८ वैशाख २०८१ शनिबार
राजनीति

सधैं पुरानै अनुहारलाई टिकट

इलाम- राजनीतिक दलहरूले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँभन्दा पुरानै अनुहारका नेतालाई ‘प्राथमिकता’ साथ पुनः उम्मेदवार सिफारिस गरेका छन् । सबैजसो दलले नयाँ पुस्तालाई अवसर दिनुको सट्टा पुरानै अनुहारलाई पटकपटक चुनावमा अवसर दिइरहेका हुन् ।
राजनीतिक अनुभव र चुनावी खेलमा ‘अभ्यस्त’ सम्झिँदै पुरानै अनुहारलाई टिकटका लागि सिफारिस गर्दा युवा पुस्ताले भने अझै प्रतिनिधिसभामा सहभागी हुन निकै समय कुर्नुपर्ने देखिएको छ । लामो समयपछि देशमा स्थानीय तहको निर्वाचन भएकाले दलहरूले केही युवालाई त्यता ‘व्यवस्थापन’ गरेका छन् । तर, गत स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवारसमेतलाई आउँदो निर्वाचनको उम्मेदवारका लागि पुनः सिफारिस गरिएको छ । दलहरूले प्रदेशसभाको निर्वाचनमा भिड्न केही युवालाई अवसर दिने सम्भावना देखिए पनि जिल्लाबाट प्रतिनिधिसभामा भिड्ने मुख्य ३ दलका उम्मेदवारचाहिँ सबै पुरानै अनुहार हुने भएका छन् ।
अहिलेसम्म भएका संसदीय र स्थानीय निर्वाचनका आधारमा एमाले जिल्लाको सबैभन्दा ठूलो दल हो । दोस्रो स्थानमा कांग्रेस र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छन् । एमालेले आउँदो निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सर्वसम्मत सिफारिस गरिसकेको छ । इलाम क्षेत्र नम्बर १ का सांसद खनालले जिल्लाबाट ४ पटक चुनाव जितेका छन् । उनी एकपटक पराजितसमेत भए ।
    खनालले २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यलाई र २०६४ मा कांग्रेसकै बेनुपराज प्रसाईंलाई पराजित गरेका थिए । उनी ०५६ को निर्वाचनमा चाहिँ प्रसाईंसँगै पराजित भए । २०५१ र ०४८ सालका दुवै निर्वाचनमा खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई इलाम क्षेत्र १ बाटै हराए ।
    एमालेले जिल्लाको क्षेत्र क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन लागेका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले यही क्षेत्रबाट लगातार ३ पटक चुनाव जिते । ०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका भेषराज आचार्यलाई पराजित गरेका नेम्बाङ अहिले सांसद पनि हुन् । ०६४ सालमा नेम्बाङले कांग्रेसका केशव थापा र  ०५६ मा कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गरेका थिए ।
एमाले जिल्ला अध्यक्ष राम राना भन्छन्, ‘हामीले यसपटकको चुनावका लागि युवा, प्रौढलगायत भनेर छुट्याएनौं । खनाल र नेम्बाङ जिल्लाको मात्र नभई देशकै राजनीतिक परिवर्तनका लागि महŒवपूर्ण व्यक्तित्व भएकाले सर्वसम्मत रूपमा दुवैजना सिफारिसमा पर्नुभएको हो ।’ रानाले प्रतिनिधिसभामा पुराना तर महŒवपूर्ण व्यक्तिलाई उम्मेदवार बनाइने भए पनि प्रदेश तहमा भने नयाँ पुस्ताले स्थान पाउने बताए ।
    एमालेले प्रतिनिधिसभाको समानुपातिकका उम्मेदवार पनि पुरानैलाई छानेको छ । समानुपातिक उम्मेदवारको सिफारिसमा परेका मणिकुमार लिम्बू २०४८ सालको निर्वाचनमा क्षेत्र २ बाट कांग्रेसका कुलबहादुर (केबी) गुरुङलाई पराजित गरी सांसद बनेका थिए । २०५१ सालमा कांग्रेसका गुरुङले त्यही क्षेत्रमा चुनाव जित्दा पराजित हुने पनि उनै लिम्बू थिए । २०५१ सालको निर्वाचनमा कांग्रेसका बेनुपराज प्रसाईंलाई क्षेत्र ३ बाट पराजित गरेका एमालेका पदम भण्डारी पनि पुनः समानुपातिक उम्मेदवारको सिफारिसमा परेका छन् ।
    कांग्रेसले पनि आउँदो निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुरानै अनुहारलाई पुनः भिडाउँदैछ । कांग्रेसले वर्तमान सांसद केशव थापा, पूर्वसांसदहरू बेनुपराज प्रसाईं र निर्मला प्रसाईं तथा संविधानसभा निर्वाचनमा यसअघि पराजित भेषराज आचार्यलाई पुनः उम्मेदवारका रूपमा सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्लाको १ र २ दुवै क्षेत्रबाट सिफारिसमा परेका सांसद थापाले ०७० सालको निर्वाचनमा एमालेका टेकबहादुर राईलाई पराजित गरेका थिए । थापा ०६४ सालको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङसँग पराजित भएका थिए भने ०५६ सालमा थापाले एमालेका अगमप्रसाद बान्तवालाई पराजित गरेका थिए ।
