coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गौतम बुद्ध विमानस्थल निर्माणको चिनियाँ टोली फेरियो

काठमाडौं- भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएको चिनियाँ कम्पनीले काम गर्ने टोली फेरेको छ । चिनियाँ टोली फेरिएसँगै बहुप्रतिक्षित उक्त अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको अवधिसम्म ८० प्रतिशत सम्पन्न हुने आयोजनाको नेतृत्व गरेका अधिकारी र ठेकेदार कम्पनीले दाबी गरेका छन् ।

पछिल्लो केही दिनदेखि ठेकेदार कम्पनीले थालेको निर्माण कार्यले निरन्तरता पाए अबको एक वर्षमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने।

यसअघि विमानस्थल निर्माणको ठेक्का लिएको चीनको नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्र्रुप र स्थानीयको विवादका कारण निर्माण कार्य रोकिँदा काम अघि बढ्ने÷नबढ्ने अन्योलता बढेको थियो ।
समयमै काम नगरेका कारण एकथरि अधिकारी चिनियाँ कम्पनीसँगको ठेक्का तोड्नु पर्ने बताइरहेका थिए भने कतिपयको धारणा पुरानै कम्पनीको ठेक्कालाई निरन्तरता दिनुपर्ने रहँदै आएको थियो । मुख्य ठेकेदार कम्पनी र उसले नियुक्त गरेको सहायक कम्पनीको आपसी विवाद र कामदारको भुक्तानीको विषयले करिब ६ महिना काममा अवरोध सिर्जना गरेको थियो ।
सरकारी निकायले मुख्य ठेकेदार र स्थानीयबीचको विवाद सुल्झाउन नसकिरहेका बेला सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको बैठकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले पुरानो टिम फेरेकाले कामले गति लिने संकेत मिलेको सम्बन्धित कर्मचारीले जानकारी दिए ।
‘ठेकेदार कम्पनीले भर्खरै नयाँ टिम ल्याएको र स्थानीयसँगको विवाद सुल्झँदै गएकाले निर्माण कार्यले गति लिने संकेत देखिएको छ,’ विमानस्थल आयोजना प्रमुख ओम शर्माले भने, ‘केही समययता निर्माण कार्यमा लिइरहेको गति कायम रहने हो भने तोकिएको अवधिसम्म विमानस्थलको ८० प्रतिशत काम सकिनेछ ।’
सन् २०१५ जनवरीदेखि निर्माण कार्य थालिएको उक्त विमानस्थलको सन् २०१८ को जुन १८ सम्म काम सक्ने सम्झौता गरिएको छ । तर, सम्झौताको लामो समय बितिसक्दा चिनियाँ कम्पनीले २६ प्रतिशतमात्र काम गर्न सकेको छ । विमानस्थल निर्माणका  लागि छुट्टाइएको ६ अर्ब २२ करोड रुपैयाँमध्ये हालसम्म ६५ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । निर्माण कार्यबाहेक उक्त विमानस्थललाई आवश्यक परेको जमिन अधिग्रहण गर्दाको करिब २३ अर्ब रुपैयाँ पनि स्थानीयलाई वितरण गर्न बाँकी नै छ ।
आयोजना प्रमुख शर्माले अहिलेसम्म काममा ढिलाइ हुनुको कारण ठेकेदार कम्पनी नै भएपनि अब नयाँ टोली आएकाले सोही कम्पनीसँगको ठेक्का निरन्तरता दिनु देशका लागि उपयुक्त हुने बताए । ‘ठेकेदार कम्पनीले पछिल्लो समयमा देखाएको तदारुकताले ठेक्काको निर्धारित अवधिसम्म ८० प्रतिशत काम सकिन्छ,’ शर्माले भने, ‘त्यसपछि बचेको निर्माण कार्य सम्पन्न गर्न ठेक्काको अवधि बढाउनु पर्ने हुन्छ ।’ केही दिनयता थालेको कामको तीव्रता कायम रहने हो भने आउँदो एक वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पूरा हुने उनको भनाइ छ ।
हालसम्म देशमा एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको र त्यो पनि ठूला जहाजका लागि उपयुक्त नभएको भन्दै लामो समयदेखि अन्य अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरिँदै आएको छ । लामो प्रयासपछि  निर्माण कार्य थालिएको उक्त विमानस्थल तयारीको क्रममै विवाद सिर्जना गरिएपछि सबैलाई निरास बनाउँदै आएको छ ।
स्रोतका अनुसार उच्च पदमा रहेका राजनीतिक र कर्मचारीतन्त्रकै कतिपय व्यक्ति कमिसनको लोभ र अन्य प्रभावमा परी उक्त विमानस्थलको ठेक्का तोडेर नयाँ कम्पनीलाई दिने दाउ खोजिरहेका छन् ।
