७ वैशाख २०८१ शुक्रबार
समाज

भोक सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख

काठमाडौं- विश्व भोक सूचकांक (ग्लोबल हंगर इन्डेक्स, जिएचआई) मा नेपालको अवस्था सुधारोन्मुख देखिएको छ । यो सूचकांकमा नेपाल विश्वका एक सय १९ देशमा ७२औं स्थानमा आइपुगेको छ । दक्षिण एसियाली देशमा नेपालको अवस्था सबैभन्दा राम्रो छ ।

खतराजनक वर्गमा रहेको नेपाल १६ वर्षको अवधिमा सुधार भई मध्यमस्तरनजिक पुगेको इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युट (आइएफपिआई) ले सार्वजनिक गरेको सन् २०१७ को रिपोर्टमा उल्लेख छ । आइएफपिआईले विभिन्न तथ्यका आधारमा देशहरुलाई अति खतराजनक, खतराजनक, गम्भीर, मध्यम र कम वर्गमा छुट्याउने गर्छ ।

पोषणको न्यूनता र बच्चा हुर्काइमा हुने अवरोधमा सुधार गर्दै नेपालले बालमृत्युदर घटाउन उल्लेख्य प्रगति गरेको छ ।

सन् २००० मा खतराजनक वर्गमा रहेको नेपाल पछिल्लो रिपोर्टमा गम्भीर अवस्थामा उक्लेको हो र यो मध्यम स्तरनजिकै रहेको प्रतिवेदनमा उल्लेख छ । पोषणको न्यूनता र बच्चा हुर्काइमा हुने अवरोधमा सुधार गर्दै नेपालले बालमृत्युदर घटाउन उल्लेख्य प्रगति गरेको छ ।
‘नेपालले खासगरी सन् २००१ देखि २०११ सम्ममा बालविकासमा हुने अवरोध घटाउन उल्लेख्य सुधार गरेको छ,’ रिपोर्टमा भनिएको छ, ‘मातृ शिक्षा सुधार, सरसफाइ सुधार, स्वास्थ्य र पोषण कार्यक्रम कार्यान्वयनलगायतमा सुधार देखिएको छ ।’
दक्षिण एसियाली मुलुकमध्ये भारत सयौं, श्रीलंका ८४, बंगलादेश ८८, पाकिस्तान १०६, अफगानिस्तान १०७औं स्थानमा छन् ।
खाद्यमा सुधार गर्दै भोकलाई तीव्ररुपमा घटाउन सफल भएका देशमध्ये नेपाल पनि रहेको रिपोर्टले जनाएको छ । ‘मध्यम वर्गनजिक रहेका नेपाल, कम्बोडिया, म्यानमार, केन्या, क्यामरुन र टोगोल उल्लेख्य सुधार गर्दै मध्यम स्तरनजिक पुगेका छन्,’ रिपोर्टमा भनिएको छ ।   
नेपालको विभिन्न सूचकांकमा सुधार भए पनि केही असमानतासमेत रहेको जनाइएको छ ।  रिपोर्टअनुसार नेपालको राष्ट्रिय बाल विकास अवरोध दर ३७.४ प्रतिशत छ । यस्तो दरसुदूरपश्चिम पहाडमा ६३ प्रतिशत र  मध्यपश्चिममा ६४ प्रतिशत छ । नेपालको पहाडी क्षेत्रको अवस्था कमजोर रहेको र त्यहाँ वर्षाको समस्या, खेतीयोग्य जमिनको कमी, घरखर्ची कृषी उत्पादनमा मात्र सीमित रहेको रिपोर्टमा उल्लेख छ । पूर्वी तराई क्षेत्रमा सबैभन्दा कम २५ प्रतिशत बाल विकास अवरोध दर रहेको जनाइएको छ ।

त्यसैगरी नवजात शिशु र बालबालिकालाई खुवाउने अवस्था मध्यपश्चिमका पहाड र सुदूरपश्चिमका पहाडमा कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त क्षेत्रका ६ देखि २३ महिनासम्मका बालबालिकामध्ये जम्मा एकचौथाइ बालबालिकाका मात्र आधारभूत आवश्यकता पूरा रहेको प्रतिवेदनमा जनाइएको छ ।
पछिल्लो तथ्यांकअनुसार स्न २००० को तुलनामा विश्वमा २७ प्रतिशतले भोक सूचकांकमा कमी आएको छ । तथ्यांकअनुसार अति खतराजनक वर्गमा एक, खतराजनक वर्गमा ७, गम्भीर वर्गमा ४४, मध्यम वर्गमा २४ र कम वर्गमा ४३ देश परेका छन् ।
बेलारुस, बोस्निया एन्ड हर्जगोभिना, चिली, क्रोसिया, क्युवा, इस्टोनिया, कुवेत, लाट्भिया, लिथुनिया, मोन्टेनइग्रो, स्लोभाक रिपब्लिक, टर्की, युक्रेन र उरुग्वे सबैभन्दा राम्रो अवस्था हुने देशमा परेका छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिक अति खतराजनक वर्गमा छ ।
त्यसैगरी खतराजनक वर्गमा चाड, सियरालियोन, मदगस्कार, जाम्बिया, यमन, सुडान र लाइबेरिया छन् ।
अमेरिकाको वासिङ्टनमा प्रधान कार्यालय रहेको आइएफपिआईले विश्वका देशहरूमा भोक कम गर्न हुने सुधारलाई आधार बनाएर जिएचआई रिपोर्ट सार्वजनिक गर्छ । यसले खासगरी विकासशील देशलाई आधार बनाएर तथ्यांक सार्वजनिक गर्ने गरेको छ ।

प्रकाशित: २७ आश्विन २०७४ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App