६ वैशाख २०८१ बिहीबार
विचार

हामी चढ्दै छैनौँ, झर्दैछौँ

पुराना राजनीतिज्ञ रणधीर सुब्बाले झन्डै ३४ वर्षअघि बत्तिसपुतलीस्थित उनकै निवासमा पंक्तिकारसँग भनेका थिए, “नेपालमा विवेकी, बलियो र राष्ट्रवादी राष्ट्रनायक भएन भने यो देश विदेशीको खेल मैदान बन्छ । त्यसबेला नेपाली–नेपाली एक–अर्कासँग जुधिरहनेछन् ।”

झन्डै दशवर्ष अघिसम्म कूटनीति र राजनीतिको अन्तिम निर्णय नेपालका राजा र राजनीतिज्ञहरूले गर्थे । आज हरेक दलका आ–आफ्ना पोप, राजा, इमाम, मुल्लाह, विशप र गुरुहरू छन् । कूटनीतिको दीक्षा दिने दलाई र रिम्पोछेहरू छन् ।

उनले मात्र होइन, मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, रामहरि शर्मा, खड्गमानसिंह, सुन्दरराज चालिसे, रामहरि जोशी आदि पुराना नेताहरूको कथन पनि त्यस्तै थियो । दोस्रो महायुद्धपछि धेरै राष्ट्र लोप भएको र कैयन् राष्ट्रमा उथलपुथल भएका प्रसंग सुनाउँथे उनीहरू । आज नेपाली राजनीति पतनको बाटोमा गएको देख्दा ती अनुभवी र परिपक्व नेताको कथन कति सारगर्भित, मननयोग्य र अर्थपूर्ण रहेछ भन्ने स्पष्ट हुन्छ ।
राष्ट्र नै हार्ने अवस्था आयो भने संसद्मा कुन पार्टीले जित्दा के हुन्छ ? जनता शरणार्थी बन्ने स्थिति भयो भने आफँै लास बनेर कहाँ भाँैतारिने ? नेपालमा आगो लगाउन खोज्नेहरूकै पछि लागेर राजनीति (?) गर्न खोज्नेहरूले मातृभूमिलाई सत्ताभन्दा महत्वहीन ठानिरहेका छन् । यस्तो अवस्थामा कति वर्षसम्म स्वाधीन रहन्छ राष्ट्र ? तसर्थ, कसले सरकार बनाउँछ र ढाल्छ भन्ने तुच्छ खेलको कुनै अर्थ देखिँदैन ।
दसैँमा काठमाडौँ कान्तिहीन जस्तो बन्छ । सन्नाटा छाउँछ । लाखौँ मानिस आआफ्ना पैतृक ठाउँतिर लाग्छन् । घुमफिर गर्न रुचाउनेहरू यात्रामा निस्किन्छन् । दसैँको मौकामा इलाम पुगेको यो पंक्तिकार पारिवारिक भेटघाटपछि भारतको उत्तरपूर्वी राज्य सिक्किम पुग्यो । त्यहाँबाट बेँसीतिर झरेर बंगलादेशको सीमान्त क्षेत्र कुचविहार पुग्यो । कुचविहार अर्थात् कान्तिपुरका राजा प्रताप मल्लको ससुराली सहर । राजवंशी राजाले स्थापना गरेको सहर । प्राचीन सभ्यताको सुरम्य नगरी ।
सन् १९४९ मा भारतमा विलय भएपछि पश्चिम बंगालको एउटा जिल्ला मात्र भयो कुचविहार । जलपाईगुडी र दार्जिलिङ जिल्लाजस्तै  फगत एउटा प्रशासनिक एकाइ बन्यो । सन् १९७५ मा स्वतन्त्र सिक्किम देश भारतमा विलय भएको थियो भने त्यसको पच्चीस–छब्बीस वर्ष पहिले नै अस्तित्व गुमाएको थियो, कुचविहारले । सन् १८८७ मा राजा नृपेन्द्रनारायणसिंह राजवंशीले बनाएको आधुनिक शैलीको कलात्मक राजदरबार (राजबाडी) आज पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । इतिहास वाचाल छ, बोल्छ तर त्यस राज्यको अस्तित्व शव बनेको छ । भारतबाट आफ्नो माटो फर्काउन युवावर्गले त्यहाँ सुरु गरे, कामतापुरा मुक्ति संग्राम । धेरैले प्राण गुमाए तर बोलीलाई दबाइयो गोलीले । आन्दोलन असफल भयो । अझै आगो निभेको छैन, भित्रभित्रै त्यो सुषुप्त छँदै छ ।