कुल सात सय ८७ बिघा (पछि थप गरिएको पाँच सयसहित) क्षेत्रफलमा फैलिएको उक्त विमानस्थलको निर्माण कार्य सकिएपछि काठमाडौं आउने अधिकांश ठूला जहाज भैरहवामै अवतरण गर्ने योजना छ । तीन हजार मिटर लामो रनवे हुने गरी विमानस्थलको निर्माण कार्य भइरहेको छ ।
आयोजना प्रमुख शर्माले विमानस्थल निर्माणका लागि आवश्यक माटो र नदीजन्य पदार्थको समेत व्यवस्थापन भइसकेको जानकारी दिए । विमानस्थल निर्माणका लागि करिब १० लाख घनमिटर माटो र चार लाख घनमिटर नदीजन्य पदार्थको आवश्यकता पर्ने आकलन गरिएको  छ । ‘जिल्ला समन्वय समिति र स्थानीयसँगको छलफलपछि सहज रूपमा आवश्यक निर्माण सामग्री जुटाउने उपाय फेला परिसकेको छ,’ शर्माले भने ।
‘अहिलेकै कम्पनीलाई निरन्तरता देऊ’
यसैबीच व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि हालकै चिनियाँ कम्पनीलाई निरन्तरता दिन निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सचिवलगायत सम्बन्धित अधिकारीको धारणा सुनेपछि समितिका सभापति जेबी टुहुरेले हालको कम्पनीसँगको निर्देशन नतोड्न निर्देशन दिएको बताए । ‘यतिखेर पुनः अर्को कम्पनीसँग ठेक्काको प्रक्रिया अघि बढाउने हो भने त्यसले झन् काममा ढिलासुस्ती हुने देखिन्छ,’ उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन जीतेन्द्रनारायण देव भने गौतम बुद्ध विमानस्थलको निर्माण कार्य सन्तोषजनक नभएको भन्दै बैठकबाट बाहिरिएका थिए । समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ठेकेदार कम्पनीलाई कामको जिम्मा दिएर मात्र नहुने उल्लेख गर्दै निर्माण सामग्रीमा सघाउनु पर्ने दायित्वसमेत सरकारको भएको बताए । विकास निर्माणका लागि साधनस्रोत, रकम र जनशक्ति हुँदासमेत काममा किन ढिलाइ हुन्छ भन्नेबारे सोधीखोजी गर्नुपर्न नेपालले बताए ।
सांसद चूडामणि जंगलीले सात–आठ महिना थप गरेरै भए पनि हालको कम्पनीलाई विमानस्थलको काम सक्न दिनुपर्ने बताए । अर्का सांसद भरतबहादुर खड्काले केही दिन अघि सोही विमानस्थलको स्थलगत अनुगमन गरेको जानकारी दिँदै कामको ढिलासुस्ती हेर्दा ठेक्का तोड्न सकिने आधार भए पनि त्यसो गर्दा झनै देशको हितमा नहुने बताए ।
पोखराको काम अर्को महिनादेखि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको  छ । गएको जुलाईदेखि ठेक्कामा गएको पोखरा विमानस्थलका यतिखेर ठेकेदार कम्पनीले आवश्यक भौतिक संरचना निर्माण गरिरहेको र तिहारपछि विमानस्थलको काम थालिने आयोजना प्रमुख प्रवीन अधिकारीले जानकारी दिए ।
त्यस्तै, निजगढ दोस्रो विमानस्थल निर्माणका लागि डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) तयारी गर्ने प्रक्रिया अघि बढेको नागरिक उड्डयन प्र्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए । उक्त विमानस्थल कुन मोडलमा बनाउने भन्नेबारे भने कुनै टुंगो लाग्न सकेको छैन ।

गौतमको सरुवाप्रति आपत्ति
निर्वाचन आयोगले आचारसंहिता जारी गरेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई सरुवा गरेकोमा सांसदहरूले विरोध गरेका छन् ।
 गलत मनसायले सरुवा गरिएको दाबी गर्दै सांसदहरूले गौतमलाई इमान्दार र कर्मठ कर्मचारी भन्दै प्रंससा गरे । ‘कालोसूचिमा परेको नेपालको उड्डयन क्षेत्रलाई सुधार गर्ने व्यक्तिलाई कारबाही गर्न खोज्नु अन्याय हो,’ सासंद चूडामणि जंगलीले भने । अर्का सांसद भरतबहादुर खड्काले निर्वाचन आयोगले गौतमको सरुवा रोकेर न्याय गरेको बताए ।
समितिले गौतमलाई सहज रुपमा कार्य गर्ने वातावरण बनाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । 

प्रकाशित: २४ आश्विन २०७४ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App