७ वैशाख २०८१ शुक्रबार
खेल

फुटसल टोली इरानतर्फ

काठमाडौं- एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगिताका लागि इरान जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार बिदाइ गरेको छ ।
फुटसलको अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितमा नेपालले सहभागिता जनाउन लागेको यो पहिलो पटक हो । टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाइ गरेका थिए । नेपाली टोलीका प्रशिक्षक राकेश श्रेष्ठले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउनु आफुैमा सखुद भएको बताए । ‘नेपालले फुटसलमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ जुन आफैमा खुशीको कुरा हो । पर्याप्त भौतिक पूर्वाधार र तयारी गर्न नपाउँदा नेपालका लागि यो चुनौतीपूर्ण पनि छ,’ प्रशिक्षक श्रेष्ठले थपे, ‘तथापि, यो डेढ महिनामा खेलाडीको मिहिनेतले आश जगाएको छ । त्यसैले यो प्रतियोगिता अनुभवका लागि मात्र नभइ राम्रो नतिजाका लागि पनि महत्वपूर्ण छ ।’
नेपालले भदौ १५ देखि २५ सम्म राष्ट्रिय फुटसल लिग गरेर यस प्रतितोगिताका लागि खेलाडी छनोट गरेको थियो । एन्फाले लिगका उत्कृष्ट २७ खेलाडीबाट २१ हुँदै १४ सदस्यीय राष्ट्रिय टोली बनाएको हो । इरानमा नेपालले आइतबार उज्वेकिस्तान, सोमबार किर्गिस्तान र १७ गते तुर्केमिनिस्तानविरुद्ध खेल्नेछ । नेपालको प्रतिद्वन्द्वी टोलीबारे प्रशिक्षक श्रेष्ठले थपे, ‘उनीहरू एसियाकै उत्कृष्ट टोलीहरू हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रो अनुभव कम छ । तर, खेलाडीको खेल भावना हाम्रो बलियो पक्ष हो । केही खेलाडीहरु लामो समयदेखि एउटै टिमबाट खेलेकाले उनीहरूबीच तालमेल पनि राम्रो छ । त्यसैले त्यहाँ हामी बलियो उपस्थिती जनाउनेछौं ।’
 सुरज राउटको कप्तानीमा रहेको नेपाली टोलीमा नविन लामा उप कप्तान रहेका छन् । अन्य सदस्यमा अभय राना, अमित तामाङ, अनिश श्रेष्ठ, अनुज सिंह, विनोद गुरुङ, मणिकुमार लामा, निर्मल गुरुङ, राज शाही, संजोग महर्जन, सौरभ राखल मगर, सुमितकुमार आले र सुसान श्रेष्ठ रहेका छन् । प्रशिक्षक राकेश श्रेष्ठलाई राकेश शाहीले सघाउने छन् । अन्य पदाधिकारीमा रमेश रायमाझी, विनोद गुरुङ, लक्षमण अधिकारी, प्रसुन श्रेष्ठ, मोतिलाल श्रेष्ठ, राज महर्जन र हरिकृष्ण महर्जन रहेका छन् ।
नेपालका कप्तान सुरज राउतले प्रतियोगिताबाट उपाधिको अपेक्षा नगरे पनि राम्रो फुटसल खेल्ने बताए । उनले थपे, ‘तयारी समय छोटो भए पनि हामीले चाहिने कुरा सिकेका छौं । उनीहरुको स्तरअनुसार खेल्यौं भने राम्रो नतिजा पनि आउन सक्छ ।’
बार्षिक १० लाखको सम्झौता
नेपाली फुटसल टोलीलाई जर्सी पसल नेपालले बार्षिक दश लाख रुपैयाँ बराबरको जर्सी प्रायोजन सम्झौता गरेको छ । एन्फाका तर्फबाट अध्यक्ष नरेन्द्र श्रेष्ठ र जर्सी पसल नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार गुप्ताले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार जर्सी पसल नेपालले दुई थान अभ्यास जर्सी, २ थान प्रतियोगिताका लागि खेल सामाग्री प्रदान गर्नेछ ।
जर्सी पसल नेपालले प्रत्येक वर्ष दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा निःशुल्क खेल सामाग्री प्रदान गर्नेछ । वर्षमा दुईभन्दा धेरै प्रतियोगिता भए जर्सी पसलले २५ प्रतिशत छुटमा खेल सामाग्री प्रदान गर्नु पर्नेछ । जर्सी पसल नेपाल फुटसल जर्सी उत्पादन तथा बिक्री गर्ने एकमात्र आधिकारिक निकाय हुनेछ । जर्सी पसल नेपालले जर्सी विक्रि गर्दा ५ प्रतिशत रोयल्टी एन्फालाई बुझाउनु पर्नेछ ।

प्रकाशित: २७ आश्विन २०७४ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App