७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारतीय रेल्वेले नेपालको ढुवानी रोक्यो

वीरगन्ज- कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ । नेपालका लागि विदेशबाट मालसामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् ।
यता वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आयातित कार्गोमा विलम्ब हुन थालेको भन्दै भारतीय रेल्वेले गत सोमबारदेखि आउँदो सोमबारसम्म आठ दिनका लागि नेपाली कार्गो ढुवानी रोकेपछि समग्र व्यापार नै प्रभावित भएको छ । ‘कतिपय उद्योग कच्चा पदार्थ अभावले बन्द हुने स्थितिमा पुगिसकेका छन्,’ वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका आयातकर्ता प्रदिप केडियाले भने, ‘हामीले सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालय टर्मिनल्स, सुक्खा बन्दरगाह भन्सार कार्यालय र भारतीय पक्षसँग यसमा सहजीकरणका लागि पहल गरिरहेका छौं ।’
समस्या जटिल बन्दै जाँदा व्यापारी आत्तिन थालेको उनले बताए । ‘कन्टेनरहरु फेरि डेमरेज र डिटेन्सनको मारमा पर्न थालेको छ । केही दिन अघिमात्र मैले मेरो २५ वटा कन्टेनरमा १० लाख भारतीय रुपैयाँ (नेपाली १६ लाख) जरिवाना तिरें, जुन रकमको कुनै सोधभर्ना छैन,’ आयातकर्ता केडियाले भने ।
भदौमा उत्तर भारतमा बाढीले १० दिन रेल सञ्चालन भएन, त्यसपछि दसैंमा नेपाली भन्सार तीन दिन बन्द रह्यो भने केही दिन कर्मचारी, क्लियरिङ एजेन्ट र ढुवानीकर्ताहरु दसैंपछि काममा आउन ढिलो गर्दा यताबाट खाली कन्टेनर पठाउन केही ढिलाइ भयो । उता कोलकातामा भने दसैं मनाउन शरद पुर्णी (दशमीको पाँच दिनपछि) सम्म काम प्रभावित भएपछि त्यहाँस्थित बन्दरगाहमा तेस्रो मुलुकबाट आएका कार्गो थन्किँदा ‘कन्जेसन’ (जाम) सुरु भयो ।
दुवैतिर परेको प्रभाव व्यवस्थापन हुन नसक्दा यतिखेर रेलमार्गबाट हुने समग्र व्यापार नै प्रभावित भएको छ । केडियाका अनुसार कन्टेनर निर्धारित १४ दिनभन्दा थप १५ देखि २० दिनसम्म ढिलो गरी ढुवानी हुँदा ६० देखि ८० डलर (नेपाली रुपैयाँ ६ देखि आठ हजार रुपैयाँ)सम्म प्रतिदिन जरिवानामा परिरहेका छन् । कोलकाताबाट फर्वार्डिङ (चलान) भइसकेका पाँच सय ८८ कन्टेनर अहिले बन्दरगाहकै यार्डमा थन्किरहेका छन् ।
बुधबार दिउँसो १२ बजेसम्म फर्वार्डिङ नभएका अरु कन्टेर चार सय ५० कन्टेनर नेपालका लागि विदेशबाट आइसकेका छन् । यसरी कोलकातामा हजारभनदा बढी नेपाली कन्टेर रोकिँदा यता वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहका लागि बाटोमा भएबाहेक रेल पठाउन तयार गरिएको छैन । रेक भनिने एउटा मालबाहक रेलमा २० फिट एकाइको ९० कन्टेर अटाउने गर्छ ।
नेपाल ल्याउने मालसामान बोकेर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहका लागि हिँडेका २० वटा रेक बाटोमा छन् । त्यसमध्ये नौवटामा विभिन्न उद्योगले कच्चा पदार्थको रुपमा आयात गरेका बेग्लाबेग्लै किसिमका फलाम छ । अर्को पाँचवटामा बोराबन्द रासायनिक मल छ । ६ वटा रेकमा २० फिट एकाइमा पाँच सय ४० कन्टेनर छन् । ‘सडकमार्ग बिग्रिएको छ, जोखिमपूर्ण छ । रक्सोल नाकामा चार दिनसम्म लाग्ने भयानक जाम छ । यसरी रेलमार्ग मात्र अहिले एकमात्र विकल्पको रुपमा रहेकोमा अहिले त्यो पनि भारतीय रेल्वेले बन्द गरेको छ,’ आयातकर्ता सुशान्त चाचानले नागरिकलाई भने, ‘हामीले लगभग बन्द हडतालको अवस्था खपिरहेका छौं ।’
