चिकित्सा शिक्षा विधेयक पारित हुनेमा शंका

बिहिबार, २६ असोज २०७४, ०९ : ०१ दीपक दाहाल  | @DeepakDahal1


काठमाडौं- संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्षी एमाले र सत्ता साझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको छ ।

डा. केसीको मागअनुसार विधेयक पारित गर्न अन्ततः कांग्रेस तयार भए पनि एमाले र माओवादी असहमतिका कारण विधेयक पारित हुनेमा शंका उब्जिएको छ ।

पटकपटक कार्यसूचीमा परेर पनि डा. केसीसँग भएको सम्झौता र केदारभक्त माथेमा कार्यदलको सिफारिस विधेयकमा समेट्न अन्ततः कांग्रेस तयार भए पनि अन्य प्रमुख दुई दल तयार नभएपछि पारित हुनेमा सन्देह उब्जिएको हो ।

विगतमा सत्ता साझेदार माओवादी दबाबलाई मिलाएर जाने पक्षमा देखिएको कांग्रेस पछिल्लोपटक कम्युनिस्ट गठबन्धन बनेसँगै केसीका माग समेट्ने पक्षमा उभिएको हो । शिक्षामन्त्री गोपालमान श्रेष्ठले बुधबार केसीका माग समेट्ने गरी आएका संशोधन स्वीकार गर्न सरकार तयार भएको जानकारी संसद्मा गराएका छन् ।

श्रेष्ठले सरकारका तर्फबाट नयाँ संशोधन सदनमा निणयार्थ प्रस्तुत गर्ने प्रयोजनका लागि प्रस्ताव दर्ता गराइसकेका छन् । योसँगै समितिबाट पारित भएअनुसारको विवादित स्वरूपमै विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना पनि अन्त्य भएको छ । ‘अब कि मन्त्रीले दर्ता गराएको केसीका मागअनुसारको प्रस्तावमा एमाले माओवादी तयार हुनुपर्छ, कि स्पष्ट त्यसको विपक्षमा गएर विधेयक फेल गराउनुपर्छ,’ एक सांसदले भने ।  
माथेमा प्रतिवेदन र आफूसँग भएका सम्झौतासमेत समेटेर तत्काल चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने प्रमुख मागसहित डा. गोविन्द केसी १३ औं पटक छैटौं दिनको अनशनमा छन् ।

उपत्यकामा थप मेडिकल कलेजलाई १० वर्षसम्म सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिनेलगायत माथेमा कार्यदलका प्रमुख सुझाव पन्छाएर संसदीय समितिले विधेयक पारित गरेको थियो । खासगरी सम्बन्धनको पर्खाइमा रहेका एमाले निकटका सञ्चालक रहेको मनमोहन र माओवादी निकटका लगानीकर्ताको बिएन्डसी मेडिकल कलेजलाई बाटो सहज हुने गरी विधेयकलाई अन्तिम रूप दिइएको छ । डा. केसीका मागअनुसारका विषय समेट्दा दुवै कलेज खोल्न कठिन पर्ने भएकाले विधेयकमा माओवादी र एमाले सुरुदेखि नै एकै ठाउँमा छन् ।

संसद्को महिला बाललिका, जेष्ठ नागरिक तथा सामाजिक समितिले उक्त विधेयक साउन २६ गते पारित गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले ती माग समेटेरमात्रै विधेयक पारित गर्ने वचन दिएपछि डा. केसीले ११ औं पटकको अनशन स्थगित गरेका थिए ।प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा रहेका बेला असोज ९ मा संसद्को कार्यसूचीमा राखेर पारित गर्ने प्रयास गरेपछि डा. केसीले सोही दिन १२ औं पटकको अनशन थालेका थिए । संसद्मा गणपूरक संख्या नपुगेका कारण विधेयक पारित हुन सकेको थिएन ।
प्रधानमन्त्री देउवाले अमेरिकाबाट फर्किएलगत्तै डा. केसीसँग भेटेर सुझाव मागेका थिए । दसैंलगत्तै डा. केसीले असोज १९ गतेदेखि १३ आंै अनशन सुरु गरेका हुन् । पछिल्लो अनशनसँगै प्रधानमन्त्री देउवाले केसीका माग समेट्ने गरेर पूरक प्रस्ताव लैजान शिक्षामन्त्रीलाई निर्देशन दिएका थिए । देउवाले केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई वार्ता र निकासका लागि प्रस्ताव बनाउन अह्राएका थिए । डा. केसीसँगको छलफलपछि थापाले बुधबार विधेयकलाई अन्तिम रूप दिएका थिए । सोही आधारमा नयाँ प्रस्ताव बनाएर मन्त्री श्रेष्ठका तर्फबाट संसद् सचिवालयमा दर्ता गराइएको हो ।

