द्विविधाग्रस्त नेपाली कांग्रेस

बिहिबार, २६ असोज २०७४, ११ : ४७ हरि अधिकारी


आधुनिक नेपालको इतिहासमा भएका सबैखाले प्रजातान्त्रिक आन्दोलनहरूको मियोका रूपमा स्थापित प्रतिष्ठित राजनीतिक शक्ति नेपाली कांग्रेस आज आएर कठिनझैँ लाग्ने प्रतिरक्षात्मक मोडमा उभिन पुगेको छ । व्यक्तिको प्रतिष्ठाको जगेर्ना गर्ने हदसम्म सबैखाले राजनीतिक विचारधारासँग सँगसँगै हिँड्न सक्ने तर लोकतन्त्रका विश्वव्यापी मूल्य र मान्यताको पहरेदारीका मामिलामा कुनै प्रकारको सम्झौता नगर्ने सिद्धान्तको जगमा खडा भएको सात दशक पुरानो यो राजनीतिक संगठनको निकट र सुदूर भविष्य यति असुरक्षित जस्तो र अन्यौलको धापमा फसेको कहिल्यै देखिएको थिएन ।

टिकट पाउने आशले दलबदल गर्ने आयाराम गयारामहरूको झुन्डलाई ओली र साथीहरूको जत्थाले आफूतिर खैचिएको हुनुपर्छ ।

यस्तो निराशाजनक परिस्थिति किन उत्पन्न भएको हो भने यस पार्टीले अस्तित्वको घोषणा गरेका समयमा आफ्ना लागि परिकल्पना गरेको मूल बाटो हालका दिनहरूमा आएर चटक्कै बिर्सिएझैँ भएको छ । त्यो बिर्सिदै गएको बाटोको सोधखोज गर्ने नेता र कार्यकर्ताहरूको संख्या पार्टीभित्र अत्यन्तै पातलो भएको छ । पार्टीको उच्च तहमा रहेका ज–जसले अलमलिएको यस संगठनलाई अन्यौल र द्विविधाको खाडलबाट बाहिर निकालेर आफ्नो वैचारिक जगबाट सुुरु हुने लोकमार्गमा अगाडि बढाएर लैजानुपर्ने हो, तिनै नेताहरू कुहिरोको कागझैँ लाचार भएको जस्तो देखिएका छन् । विगतका अप्ठ्यारा दिनहरूमा यस दलसँग अप्रतिम सैद्धान्तिक निष्ठा, सुस्पष्ट दृष्टिकोण र गहिरो समयचेतले सम्पन्न नेता (हरू) थिए । नेता र कार्यकर्ताबीच ध्येयप्रतिको समर्पणको भावनाका कारणले मात्र होइन, परस्पर विश्वास, स्नेह र सम्मानका कारण पनि दह्रो भावनात्मक सम्बन्ध कायम थियो । ती दिनहरूमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिनु एउटा लामो र अनिश्चित संघर्षको हिस्सा बन्नु त छँदै थियो, साथसाथै त्यो कुनै पनि व्यक्तिका लागि आत्माभिमानको विषय पनि बन्थ्यो । आफ्नै लागि दुःख बेसाएको देखेको नेपाली समाजले पनि कांग्रेसजनप्रति गहिरो स्नेह र श्रद्धा प्रकट गर्ने गथ्र्याे ।
इतिहासले प्रमाणित गरेको तथ्य हो, नेपाली कांग्रेस अस्तित्वमा आएका दिनदेखि नै नेपाली जनताको अधिकार र प्रतिष्ठाको रक्षाका लागि निरन्तर संघर्षरत छ । किशोरावस्थामै राणा परिवारशाहीविरुद्ध सफल क्रान्ति गरेको यसको सात दशक लामो जीवनको अधिकांश भाग राजनीतिक लडाइँको मैदानमै बितेको छ । कांग्रेसको लडाइँ मूलतः परम्परागत दक्षिणपन्थी शक्ति राजा–महाराजा र भाइ– भारदारहरूको मोर्चासँग परेको भए पनि त्यस दलको विपक्षमा अनेक रूपाकारका देशी विदेशी अनुदार शक्तिहरू गोलबद्ध हुँदै आएका छन् । यस कोणबाट हेर्दा कांग्रेसको लामो राजनीतिक यात्रामा यसका साझा शत्रु रहेका देखिन्छन्, उग्र दक्षिण र उग्र वामपन्थी तत्वहरू । रोचक कुरो त के पनि छ भने यी दुवै तत्व सुविधा र स्वार्थअनुसार कुनै समय कांग्रेसविरुद्ध एकगठ हुन्छन् र संयुक्त भएर यसमाथि खनिन्छन् त कहिले छुट्टाछुट्टै युद्धमोर्चा खोल्न पुग्छन् । दक्षिणपन्थी तत्व बलियो भएर कांग्रेसमाथि चोट गर्न सफल भएका बेलामा वामपन्थीहरू तिनका अंकशायिनी बन्न पुग्ने गरेको इतिहासले प्रमाणित गरेको तथ्य हो । विसं २००७ देखि २०१५ सालमा देशको इतिहासमै भएको पहिलो आमचुनावसम्म नारायणहिटीले जे–जस्ता प्रतिगमनकारी कदम चाल्ने प्रयास ग¥यो ती सबैप्रति अवसरवादी प्रतिगामी तत्वहरूको मात्र होइन, आफूलाई प्रगतिवादी, समाजवादी र सर्वहारा अकिञ्चन जनताको पक्षधर दाबी गर्ने वामपन्थीहरूको समेत समर्थन रहेको थियो । राजा महेन्द्रले सत्र साल पुस १ गते सैन्य बलद्वारा जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरंकुश पञ्चायत व्यवस्थाको सूत्रपात गर्दा मनमोहन अधिकारीजस्ता आत्माको आवाज सुन्न सक्ने थोरै कम्युनिस्ट नेताबाहेक अधिकांश वामपन्थी दल र तिनका मुखियाहरूले महेन्द्रको राष्ट्रघाती कदमको समर्थनमा दीपावली गरेको कुरा जनताको स्मृतिफलकमा धमिलो भएको किन नहोस् पूरै मेटिएको भने छैन ।