कन्जेसनलाई कारण देखाउँदै भारतीय रेल्वेले नेपाली कार्गो ढुवानी गर्ने रेल अक्टोबर ९ (गत सोमबार) देखि आठ दिनका लागि सञ्चालन रोकेपछि आयातकर्ता आत्तिएका छन् । रेल रोकिँदा तेस्रो मुलुकबाट आउने कन्टेनर मात्र होइन, कच्चा खानेतेल, बोराबन्द सामान पनि आउन रोकिएको छ । यता भारतबाट विभिन्न खाले फलाम बोकेर आउने रेक र बोराबन्द सामान बोकर आउने रेक पनि सँगसँगै रोकिएको छ ।
समग्र आयात व्यापार नै चौपट हुने अवस्थामा पुगेको छ । ‘कन्टेनर सहितको रेललाई सञ्चालन गर्न दिने रेल्वेले आदेश गरिसकेको जानकारी आएको छ,’ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालय टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, ‘अरुखाले रेकबाट पनि रोक हटाउन हामीले पहल गरिरहेका छौं ।’
वीरगन्ज सुक्खा बन्दरगाहबाट भर्ती कन्टेनर लगेर खाली गरी फर्काउने काममा आयातकर्ताले गरेको ढिलाइले समस्या भएको उनको भनाइ छ । पछिल्लो समयमा कन्कोरले वीरगन्ज सुक्खा बन्दरगाहका लागि ढुवानी गर्ने रेलको संख्या बढाएर एक दर्जन बढी बनाएपछि आयात सहज भएर विलम्ब र त्यसले हुने आर्थिक नोक्सानी हटेको थियो । त्यस माहोललाई बनाई राख्न आयातकर्ताले भूमिका नखेलेको चौधरीको गुनासो छ ।
उनका अनुसार बुधबार वीरगन्ज सुक्खा बन्दरगह आइसिडी (इनल्यान्ड कन्टेनर डिपोमा दुई सय ९४ भर्ती कन्टेनर छन् । जसलाई आयातकर्ताले लगेका छैनन् । त्यस्तै विभिन्न उद्योग लगायत गन्तव्यमा गएका कन्टेनर एक सय ६० वटा आउन बाँकी छन् । बेलैमा खाली कन्टेनर आयातकर्ताले नफर्काउँदा यताबाट पछिल्लो समयमा आफूले चारवटा रेक रित्तै फर्काएको चौधरीले बताए ।
सामान लिएर आउने कन्टेनर यताबाट खाली वा भर्ती निश्चित समयभित्र पुनः कोलकाता पुग्न सके ढुवानीको ‘रोटेसन चेन’ (शृंखला) सञ्चालनमा सहज हुने उनले सुनाए । आयातकर्ता व्यापारी भने यताबाट कन्टेनर फर्काउन ढिलाइ भएर समस्या भएको मान्न तयार छैनन् । उनीहरु नेपाली कार्गो भारतीय रेलको ढुवानी प्रणालीमा उपेक्षामा पर्ने गरेकाले समस्या दोहोरिने गरेको बताउँछन् ।
समस्या लम्बिए त्यसको असर उद्योगहरुको उत्पादनदेखि मूल्यमा समेत पर्ने सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईं बताउँछन् । ‘व्यापारमा समय र लागत कम हुनुपर्छ, अहिले देखिएको अवरोधले समय र लागत दुवै बढ्ने देखिन्छ,’ सेढाईंले भने, ‘तयारी वस्तु होस् वा उद्योगको कच्चा पदार्थ लागत बढ्दा मूल्यमा असर पर्ने हो, मार त अन्ततः आम उपभोक्तालाई नै पर्छ । यस्तोले व्यापार गर्नेलाई होइन देशलाई नोक्सानीमा पर्छ ।’

प्रकाशित: २६ आश्विन २०७४ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App