८ वैशाख २०८१ शनिबार
खेल

शरीरिक सुगठनका खेलाडीको स्वागत

काठमाडौं- नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जितेको नेपाली टोली बुधबार नेपाल आइपुगेको छ । प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो ।
अक्टोबर ६ देखि ९ सम्म मंगोलियाको उलन्बटारमा भएको च्याम्पियनसिपमा ननिता महर्जनले १६० सेन्टिमिटर उचाइमा रजत पदक जितेकी थिइन् । पुरुष ६० किलोमा रुजेश शाहीले कांस्य पदक जितेका थिए ।
अन्तराष्ट्रिय स्पर्धामा ननिताले दोस्रो पटक पदक जितेकी हुन् । उनले थाइल्यान्डमा भएको प्रतियोगिताको आठौं संस्करणमा कांस्य जितेकी थिइन् । र उनी नेपाली शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन् । टोलीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले स्वागत गरेको हो ।
यसै गरी कांस्य जितेका रुजेश थाइल्यान्डमा भएको सातौं  विश्व च्याम्पियनसिपको रजत पदक विजेता हुन् । उनले त्यति बेला ५५ किलोमा प्रतिस्पर्धा गरेका थिए । मंगोलियामा भएको प्रतियोगितामा नेपालबाट ननिता, रुजेशसँगै कमल भण्डारीले ५५ किलोमा प्रतिस्पर्धा गरेका थिए । कमल गत अगस्टमा दक्षिण कोरियाको सिओलमा भएको ५१ औं एसियाली शारीरिक सुगठनका कांस्य विजेता हुन् ।
बुधबार पदक विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, शारीरिक सुगठन संघका महासचिव राजन श्रेष्ठलगायतका पदाधिकारीले बधाई दिदै स्वागत गरेका थिए । सदस्यसचिव विष्टले पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नका लागि सरकारलाई सिफारिस गर्ने बताए ।

 

प्रकाशित: २६ आश्विन २०७४ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App