सेप्टेम्बर सम्झँदा...

शनिबार, २१ असोज २०७४, १२ : ०५ अरुन्धति राय


मेरा लेखहरू, आख्यान हुन् वा अन्य, शक्ति र शक्तिहीनता बीचको सम्बन्ध र उनीहरूबीच निरन्तर चक्रीय रूपमा चलिरहने संघर्षबारे नै अक्सर आधारित हुन्छन् । एक गजब लेखकका रूपमा चिनिने जोन बर्गरले एकपटक लेखेका थिए, ‘अब कहिल्यै पनि कुनै कथा भनिने छैन, मानौँ त्यही मात्र एउटा कथा हो ।’ एक मात्र वर्णन हुनै सक्तैन । हेर्ने विभिन्न दृष्टिकोण हुन्छन् । त्यसैले जब म एउटा कथा सुनाउँछु, एउटा जडसूत्रवादी विचारलाई अर्को त्यस्तैसँग भिडाउने कष्ट उठाउँदिनँ तर आफ्नो विचारधारालाई अरूसँग बाँड्ने कथावाचक बन्छु । हेर्दा त्यस्तो नलाग्ने भए पनि, मेरा लेखाइ राष्ट्रहरू र इतिहासहरूबारे हुँदैनन्, बरू शक्तिबारे हुन्छन् । शक्ति प्रयोगले ल्याउने त्रास र निर्ममताबारे हुन्छन् । शक्तिको भौतिकताबारे हुन्छन् । राष्ट्र वा राज्यको, संस्था वा संस्थानको, अझभनौँ एक व्यक्ति, पति वा पत्नी, साथी वा सहोदरको पनि, कुनै पनि विचारधारा हुँदा वा नहुँदा पनि, हातमा निरंकुश शक्ति थुप्रँदै गयो भने त्यसले कस्तो ज्यादती गर्न सक्दोरहेछ भन्नेबारे केही वर्णन अब म गर्छु ।

‘अमेरिका विरोधी’ भन्नाले के बुझ्ने त ? तिमी ज्याज विरोधी भनेर बुझ्ने ? या तिमी वाक् स्वतन्त्रताविरोधी भनेर बुझ्ने ? टोनी मोरिसन वा जोन अप्डाइकका भाषणबाट तिमी पुलकित हुँदैनौ भनेर बुझ्ने हो कि ? या विशाल सिकोइयासँग तिम्रो झगडा प¥यो भनेर बुझ्ने ? आणविक हतियारविरुद्ध प्रदर्शन गरेका लाखौँ अमेरिकी नागरिकलाई वा युद्धको प्रतिरोध गर्ने ती हजारौँ मानिसलाई जसकारण अमेरिकी सरकार भियतनामबाट पछि हट्यो, तिमीले प्रशंसा गर्न चुक्यौ भनेर बुझ्ने पो हो कि ? तिमीले सबै अमेरिकनलाई घृणा गर्ने भएर हो ?


भारत र पाकिस्तानका सरकारले आफ्ना दिमाग फिराइएका जनतालाई आणविक युद्धको बर्बादीमा तिमीहरू पर्नेवाला छौ भनेर प्रतिज्ञा गर्दै रहँदा र ‘आतंकवादविरुद्ध युद्ध’को (जसलाई राष्ट्रपति बुसले बाइबलीय शैलीमा ‘कहिल्यै नटुंगिने काम’ भन्न भ्याए) छायामा बस्न बाध्य भएकी म र अन्य करोडौँ मानिसको अवस्था हेर्दा म अक्सर आफूलाई नागरिक र राज्यबीचको अन्तर्सम्बन्धबारे सोचिरहेको पाउँछु ।
भारतमा आणविक बम, ठूला–ठूला बाँध, कर्पोरेट विश्वव्यापीकरण र हिन्दू सम्प्रदायको सम्भावित अधिनायकवादबारे आफ्ना विचार राख्ने जुन भारत सरकारका सोचभन्दा नितान्त भिन्न हुन्छन्, हामी जस्तालाई ‘अराष्ट्रिय तŒव’ भनेर डामिन्छ । यस्ता आरोपले ममा क्रोध त भरिँदैन तर म के गरिरहेकी हुन्छु, के सोचिरहेकी हुन्छु भन्ने कुराको यथार्थ वर्णन यसले गर्दैन । किनकि ‘अराष्ट्रिय तŒव’ भनेको त्यो व्यक्ति हो, जो आफ्नो राष्ट्रको विरोधमा हुन्छ र प्रकारान्तरले, अर्को राष्ट्रको पक्षमा हुन्छ । सबै प्रकारका राष्ट्रवाद अराष्ट्रवाद हुन सक्दैनन् भनेर गम्भीर शंका गर्न ‘अराष्ट्रिय तŒव’ हुन आवश्यक छैन । बिसौँ शताब्दीका अनेकन् नरसंहार कुनै न कुनै किसिमको राष्ट्रवादकै कारण भएका हुन् । अराष्ट्रिय झन्डा रंगीन कपडाका ती टुक्रा हुन्, जसलाई सरकारले पहिले जनताका गिदीलाई पोको पार्न प्रयोग गर्छ र पछि गएर मरेकाको शव छोप्न ।