भारत कहिले पनि छुट्टै स्वाधीन राष्ट्र थिएन । डोगरा राजा हरिसिंहले बुझाए, स्वतन्त्र कास्मिर । आसाम, बंगाल, बिहार, पञ्जाव, मध्यप्रदेश, उडिसा, मिजोरम, मणिपुर, राजंस्थान, मेघालय, नागाल्यान्ड, त्रिपुरा, कर्नाटक, महाराष्ट्र, दिल्ली, तमिलनाडु, आन्ध्रप्रदेश, गुजरात आदिमध्ये कैयन् राज्य सन् १९४७ सम्म अंग्रेज शासकका अधीनमा थिए भने भारतले अंग्रेजको पञ्जाबाट स्वाधीन बन्ने मौका पाएपछि उनीहरू एकै रातमा भारतीय, इण्डियन वा हिन्दुस्तानी भए । मुसलमानहरूले धर्मका आधारमा छुट्टै राष्ट्र मागे, पाकिस्तान । भारतमा अंग्रेज शासकहरूले ३४ हजार ७ सय ३५ वटा कानुन बनाए तर जनतालाई न्याय, समानता र सम्मान दिएनन् । संविधान, ऐन, कानुन र विधिले बहुसंख्यक जनतालाई आत्मसम्मानपूर्वक बाँच्ने वातावरण बनाउन सकेन भने प्रजातन्त्र वा गणतन्त्रका नाममा भीडतन्त्र सुरु हुन्छ । त्यस्तो स्थितिमा भीडले इन्साफ दिन सक्दैन । संसद्मा रहेको ५१ प्रतिशत भीडले बहुमत पाउला । तर न्याय दिन सक्दैन ।
अंग्रेजले क्यानडा, न्युजिल्यान्ड, अस्ट्रेलिया आदिलाई ‘स्वशासित’ उपनिवेश बनाए भने श्रीलंका, सुरिनाम र मरिससलाई क्राउन कोलोनी । भारत, पाकिस्तान र बर्माको सम्पूर्ण भूखण्ड आश्रित (डिपेन्डिङ) उपनिवेश भयो । पश्चिमाहरूले नेपाललाई त्यस्तै बनाउन चाहेको देखिन्छ । शैली मात्र बदलिएको छ, मालिक र दासहरूको व्यवहार उस्तै छ ।
राजा जगदीपेन्द्रनारायण राजवंशीले पनि दिल्लीका शासक पं. जवाहरलाल नेहरू तथा वल्लभभाई पटेलको चर्को दबाब थेग्न सकेनन् । तसर्थ कुचविहार भारतमा विलय हुन पुग्यो । सन् १६१६ मा प्राणनारायणसिंह राजवंशीले स्थापना गरेको सो प्राचीन राज्य ३३३ वर्षसम्म स्वतन्त्र, अर्ध–स्वतन्त्र र संरक्षित अवस्थामा रह्यो । सन् १७७२ मा भुटानले हमला गरेपछि कुचविहारले इस्ट इन्डिया कम्पनीसँग आत्मरक्षाका लागि अप्रिल ५, १७७३ मा सन्धि ग¥यो । त्यसले झन् कमजोर बनायो कुचविहारलाई ।
सन् १८७० मा सुन्दर पुस्तकालय खोल्ने त्यहाँका राजाले साहित्य, संगीत, कलालगायत सभ्यता बचाउन अहर्निश योगदान गरेको आसामका प्राध्यापक परिमलकुमार राजवंशीले बताए । कलेज पढिरहेकी छोरीलाई पुख्र्यौली थलो घुमाउन आएका रहेछन् उनी । प्रा. राजवंशीका अनुसार, कुचविहार दरबारमा नेपाली, राजवंशी, बंगाली, शेर्पा आदि विभिन्न जात, क्षेत्र र सम्प्रदायका मानिस सल्लाहकार कर्मचारी र सुरक्षा अधिकृत थिए । काठमाडौँका मल्लराजाहरूसँग कुचविहार राजदरबारको राम्रो सम्बन्ध थियो । मल्लकालपछि त्यो कमजोर हुँदै गयो ।
टिष्टा र तोर्सा नदीले सिञ्चित कुचविहारमा थुप्रै ताल, ठूल्ठूला सरोवर र पुकुर (पोखरी) छन् (बंगाली भाषामा पोखरीलाई पुकुर भनिन्छ) । सागरडिगी सरोवर वरपर अंग्रेजकालीन प्रमुख सरकारी कार्यालय छन् । विमानस्थल, रेल्वे स्टेसन, रंगशाला, फराकिला सडक, बजार र प्रायः सबै भौतिक संरचना भए पनि दरिद्रता र बेरोजगारीले युवावर्ग रुष्ट छ । उनीहरू काम खोज्न कलकत्ता, सिलीगुडी, दिल्ली, मुम्बईलगायतका सहरतिर जानुपर्ने बाध्यता रहेछ । सत्तासीनका मान्छेले मात्र सुविधा पाएका छन् भन्ने गुनासो त्यहाँ पनि व्याप्त छ ।
