१६ चैत्र २०८० शुक्रबार
अन्य

सधैँ घुमफिर वर्ष

बर्सेनि लाखौं नेपाली मुलुकभित्र घुम्छन् । कसैको आग्रहमा घुमेका होइनन् उनीहरु, स्वेच्छाले घुम्दैछन् । आन्तरिक पर्यटकले हाम्रो अर्थतन्त्रमा पुर्याएको योगदानको कहिँकतै चर्चा गरिँदैन । कस्तो बिडम्बना ! आन्तरिक पर्यटन लक्षित नीति बनेका छैनन् । त्यसैले अब आन्तरिक पर्यटनको विषयमा राष्ट्रियरुपमै बहस छेड्नु पर्छ ।  
पोहोर सामाजिक सञ्जालमा आन्तरिक पर्यटनका तस्बिर निकै छापिए । कोही मनाङको तिलिचो ताल पुगेका, कोही मुक्तिनाथ । कोही राराताल अनि कोही खप्तड डुलेका । घुमफिरका सुन्दर तस्बिर देख्नेहरुको टिप्पणी थियो, ‘अब नेपाली पनि घुम्न थाले ।’  
त्यसो त वर्ष २०७३ लाई नेपाल पर्यटन बोर्ड ‘घुमफिर वर्ष’का रुपमा मनाउँदैथियो । त्यसकै प्रभाव भनेको पनि सुनियो । सत्य के हो भने नेपालीले सधैँ घुमफिर वर्ष मनाउँदै आएका छन् । उनीहरु घुम्न थालेको वर्षौं भैसक्यो । धेरै अघिदेखि मुलुकभित्र घुम्दै आएका छन् नेपाली । विशेषतः तीर्थाटनबाट सुरु घुमफिर संस्कृति साहसिक गतिविधि पदयात्रा, साइक्लिङ, राफ्टिङ, बञ्जी जम्प, क्यानोनिङसम्म पुगिसकेको छ । 
बुझ्नु पर्ने के छ भने १२ वैशाख २०७२ मा भुइँचालो आएपछि त्यो वर्ष कमैले घुमफिर गरे, त्रासका कारण । भुइँचालोले गज्जबकै पाठ सिकायो, आखिर जिन्दगी के रहेछ र ? एकबारको जुनीमा नघुमिकन किन मर्ने ? यस किसिमको भावना बढ्यो । २०७२ सालमा रोकिएको भ्रमणले २०७३ सालमा गति लिइहाल्यो । पोहोर फरक के देखियो भने धेरैजसो युवाको लर्को नयाँ गन्तव्यमा लाग्यो– राराताल, मुक्तिनाथ, तिलिचोताल र खप्तडमा । 
त्यही कारण पनि धेरैको नोटिसमा पर्यो ।  
घुमफिरबाट तीर्थाटन, रोमाञ्चकता, मनोरञ्जन र शिक्षा पाइन्छ । शरीर र मन दुवै रिचार्ज हुन्छ । काम गर्ने उत्साह बढ्छ तर आन्तरिक पर्यटकको तथ्याङ्क कसैले राख्दैन । गन्तव्यका सरोकारवालाको अनुमानअनुसार वर्षमा करिब ४० लाख नेपाली स्वदेशमा घुम्छन् । 
अनुमानित तथ्याङ्कअनुसार मनकामनामा ११ लाख, लुम्बिनीमा ७ लाख, हलेसीमा ५ लाख, पोखरामा ४ लाख, होमस्टे गाउँमा ३ लाख, जनकपुरमा ३ लाख, पाथिभरामा २ लाख, स्वर्गद्वारीमा डेढ लाख, चितवनमा १ लाख १० हजार, मुस्ताङ १ लाख, बराहक्षेत्र ७० हजार, दोलखा ६० हजार, इलाम ५० हजार, राफ्टिङ ३६ हजार र भेडेटारमा ३० हजार हाराहारीमा २०७३ मा घुमेका थिए ।

  
एकछिन घुमफिर टेन्डलाई नियालौँ– सुविधायुक्त सहरहरु जनकपुर, पोखरा, चितवन, बन्दीपुर, दोलखा, गोरखा आदि ठाउँमा बढी भिड लाग्छ । अचेल पदयात्रामा पनि नेपालीको रुचि बढ्दैछ । विशेषतः घान्द्रुक घोडेपानी, अन्नपूर्ण र मर्दि हिमालतिर नेपाली भेटिन्छन् । 
मोटर बाटो जोडिएपछि मुक्तिनाथ, लो–मन्थाङ, राराताल, मनाङ लगायत ठाउँमा पर्यटक ह्वात्तै बढेका हुन् । वर्षैभरि नेपाली घुम्छन् । दसैं–तिहारदेखि घुम्ने याम सुरु हुन्छ । 