    एमालेका पदम भण्डारीसँग ०५१ सालको चुनावमा क्षेत्र ३ बाट पराजित भएका पूर्वसांसद बेनुपराज पनि पुनः कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि क्षेत्र १ र २ कै उम्मेदवारको सिफारिसमा छन् । ०५६ सालको चुनावमा जिल्लाको क्षेत्र १ बाट एमालेका झलनाथ खनाललाई पराजित गरेका प्रसाईं ०६४ सालको संविधानसभा निर्वाचनमा चाहिँ खनालसँगै पराजित भएका थिए । क्षेत्र २ बाट उम्मेदवारको सिफारिसमा परेकी निर्मला ०६४ सालको चुनावपछि समानुपातिकतर्फबाट सभासद् बनेकी थिइन् ।
क्षेत्र १ र २ बाटै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको सिफारिसमा परेका भेषराज आचार्य पनि ०७० सालको चुनावमा क्षेत्र २ बाट एमालेका सुवासचन्द्र नेम्बाङसँग पराजित थिए । कांग्रेसले समानुपातिकमा नाम सिफारिस गरेका कुलबहादुर गुरुङले ०६४ सालको निर्वाचनमा एमालेका धर्म उप्रेतीलाई क्षेत्र ३ बाट पराजित गरे । गुरुङ ०४८ सालको चुनावमा एमालेका मणिकुमार लिम्बूसँग पराजित भए भने ०५१ सालमा गुरुङले उनै लिम्बूलाई पराजित गरेका थिए ।कांग्रेसले समानुपातिककै लागि सिफारिस गरेका टीकाराम लेप्चा ०६४ सालमा समानुपातिकतर्फकै सभासद् थिए । समानुपातिकतर्फकै सिफारिसमा परेका तोयानाथ भट्टराई २ पटक संसदीय निर्वाचनमा पराजित भइसकेका छन् । उनी ०४८ र ०५१ सालका दुवै निर्वाचनमा इलाम क्षेत्र १ बाट एमालेका झलनाथ खनालसँग पराजित भएका थिए । पुनः समानुपातिकको सिफारिसमा परेकी कांग्रेस केन्द्रीय सदस्य सुजाता पनि परियार ०६४ र ०७० सालकै चुनावमा समानुपातिकतर्फबाट सभासद् भइन् ।
कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यले पार्टीले गाउँदेखि क्षेत्रीय समिति हुँदै जिल्ला तहसम्म उम्मेदवार छान्दा लोकतान्त्रिक विधि अपनाएको बताए । ‘को नयाँ, को पुरानो नेता भन्नेतिर जान मिलेन, उम्मेदवार हुन इच्छुकबीच साबिकका गाउँ र नगरमा चुनाव गराउँदा जसले बढी मत ल्याएको छ, उसैलाई जिल्लाले सिफारिस गरेको हो,’ सभापति कर्माचार्यले भने, ‘जनताको प्राथमिकतामा पुरानै नेताहरू परेकाले त्यहीअनुसार प्राथमिकता दिएर सिफारिस गरिएको हो ।’ उनले प्रदेश तहमा भने युवा र नयाँ पुस्तालाई नै उम्मेदवारमा सिफारिस गरिएको बताए ।
माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि क्षेत्र १ बाट उम्मेदवार बनाउन लागेका जिल्ला इन्चार्ज रमण ०७० को निर्वाचनमा क्षेत्र ३ बाट तेस्रो स्थानमा पराजित थिए । क्षेत्र २ बाट उम्मेदवार बन्ने कान्छा लावती पनि ०६४ सालमा त्यही क्षेत्रबाट तेस्रो मत ल्याएर पराजित थिए । केन्द्रले समानुपातिकतर्फको उम्मेदवार बनाउने निधो गरेकी सोममाया राई २०६४ सालको निर्वाचनमा क्षेत्र ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा तेस्रो मत ल्याएर पराजित भइन् ।
उनी गत असार १४ को स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्षमा पनि पराजित भएकी थिइन् । आउँदो निर्वाचनमा उम्मेदवार बन्न लागेका उम्मेदवार गत स्थानीय तह निर्वाचनमा समेत पराजित भएका थिए । केन्द्रका राम राई देउमाई नगरपालिकाको प्रमुख पदमा र प्रेम नाछिरिङ सन्दकपुर गाउँपालिका अध्यक्षमा पराजित भएका उम्मेदवार हुन् ।
    ‘हामीले आउँदो चुनावका लागि प्रदेशमा नयाँ उम्मेदवारलाई छानेका छौं,’ केन्द्रका जिल्ला इन्चार्ज रमणले भने, ‘एमालेसँगको पछिल्लो तालमेलले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फमा त हाम्रो कोही पर्दैनजस्तो छ, प्रदेश निर्वाचन क्षेत्रमा जाने हाम्रा उम्मेदवार चाहिँ नयाँ नै छन् ।’ उनले जिल्लाका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २–२ वटामा एमालेसँग भागबन्डा हुनसक्ने आँकलन गरे ।

प्रकाशित: २४ आश्विन २०७४ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App