अस्तित्व गुमाएको सिक्किम जस्तै कुचविहारले पनि कलकत्ता (पश्चिम बंगालको राजधानी) र केन्द्रीय राजधानी दिल्लीको खटनपटनमा चल्नुपर्छ । ‘स्वाधीन’ राष्ट्र नेपालका प्रधानमन्त्री त बितेको बाह्रतेह्र वर्षयता दिल्लीकै हुकुम मानिरहेका छन् र नेपाली दलहरू विदेशीका इसारामा चलेका भने भारतीय भूभागभित्र पर्ने राजनीतिक एकाइहरू कति स्वतन्त्र होलान्, सहजै अनुमान गर्न सकिन्छ । राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सकिएन भने जनता मात्र होइन, इतिहास नै बबुरो र टुहुरो बन्दोरहेछ भन्ने यस्ता उदाहरण धेरै छन् । सन् १९४७ पछि भारतमा विलय भएका राज्यहरू केन्द्रबाट पक्षपात भएको, सर्वाधिकार खोसेर सीमित अधिकार मात्र प्रदान गरिएको र आयोजना, बजेट तथा अवसरको वितरण न्यायपूर्ण नभएको गुनासो गरिरहेका छन् । भारतको संघीयता पे्रसर कुकरमा पाकिरहे जस्तो लाग्छ । कास्मिर लगायतका कतिपय क्षेत्रमा बेलाबखत भइरहेको असन्तुष्टिको विस्फोटले दिल्लीलाई झस्काइरहेको भारतीय लेखक÷विश्लेषकहरूले उल्लेख गरेका छन् ।
नेपालको राजनीति आज पनि अनिश्चित, अनिर्णित, दिग्भ्रमित, निर्देशित, अस्थिर तथा बाह्यशक्तिबाट प्रभावित अवस्थामा देखिन्छ । अनन्त संक्रमणकाल संसद्को चुनावपछि ‘स्वीच अफ’ हुन्छ भन्ने विश्लेषण गरियो भने त्यो एकदमै गलत हुनेछ । दिल्लीमा ‘गराइएको’ बाह्रबुँदे षडयन्त्र भारतलाई नै तर्साउँदै बाह्रवर्षपछि पनि काँचो वायु बनेर घुमिरहेको छ । प्रेतात्माले झैँ यसले सताइरहेको छ । पश्चिमा र भारतको दबाबले चलिरहेको नेपालको वर्तमान राजनीतिक प्रणालीलाई आफू अनुकूल बनाउन चीन पनि प्रयत्नशील देखिएको छ ।
काठमाडौँस्थित केही दूतावासहरू निर्वस्त्र भएर राजनीतिमा लागेका छन् । सरकार उनीहरूको खेताला जस्तो छ । न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, प्रेसजगत् र बौद्धिक समुदायको ठूलो अंश राष्ट्रिय हित होइन, पाश्र्व निर्देशकले सिकाएका गीतमा रमाएका छन् । गीतले भन्छ, ‘हरेक दिन विदेशीको चरण समाऊ, एनी हाउ–एनी हाउ पैसा कमाऊ । जसरी भएपनि तिमी सत्तामै जाऊ । देश भत्काऊ, घर बनाऊ ।’
सिंहदरबारमा कुनै बेला सिंह बस्थे । आज स्याल, फ्याउरा र ब्वाँसो प्रवृत्तिको रजगज देखिन्छ । सम्मान र श्रद्धा गर्नुपर्ने सबैजसो पात्रहरू राजनीतिको दृश्यबाट हराएका छन् । भारतका अन्तिम मुगल शासक बहादुर शाह जाफरले बर्मामा अंग्रेजद्वारा थुनिएका बेला एउटा मार्मिक कविता लेखे आफ्नै बारेमा । त्यसको आशय थियो, सबै सबै तेरै थियो अनन्त–अनन्तसम्म । आज आफ्नै लास गाड्ने तीन÷चार हात स्वतन्त्र माटो पनि छैन ।’
