८ वैशाख २०८१ शनिबार
अन्य

तिहारको समाजशास्त्र

समाजशास्त्रका अनुसार, समाजका अवयवको निर्माण सामजिकीय आवश्यकताले निर्धारण गर्छ । मानिसका आवश्यकताले सामाजिक तत्वहरूको उत्पति र अन्त्य हुने हो । मानिसका त्यस्ता आवश्यकता भौतिक वा अभौतिक कुनै पनि हुन सक्छ । तिहारलाई सामाजिक अर्थको व्याख्या गर्दै समाजशास्त्री विश्वकल्याण पराजुली भन्छन्, ‘तिहार पारिवारिक पुनर्मिलनको पर्व हो । खासगरी सिब्लिङ (दाजुभाइ–दिदीबहिनी)को प्रेम र सम्बन्धको उत्सव हो ।’ यो मिलन भौतिक र भावनात्मक दुवै हो ।

तिहारमा भाइदेखि गाईसम्मको पूजा हुन्छ । पशुपंक्षीलाई देव–दानवको बाहकका रूपमा मान्ने हाम्रो धार्मिक परम्परा नै छ । तिनको पूजा गर्ने चलन यो परम्पराको निरन्तरता मात्र होइन भन्छन्, समाजशास्त्री मृगेन्द्र कार्की । वातावरणसँग मानिसको सम्बन्धको अर्थमा व्याख्या गर्दै कार्की भन्छन्, ‘सिंगो इकोसिस्टमलाई पूजा गर्ने नेपाली परम्पराको सिम्बोल हो ।’

