coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तालबाराहीको भेटी अझै पूजारीकै पोल्टामा

पोखरा— कानुनले भेटी व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवस्थापन समितिलाई दिए पनि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा यो नियमले छोएको छैन। तालबाराहीमा संकलित लाखौं रुपैयाँ भेटी अझै पनि पूजारीको पोल्टामा जाने गरेको छ। मन्दिरकै पैसाले पूजारी घरपरिवार चलाउने गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ कात्तिकदेखि लागू हुने गरी धार्मिक स्थलको भेटी व्यवस्थापन सम्बन्धी निर्देशिका बनाएको थियो । निर्देशिकामा स्थानीय स्तरमा कानुनद्धारा गठित वा जनस्तरबाट गठित कुनैपनि समितिले व्यवस्थापनको रुपम काम गर्न सक्नेछ। यसका लागि संस्कृत मन्त्रालयबाट स्वीकृत प्राप्त गर्नुपर्दछ भन्ने एउटा प्रावधानको परिक्षण ३ दफा ६ एकमा उल्लेख गरेको छ । तर, त्यो अनुसार तालबाराही मन्दिरको भेटी व्यवस्थापन समितिको साटो अझै पनि पूजारीले कुम्ल्याउने गरेका छन्।

‘वारिघाटबाट मन्दिरसम्म पुग्न ढुंगामा ७० रुपैयाँ तिर्नुपर्छ । कतिपय भक्तजनहरु त्यही पैसाको अभावले घाटबाटै फूलप्रसाद बगाएको देखिने गर्छ,’ पहारीले भने, ‘बाराही मन्दिर अरु जस्तो छैन्। जहाँ गाडिबाट झर्ने बित्तिकै दर्शन गर्न मिलोस्। बढी हावा चल्यो भने ढुंगा चल्दैन।’

बाराही मन्दिर संरक्षण–व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले सरकारले ल्याएको निर्देशिका प्राप्त नभइसकेको बताए । ‘हामीलाई यो विषयमा अहिलेसम्म कतैबाट निर्देशन आएको छैन, ’ उनले भने, ‘त्यही भएर पुरानै चलन अनुसार भेटी व्यवस्थापन भएको छ ।’ उनले अघिल्लो सम्झौताअनुसार वर्षमा एकदिनमा मात्र ताल बाराही मन्दिरको भेटी समितिले पाउने निर्णय गरिएको बताए। उनका अनुसार प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाको दिन लाग्ने मेलाको एक दिनको भेटी समितिले पाउने गरेको छ । यो पटकको पूर्णिमाको मेलामा समितिको पोल्टामा २ लाख ७६ हजार रुपैयाँ परेको अध्यक्ष कुँवरले जानकारी दिए।

यो अघिल्लो वर्षको मेलामा भन्दा बढी रकम हो । गएको दसैंको पूर्णिमाको ९३ हजार ७ सय रुपैयाँ आम्दानी भएको थियो । ‘पूर्णिमाको बिहानदेखि बेलुका ५ बजेसम्म भित्र बाहिर उठेको पैसा सबै समितिलाई दिने निर्णय भएको छ,’ कुँवरले भने, ‘यो निर्णय २०५८ सालदेखिबाट सुरु गरिएको हो । यसबाहेक अरु दिन उठेको पैसा सबै पूजारीले लिने गरेका छन् ।’

समितिलाई आएको रकम बाराही मन्दिर व्यवस्थापनको लागि खर्च हुँदै आएको उनले बताए। मन्दिरको पूर्वीबेल्टमा दुईवटा फोहोरा, उत्तर बेल्टमा साढे क्षेत्रफललाई बढाएर व्यवस्थित घाट निर्माण गर्न लागेको उनले बताए। यसको लागि महानगरसँग सहकार्य गरी बिरुवा कन्स्ट्रक्सनबाट नापजाँच गरी हुने कुँवरले जनाए। ‘तिहारपछाडि महानगरसँग समन्वय गरी व्यवस्थित किसिमले बनाउने योजना छ,’ उनले भने । समितिको कोषमा अहिले ९५ लाख हाराहारीमा रकम संकलन भएको कुँवर बताए।

मन्दिरमा हाल परशुराम पहारी, महेश्वर पहारी, कमलप्रसाद पहारी, नारायण अधिकारी, कृष्ण पहारी, सन्तोष पहारी पूजारीको रुपमा छन् । २ महिनामा १ पटक पालो आउने पुजारीको भागमा वर्षमा लाखै रुपैयाँ आउने गर्छ। मन्दिरका पूजारी तथा समितिका सह–सचिव समेत रहेका महेश्वर पहारीले मन्दिरमा आलोपालो गरी पूजा गर्ने गरेको बताए। उनले २ महिनामा एकपटक आउने पालोमा एक जना पूजारीको हातमा दैनिक २ हजार  र कहिलेकाँही त्यो भन्दा बढी रुपैयाँ पर्ने बताए। यसको साथै हरेक दिन १५० रुपैयाँ मन्दिर व्यवस्थापनमा जम्मा गर्ने गरेको उनले सुनाए । ‘परेवा बेचेको, मन्दिरमा भिडियो खिचेको लगायतको विल समितिले काट्ने गरेको छ,’ उनले भने, ‘बाँकी पैसा पूजारीले नै लिने गरेका छन् ।’ मन्दिरमा थोरैमा मात्रामा पनि दैनिक ३ सय पर्यटक दर्शन गर्न जाने गर्छन् । यसको साथै विभिन्न पर्व, लगायतका धार्मिक दिनको संख्यालाई गणना गर्ने हो भने यसको दोब्रर हुने गरेको उनले बताए।

मन्दिरमा उठेको भेटीलाई व्यवस्थित गर्नुभन्दा पनि भक्तजनलाई सहज बनाउने लक्ष्य लिइएको उनले बताए । ‘वारिघाटबाट मन्दिरसम्म पुग्न ढुंगामा ७० रुपैयाँ तिर्नुपर्छ । कतिपय भक्तजनहरु त्यही पैसाको अभावले घाटबाटै फूलप्रसाद बगाएको देखिने गर्छ,’ पहारीले भने, ‘बाराही मन्दिर अरु जस्तो छैन् । जहाँ गाडिबाट झर्ने बित्तिकै दर्शन गर्न मिलोस् । बढी हावा चल्यो भने ढुंगा चल्दैन ।’

प्रकाशित: २७ आश्विन २०७४ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App