१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो ।  महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाए र सोधे, ‘हलो, को बोल्नुभयो ?’ उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । ‘तेरो अध्यक्ष’ भन्ने शब्दमात्रै सुने । फोन काटियो । बेलुका ७ बजे घर पुग्दा उनको मोबाइलमा नम्बर नदेखिएको दुईटा मिस कल थियो ।

बुधबारसम्म महासंघमा १० जना व्यवसायीले आफूलाई धम्की आएको जानकारी गराइसकेका छन् ।

‘बारम्बार फोन आइरहेको थियो, एक कलमात्र उठाउन सकें,’  देउजाले नागरिकसँग भने, ‘लबज मंगोलियन भए पनि त्यत्ति प्रस्ट सुनिएन ।’
सोमबार दिउँसो बानेश्वर खरीबोटनजिकै घरबाट अनामनगरमा रहेको महासंघको कार्यालय हिँडेका गौचनको गोली हानेर हत्या भएपछि निर्माण व्यवसायीलाई तारन्तार फोन कल आइरहेको छ । बुधबारसम्म महासंघमा १० जना व्यवसायीले आफूलाई धम्की आएको जानकारी गराइसकेका छन्।

महासंघका प्रवक्ता विष्णु बुढाथोकीका अनुसार महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामा, महासचिव देउजा, कोषाध्यक्ष रोशन दाहाललगायतलाई तारन्तार धम्की आएपछि जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार सबैले सुरक्षाका लागि प्रहरी लिएका छन्। महासचिव देउजाले महासंघमा १० जनाले जानकारी गराए पनि २० भन्दा बढी निर्माण व्यवसायीलाई धम्क्याउँदै फोन आएको बताए । ‘हामीले भनेको मानिनस् भने तेरो अध्यक्षको हालत जे भएको छ तेरो हालत पनि त्यही हुन्छ, पैसा लिएर हामीले भनेको ठाउँमा आउनू’ भन्दै फोन आउने गरेको उनले जानकारी दिए।

व्यवसायीले महासंघमा दिएको जानकारीअनुसार फोन गर्नेले एक करोड रुपैयाँसम्म माग्ने गरेका छन् । फोन गरेको विषय कसैलाई जानकारी गराए गौचनकै हालत बनाइदिने भन्दै धम्क्याउने गरेका छन् । लबजका आधारमा अधिकांश व्यवसायीलाई फोन गर्ने व्यक्ति एउटै छ ।
गौचनको हत्या भएको दिन आफूलाई लोप्साङ लामा बताउने व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकसहित केही सञ्चारकर्मीलाई समेत फोन गरेर गौचनको हत्या आफूले गराएको दाबी गरेका थिए।

फोनकर्ताले वैशाखमा गौरीघाटमा गोली लागेर घाइते ‘गुन्डा’ दावा लामालाई समेत आफैंले गोली हानेको दाबी गर्ने गरेका छन् । दावामाथी गोली प्रहार भएपछि पनि लोप्साङ नाम गरेका व्यक्तिले फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए। धम्कीको फोन भारतबाट व्यवसायी, प्रहरी र सञ्चारकर्मीलाई आएको फोनको आधारमा स्थान पहिल्याउँदा सबै कल भारतबाट आएको देखिएको अनुसन्धान सम्बद्ध स्रोतले बतायो।
सबै कल इन्टरनेटमार्फत आएको थियो। सबै फोन नेपाल टेलिकमको मोबाइलमा आएको र फोनको आइपी पहिल्याउँदा भारतको टाटा टेलिकमको देखिएको स्रोतले बतायो।

जानकार अधिकारीका अनुसार नेपाल टेलिकमले टाटा कम्पनीसँग सम्झौता गरेकाले इन्टरनेट फोन आउँदा उसको गेटवे प्रयोग भएको देखिएको हो। फोन प्रयोगकर्ताले अन्य इन्टरनेट सेवा प्रदायक र टेलिफोन सेवा प्रदायकको सिम प्रयोग गरे पनि नेपाल टेलिकमको ग्राहककोमा आउँदा टाटाकै देखिने जानकार अधिकारीले बताए।