‘अमेरिकाविरोधी’ भन्ने शब्दावली अमेरिकी सत्तापक्षले आफ्ना आलोचकलाई निरर्थक बनाउन बेलाबेला झूटो त नभनौँ, बे–सटीक किसिमले भनौँ, प्रयोग गरेर दुनियाँलाई दर्शाउने गर्छन् । एकपटक अमेरिकाविरोधी भन्ने छाप लागेपछि त्यस मानिस आफ्नो भनाइको सुनुवाइ हुनुअघि नै फैसलाको सिकार भइसक्छ र उसका जिकिर चिथोरिएको अराष्ट्रिय अभिमानको पहिरोमा पुरिन्छ ।
‘अमेरिका विरोधी’ भन्नाले के बुझ्ने त ? तिमी ज्याज विरोधी भनेर बुझ्ने ? या तिमी वाक् स्वतन्त्रताविरोधी भनेर बुझ्ने ? टोनी मोरिसन वा जोन अप्डाइकका भाषणबाट तिमी पुलकित हुँदैनौ भनेर बुझ्ने हो कि ? या विशाल सिकोइयासँग तिम्रो झगडा प¥यो भनेर बुझ्ने ? आणविक हतियारविरुद्ध प्रदर्शन गरेका लाखौँ अमेरिकी नागरिकलाई वा युद्धको प्रतिरोध गर्ने ती हजारौँ मानिसलाई जसकारण अमेरिकी सरकार भियतनामबाट पछि हट्यो, तिमीले प्रशंसा गर्न चुक्यौ भनेर बुझ्ने पो हो कि ? तिमीले सबै अमेरिकनलाई घृणा गर्ने भएर हो ?
अमेरिकाको संस्कृति, संगीत, साहित्य, भूगोलको मनमोहक सौन्दर्य, साधारण मानिसले अमरिकी सरकारको विदेश–नीतिको (जसबारे अमेरिकाको ‘स्वतन्त्र प्रेस’का बाबजुद कमैले जानकारी राख्छन्) आलोचना गर्दा पाउने सरल आनन्द आदिको हाकाहाकी गरेको यस्ता बठ्याइँपूर्ण सम्मिश्रण एक अचूक रणनीति हो । यो कस्तो हो भने शत्रुले आक्रमण गर्दा अनाहक सर्वसाधारण मारिन सक्छन् भनेर गोली नहान्लान् भन्ने आशमा घना बस्ती भएको सहरमा भागेको सेना लुक्न जानुजस्तो । तर, धेरै अमेरिकी आफ्नो सरकारको नीतिहरूसँग गाँसिनुपर्दा मर्माहत हुन्छन् । अमेरिकी सरकारका नीतिहरूको सबभन्दा बौद्धिक, तिखो, गुदी छिचोल्ने, व्यंग्यात्मक आलोचना अमेरिकी नागरिकबाटै आउने गर्छन् ।

त्यसैगरी भारतमा पनि हजारौँ होइन, करोडौँ हामीजस्ता छौँ, जो कास्मिर उपत्यकामा (आतंकवादविरुद्ध लडाइँको नाममा) राज्य आतंक मचाउने मात्र नभई हालै गुजरात राज्य–सरकारद्वारा परिवेक्षित मुस्लिम समुदायमाथिको ताण्डव नृत्यप्रति आँखा चिम्लिने भारतको हालको केन्द्रीय सरकारका नीतिसँग संलग्न छौँ भनियो भने लज्जित र कुण्ठित हुन्छौँ । भारत सरकारको आलोचना गर्नेलाई ‘भारतविरोधी’ भन्ने सोच राख्नु वाहियात कुरा हो, तर सरकारले त्यही लाइन पकड्न कुनै कसर बाँकी राख्दैन ।
भारत सरकार, अमेरिकी सरकार वा कसैलाई पनि ‘भारत’ वा ‘अमेरिका’ भनेको के हो र कस्तो हुनुपर्छ भनेर अथ्र्याउने छुट दिनु खतरनाक हुन जान्छ ।
कसैलाई  ‘अमेरिकाविरोधी’ भन्नु वा त्यसो भएको भन्नु (त्यस अर्थमा, भारतविरोधी वा एकादेशविरोधी भन्नु) निकृष्ट जातीय भेद गर्नु मात्र होइन, कल्पनाशक्तिको अवसान पनि हो । सत्तापक्षले तोकेभन्दा भिन्न किसिमले पनि विश्वलाई हेर्न सकिन्छ भनेर चिन्न नसक्नु दृष्टिदोष हो । तिमी बुशी (बुशको अनुयायी) होइनौ भने तिमी तालिबानी हौ । तिमीले हामीलाई माया गर्दैनौ भने तिमी हामीलाई घृणा गर्छौ । तिमी सुधो छैनौ भने तिमी दुष्ट हौ । तिमी हाम्रो साथमा छैनौ भने तिमी आतंककारी हौ ।
