषामा लेखिएका मौलिक, अनुदित र सम्पादित एवं सहसम्पादित दर्जनौँ कृति प्रकाशित भइसकेका छन् ।
स्वदेश तथा विदेशमा भएका विभिन्न प्राज्ञिक गोष्ठीमा विभिन्न कार्यपत्र प्रस्तुत गरेका ढकाल नेपाली, हिन्दी, संस्कृत र अंग्रेजी भाषामा पारंगत छन् । नेपाल र भारतका विभिन्न समितिमा संलग्न उनको परिचय धार्मिक आध्यात्मिक व्यक्तिŒवका रूपमा उच्च छ ।
निर्णय सिन्धु र आहिकलगायतका कर्मकाण्ड ग्रन्थलाई नेपालीमा अनुवाद गरिनाले संस्कृत नजान्ने पुरोहित–यज्ञमानलाई सुविधा र सहयोग भएको छ ।
प्रतिष्ठित पत्रिकामा धार्मिक र आध्यात्मिक विषयमा लेख लेख्दै आएका ढकाल विभिन्न विषयमा शोध तथा विद्यावारिधि गर्नेका लागि गहकिलो स्रोतव्यक्ति बन्न सक्छन् । ढकाललाई देशकै गहनाका रूपमा लिनुपर्छ । उनको परिचय दिने खालको पुस्तक लेखेर उनका शिष्य प्रा.डा. नारायणप्रसाद खनालले सबैभन्दा ठूलो गुरुदक्षिणा दिएका छन् ।

प्रकाशित: २१ आश्विन २०७४ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App