राजधानीमा ‘चराहरूको सम्मेलन’

सोमबार, २३ असोज २०७४, ११ : २६ चाँदनी हमाल


काठमाडौं- शरद ऋतु, दसैं र तिहारको समय । यो ऋतु चराका लागि पनि सुखद हुन्छ । यही ऋतु चलिरहँदा कुनै चरा तराइतिर बसाई सर्ने मेसोमा हुन्छन् भने तराइका चरा पहाड सर्ने । तर, काठमाडौंमा भने फरक देश र भूगोलका चरा नेपालका ताल तलैया र जंगलबीच सम्मेलन गर्ने सुरमा छन् । यो सम्मेलनको दृश्य हो राजधानीस्थित शिल्पी थिएटरमा चलिरहेको नाटकको । सुगा, ढुकुर, कोइली, भंगेरा, हाँस, मयुरसँगै थरी–थरीका चरा एकै थलोमा भेला भएका छन् ।
सम्मेलनको धेरै मध्ये एउटा उद्देश्य हो चराका राजाको खोजी । टाठोबाठो चरा फाप्रेले सबै चरा वरिपरि राखेर चराहरूको राजा सिमोर्घ खोज्न उक्साएसँगै नाटक सुरु हुन्छ । फाप्रेको प्रस्तावमा अधिकांशको समर्थन रहन्छ । तर, बहुमूल्य रत्न मनपराउने कालिज र राजहंस भने यात्रामा नजाने भनि तर्किन्छ । अरु चरालाई भने विभिन्न प्रेरणादायी कथा हालेर फाप्रे चराले राजी गराउँछ । राजी भएका सबै सिमोर्घ खोज्न यात्रामा निस्कन्छन् ।
तर, सिमोर्घ खोजी यात्रा त्यति सहज भने हुन्न । यात्राका क्रममा उनीहरूले मरुभूमि उपत्यका, प्रेमको उपत्यका, बुझाइको उपत्यका, विस्मय र विनाशको उपत्यकासँगै एकता र मृत्युको उपत्यका पनि पार गर्नुपर्ने हुन्छ ।
यात्रामा लखतरान भएका साथी चरालाई जोस्याउन फाप्रेले बेलाबेलामा कथा सुनाउँछ र सिमोर्घ खोज्नै पर्ने कारण बताउँछ । ‘चराका असली महाराज उनै हुन्,’ फाप्रे चरा सिमोर्घको कल्पना गर्दै बोल्छन्, ‘उनीलाई भेट्न जाने आँट पनि सिंहको मुटु भएकाले मात्र गर्न सक्छन् ।’ कहिले भोकै बस्नुपर्ने कहिले बास उजाडिने जस्ता धेरै समस्या चराले भोग्न नपरोस् भनेरै राजा चाहिने तर्क पनि फाप्रेले गर्छन् । ‘सिमोर्घ हामीलाई एकतामा गाँस्ने प्रतीक हुन् । उनले चराको अलपत्र जीवन व्यवस्थापन गरी चराको सुन्दर देश बनाउँछन्,’ फाप्रेले उनीहरूलाई लोभ्याउँछ । उसले सिमोर्घको एउटा सुन्दर प्वाँख पनि चरालाई देखाउँछ । अव्यवस्थित चराको राज्य व्यवस्थित गर्न राजाको महत्व दर्शाउँदै चरालाई फाप्रेले दासको कथा, ऋषिको कथा, राजकुमारीको कथा अनि पीडाका कथा सुनाउँछ । फाप्रेसँगै उनीले यात्रामा निकै दुःख पाउँछन् । कहिले रमाइलो पनि गर्छन् र अन्तमा काफ प्रदेश पुग्छन् । तर, उनीहरुले सिमोर्घ भेट्छन् वा भेट्दैनन् त्यो हेर्न भने शिल्पी थिएटरको गोठाले नाटक घर नै पुग्नुपर्छ ।
‘चराहरुको सम्मेलन’ पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरले लेखेको नाटकको नेपाली अनुवाद हो । पर्सियाली नाटकलाई पिटर बु्रुक र ज्याँक्लोदले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली अनुवाद भने पुष्पराज आचार्यको हो ।
एक्टर्स स्टुडियोको प्रस्तुति सो नाटक असोज २० गतेदेखि सुरु भएको हो । नाटक कात्तिक १ गते सम्म मञ्चन हुनेछ ।
नाटक र फिल्मक्षेत्रको यात्रापछि  अभिनेत्री दिया मास्केले यसै नाटकबाट निर्देशनको पहिलो पाइला चालेकी छिन् । ‘नाटक निर्देशन गर्छु भन्ने सोचेको थिइन्, गरें । अब फिल्ममा पनि गर्न सक्छुहोला,’ उनले भनिन् ।
‘नाटकको अंग्रेजी संस्करणमा अन्यले निर्देशन गरेका छन् । तर नेपालीमा भने मैले नै गर्न पाएँ,’ उनले भनिन्, ‘यो नाटक चराको रूपमा मान्छेकै यात्राको कथा हो ।’
उनका अनुसार कविताबाट लिइएको भएर केही मिथक र रहस्यहरू अनौंठा लाग्छन् । ‘सिधै मान्छेको यात्रा भनेर देखाउँदा नमिल्ने भएरै होला चरालाई सांकेतिक रूपमा प्रयोग गरिएको छ,’ मास्के भनिन्् , ‘प्रेम, लोभ लालच र समस्या मान्छेले नै भोग्ने कुरा हो ।’
नाटकमा रहेको कलात्मक रसले कहिले दर्शक हाँस्छन् त कहिले मलिन हुन्छन् । नाटकलाई रोचक बनाउन कलाकारले मेहनत गरेका छन् । विभिन्न चराको रूपमा कलाकारको हाउभाउ विश्वसनीय छन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको...

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...