समयको प्रवाह सँगसँगै कुनै पनि देशको राजनीतिक परिस्थिति फेरिन्छ र बदलिन्छ राजनीतिको अखडाका खेलाडीहरूको अडान, रणनीति र यात्राको मार्गचित्र पनि । पहिलो जनान्दोलन २०४६ पछिको प्रतिरक्षात्मक परिस्थितिलाई आफ्नो पक्षमा पार्न सकिने आशामा राजा वीरेन्द्रका रणनीतिकारहरूले भारतलाई समेत विश्वासमा लिएर तत्कालीन नेकपा (माओवादी) लाई उनीहरूले सुरु गर्न आँटेको कथित जनयुद्ध नामक अधकल्चो सशस्त्र आन्दोलनलाई गोप्य प्रोत्साहन गर्ने जुन गलत नीति अख्तियार गरे त्यसको चरम परिणति हुन पुग्यो, २४० वर्षभन्दा बढी उमेरको राजसंस्थाको अन्त्य । त्यतिबेला राजदरबार र माओवादी दुवैको साझा अजेन्डा थियो, सर्वसाधारण जनताको प्रतिष्ठा, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखेर चल्नुपर्ने राजनीतिक प्रणालीको पक्षधर संस्था नेपाली कांग्रेसलाई कमजोर पार्दै लगेर पतनको गर्तमा हालिदिनु । तर ती दुवैथरीका आआफ्ना गोप्य अजेन्डा पनि नभएका होइनन् । राजाको पक्षलाई लागिरहेको हुँदो हो, विक्रमको २००३ सालदेखि नेपाली चेतनामा जरोकिलो गहिरोसँग गाडेर बसेको नेपाली कांग्रेसलाई सिध्याएपछि कुनै भरोसालाग्दो इतिहास र राजनीतिक हैसियत नभएका प्रचण्ड–बाबुरामको जोडीलाई तह लगाउन खासै गाह्रो पर्नेछैन । अर्कोतिर जनयुद्धका सञ्चालकहरू अर्कै परिकल्पनामा थिए होलान्, नेपाली कांग्रेस नामक प्रजातान्त्रिक आन्दोलनको मियोलाई उखेलिदिएपछि जग हल्लिएको राजसंस्थालाई ध्वस्त पार्न कुन आइतबार कुरिरहनु पर्ला र ? ती दुइटै घिउ बेचुवा र तरबार बेचुवाहरू आफ्ना षड्यन्त्रमा कति हदसम्म सफल भए र त्यो षड्यन्त्रको नेपाली जनताले कति ठूलो मूल्य चुकाउनु प¥यो त्यो इतिहासको अभिलेखमा चढिसकेको तथ्य भएकाले यो लेखक यहाँ त्यसलाई पुनरुल्लेख गरिरहन चाहँदैन । कथित रूपले नयाँ नेपालको नयाँ संविधान कार्यन्वनका क्रममा हुन लागेको संघीय संसद्, प्रतिनिधि सभा र प्रादेशिक संसद्हरूको चुनावको पूर्वसन्ध्यामा जुन किसिमको राजनीतिक जोड–घटाउ भइरहेको छ र जसरी फेरि एकपल्ट लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसलाई घेर्ने प्रयत्न भइरहेको छ त्यसको सन्दर्भ केलाउने क्रममा मात्र यो प्रसंगको सामान्य चर्चा गरिएको हो ।