हामीले बिर्सिनै नसक्ने कुरालाई सम्झाउन कसैले वार्षिकी कुर्नुपर्दैन । म आज यहाँ हुनु, अमेरिकी भूमिमा, सेप्टेम्बरमा, त्यो महिना जुन भीषण वार्षिकीहरूले खचाखच छ, एउटा संयोग मात्र हो, अरू केही होइन । सबैको मनमा, विशेषगरी यहाँ अमेरिकामा, बास बसेको कुरा हो ९ र ११ भनिन पुगेको त्यो त्रासदि । त्यस घातक आतंककारी हमलामा झन्डै तीन हजार  सर्वसाधारणले ज्यान गुमाए । पीडा अझै जरो गाडेर बसेको छ । आक्रोश अझै धारिलो छ । आँसु सुकेका छैनन् । एउटा बुझ्नै नसकिने, घातक युद्ध विश्वभरि नै चलिरहेको छ । तैपनि, आफ्नो प्यारो आफन्त गुमाएको हरेक व्यक्तिले अन्तर्मनमा चुपचाप बुझेको छ कि कुनै युद्धले, बदलाको कुनै कारबाहीले, अरूका बच्चाबच्ची वा प्यारा आफन्तका टाउकामाथि बमवर्षा गरेरै न आफ्नो पीडा घट्ने हो, न ती गुमेका आफन्त फर्कने हुन् । युद्धले मरिसकेकालाई कुनै बदला दिन सक्दैन । युद्धले त हामीमा रहेको उनीहरूको पवित्र सम्झनालाई बल प्रयोग गरेर बिटुल्याइदिन्छ मात्र ।
साबुन र जुत्ता बेच्नेजस्ता व्यापारीले विज्ञापनका लागि सुनियोजित टेलिभिजन कार्यक्रममार्फत जनताका मानसिक चोटलाई आफ्नो स्वार्थका लागि सञ्चालन गर्दै हालैको इराकविरुद्ध जस्तै अर्को युद्धको आगोमा घिउ थप्ने काम गर्नु ती चोटको अवमूल्यन गर्नु हो र तिनीहरूको सारतŒवलाई निचोरेर फाल्नु हो । दुःखको व्यवसाय, दुःखको व्यापार, राजनीतिक उद्देश्यका लागि निजी मानवीय संवेदनाको प्रताडना नै अहिले हामीले देख्ने दृश्य हो । राज्यशक्तिले आफ्ना जनतामाथि गर्ने यो एउटा क्रूर र आततायी व्यवहार हो ।
सार्वजनिक मञ्चबाट बोल्ने यो उपयुक्त विषय त नहोला, तर मैले तपाईंहरूसँग गुमाइबारे बोल्न चाहन्छु । गुमाइने अवस्था र गुमाउनु । दुःख, विफलता, ध्वस्तता, मनको लाटोपन, अनिश्चितता, डर, संवेदनको अवसान, सपनाविहीनता । विश्वले गर्दै आएको अविरल, अन्त्यहीन, निरन्तर बेइमानी । एक व्यक्तिका लागि उसको गुमाइले कस्तो अर्थ राख्छ ? सिंगो संस्कृतिलाई र त्यसभित्रका आममानिसलाई जसले आ–आफ्ना गुमाई पोको पारेर, गुम्स्याएर जीवनभर रहन–बस्न विवश पारिन्छ, यसले के अर्थ राख्छ ?

हामीले सेप्टेम्बर ११ बारे कुरा गरिरहेको हुँदा, पोहोर अमेरिकामा आफन्त गुमाएकाहरू मात्र होइन, विश्वभरका अन्य मानिस, जसको जीवनमा त्यस दिनको महŒव छ, तपाईं–हामीले त्यस दिनलाई सम्झेर केही मनन गर्नु उपयुक्त नै हुनेछ । अतीतलाई खोतल्ने यो काम दोषारोपण गर्ने वा भड्काउने हेतुले गरिने होइन, इतिहासले बोकेको दुःखको भारी आफूले पनि बाँडी लिन, कुहिरो अलि पन्छ्याउन हो । अत्यन्त मानवीय र सौहार्दपूर्ण तरिकाले अमेरिकाका नागरिकलाई ‘विश्वमा स्वागत छ’ भन्नका लागि हो ।
११ सेप्टेम्बर १९७३ का दिन चिलीमा सिआइएबाट पक्षपोषित ‘कु’मार्फत प्रजातान्त्रिक चुनावबाट बनेको साल्वाडोर आएन्डे सरकारलाई जेनेरल पिनोसेले फाले । ‘त्यहाँका जनता नै गैरजिम्मेवार छन् भन्दैमा चिलीलाई माक्र्सवादी बाटोमा जान दिनुहुन्न,’ नोबेल शान्ति पुरस्कारबाट विभूषित तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्गरको भनाइ थियो ।
‘कु’पछि राष्ट्रपति आएन्डे राष्ट्रपति भवनभित्रै मृत भेटिए । उनी मारिएका वा आत्महत्या गरेका थिए, हामीले कहिल्यै जान्न पाउने छैनौँ । त्यसपछि सुरु भएको आततायी शासनमा हजारौँको ज्यान लिइयो । अझ कतिपय त त्यत्तिकै ‘बेपत्ता’ भए । सार्वजनिक रूपमै गोली ठोकेर कतिपयलाई मृत्युदण्ड दिइयो । देशभरि कठोर कारावास केन्द्र र यातनागृह खोलिए । मारिएकालाई खानीका सुरुङमा कोचियो र जथाभावी गाडियो ।
