१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपचारले निको भएका महिलाको आग्रह : क्यान्सरलाई मृत्युको पर्याबाची नबनाइयोस

चितवन- क्यान्सर रोगको नाम सुनेपछि धेरै झसङ्ग हुन्छन्। कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो। परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गएको असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै कुरा खेली रहन्थ्यो।

                तर शनिबार दिउँसो भरतपुरममा आयोजित एउटा कार्यक्रममा दुई घण्टा बसेपछि उनको सोच बदलियो । ‘हैन यो पनि अरु रोग जस्तै उपचारपछि निको भइ हाल्ने रहेछ । क्यान्सर लागेकाहरु पनि उपचार गरेर बाँचेकै रहेछन्’ सीताले हर्षित हुँदै सुनाइन्। अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने चलन छ । शनिबार दिउँसो श्रेष्ठ त्यही सम्बन्धि एउटा कार्यक्रममा सहभागि भएकी थिइन् ।

                कार्यक्रममा स्तन क्यान्सर भएको पत्ता लागेपछि उपचार गरेर निको भएका र हाल सामान्य जिवन बिताइ रहेका पाँचजना महिलाले आफ्नो अनुभव राखेका थिए । त्यो अनुभव सुनेपछि श्रेष्ठको हौसला बढेको हो । ‘क्यान्सर भएपछि केही समयलाई पीडा नहुने होइन । तर म केमो थेरापी दिदा पनि अस्पतालको बेडमा बसेर एसएमएस मार्फत अफिसको काम गरेकी हुन्थे’ स्तन क्यान्सर भएर उपचार गरी निको भएकी बन्दना खाँडले भनिन् ।

                पेशाले स्वास्थ्यकर्मीसमेत रहेकी पञ्चु लामालाई विस ६१ सालमा स्तन क्यान्सर भएको पत्ता लाग्यो । उपचार सुरु भएपछि केमो थेरापी दिँदा उनको तौल ४० किलोसम्म भयो । १७ दिनसम्म पानी पनि राम्रोसँग खान सकिनन् । तर उपचार पुरा भएपछि उनको रोग बल्झेन । उनी अहिले सामान्य दिनचर्यामा छिन् । किमो दिदा उनलाई देखेका सामान्य मान्छे मात्रै होइन नर्सहरु समेत अहिले भेट हुँदा छक्कै पर्छन् रे ।

                स्तन क्यान्सर भएपछि प्रतिमा कोइरलाले पनि उपचार पुरा गरिन् । उपचार पुरा भएको आठ वर्ष भयो । उपचारपछि नै उनले सन्तान पनि जन्माइन । जागिर खाएकी नै छन् । ‘मान्छेहरु त्यस्सै क्यान्सर भएपछि मरी हालिन्छ उपचार गरेर धन सम्पति मात्रै सक्ने हो भन्छन् । तर म भन्छु उपचारपछि क्यान्सर निको हुन्छ । यो रोगलाई मृत्युको पर्याबाची नबनाउनु होला’ प्रतिमाले अपिल गरिन् ।

                नवलपरासी बर्दघाटकी कल्पना ढुंगनाले पनि स्तन क्यान्सरको उपचार सकिएपछि अहिले घरको पुरा काम आफैले गर्न सक्ने भएको बताइन् । ‘रोग लाग्यो भनेर मन सानो गराउनु भएन । पहिलो कुरा रोग लाग्नै दिनु भएन । लागेको कुरा समयमै पत्ता लगाएर उपचार चाडै सुरु भएपछि निको हुन्छ’ कल्पनाले भनिन् । घर परिवार समाजले उचित व्यवहार गरेर आत्मबल बढ्ने र रोग चाडै निको हुने उनको अनुभव थियो ।

                स्तन क्यान्सरको उपचारपछि पूर्ण स्वस्थ भएकी भरतपुरकै टीका न्यौपानेले स्कुलका छात्राहरुलाई यो रोगको लक्षण र उपचार विधिका बारेमा जानकारी दिनु उचित हुने धारणा राखिन् । सवैका कुरा सुनि रहेकी सीता श्रेष्ठको भनाइ थियो ‘यस्ता कुरा सुन्न पाएर ढुक्क भइयो । नभए मानिसहरु लौ क्यान्सर भएछ छोरा छोरीको चाडै बिहे गरेर उम्कनु पर्‍यो भन्दै अत्याउन आउँछन्।’

                क्यान्सर रोगको उपचार हुने नेपालको प्रमुख अस्पताल भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप कार्यकारी निर्देशक डा.निर्मल लामिछानेले डाक्टरको उपचारका साथै समाजको सद्भावले बिरामी निको हुने बताए । ‘यो रोग निको हुन्छ भनेर हामीले पनि भन्छौं तर जो निको भएर आफ्ना कुरा राख्नु हुन्छ हो तपाइँ जस्ताले एक चोटी भन्नु हामीले सय चोटी भने बराबर हुन्छ’ डा.लामिछानेले भने।

                विस २०७२ सालको भदौमा स्तन क्यान्सर भएपछि उपचार गरेर निको भएकी बन्दना खाँडले परिचय नामक संस्था खोलेर क्यान्सर विरोधी अभियान सञ्चालन गर्दै आएकी छन् । शनिबार परिचय संस्थाले नै कार्यक्रम आयोजना गरेको थियो।

                उपचारको क्षेत्रमा कृयाशिल व्यक्तिहरुले दिएको जानकारीलाई आधार मान्दा स्तन क्यान्सर नेपालका प्रमुख क्यान्सर रोग मध्येमा पर्छ । तर उपचार सोचे जस्तो जटिल र महङ्गो भने छैन । सस्तोमा देशभित्रै उपचार हुन सक्ने रोग हो स्तन क्यान्सर ।

                चितवनको भरतपुरमा रहेको वीपी कोइरला मेमोरियल क्यानसर अस्पताल क्यान्सरको उपचार हुने देशको मुख्य अस्पताल हो । सो अस्पतालमा उपचारका साथै क्यान्सरका सम्बन्धमा अनुशन्धान र रोकथामका कार्यक्रम पनि हुन्छ । अस्पतालभित्रै क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुशन्धान विभाग रहेको छ । सो विभागले देशका मुख्य १२ वटा अस्पतालमा रहेका क्यान्सरका विरामीको समेत विवरण राख्ने गरेको छ।

भरतपुरको अस्पतालको मात्रै नभएर अरु अस्पतालको अवस्था हेर्दा पनि स्तन क्यान्सर हुने विरामीको संख्या वर्षेनी बढ्ने गरेको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुशन्धान विभागका पुर्व प्रमुख क्यान्सर विज्ञ किशोरकुमार प्रधानाङ्गले जानकारी दिए।

प्रकाशित: २८ आश्विन २०७४ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App