नेपाली कांग्रेस पार्टीलाई एमाले नेता खड्गप्रसाद ओलीको अगुवाइमा सञ्चालित वाम एकता अभियानमार्फत फेरि एकपल्ट घेर्ने प्रयास भएको छ । एमालेको मुखियागिरीमा नेकपा माओवादी केन्द्रका नेता प्रचण्ड र कुनै बेलाका उनका सहायक र अहिले नयाँशक्ति पार्टीका प्रमुख बाबुराम भट्टराईले नयाँ वामपन्थी गठबन्धन बनाएका छन् । पछिल्लो समाचारअनुसार त्यस कम्युनिस्ट मोर्चामा नेकपा संयुक्त भनिने एउटा च्याँखेदाउ हेरिरहेको वामपुड्के कम्युनिस्ट घटक पनि सामेल भएको छ । मुख्यतः दुवै संसद्को आगामी मंसिर महिनामा हुने आसन्न चुनावलाई ध्यानमा राखेर बनेको गठबन्धनमा ओलीकै भाषामा भन्ने हो भने सबै प्रगतिशील र राष्ट्रवादी पक्ष र तत्व सामेल हुने अपेक्षा गरिए पनि गठबन्धनका नेताहरूले उनीहरूको घोषित टार्जेटले खासै उत्प्रेरक आकर्षण र भरोसा पैदा गर्न सकेको जस्तो भने देखिँदैन । हो, चुनावका मुखमा आएर उमेदवारीको टिकट पाउने आशले दलबदल गर्ने आयाराम गयारामहरूको एउटा झुन्डलाई चाहिँ ओली र साथीहरूको जत्थाले आफूतिर खैचिएको हुनुपर्छ । जुनसुकै क्रियाको पनि समान प्रतिकृया हुन्छ भन्ने सिद्धान्तलाई मान्ने हो भने यो वामपन्थी गठबन्धनले जस्तो आकर्षणको आभा फैलाउने आशा गरिएको छ त्यसबाट विकर्षणको त्यस्तै बाक्लो धुवाँ फैलिने डर पनि मान्नुपर्ने हुन्छ । खासगरी एमालेका दोस्रो र तेस्रो पंक्तिका नेताहरू पार्टी अध्यक्ष केपी ओलीले माओवादी केन्द्रप्रति बढी नै उदारताको प्रदर्शन गर्दै आगामी चुनाव संयुक्त रूपले लड्दा केन्द्रलाई ४० प्रतिशत स्थान दिने कुरालाई लिएर निराश र क्षुब्ध भएको हुनुपर्छ । त्यसले उमेदवारीका लागि दर्खास्त हाल्ने दिनसम्म गठबन्धनको धुरी–बलो ढल्न पनि बेर छैन ।

वामपन्थी मोर्चाबन्दीबाट नेपाली कांग्रेसको केन्द्रीय वृत्तमा फैलिएको मानसिक हताशा आश्चर्यजनक छ । साथसाथै त्यसले अहिलेको कांग्रेसको शीर्ष नेतृत्वमा राजनीतिक आँट, आफ्ना समर्थक र मतदाताप्रति भरोसा र यस पटकको चुनावमा नतिजा प्रतिकूल भइहाल्यो भने पनि म छिट्टै त्यसबाट बाहिर निस्केर पार्टीलाई पुनः अग्रणी बनाउनेछु भन्ने आत्मविश्वास अलिकति पनि छैन भन्ने कुरा प्रमाणित गर्छ । वामपन्थी गठबन्धनको प्रतिक्रियामा सभापतिले बनाउन खोजेको कथित लोकतान्त्रिक गठबन्धन अस्तित्वमा आउनु अगाडि नै जोखिममा परेको छ । त्यसो हुनु स्वाभाविक नै थियो किनभने सभापतिले लोकतान्त्रिक भन्ने बिल्ला दिएर आफ्नो कित्तामा ल्याउन खोजेकाहरू वास्तवमा सत्ताखोर अवसरवादी झुण्ड मात्र थिए । पंक्तिकारको विचारमा नेपाली कांग्रेस आजको घडीमा जसरी चुनौतीहरूबाट घेरिन पुगेको छ, त्यसबाट बाहिर निस्कने एकमात्र सम्बल उसको परम्परागत समर्थक र मतदाता समुदाय मात्र हुनसक्छ । र कांग्रेसलाई माया गर्ने त्यो महान् जनसमुदाय त्यस पार्टीका सभापतिले कहिले कसको कहिले कसको दौरा फेर समातेर राजनीतिक जंघार तर्ने प्रयास गरिरहेको देखेर उनीसँग रिसाएको छ । आसन्न चुनावका बेलामा कांग्रेस आफ्नै नीति र अजेन्डा लिएर एक्लै जनताका माझ जाओस् भन्ने चाहन्छ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...