सन् १९९९ मा ब्रिटेनमा जनरल पिनोसेको गिरफ्तारीपछि अमेरिकन सरकारले आफ्ना हजारौँ गोप्य दस्तावेजहरू फुकुवा गरे । ती दस्तावेजमा ‘कु’ प्रकरणमा सिआइएको निश्चित संलग्नता देखिनुका साथै जनरल पिनोसेको शासनकालमा चिलीको बिजोग कसरी गरियो भन्ने विस्तृत विवरण अमेरिकी सरकारलाई राम्ररी थाहा थियो भन्ने प्रस्ट देखिन्छ । त्यसो हुँदाहुँदै किसिन्जरले ती जर्साबलाई आफ्नो समर्थन यसरी जताए, ‘तपाईंलाई थाहै छ, तपाईंले गर्न खोजेका प्रयासप्रति संयुक्त राज्य अमेरिका सहानुभूति राख्छ । तपाईंको सरकारलाई हाम्रो समर्थन छ ।’
दुःख लाग्छ, अमेरिकी सरकारको ध्यान केन्द्रित हुने दक्षिण अमेरिकाको चिली एक मात्र मुलुक थिएन । ग्वाटेमाला, कोस्टारिका, इकुआडोर, ब्राजिल, पेरु, डोमिनिकन रिपब्लिक, बोलिभिया, निकारागुआ, होन्डुरस, पनामा, एल साल्भाडोर, मेक्सिको र कोलम्बिया, यी सबै मुलुक सीआइएको गोप्य (अगोप्य पनि) कारबाही गर्ने क्रीडास्थल बनेका छन् । ती मुलुकमा रोपीवरी स्याहारिएका क्रूर शासकद्वारा हजारौँ ल्याटिन अमेरिकी मारिएका, यातना दिइएका वा सजिलै बेपत्ता पारिएका छन् । यस्तो अमानवीय कृत्यले मात्र नपुगेर, दक्षिण अमेरिकी जनता सबैलाई लोकतन्त्र थेग्नै नसक्ने भनी डामिएको छ, मानौँ उनीहरूको प्रारब्धमै ‘कु’ र आमहत्या भोग्नुपर्ने भनी छैँटीका दिन कुँदिएको थियो ।
माथिको फेहरिस्तमा अमेरिकी सैनिक हस्तक्षेप बेहोरेका अफ्रिका र एसियाका मुलुक परेका छैनन् जस्तै, कंगो, भियतनाम, कोरिया, इन्डोनेसिया, लाओस र कम्बोडिया । कति दशकदेखिका सेप्टेम्बरहरुमा करोडौँ एसियन बमवर्षामा परे, जलाइए र सेरिए ? सन् १९४५ अगस्टदेखि कति सेप्टेम्बर बिते, जब हिरोसिमा र नागासाकीमा गरिएको आणविक बमद्वारा लाखौँ सर्वसाधारण जापानीलाई निमिट्यान्न पारियो ?
मध्यपूर्वमा समेत सेप्टेम्बर ११ को भूतले सताएको छ । गाजापट्टी बाहिर आफ्ना फौज थुपारेर अधिनायकवादी ब्रिटेनले १९१७ मा बाल्फोर घोषणा जारी ग¥यो र अरबहरूको तीव्र विरोधको बेवास्ता गर्दै त्यस घोषणालाई मूर्तता दिन ब्रिटिस सरकारले ११ सेप्टेम्बर १९२२ का दिन प्यालेस्टाइनमा उर्दी जारी ग¥यो । बाल्फोर घोषणाले यहुदी समुदायका मानिसलाई राज्य नै दिने गरी युरोपका जियोनिस्टहरूलाई आश्वस्त पा¥यो ।
सन् १९३७ मा प्यालेस्टाइनीबारे विन्स्टन चर्चिलले के भनेका थिए, म उद्धृत गर्छु, ‘कुँडो ख्वाउने आरीमा ढसक्क पल्टेको कुकुरको त्यस आरीमाथि स्वामित्व हुन्छ भन्ने म मान्दिनँ, कुकुर त्यहाँ जमानादेखि पल्टिरहेको किन नहोस् । त्यो न्यायोचित म मान्दिनँ । उदाहरणका लागि, अमेरिकाका रेड इन्डियनप्रति वा अस्ट्रेलियाका अश्वेतप्रति ठूलो अन्याय भएको छ भनेर म मान्दिनँ । उनीहरूभन्दा बलिया जातिले, उच्चस्तरीय जातिले वा भनौँ दुनियाँ हाँकेका जातिले भित्र पसेर विस्थापित गर्छन् भने गलत भयो, अन्याय भयो भनेर म मान्दिनँ ।’ अनि के चाहियो प्यालेस्टाइनीप्रति आफ्नो धारणा बनाउन इजरायलीलाई । १९६९ मा इजरायली प्रधानमन्त्री गोल्डा मायरले भनिन्, ‘प्यालेस्टाइनी भन्ने नै छैन ।’ उनीपछिका प्रधानमन्त्री लेबी एस्चोलले भने, ‘प्यालेस्टाइनी भनेको के हो ? जब म यहाँ (प्यालेस्टाइन) आएको थिएँ, यहाँ दुई करोड ५० लाख  गैरयहुदी थिए, खासगरी अरब र बेदुइनहरू । यो एक मरुभूमि थियो, अविकसितभन्दा पनि खत्तम । केही थिएन ।’ प्रधानमन्त्री मेनाहेम बेगिनले प्यालेस्टाइनीलाई ‘दुईखुट्टे जन्तु’ भन्थे । प्रधानमन्त्री यित्जाक समिरले त उनीहरूलाई गोडाले किचेर मार्न सकिने ‘फट्यांग्रा’ भन्ने गर्थे । यी भाका सरकार प्रमुखका हुन्, फासफुसे मान्छेका होइनन् ।
