१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेयर बजार ओरालो लाग्ने क्रम रोकियो

काठमाडौं- केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजारमा पछिल्ला दुई दिनमा सुधार आएको छ । मंगलबार ०.७४ बिन्दुले सुधार आएको सेयर बजार बुधबार ३.३६ बिन्दुले बढेको हो ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी पर्याप्त हुन थालेपछि सेयर धितो राखेर लिने कर्जाको ब्याज दर घट्ने अनुमान कारण सेयर बजार मापक नेप्से दुई दिनदेखि सुधारोन्मुख अवस्थामा छ ।

दुई दिनयता नेप्से परिसूचक धेरै नबढे पनि ओरालो लाग्ने क्रम रोकिएको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बुधबार नागरिकलाई बताए । ‘बाम एकताले तर्सिएका साना लगानीकर्ताले सेयर बिक्री गरिसकेका र ठूला लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेकाले पनि सेयर बजार धेरै बढ्न नसकेको हो,’ उनले भने, ‘आगामी दिनमा बजार धेरै नबढे पनि ओर्लिने क्रम रोकिने छ ।’
बाम एकताले डराएका ठूला लगानीकर्ता केही दिन हेरौ न त भन्न थालेकाले पनि सेयर बजारमा धेरै सुधार आउन नसकेको एक विश्लेषकको भनाइ छ । ‘बाम एकताको त्रास सकिएको छ,’ ती विश्लेषकले भने, ‘अत्तालिएका साना लगानीकर्ताले बिक्री गरिसकेको र ठूला लगानीकर्ता केही दिन राजनीतिक माहोल हेरेर अगाडि बढ्ने अवस्थामा रहेका छन् ।’ चुनाव बिथोलिने अवस्था आयो भने सेयर बजार घट्न सक्छ, अन्यथा धेरै घट्ने अवस्था नभएको उनको विश्लेषण छ ।
सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर घट्ने संकेत देखिएकाले पनि सेयर बजार ओरालो लाग्ने क्रममा कमी आउने अनुमान गरिएको सिजापतिको भनाइ छ । ‘सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको थियो,’ उनले भने, ‘कात्तिकदेखि सेयर बजारको ब्याज दरमा भारी गिरावट आउने अनुमान गरिएको छ । यसले पनि सेयर बजार धेरै घट्न दिँदैन ।’
बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) पर्याप्त हुन थालेकाले पनि ब्याज घट्ने निश्चित छ । त्यसैले पनि सेयर बजारमा सुधारको संकेत देखिएको हो ।
बुधबार नेप्से ३.३६ बिन्दुले उकालोे लागेर १५०५.९९ मा पुगेको छ । ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको विश्लेषक बताउँछन् । ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ ।
यसअघि बैंकको ब्याजदर बढेकाले सेयर बजारमा गिरावट आएको थियो । ‘यसअघि ब्याजदर बढी थियो । सेयरको भाउ पनि घटेको थियो,’ सिजापतिले भने, ‘ब्याजदर घटेसँगै सेयर मूल्यमा बढने देखिन्छ ।’
तीव्र गिरावटको क्रम रोकिएपछि लगानीकर्ताको मनोबलमा सुधार आएको विश्लेषकको भनाइ छ । लगानीकर्ता बजारप्रति आशावादी बन्न थालेको उनीहरुको टिष्पणी छ ।
सेयर बजारमा झिनो सुधार आए पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेको छैन् । दैनिक ७०–८० करोडको सेयर कारोबार हुने गरेकोमा अहिले त्यसको आधा रकमको मात्रै कारोबार हुँदै आएको छ ।
बुधबार १ सय ६३ कम्पनीको सेयर कारोबार भएको बुधबारको बजारमा ३२ करोड २३ लाख रुपैयाँ बराबरको ७ लाख ५४ हजार ५३ कित्ता सेयर तीन हजार सात सय ९४ पटक कारोबार भएको छ । अघिल्लो दिन मंगलबार ३० करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
बुधबार बाणिज्य बैंक, फाइनान्स, उत्पादन समूह बाहेक अरु सबै सूचक बढेको छ । सबैभन्दा बढी बिमा समूहको ६० बिन्दुले र सबैभन्दा कम व्यापार समूहमा २.११ बिन्दुको वृद्धि भएको छ । उत्पादन समूहमा सबैभन्दा बढी १४.३३ बिन्दुको गिरावट आएको छ । फाइनान्स ०.१४ बिन्दु तथा वाणिज्य बैंक ०.६ बिन्दुले ओरालो लागेको छ ।
सिर्जना फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ७.८५ प्रतिशतले बढेर पाँच सय ७७ रुपैयाँमा कारोबार बन्द भएको छ । बुधबार रिडी हाइड्रोपावर, सहयोगी विकास बैंक र कैलाश विकास बैंकको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । सूर्योदय लघुवित्त, युनाइटेड मोदी, प्रुडेन्सियल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर र वोमी माइक्रोफाइनान्सका सेयरधनीले तीन प्रतिशतभन्दा धेरै कमाए ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, काबेली विकास बैंक, खानीखोला हाइड्रोपावर र गोर्खाज फाइनान्सको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । त्यसैगरी आइसिएफसी फाइनान्स, कन्काई विकास बैंक,जनरल फाइनान्स, हिमालय डिस्टीलरी, रुरल माइक्रोफाइनान्स र बरुण हाइड्रोपावरका सेयरधनीले समेत तीन प्रतिशतभन्दा धेरै गुमाए ।

प्रकाशित: २६ आश्विन २०७४ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App