७ वैशाख २०८१ शुक्रबार
अर्थ

एक वर्षमा बैंकहरुको लगानी ३२४ अर्ब

काठमाडौं - लगानीयोग्य पुँजीको अभाव हुँदाहुँदै पनि बैंकहरुले एक वर्षमा तीन खर्ब २४ अर्ब रुपैयाँ लगानी गरेका छन् । गत आर्थिक वर्ष ०७३/७४ को भदौसम्ममा १४ खर्ब ३९ अर्ब लगानी गरेका बैंकहरुले चालु आर्थिक वर्ष ०७४/७५ को सोही अवधिसम्ममा १७ खर्ब ६३ अर्ब लगानी गरेका छन् ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक वर्षको अवधिमा २८ वाणिज्य बैंकहरुले २२.५२ प्रतिशतले लगानी बढाएका हुन् । दसंै र तिहारपछि लगानी अझै बढ्ने अनुमान गरिएको नेपाल बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मंगलबार नागरिकलाई बताए ।
‘चाडपर्वका कारण बैंकमा ऋण लिन आउनेको संख्या केही घटेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले भने, ‘दसंै र तिहारपछि ऋणको माग ह्वात्तै बढने अनुमान गरिएको छ ।’ लगानीयोग्य पुँजी (तरलताको अभाव) को समस्या समाधान हुँदै गएको पनि उनले जानकारी दिए ।

बैंकिङ प्रणालीमा अहिले खर्ब रुपैयाँ जति लगानीयोग्य पुँजी रहेको नेपाल राष्ट्र बैंकको भनाइ छ । ‘लगानीयोग्य पुँजी विस्तारै सहज हुँदै जाने अपेक्षा गरिएको छ,’ ढुंगानाले भने, ‘गत वर्ष लगानीयोग्य पुँजीको अभाव थियो । अब भने अभाव हुने अवस्था देखिएको छैन ।’
बैंकहरुले निक्षेप संकलन पनि बढाएका छन् । एक वर्षको अवधिमा उनीहरुले तीन खर्ब ४० अर्ब निक्षेप बढाएका छन् । गत आर्थिक वर्ष ०७३/७४ को भदौसम्ममा १७ खर्ब ८७ अर्ब लगानी गरेका बैंकहरुले चालु आर्थिक वर्ष ०७४/७५ को सोही अवधिसम्ममा २१ खर्ब २७ अर्ब लगानी गरेका छन् । निक्षेप संकलन पनि १९.०१ प्रतिशतले बढेको छ ।
बैंकहरुले १२ प्रतिशत ब्याज दिएर पनि निक्षेप संकलन गरिरहेका छन् । त्यसरी संकलन गरेको निक्षेपलाई बैंकहरुले १८ प्रतिशतसम्ममा ऋण लगानी गरेका छन् ।
‘बैंकहरुमा निक्षेप (डिपोजिट) बढ्न थालेको छ,’ ढुंगानाले भने, ‘निक्षेप संकलन बढेसँगै कर्जाको ब्याजदर पनि आफसेआफ घट्ने छ ।’
केन्द्रीय बैंकले कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड दर) पाँच प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । तोकिएको स्प्रेड दरभित्र रहेर बैंकहरुले कर्जा लगानी गर्नुुपर्ने स्थिति रहेको बैंकर्स संघको भनाइ छ ।
अहिले पनि बैंकहरुले मुद्दती खातामा १२ प्रतिशत ब्याज दिएर निक्षेप तानिरहेका छन् । उच्च दरमा निक्षेप लिएर कम ब्याज दरमा कर्जा लगानी गर्दा नोक्सानी हुने भएकाले ब्याज दर घटाउन नसकेको बैंकर बताउँछन् ।
साधारण बचत खातामा बढीमा २–३ प्रतिशत ब्याजमा बैंकहरुले निक्षेप लिए पनि मुद्दती खातामा सर्वसाधारणलाई १२ प्रतिशतसम्म ब्याज दिएर रकम संकलन गरेका छन् ।
पछिल्लो समय कर्जाको ब्याज वृद्धि नगरे पनि घटाएका भने छैनन् । ‘निक्षेप संकलनमा खासै प्रगति नभएकाले कर्जाको ब्याज दर नघटेको हो,’ एक बैंकरले भने, ‘१२ प्रतिशत ब्याजमा निक्षेप संकलन गरेका बैंकले कर्जा लगानी त्यही अनुसार गर्दा कर्जाको ब्याज दर बढी हुनु स्वाभाविकै हो ।’
सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज दर कम भएका कारण उनीहरुले त्यो रकम मुद्दती खातामा सारेको बैंकर बताउँछन् । ‘बढी ब्याज आउने भएकाले ग्राहकले बचत खातामा भएको पैसा मुद्दतीमा सारेका छन्,’ उनले भने, ‘मुद्दती बचतमा १२ प्रतिशत ब्याज पाउने भएपछि किन २–३ प्रतिशत ब्याज पाउने बचत खातामा राख्थे !’

कर्जाको ब्याजदर बढी हुँदा ठूलो पुँजीमा निर्माण भइरहेका औद्योगिक परियोजना अघि बढ्न नसक्ने अवस्था आएको भन्दै उद्योगी, व्यवसायीले यसबाट लगानी घट्ने, रोजगारीका अवसर संकुचित हुने र कुल गार्हस्थ उत्पादनमा ह्रास आउने चेतावनीसमेत दिएका छन् ।
राष्ट्र बैंकले भने लगानीयोग्य पुँजीको अभाव नरहेको बताएको छ । बैंकिङ प्रणालीमा बढी रकम भएको भन्दै बजारबाट पैसा तानिरहेको छ । केन्द्रीय बैंकले कर्जाको ब्याज दरमा अंकुश लगाएको छ । बैंकहरुले मनोमानी ब्याज बढाएपछि त्यसलाई नियन्त्रण गर्दै तीन महिनाभन्दा कम समयमा ऋणको ब्याज दर बढाउन नपाउने नीति राष्ट्र बैंकले ल्याएको छ ।
संघको तथ्यांकअनुसार निक्षेपको वृद्धि दरभन्दा कर्जाको वृद्धि दर बढी छ । अर्थात जति कर्जा प्रवाह बढी भयो त्यो अनुपातमा निक्षेप बढेको देखिएको छैन । यसको मार गाडी खरिद गर्ने, ऋण लिएर घर बनाउनेदेखि लिएर ऋण लिएर उद्योग चलाउनेसम्मलाई परेको छ । हिजो कम ब्याज दरमा कर्जा लिएकाहरु आज बढी ब्याज तिर्न बाध्य छन् ।  


निक्षेप र लगानीको अवस्था
आर्थिक वर्ष                          निक्षेप             लगानी
गत आव (भदौसम्म)    १७ खर्ब ८७ अर्ब    १४ खर्ब ३९ अर्ब
चालु आव (भदौसम्म)    २१ खर्ब २७ अर्ब    १७ खर्ब ६३ अर्ब

स्रोत : नेपाल बैंकर्स संघ

प्रकाशित: २५ आश्विन २०७४ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App