दशकौँदेखि विद्रोह, लडाइँ भइरहेका छन् । दसौँ हजारले ज्यान गुमाइसके । सन्धि–सम्झौतामा सही गरिए । युद्धविराम घोषणा गरियो, तोडियो । तर, रक्तपात हुन छाडेको छैन । प्यालेस्टाइन अझै अवैधानिक कब्जामा छ । यहाँका जनता अमानवीय अवस्थामा बाँच्न बाध्य छन्, झन्डैझन्डै बन्टुस्तानमा जस्तै, जहाँ उनीहरू सामूहिक यातनाका सिकार हुन्छन्, उनीहरूमाथि चौबिसघन्टे कफ्र्यु लगाइन्छ, अपमान र पाशविकता खेप्नु त उनीहरूको दैनिकी नै हुन्छ ।
यस्तोमा, आफूभित्रको क्रोध थाम्न नसक्ने प्यालेस्टाइनी युवा मानवबम बनेर इजरायलका गल्ली र सार्वजनिक स्थानमा घुस्छन् र आफूसहित अनेकन् सर्वसाधारणको ज्यान उडाएर दैनिक जनजीवनमा त्रास हुँडलिदिन्छन्, फलतः एकअर्काप्रतिको अविश्वास एवं घृणा झन्झन् मडारिन्छ । हरेक मानवबमले प्यालेस्टाइनी जनसमुदायमाथि बर्बर प्रतिशोध निम्त्याउँछ । तर, बुझ्नुपर्ने कुरो के हो भने आत्मघाती बम आक्रमण त व्यक्तिजन्य नैराश्यको प्रतिफल हो, कुनै क्रान्तिकारी रणनीति होइन । प्यालेस्टाइनीको यस्ताखाले आक्रमणले इजरायली सर्वसाधारणको मनमा त्रास भर्ने काम गर्छ भने, यही कुराको आडमा इजरायली सरकारलाई प्यालेस्टाइनी भूमिमा दिनानुदिन अतिक्रमण गर्दै उहिले १९औँ शताब्दीको साम्राज्यवादी उत्कण्ठालाई २१औँ शताब्दीको आधुनिक ‘युद्ध’को खोल ओढाएर उनीहरूलाई सिध्याउने निहुँ पनि दिन्छ ।
संयुक्त राज्य अमेरिका इजरायलको राजनीतिक तथा सैनिक सहकर्मी हो र सदैव रहिआएको छ । त्यस क्षेत्रको द्वन्द्व शान्तिपूर्वक र न्यायोचित तरिकाले समाधान गर्ने खालका संयुक्त राष्ट्रसंघका हरेकजसो संकल्प प्रस्तावलाई इजरायलको साथ लागेर अमेरिकी सरकारले विरोध गर्दै रोक लगाएको छ । इजरायलले लडेका हरेकजसो युद्धको उसले समर्थन गरेको छ । इजरायलले प्यालेस्टाइनीमाथि आक्रमण गर्दा उनीहरूको घर–परिवारमा ठोक्किने अमेरिकी मिसाइल नै हुन् । अनि, हरेक वर्ष इजरायलले अर्बौं डलर अमेरिकाबाट पाउँछ– करदाताले तिरेको धनराशि ।
यो दर्दनाक द्वन्द्वबाट हामीले के पाठ सिक्ने ? आफैँले क्रूरता सहेका, सम्भवतः इतिहासमा अरू कुनै पनि समुदायले खेपेकोभन्दा बढी क्रूरता, यहुदी समुदायलाई आफूले विस्थापित गरेका मानिसको मर्म र संवेदना बुझ्न असम्भव हुन्छ भनेर हामीले बुझ्ने हो ? अत्यन्त पीडितहरूमा भयानक क्रूरता पलाउँछ भनेर बुझ्ने हो ? यस्तो सोच राख्दा मानव जातिले केको आशामा बाँच्ने ? जित नै भयो भने प्यालेस्टाइनीको के गति होला ? राज्य नभएको राष्ट्रले अन्ततः राज्यको घोषणा ग¥यो भने त्यो कस्तो खाले राज्य होला । त्यसका झन्डामुनि कत्रा–कत्रा अत्याचार गरिएलान् ? हामीले छुट्टै राज्यका लागि लड्ने हो कि जुनसुकै जातजाति वा धार्मिक आस्थाका भए पनि प्रत्येकले स्वतन्त्रता तथा आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारका लागि ?