भारतीय सेवा प्रदायककोमा भने सो फोन कुन इन्टरनेट सेवा प्रदायक वा कुन सिमबाट आएको हो, सो खुलाउनसक्ने भएकाले अनुसन्धानका लागि गठित समितिका अधिकारीले विवरण संकलन गर्न भारतीय सुरक्षा अधिकारीको सहयोग मागेका छन् ।

अनुसन्धान घेरामा चार ‘गुन्डा’
गत पुसमा रुपन्देहीमा युथ फोर्सका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यापछि पनि यस्तै प्रकृतिको फोन आएको थियो । फोनको स्रोतबारे अनुसन्धान गर्दा भारत देखिएपछि नेपाल प्रहरीको टोली भारत पुगेको थियो।

फोनकर्ताको लोकेसन कहिले दिल्ली, कहिले मुम्बई त कहिले गोवा देखिएपछि प्रहरी टोली त्यहींत्यहीं पुगे पनि फोनकर्ता फेला परेनन् ।
गौचनको हत्याअगाडि उनलाई केन्द्रीय कारागारमा रहेका गुन्डा सुजन पौडेल (रमेश बाहुन)  समूहका केटाहरूले भेटेर पैसा माग्दै धम्क्याएर थप्पड हानेको सूचनाको आधारमा प्रहरीले बाहुनको गतिविधि र उनको समूहका सदस्य पक्राउ गर्ने क्रम बढाएको छ।

प्रहरीले कारागारमै गएर घटनाबारे बाहुनसँग समेत बयान लिएको छ । उनले आफ्नो समूह नरहेको र कसैले आफ्नो नाम लिएर धम्क्याए पनि यसबारे जानकारी नभएको दाबी गरेका छन्।

शंकाको घेरामा रहेका अर्का व्यक्ति मनोज पुन नेपालमा नरहे पनि उनको समूहका ८ जना रुपन्देही जिल्ला कारागारमा छन्। तिवारीको हत्या अभियोगमा रुपन्देही प्रहरीले सोमबहादुर आले, तुलबहादुर सिंजाली, वसन्तबहादुर चापागाईं, बुद्धिसागर यादव, राजेश यादव, खेमानन्द भट्टराई, सागर थापा, अंगद थारु र ऋषिकुमार कुमाललाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुसँग समेत पुनबारे सोधपुछ गरेको छ।

सो घटनाका सुटर राजु भएको सार्वजनिक गरे पनि प्रहरीले राजुको पूर्ण विवरण खुलाउन सकेको थिएन । सुटरसँगै घटनाका मुख्य योजनाकार पुन, नेपालमा योजना कार्यान्वयन गर्ने सोमबहादुर आले र श्याम गुरुङ फरार थिए। तिवारीको हत्या अभियोगमा पक्राउ परेका पुन समूहका सदस्यसँग अन्य सहयोगी, सुटर र मनोजबारे जानकारी लिए पनि उपलब्धिपूर्ण सूचना आएको छैन।

शंकामा जोडिएका अर्का व्यक्ति हुन् समिरमान बस्नेत । बाफलका बस्नेत प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समूहका सदस्य थिए। घैंटे मारिएपछि उनी भारत पुगेका छन्। वैशाखमा गोली हानेर दावा लामाको हत्या प्रयास भएको थियो । सो घटनाको अनुसन्धानमा बस्नेत र पुन जोडिएका थिए । रसियन युवतीसँग विवाह गरेका बस्नेतले नेपाली पासपोर्ट छाडेर भुटानको पासपोर्ट लिएको सूचना प्रहरीसम्म आएको छ।

घैंटे समूहका युवराज गुरुङ (सानुभाइ) लाई समेत प्रहरीले शंकाको घेराभित्र राखेको छ। घैंटेको इन्काउन्टर गर्ने प्रहरी कर्मचारीको हत्या योजना बनाएको खुलेपछि प्रहरीले उनलाई दुई वर्षअगाडि नुवाकोटमा पक्राउ गरेको थियो। पक्राउ परेपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको खुलेको थियो । प्रहरीले गुरुङसँग समेत गौचन हत्याबारे सोधपुछ गरेको छ।

प्रकाशित: २६ आश्विन २०७४ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App