coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नाच्न नजान्ने निखिलको गीत

काठमाडौं- फिल्ममा ‘एक्सन स्टार’को छवि बनाए पनि अभिनेता निखिल उप्रेतीलाई नृत्यको मामलामा कमजोर मानिन्छ । मार्सल आर्ट सिकेका निखिल नृत्य कलामा कमजोर छन् । उनी आफै पनि यो कुरालाई स्वीकारिरहेका छन् । झण्डै १६ वर्ष अघि फिल्म ‘पिँजडा’बाट नेपाली फिल्ममा डेब्यु गरेका निखिल अभिनित सोही फिल्मको शृंखला ‘पिँजडा ब्याक अगेन’को गीत सार्वजनिक गर्ने कार्यक्रममा निखिलले आफ्नो कमजोरी स्वीकार गरेका हुन् । बिहीबार ‘कुकुकु’ बोलको गीत सार्वजनिक कार्यक्रममा निखिलले आफूलाई नाच्न नआउने बताए ।
‘म धेरै नाच्न जान्दिन भन्ने सबैलाई थाहा छ । तर, कम्मर हल्लाउन आउँछ । यो गीतमा मैले कम्मर हल्लाएको देख्दा दर्शकका लागि पक्कै रमाइलो लाग्ला,’निखिलले भने । अघिल्ला फिल्मझैं द्वन्द्वप्रधान कथामा बनेको फिल्ममा निखिलले पहिलो भागमा भन्दा दोस्रो भागमा थुप्रै खुराक थप गरिएको दाबी गरे । कार्यक्रममा निखिलले आफू नाच्न नजाने पनि मरेर कम्मर हल्लाएको बताउँदा पत्रकार माझ हाँसोको पर्रा छुटेको थियो ।
गीतमा निखिलसँग नाचेकी नायिका सारा श्रीपालीले फिल्ममा आफू ‘बोल्ड युवती’को भूमिकामा देखिने खुलाइन् । ‘फिल्मको स्क्रिप्ट पढ्दा खेरी नै मलाई निकै डर लागेको थियो । बाहिरी संसारमा म सामान्य केटी हुँ । तर, फिल्ममा बोल्ड बन्दा पक्कै केही असर पर्छ कि जस्तो लागेको थियो,’साराले भनिन्,‘तर निर्देशक, टिमको सद्भाव र सहयोगले राम्रो काम गरेकी छु ।’ चितवनमा चार दिन लगाएर छायांकन गरिएको गीतमा आफूले धेरै मेहनत गरेको उनले बताइन् ।
गीतका रचनाकार, संगीतकार तथा गायक राजनराज शिवाकोटीले गीतमा आफूले मौलिक शब्द प्रयोग गरेको बताए । ‘मेरा अघिल्ला गीतहरु भन्दा यो गीतमा संगीतमा नयाँपन पाइनेछ । गीतका शब्द धेरै मौलिक छन्,’राजनले भने,‘संगीत र शब्दमा आएको नयाँपन दर्शकका लागि नौलो लाग्नेछ ।’ गीतमा राजनराजलाई अञ्जु पन्तले स्वरमा साथ दिएकी छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
निर्देशक हिमाल केसीले फिल्म अघिल्लो फिल्मको सिक्वेल नभएको दाबी गरे । ‘अघिल्लो फिल्मको कथासँग यो फिल्मको कथा मिल्दैन । नाम मिले पनि कथाबस्तु अलग छ,’अघिल्लो फिल्मको सहायक निर्देशकसमेत रहेका हिमालले भने,‘यसपटक एक्सनमा पनि भिन्नता पाइनेछ ।’
ओम साइ मौलाकालिका र ओम साइ भक्तको ब्यानरमा निर्माण भएको फिल्ममा श्रीराम बराल प्रस्तुतकर्ता छन् । फिल्ममा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोला सापकोटा, कुसाग्र भट्टराई र विना थापाको पनि अभिनय छ ।
रोहित पुरी, चन्द्रबहादुर क्षेत्री र गोविन्द गैरेको लगानी रहेको फिल्ममा बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन, राजनराज शिवाकोटी, अर्जुन पोखरेल र बसन्त सापकोटाको संगीत, रामजी लामिछानेको नृत्य, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र सौरभ लामाको छायांकन छ । फिल्म आगामी माघ ४ गतेबाट देशभर रिलिज हुँदैछ ।

प्रकाशित: २७ आश्विन २०७४ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App