तिहारमा भाइदेखि गाईसम्मको पूजा हुन्छ । पशुपंक्षीलाई देव–दानवको बाहकका रूपमा मान्ने हाम्रो धार्मिक परम्परा नै छ । तिनको पूजा गर्ने चलन यो परम्पराको निरन्तरता मात्र होइन भन्छन्, समाजशास्त्री मृगेन्द्र कार्की । वातावरणसँग मानिसको सम्बन्धको अर्थमा व्याख्या गर्दै कार्की भन्छन्, ‘सिंगो इकोसिस्टमलाई पूजा गर्ने नेपाली परम्पराको सिम्बोल हो ।’ साथै तिहारलाई यमपञ्चकका रूपमा मान्नुमा नै ठूलो सिम्बोलिक अर्थ रहेको उनी बताउँछन् । यमराज मृत्युको मिथकीय पात्र हो । काग र कुकुरलाई यमराजको सन्देशबाहक मान्ने धार्मिक मान्यता छ । कार्की भन्छन्, ‘काग, कुकुरको पूजा गर्नुलाई कुनै न कुनै रूपमा सत्रुलाई समेत सम्मान गर्ने जीवन परम्पराको सिम्बोल पनि हुन सक्छ ।’
समाजशास्त्री पराजुली यसमा अर्काे मत थप्छन् । उनका अनुसार यो सहअस्तित्वको स्वाकारोक्ति हो । भन्छन्, ‘मानिसको अस्तित्वका लागि पशुपंक्षीको अस्तित्वको अनिवार्यतालाई स्वीकार्ने भावना सिम्बोलाइज पशुपंक्षीको पूजाले गर्छ ।’ यसरी यो पूजा परम्पराको धार्मिक व्याख्या जेसुकै भए पनि यसको मानिसको सामाजिक सम्बन्ध र भावना अभिव्यक्त गरिरहेको हुन्छ ।
तिहारको सबैभन्दा महŒवपूर्ण पूजा त मानिसकै पूजा हो । तिहारको अन्तिम दिन गरिने भाइटीकालाई त्यसैकारण भाइ पूजा भनिन्छ । दाजुभाइको सुस्वास्थ्य र दीर्घायूको कामना गरी दिदीबहिनीले मनोवैज्ञानिक सन्तुष्टि प्राप्त गर्छन् । नेवारी परम्परामा त आफ्नै पूजा गर्ने ‘म्ह पूजा’को परम्पराले समेत अझै निरन्तरता पाइरहेको छ । समाजशास्त्री कार्की भन्छन्, ‘आफैंले आफैंलाई सम्मान गर्नुपर्छ भन्ने दर्शनको प्रतिनिधि हो ।’
तिहारको परम्पराबारे कुरा गरिरहँदा यसमा आएका परिवर्तनका आयामलाई छुट्याउन सकिँदैन । समाज कुनै पुरानो उत्पादन प्रणालीमा चलिरहेको उत्पति भएको तिहार परम्परामा निकै परिवर्तन भएको छ । हरेक पुस्तामा तिहारको निरन्तरताबीच परिस्कार पनि हुँदै गएको छ । तिहार मनाउने प्रक्रिया र यसलाई बुझ्ने तरिकामा समेत धेरै परिवर्तन देखिएका छन् । राष्ट्रिय पर्वका रूपमा बिदाका दिन युवा पुस्ताका ‘होलिडे ट्रीप’ को प्लानले भरिएका हुन्छन् ।
पोखरामै रहेका समाजशास्त्री विश्वकल्याण पराजुली चाडबाडको समय पोखरा घुम्ने आन्तरिक पर्यटक निकै बढेको देख्छन् । ‘दसैंतिहारमा झन् पर्यटकीय सहर र गाउँमा पर्यटकको लर्काे नै लाग्छ,’ उनी भन्छन्, ‘दसैंदेखि छठसम्म आन्तरिक पर्यटनको अवसरका रूपमा लिइन्छ । पर्यटकीय क्षेत्रमा आर्थिक क्रियाकलाप पनि अधिक हुन्छ ।’ एक त मौसम नै पर्यटनका लागि सुहाउँदो हुन्छ । नेपालमा घुमघाम गर्नु निकै सजिलो भइसकेको छ । यातायातको सहज पहुँच र पाहुना बस्ने घरहरूको व्यवस्थाले हुनाले चाडबाडमा घुम्न चाहनेका लागि सुविधा भएको छ ।
पहिले दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने र दिदीबहिनीले दाजुभाइलाई उपहार दिने चलन थियो । अहिले घुम्न लैजाने भन्ने चलन पनि बढेको छ । मध्यम वर्गमा तिहारमा दिइने उपहार पनि फेरिएको छ । समाजशास्त्री पराजुली भन्छन्, ‘पहिले तिहारमा सारी चोलो दिने भन्ने थियो अहिले ग्याजेट दिने चलन पनि आएको छ ।’  