सत्ता, सौन्दर्य, सम्पत्ति, शक्ति र समर्थन स्थायी हुँदैन । त्यसैले आज गणतन्त्रलाई आफ्नो साम्राज्य ठान्ने शक्तिहरूले इतिहासबाट पाठ सिक्नुपर्छ । राष्ट्र सर्वोपरि, सर्वोच्च, शाश्वत र सम्मानित हुन्छ भन्ने मान्यताको प्रतिकूल अरूलाई अधिकार बुझाएर भए पनि सत्ताको रसास्वादन गरिरहन खोज्नेहरूका कारण नेपाल जर्जर, शिथिल र थिल्थिलो भएको छ । हजारौँले निधारमा अबिर लगाएर उत्सव मनाए पनि देश पराजित अवस्थामा छ ।
चुनाव त सिक्किममा पनि भएथ्यो तर देश हार्ने चुनाव । चुनाव त सुडानमा पनि भएथ्यो, देश टुक्र्याउने चुनाव । प्रजातन्त्र र मतपत्र (ब्यालेट) त इन्डोनेसियामा पनि प्रयोग गरियो र देश टुक्र्याएर इष्ट टिमोर बनाइयो । चुनाव इथियोपियामा पनि भयो, त्यहाँ इरिट्रिया टुक्रयाएर छुट्टै बनाइयो । पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरण गर्ने र राजा महेन्द्रलाई राष्ट्रियताका उद्बोधक हुन् भन्ने स्वीकार गर्न नसक्ने तर उनीहरूलाई नै अपराधी मानेर नेपाललाई खण्डखण्ड बनाउने खेल भइरहेकै छ । यो इतिहासको सबैभन्दा दुर्भाग्य हो ।
“पृथ्वीनारायण शाहको विचार त्यागेर माक्र्सवाद, लेनिनवाद, गान्धीवाद, स्टालिनवाद, माओवाद, आदिको वकालत गर्नेहरूले राष्ट्रिय एकतालाई अत्यन्त कमजोर तुल्याइरहेका छन्,” राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियानका प्रबल अभियन्ता भरत बस्नेतको तर्क छ । २०५७ सालदेखि प्रत्येक वर्ष निजी खर्चमा पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस समारोह आयोजना गर्दै आएका बस्नेत जस्ता राष्ट्रवादीहरूको आग्रह गलत र पूर्वाग्रही छैन तर जनताको भावना उपेक्षा गरेर विदेशीद्वारा लादिएका विचार वा आफ्नै रहरले राष्ट्रवादलाई घात गर्ने प्रवृत्ति त्याग्न नसक्नेहरूलाई जनताले नै परित्याग गर्नेछन् । त्यस्तो अवस्थामा कैयन् राजनीतिज्ञहरूले अफगान कठपुतली नेता नजिबुल्लाहले झैँ विदेशी दूतावासमा शरण लिनुपर्ने परिस्थिति उन्पन्न हुन सक्छ ।
झन्डै दशवर्ष अघिसम्म कूटनीति र राजनीतिको अन्तिम निर्णय नेपालका राजा र राजनीतिज्ञहरूले गर्थे । आज हरेक दलका आ–आफ्ना पोप, राजा, इमाम, मुल्लाह, विशप र गुरुहरू छन् । कूटनीतिको दीक्षा दिने दलाई र रिम्पोछेहरू छन् । चीन र भारत दुवैलाई अस्थिर बनाउन नेपाललाई जर्जर बनाउने पश्चिमाहरूको नीति देखिन्छ भने भारतका पत्रकार आनन्दस्वरूप बर्माले भनेझैँ नेपाललाई भारत सधैँ आफ्नै मुठ्ठीमा राख्न चाहन्छ । जनतालाई ढाँट्न पराधीन नेताहरूले झुटो बोले पनि आजको राजनीति उनीहरूको स्वेच्छा, विवेक र निर्णयले चलेकै छैन । कठपुतलीहरू नाचेको मात्र देखिन्छ तर दर्शकले नदेख्ने मिहिन धागो समाउनेहरू पर्दा पछाडि छन् । त्यसैले कठपुतलीहरू आफँै नाच्न सक्दैनन् । यो कटु यथार्थ हामीले स्वीकार गर्नैपर्छ ।

प्रकाशित: २७ आश्विन २०७४ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App