मध्यपूर्वको अर्को भागमा ११ सेप्टेम्बरले हालसालकै एउटा झट्का सम्झाउँछ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस (पिता)ले अमेरिकी संसद्को संयुक्त बैठकमा आफ्नो सरकारले इराकविरुद्ध युद्धमा जाने घोषणा ११ सेप्टेम्बर १९९० का दिन गरे ।
अमेरिकी सरकारको भनाइमा सद्दाम हुसेन आफ्नै जनताको सफाया गर्ने क्रूर सैनिक शासक भएकाले युद्ध अपराधी हुन् । हुन त उनीबारेको यो वर्णन धेरै हदसम्म ठीकै पनि हो । १९८८ मा सद्दाम हुसेनले रासायनिक हतियार तथा मेसिन गन प्रयोग गरेर हजारौँ कुर्दिसको हत्या गर्दै उत्तरी इराकका सयौँ गाउँलाई निमिट्यान्न पारे । अहिले आएर हामीलाई थाहा भएको छ, त्यही वर्ष अमेरिकी सरकारले उनलाई अमेरिकी कृषि उत्पादन किन्न ५० करोड डलर अनुदान दिएको रहेछ । त्यसको पछिल्लो वर्ष उसले आफ्नो आमहत्याको कुकृत्य सम्पन्न गरेपछि अनुदान दोब्बर गरेर एक अर्ब डलर पु¥याइयो । अमेरिकाले उसलाई एन्थ्राक्स रोग जन्माउने उच्चस्तरका ब्याक्टेरिया कीटाणु, हेलिकोप्टर तथा रासायनिक र जैविक हतियार बनाउन समेत प्रयोग हुने दोहोरो गुणयुक्त सामग्री उपहार दियो । त्यसकारण के देखिन आयो भने सद्दाम हुसेनले नृशंस कृत्यहरू गरिरहँदा उसका निकट सहयोगी अमेरिकी र ब्रिटिस सरकार नै थिए ।
अनि कहाँ गएर कुरो बिग्रियो त ? १९९० मा सद्दाम हुसेनले कुवेतमा आक्रमण ग¥यो । विनाकारण युद्धमा जाइलाग्नु उसको अपराध थिएन, मालिकको आदेशविना नै स्वतन्त्र रूपले चल्नु उसको अक्षम्य पाप थियो ।
हालसालै अमेरिकाले भारत र पाकिस्तानलाई युद्धस्तरको मुठभेडबाट रोक्न महŒवपूर्ण भूमिका खेलेको छ । उसलाई आफूले दिने सल्लाह आफैँमाथि लागू गर्न किन कठिन पर्छ ? अर्ती–उपदेश आफैँमा लागू नगर्ने पाखण्ड को हो त ? बम वर्षा गर्दै शान्तिको गीत गाउने को ? जर्ज डब्लु बुसले  ‘पृथ्वीको महानतम् शान्तिप्रिय देश’ भन्ने गरेको संयुक्त राज्य अमेरिका विगत ५० वर्षका प्रत्येक वर्ष कुनै न कुनै देशसँग युद्धमा जाइलागेको छ ।
युद्ध परार्थका लागि कहिल्यै लडिन्न । साधारणतः आधिपत्य जमाउन, व्यवसाय बढाउन लडिन्छ । युद्धकै व्यवसाय त छँदै छ ।
न्युयोर्क टाइम्सका स्तम्भ लेखक थोमस फ्राइड म्यानले यसबारे अतुलनीय सालीनताका साथ बोल्छन् । ‘पागलपनले लाभ दिन्छ’ शीर्षकमा उनी लेख्छन्, ‘अमेरिकाले इराकका साथै आफ्ना सहकर्मी मुलुकलाई स्पष्टसँग भन्दिनुपर्छ– अमेरिकाले विनावार्ता, विनासंकोच, विनासंयुक्त राष्ट्रसंघको अनुमोदन बल प्रयोग गर्नेछ ।’
उनको सुझाव राम्रैसँग लिइयो– इराक र अफगानिस्तानविरुद्ध हमलामा र संयुक्त राष्ट्र संघमाथि दैनन्दिन थोपरिदिने अपमानमा । विश्वव्यापीकरणबारे लेखिएको पुस्तक ‘द लेक्सस एन्ड द ओलिभ ट्री’मा फ्राइडम्यान भन्छन्, ‘बजारको लुकेको हातले लुकेको मुठीको साथ न लिई कहिल्यै काम गर्दैन । म्याकडोनेल डगलसको साथ नभए म्याकडोनाल्डको व्यापार खुम्चिहाल्छ । सिलिकन भ्यालीका प्रविधिको आधिपत्य जमाउन पाउने गरी विश्वबजारलाई तर लगाउन लुकेको मुठीको नाम हो युएस आर्मी, एयर फोर्स, नेभी र मेराइन कोर ।’ संगठित विश्वव्यापीकरणको दाउपेचबारे मैले पढेका लेखोटमध्ये सबभन्दा सटीक एवं स्पष्ट लेखन हो यो ।