धेरैजसो नेपाली प्याकेज नकिनी घुम्छन् । पूर्व तयारी गरेर यात्रामा निस्कने बानी बसाल्नु पर्छ । पछिल्लो समय प्याकेजमा घुम्ने प्रवृत्ति बढ्दै गएको अनुभव सुनाउँछन् काष्ठमण्डप होलिडेज, थापागाउँ काठमाडौंका सञ्चालक नोजल कोइराला । ‘विशेषतः विद्यार्थी प्याकेजमा घुम्छन्,’ कोइराला भन्छन्, ‘प्याकेजमा जाँदा अन्योल हुँदैन । सजिलो हुन्छ ।’ 
खर्च गर्ने कुरामा नेपाली कञ्जुस्याइँ गर्दैनन् । विदेशीभन्दा बढी खर्च गर्छन् । बरु कोठा भाडा कम तिर्न पाए हुन्थ्यो भन्नेहरु धेरै छन् । खानामा मन खोलेर खर्चिन्छन् । एउटा बानी भने सुधार्नै पर्छ । कतिपय पर्यटक होटल बुकिङ नगरी अबेला गन्तव्यमा पुग्छन् । अनि होटल खोज्दा सास्ती व्यर्होनु पर्छ । कहिलेकाहीँ सुत्नका लागि डाइनिङ रुम पनि भेटिँदैन ।  
होमस्टे सुविधा भएका गाउँहरुमा पनि मध्यरातसम्म क्याम्प फायर गरेर नाचगान गर्ने बानीमा पनि सुधार ल्याउनु पर्ने देखिन्छ । रेस्टुरेन्टमा पनि अबेलासम्म डिमान्ड गर्नु हुँदैन । रमाइलो गर्ने बहानामा कसैलाई अप्ठेरोमा पार्नु हुन्न । 
नेपालमा पर्यटन सुरु भएको ६ दसक नाघिसक्दा पनि हामी वार्षिक १० लाख विदेशी भित्र्याउन सकेका छैनौँ तर हाम्रा पर्यटनका पण्डित अहिले पनि पर्यटनको कुरा गर्दा विदेशीलाई मात्रै सम्बोधन गर्छन् । 
पदमार्गबाहेक अन्य धेरै गन्तव्य नेपालीकै कारण धानिनसक्ने अवस्था आइसक्यो तर आन्तरिक पर्यटकले हाम्रो अर्थतन्त्रमा पुर्याएको योगदानको कतै चर्चा गरिँदैन । आन्तरिक पर्यटनमैत्री नीतिनियम बनिसकेका छैनन् । त्यसैले आन्तरिक पर्यटनको विषयमा राष्ट्रिय रुपमै बहस छेड्न ढिला भैसक्यो ।   
सरकारको पर्यटन नीति २०६५ ले बल्ल नेपालीलाई पर्यटक मान्यो । यद्यपि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न कुनै योजना ल्याएको छैन । जति भएको छ, आफ्नै तालमा भइरहेको छ । आन्तरिक पर्यटनको अझ व्यवस्थित विकासमा टेवा पुर्याउन सरकारी कर्मचारीलाई वर्षमा निश्चित दिन भत्तासहित पर्यटन बिदा दिनु पर्ने आवाज उठेको छ । त्यसलाई सरकारले सम्बोधन गरिहाल्नु पर्छ ।
घुमफिर वर्ष २०७३ घोषणामा सीमित भयो, खासै ठोस कार्यक्रम आएन । तैपनि नेपाली घुमिदिए किनकि घुमफिर संस्कृति नेपालीका लागि नयाँ होइन । घुमफिर वर्षको एउटै उपलब्धि, ‘राज्यले पहिलोपटक नेपाली पनि पर्यटक हुन् भन्ने स्वीकार गर्यो ।’ तीर्थाटनलाई एकछिन बिर्सने हो भने, नेपालीमा मनोरञ्जन र शिक्षाका लागि घुम्नु पर्छ भन्ने प्रवृत्ति बढेको वि.सं. २०४६ सालको परिवर्तनपछि हो । माओवादी द्वन्द्वकालमा त्यो गति धिमा भयो । पुनः २०६२/२०६३ को लोकतान्त्रिक आन्दोलनपछि त्यसले गति लियो । 
हरेक वर्ष नेपाली घुमफिर वर्ष मनाइरहेका छन् । अब भन्नुस्, यसपालि तपाईं कहाँ–कहाँ घुम्दै हुनुहुन्छ ? 