हुन त दिदी लिन जाने यातायात खर्च नभएर भाइटीका गर्न नसक्ने वर्ग पनि नभएको होइन । र पनि तिहार लक्षित बजारी उत्पादन र विज्ञापनले तिहार नमनाई सुखले बस्न दिँदैन । समाजशास्त्री पराजुलीका अनुसार तिहार अहिले बढीभन्दा बढी कमर्सियलाइज्ड भएको छ । उपभोक्तावादी प्रवृत्तिले तिहार आर्थिक स्तरीकरण प्रदर्शित हुने गरेको छ । तिहारमा खाइने मिठाइदेखि प्रयोग गरिने फूल र बत्ती समेत कस्मेटिक भएको देख्छन्, समाजशास्त्री कार्की । समाजशास्त्रको नियमले यी परिवर्तन समाजको परिवर्तनको स्वाभाविक उपक्रम मान्ने उनी बताउँछन् ।  
लामो इतिहास बोकेको तिहार नेपालको मौलिक चाड हो । खास गरी हिन्दू धर्मावलम्बीले तिहार मान्छन् भन्ने मान्यता छ । त्यसै अनुसारको यसको प्रक्रिया र सांस्कृतिक मानक पनि बनाइएका छन् । समाजशास्त्री विश्वकल्याण भन्छन्, ‘यद्यपि यहाँका धेरै धर्मावलम्बी, जाति र क्षेत्रका मानिसको तिहारलाई आ–आफ्नै तरिकाले मनाउँछन् ।’ ती समुदायमा यो पर्वकै नाम र यसको अर्थको समेत विविधता रहेको छ । विभिन्न क्षेत्रमा मनाइने तिहारका आ–आफ्ना परिचायक पनि छन् । तराई मधेशका क्षेत्रका जनमानसको भाषामा तिहारलाई दीपावली भनिएको पाउँछौं । दिपावली मन र संसार सबै उज्यालो बनाउने प्रकाशको पर्वका रूपमा मनाइन्छ । मिथिला क्षेत्रमा यसलाई दियाबाती भनिने संस्कृतिकर्मी धिरेन्द्र प्रेमर्षि बताउँछन् । भन्छन्,  ‘दियाबातीको प्रचलन कृषि सभ्यतासँग जोडिएको छ । वर्षातको किटपतंगलाई सामूहिक रूपमा नियन्त्रण गर्ने उपक्रमको रूपमा किसानले यो चलन चलाएको हुन सक्छ ।’ गाई, भैंसी, बाख्रालाई समेत नुहाएर गोठ सफा गर्ने परम्पराका कारण यो कृषिसँग जोडिएको पर्व हो भन्ने प्रष्ट हुने उनी तर्क गर्छन् ।
तिहारमा ठूलापाकालाई ढोग्ने चलन मिथिला परम्परामा रहेको प्रेमर्षि बताउँछन् । वर्षभरिको मनोमालिन्य र वैरभाव हटाएर भातृत्व र सामाजिक मेलमिलाप कायम गर्ने अर्थ यसले राख्छ ।
चाडबाड यस्तो मौसम हो, जुन बेला सबै सामाजिक संस्था चलायमान हुन्छन् । सबैभन्दा पहिले त पारिवारिक सम्बन्ध पुनर्ताजगी दिने पर्व हो, तिहार । गाउँबाट सहरतिर र सहरबाट विदेशतिर बसाइँ सर्ने चलनले नेपालको कुनै पनि समाज र भूगोल अछुतो छैन । तिहारमा नै सहर अनि विदेश रहेका दाजुभाइ दिदीबहिनी फर्कन्छन् । उनीहरूको माया अनि सम्बन्धको गाँठो कस्ने मौका तिहार नै हो ।
देउसी–भैलो खेल्नु तिहारको अर्काे महŒवपूर्ण मौलिकता हो । गाउँका युवा मिलेर एक अर्काको घरघरमा गई देउसी  खेलेर जम्मा भएको रकमलाई सामाजिक काममा लगाउने चलन छ । यसले सामाजिक मेलमिलापको निरन्तरतालाई कायम गर्ने समाजशास्त्री बताउँछन् । यसरी व्यक्ति र परिवारको सक्रियताले विवाह, नातागोता जस्ता सुक्ष्म सामाजिक संस्था त प्रभावित हुन्छ नै । धर्म, राजनीति, अर्थव्यवस्थालगायत बृहत सामाजिक संस्था समेत पुनर्ताजगी बनाउँछ ।
चाडवाड र बजारले एकअर्कालाई प्रभावित गरिरहेको हुन्छ । कतिपय आर्थिक गतिविधि तिहारमा मात्र हुने खालका पनि छन् । बजारको त्यो कारोबारको फाइदा सहरका व्यापारी मात्र नभई किसान तथा कालीगढले पनि लिन्छ । तिहारमै बेच्नका लागि सयपत्री र मखमली फूलको खेती गर्ने कयौं किसान छन् । फूल बेचेको आम्दानीबाट उनीहरू तिहार मान्छन् । त्यस्तै ओखर, निबुवा, भोगटेजस्ता फलफूलले किसानको हातमा पैसा थमाइदिन्छ । माटाको पाला बनाउने उद्यमीले तिहारमा राम्रो आम्दानी गरेका हुन्छन् ।   तर, आम्दानीको रकम भने अनुत्पादक क्षेत्रमा खर्च गरिएको हुन्छ । कार्की भन्छन्, ‘सहरमा ल्याएर फूल बेच्छन् र बजारबाट कोक किनेर लैजान्छन् ।’ करोडौंका फूल र फलफूलको आयात हुने गरेको तथ्यांक छ ।

प्रकाशित: २८ आश्विन २०७४ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App