संगठित विश्वव्यापीकरण बेलगाम कुदेको विगत १० वर्ष अवधिमा विश्वको कुल आय प्रतिवर्ष औसत २.५ प्रतिशतले बढेको छ । तैपनि यसै अवधिमा विश्वका गरिब जनता १० करोड बढेका छन् । माथिल्ला सय अर्थतन्त्रमध्ये ५१ वटा कर्पोरेसन हुन्, मुलुक होइनन् । विश्वका माथिल्लो एक प्रतिशतको कुल आय तल्लो ५७ प्रतिशतको कुल आयको हाराहारीछ र यो विषमता बढ्दो छ । अहिले आएर ‘आतंकविरुद्ध लडाइँ’को छत्रछायामा यो प्रक्रिया थप चलायमान भएको छ ।
सुकिला–मुकिला दौडादौडमा छन् । हामीमाथि बमहरू बर्संदै गर्दा, आकाशमा क्षेप्यास्त्र हुइँकिँदै गर्दा, विश्वलाई सुरक्षित राख्ने निहुँमा आणविक अस्त्रको चाङ लगाइँदै गर्दा, ठेक्कापट्टाका कागजमा हस्ताक्षर थपिँदै छन्, एकाधिकार व्यापक हुँदो छ, तेल ओसार्ने ढल बिछ्याइँदै छन्, प्राकृतिक सम्पदामाथिको लुट बढ्दो छ, पानीको निजीकरण बढ्दो छ र लोकतन्त्रको अवमूल्यन हुँदो छ ।
अहिले यस्तो विचारको प्रचार भइरहेको छ, जसले भन्छ, खुला बजारको व्यवस्थाले मुलुक–मुलुकबीच तगारा भत्कन्छन्, अनि संगठित विश्वव्यापीकरणको अन्तिम लक्ष्य भनेको यस्तो हिप्पी संसार हो, जहाँ मुटु मात्र राहधानी हो र हामी सबैजना जोन लेननको गीत, ‘इमाजिन देअर इज नो कन्ट्री’  भित्रको दुनियाँमा बस्ने छौँ । यो महाभ्रमको खेती हो ।
खुला बजार व्यवस्थाले अराष्ट्रिय स्वाधीनतालाई होइन, लोकतन्त्रलाई अवमूल्यन गर्छ । धनी र गरिबबीचको खाडल बढ्दै जाँदा लुकेको मुठीले गर्ने काम स्पष्ट र सहज बन्दै जान्छ । बहुराष्ट्रिय कम्पनीहरू जो आफूलाई अत्यधिक नाफा दिने ‘रसिलो व्यापार’ ठेगान लाउने धुनमा हुन्छन्, उनीहरू विकासशील मुलुकका राज्य संयन्त्रको (पुलिस, अदालत, कहिलेकाहीँ सेनाको पनि) प्रत्यक्ष संलग्नताविना त्यस्तो व्यापार ठेगान लगाउन र त्यस्ता आयोजनाको लगाम आफ्नो हातमा लिन सक्दैनन् । गरिब मुलुकमा जनचाहनाविपरीत ‘सुधार’ ल्याउन सक्ने र त्यसका विरोधीलाई दबाउन सक्ने आफूप्रति समर्पित, भ्रष्ट र हुन सक्छ भने तानाशाही सरकारको अन्तर्राष्ट्रिय संगठनको आवश्यकता आज ‘संगठित विश्वव्यापीकरण’लाई परेको छ । उसलाई आज हामी स्वतन्त्र प्रेस भनी टोपल्ने प्रेस चाहिएको छ । उसलाई न्यायालयको खोल ओढ्ने अदालत चाहिएको छ । उसलाई चाहिएको छ, आणविक शस्त्र, तमतयार सेना, कडा अध्यागमन कानुन र सतर्क समुद्री तटरक्षक, जसले पैसा, भौतिक सामग्री, एकाधिकार र सेवा मात्र विश्वव्यापीकरण गर्न देओस्, मानिसहरूको सहज आवतजावत होइन, मानव अधिकारको सम्मान होइन, वर्णभेदविरुद्ध वा आणविक, रासायनिक हातहतियारविरुद्ध अन्तर्राष्ट्रिय महासन्धि होइन, ग्रिनहाउस ग्यास विसर्जनमा रोक होइन, जलवायु परिवर्तनका कुरा होइनन् र इन्साअल्लाह, न्याय होइन । यस्तो छ, मानौँ अन्तर्राष्ट्रिय जवाफदेहिताबारे आँखा तर्दा समेत उनीहरूको जहाजै डुब्लाजस्तो ।