विदेश घुम्ने लर्को 
जिरी उपत्यका, दोलखाका लीलाराम खड्का असार २६ गते सिंगापुर उडे । साथमा थिए उनका आमाबुबा, दाइ भाउज्यू र छोरा । एक सातामा उनको परिवारले घुमफिरमै करिब ८ लाख रुपैयाँ खर्चियो । खर्च ठूलो कुरा होइन, त्यहाँबाट धेरै ज्ञान पाएकाले त्यसमै सन्तुष्टि मिलेको बताउँछन् खड्का । 
‘हाम्रा नेताहरु नेपाललाई सिंगापुर बनाउँछु भनेर भाषण ठोक्छन्,’ नयाँ बानेश्वर, काठमाडौंमा एजुकेसन कन्सल्टेन्सी चलाएर बसेका खड्का भन्छन्, ‘हामी त्यहाँको विकास हेर्न गएका थियौं । साँच्चै आधुनिक सुविधाले भरिपूर्ण रहेछ सिंगापुर ।’
आउँदो वर्ष जापान यात्रामा निस्कने उनको योजना छ । मरि लानु के छ र, जिन्दगीमा घुम्नु पर्छ । सकेसम्म संसार हेर्नु पर्छ भन्ने लाग्छ उनलाई । ‘दुःख गरेर कमाउँछौं, सकेको घुम्छौं’, उनले भने, ‘पढेरभन्दा घुमेर धेरै कुरा सिकिन्छ ।’
त्यसो त लीलारामजस्ता हजारौं नेपाली बर्सेनि घुम्नकै लागि विदेशिन्छन् । विशेषतः भारत, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, मलेसिया, दुबई, इन्डोनेसिया, नर्वे, स्वीजरल्यान्डलगायत देशमा पुग्छन् । ‘हुनेखानेहरु युरोप/अमेरिकातिर डुल्छन्,’ अभिवादन एक्सपिडिसन होलिडेज, सोह्खुट्टेका सञ्चालक उमेश गुप्ता भन्छन्, ‘कम पैसा हुनेहरु छिमेकी सहर गोवा, दिल्ली, मुम्बई, आग्रा, जयपुर, सिमला, मनालीतिर  घुम्छन् ।’ 
विशेषतः उच्च मध्यम वर्ग र उच्च वर्गका नेपाली विदेश सयर गर्छन् । नयाँ ठाउँ, त्यसमा पनि विदेश घुम्न प्रायः प्याकेज किन्छन् । ‘अचेल ब्याचलर र मास्टर पढ्दै गरेका विद्यार्थी पनि थाइल्यान्ड टुरमा निस्कन थालेका छन्,’ काष्ठमण्डप होलिडेज, थापागाउँ, नयाँ बानेश्वरका सञ्चालक नोजल कोइराला सुझाउँछन्, ‘प्याकेज किन्दा सस्तो मात्रै खोज्नु हुँदैन । त्यसमा के कस्तो सुविधा दिइन्छ, राम्रोसँग बुझ्नु पर्छ ।’ 
बजारमा आउट बाउन्ड प्याकेज बेच्ने कम्पनी धेरै छन् । त्यसैले तिनीहरुबीच प्राइस वार छ । मान्छे स्वाभाविक रुपमा सस्तो प्याकेज खोज्छ । अस्वस्थ प्रतिस्पर्धाका कारण बनेको सस्तो प्याकेजमा सेवा र सुविधाको गुणस्तर कमजोर हुन सक्छ । यसमा विचार पु¥याउनै पर्छ । 
केही वर्षअघि सरकारले ‘पहिला देश अनि विदेश’ भन्ने नारा ल्याएको थियो । नेपालभित्रै घुम्नलायक अनगिन्ति सम्पदा छन् । विदेशी लाखौँ खर्चेर नेपाल आउँछन् । नेपालीले पनि पहिला नेपाल चिनेर अनि मात्रै विदेश घुम्ने संस्कार बसाउन सके धेरै राम्रो हुन्छ ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २२ आश्विन २०७४ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App