६ वैशाख २०८१ बिहीबार
राजनीति

एमाले सिन्धुपाल्चोकले पठायो उम्मेद्वारकाे सूची

सिन्धुपाल्चोक – नेकपा एमाले सिन्धुपाल्चोकले वाम एकतालाई स्वागत गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । 

१४ बुँदे निर्वाचन कार्ययोजनासमेत तयार गरेको एमालेले दुबै तहका निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सूची प्रदेश समितिलाई पठाएको हो । पार्टीको सर्कुलरअनुसार जिल्लाले पठाएको सूचीबाट प्रदेश समितिले केन्द्रलाई उम्मेदवारको नाम सिफारिस गर्ने एमाले प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले बताए । 

सापकोटाका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि प्रत्यक्षतर्फ पोलिटव्यूरो सदस्य अरुण नेपाल र २ मा केन्द्रीय सदस्य तथा सांसद शेरबहादुर तामाङको एकल नाम पठाइएको छ । प्रतिनिधिसभा, समानुपातितर्फ मेघनाथ पौडेल, देवी अधिकारी, कृष्णराज श्रेष्ठसहित ११ जनाको सूची पठाइएको छ। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, प्रदेशसभा १ का लागि प्रत्यक्षतर्फ अमृत खड्का, शम्सेर शाक्य र धर्मराजभण्डारी, २ मा सशेर नेपाल, यज्ञराज सापकोटा, तेजबहादुर थापा, टपेन्द्र अधिकारी र नवराज श्रेष्ठलाई सिफारिस गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा १ तर्फ सुवास कर्माचार्य, इन्द्र लामा, राधिका तिमिल्सिना तथा २ का लागि मित्रलाल चौलागाईं, बालकृष्ण देउजा, धर्मकृष्ण श्रेष्ठ, माधव पाण्डे, उपेन्द्र तामाङ र डोल्मा तामाङको नाम पठाइएको छ। 

प्रदेशसभा समानुपातिकतर्फ चारवटै प्रदेशसभाबाट बादल तामाङ, पुरुषोत्तम प्याकुरेल, जगन्नाथ आचार्य, बाजुराम गिरी, भुजुङ लामा, डबले लामा, इन्द्रमाया गुरुङ, दोर्जे लामा हाउडेसहित ३५ जनाको सूची पठाइएको एमालेले जनाएको छ । सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले यसअघि नै उम्मेदवारका आकांक्षीहरूको नाम यसअघि नै सिफारिस गरिसकेका छन्। 

प्रकाशित: २१ आश्विन २०७४ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App