संसद्मा सो विधेयकमा मन्त्रीको फरक मन्तव्य आउने सुइँको पाएपछि एमाले सचेतक र सासंदहरूले सो प्रस्ताव हेर्न माग गरेका थिए । तर गोप्य राखिएको सो प्रस्ताव नदिएपछि कार्यसूचीबाट हटाइएको हो ।  
मन्त्रीको नयाँ प्रस्ताव आउनुपूर्व कतिपय कांग्रेस सांसदकै सहमतिमा संसदीय समितिमा पारित प्रतिवेदनमा नपरेका डा. केसीका प्रमुख माग समेटेरै विधेयक पारित गराउने तयारी एमाले–माओवादीको थियो ।
अब संसद् बैठक बस्ने दिन धेरै छैन । माओवादी–एमाले विधेयकमा माथेमा प्रतिवेदनका सिफारिस नसमेट्न अडिग भएकाले सरकारको नयाँ प्रस्तावले सक्ता साझेदार माओवादीलाई समेत अप्ठ्यारोमा पारेको छ ।
बुधबारको संसद् बैठकअघि सुरुमा कार्यसूचीमा विधेयक पारित गर्ने विषय राखिएको थियो । तर एमाले सचेतक भानुभक्त ढकालले कुन विधेयक पारित गर्न लागिएको हो सुरुमा नदेखाई कार्यसूचीमै नराख्ने अडान राखेपछि सूचीमा नपरेको हो ।
बिहीबारको सम्भावित सूचीमा परे पनि अन्य कुनै पनि कुरा नथप्ने गरी मात्रै विधेयक पारित गर्न दिने एमाले अडान छ ।

सचेतक ढकालले विधेयकमा बिहीबार छलफल हुने बताए । उनले मन्त्रीको फरक प्रस्ताव कस्तो रहेछ भनेर हेर्नै नपाएकाले बुधबार छलफल नभएको बताए । ढकालले संसदीय समितिमा बृहत् छलफलपछि सर्वसम्मत रूपमा पारित विधेयकमा विरोधाभास हुने गरी मन्त्रीको मन्तव्य आउन लागेकाले पारित हुनेमा सन्देश व्यक्त गरे ।  ‘संसदीय समितिबाट पारितभन्दा फरक हुने गरी मन्त्रीको प्रस्ताव आउन लागेको छ,’ उनले भने, ‘विधेयकका दफा हटाउने र नयाँ गर्ने हो भने सरकारले नै विधेयक ल्याए भइहाल्यो नि किन संसद् चाहियो ?’ ढकालले यसअघि देवानी सम्बन्धी विधयेकमा पनि त्यस्तै गर्न खोजेपछि समितिमा फर्काएर थपिएको दृष्टान्तसमेत दिए ।

यसरी समेटिँदैछ डा. केसीका माग
चिकित्सा शिक्षा विधेयकमा मूल स्वार्थ जोडिएको एमालेसँगको गठबन्धनमा सत्ता साझेदार माओवादी गएपछि कांग्रेस वाम गठबन्धनका प्रमुख दलले चाहेअनुसार विधेयक ल्याउने नदिने पक्षमा देखिएको छ ।
सरकारले समितिबाट पारित हुने क्रममा नसमेटिएका र डा. केसीले अनशनका क्रममा उठाएका अधिकांश माग विधेयकमा समेट्ने भएको छ । डा. केसीसँग सहमति गरेर शिक्षमन्त्रीले संसद्मा पेस गर्ने गरी तयार पारिएको प्रस्तावमा समितिबाट पारित भएर पनि पछि हटाइएको प्रस्तावनामै माथेमा कार्यदलको नाम थप्ने कुरा पहिलो नम्बरमा परेको छ ।
त्यसैगरी उपत्यकामा अबको १० वर्ष कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने र प्रतिष्ठानसमेत खोल्न नपाइने प्रस्ताव विधेयकमा समेट्न सरकार तयार भएको छ । सम्बन्धन दिँदासमेत अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिई अस्पताल सञ्चालन गरेको तीन वर्ष हुनुपर्ने, एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउने व्यवस्था पनि विधेयकमा थपिने भएको छ ।

माओवादी र एमाले निकटका सञ्चालकका कलेजलाई सम्बन्धनमा बाधा नपर्ने गरी समितिबाट प्रतिवेदन पारित गर्दा उपत्यका र बाहिर पनि एउटा विश्वविद्यालयले कति कलेजलाई दिने भन्ने विषयमा मौन बसेर बाटो खुला गरिएको थियो ।
सार्वजनिक शिक्षण संस्थाले एमबिबिएस तहको कार्यक्रममा सिट संख्याको ७० प्रतिशत सिट निःशुल्क गर्नेगरी विधेयकमा थप्न सरकार तयार भएको छ । यसअघि समितिबाट पारित हुँदा ५० प्रतिशत सिटमात्रै निःशुल्क गर्ने व्यवस्था थियो । सार्वजनिक शिक्षण संस्थाको हकमा भने आयोगले निःशुल्क सिटको संख्या बढाउदै लान सक्नेछ । सरकारले विधेयकमा थप्नेगरी सकारेको संशोधन प्रस्तावमा डा. केसीले मागका रूपमा अगाडि सारेका १८ बुँदाका संशोधनमध्ये अधिकांश समेटिएका छन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको...

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...