हेर्नुस् न, तल बजारमा अहिले मौसमी छुटसहितको बिक्री–व्यवसाय भइरहेछ । हरेक कुरामा छुट पाइन्छ– महासागर, नदीहरू, तेल, भ्रूणका पोका, बारुला, थरीथरीका फूल, बाल्यकाल, आलुमिनियम फ्याक्ट्री, फोन कम्पनीहरू, बुद्धत्व, अनकन्टार, नागरिक अधिकार, पर्यावरण, हावा, चार अर्ब साठी करोड वर्षदेखिका सृष्टि सबै । सबै थोक प्याक गरिएका, सिल मारिएका, पुर्जी झुन्ड्याइएका, मोल लेखेर छुट तोकिएका र तख्ताबाट टिपेर तुरुन्तै घर लान सकिने । (फर्काउनचाँहि नपाइने) । मैले सुनेअनुसार न्याय पनि पाइन्छ रे, मोलअनुसारको न्याय ।
डोनाल्ड रम्सफेल्डले भने– आतंकविरुद्ध लडाइँ’मा मेरो काम–कर्तव्य भनेको अमेरिकीलाई आफ्नो इच्छाअनुसार जीवन जिउन दिनुपर्छ भनेर विश्वलाई सम्झाउनु हो । क्रुद्ध महाराजले पाउ बजारेपछि दासहरू आफ्नो झुपडीमा काम्न थाल्छन् । त्यसैले, मैले यहाँ उभिएर बोल्दा, मन नपरेरै भए पनि भन्नुप¥यो, ‘अमेरिकी चाहनाको जीवन’ दीर्घजीवी हुनै सक्दैन । किनभने, यसले त अमेरिका बाहिर पनि धड्किरहेको जगत छ भनेर मान्दै मान्दैन ।
सौभाग्य भनौँ, शक्तिको पनि आयु हुन्छ । जब समय आउँछ, यो साम्राज्य पनि, पहिलेजस्तै आफ्नो दायरा नाघ्न थाल्छ र स्वतः आफूभित्रै विस्फोट हुन्छ । लाग्छ, केही चिरा देखिन थालिसकेका छन् । ‘आतंकविरुद्धको लडाइँ’ले आफ्नो जालो परपर फ्याँक्दै गर्दा अमेरिकी कर्पोरेट मुटुले रगत वमन गर्न थालिसक्यो । लोकतन्त्र बारेको अन्तहीन खोक्रो ट्याउँट्याउँ चलिरहोस्, तर आजको विश्वलाई तीनवटा अति गोप्य संस्थाले चलाएका छन्– अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, र विश्व व्यापार संगठन । सबैमा संयुक्त राज्य अमेरिकाले दह्रो पकड राखेको छ । उनीहरूले आफ्ना निण¥य गोप्य कोठरीभित्र गर्छन् । ती संस्थाका हाकिम गोप्य कोठरीभित्र तोकिन्छन् । ती हाकिमका राजनीतिक आस्था, चिन्तन, अभीष्ट कसैलाई केही थाहा हुन्न । कसैले उनीहरूलाई चुनावका माध्यमबाट नियुक्ति दिएका हुन्नन् । आमजनताका तर्फबाट निर्णय लिन्छौँ भनेर कुनैले भनेका छैनन् । अनिर्वाचित मुठीभरका लोभी बैंकर वा हाकिमले हाँकेको विश्वप्रणाली लामो समय टिक्नै सक्दैन ।
सोभियत शैलीको कम्युनिजम् अवधारणाकै निकृष्टताले होइन, प्रणालीको खराबीका कारण भासियो । यसले केही मानिसले मात्र धेरै शक्ति हत्याउने अवसर दियो । २१औँ शताब्दीको अमेरिकी स्टाइलको बजारोन्मुख पुँजीवादको अवसान पनि यही कारण हुन्छ । दुवै संरचना मानवीय बुद्धिविनोदबाट खडा भए, मानवीय अन्तर्मनको शक्तिबाट धराशयी हुन्छन् ।
समय आयो, वाल्रस भन्छन्, ‘हुन सक्छ समय अझ बिग्रिन सक्छ, अनि सप्रन थाल्छ । लाग्छ, माथि आकाशमा एउटी फुच्ची देवी छिन्, जो तल आउन सलबलाइरहेकी छन् । उनी आउँदै छन्, अर्को विश्व बसाल्न । उनलाई स्वागत गर्न तपाईं हामी यहाँ नहौँला, तर शान्त वातावरणमा ध्यान दिएर सुन्दा, म उनले सास फेरेको सुन्छु ।’

भावानुवाद : पूर्णभद्र अडिगा







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली...

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन...

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा...

विप्लवको ‘अभिजित’

कवि तथा गीतकारका रूपमा परिचित विप्लव प्रतीक उपन्यासकारको रूपमा पाठक माझ आउने भएका छन् । ‘अविजित’ शीर्षकको उपन्यास कात्तिक ११...