७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेताको ढोका ढकढक्याउँदै आकांक्षी

इलाम- आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार मनोनयनको मिति नजिकिँदै जाँदा टिकट हत्याउन जिल्लाका नेता–कार्यकर्ताले जोडतोडका साथ प्रयास गरिरहेका छन् । कतिपय उम्मेदवारका आकांक्षी केन्द्रीय तहका नेताको ढोका ढकढक्याउन काठमाडौं नै पुगेका छन् भने कतिपय उम्मेदवार केन्द्रीय नेताहरूलाई तारन्तार फोन गरिरहेका छन् ।

जिल्लामा आफ्नो पार्टीबाट उम्मेदवारको सिफारिसमा परेका कांग्रेसका सबैजसो आकांक्षी अहिले काठमाडौंमा छन् । पार्टीले कार्यकर्ताको जनआधार, पार्टीमा सक्रियता र आवश्यकता हेरेरै टिकट दिने भए पनि आफ्नो वास्तविकता ठूला नेतालाई प्रत्यक्ष सुनाउन पाए हुन्थ्यो भन्ने लागेर उनीहरू काठमाडौं पुगेका हुन् ।

    दलहरूका जिल्ला तहले माथिल्लो तहमा उम्मेदवार सिफारिस गर्दा सहमति हुन नसकेपछि सामान्य प्रक्रियाबाट नाम छनोट गरेका थिए । ३ उम्मेदवारको नाम पठाउनुपर्ने ठाउँमा ७ जनाभन्दा बढी आकांक्षी देखिएपछि दलहरूले जिल्लाबाट ती नाम जस्ताको तस्तै प्रदेशस्तरको समितिसम्म पठाए । त्यहाँ पनि पहिलो हुने निर्वाचित हुने प्रणालीको निर्वाचनका लागि १ क्षेत्रबाट १ जनाको नाममा सहमति नजुटेपछि एकभन्दा बढीको नाम पठाएको स्रोतले जनाएको छ । तिनै उम्मेदवार हुन आकांक्षीको ठूलो जमात अहिले आफूले टिकट पाउनुपर्ने दाबीसहित केन्द्रीयस्तरका नेताकहाँ पुगेको हो ।
    निर्वाचन आयोगले समानुपातिक र पहिलो हुने निर्वाचित हुने प्रणालीको निर्वाचनका लागि मनोनयन दर्ता गर्न दिएको म्याद आउन लाग्दा आकांक्षीको दौडधुप बढेको छ । आयोगले समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउने मिति असोज २९ र पहिलो हुने निर्वाचित हुने प्रणालीको निर्वाचनका उम्मेदवारको मनोनयन दर्ता मिति कात्तिक ५ लाई तोकेको छ ।
    जिल्लामा आफ्नो पार्टीबाट उम्मेदवारको सिफारिसमा परेका कांग्रेसका सबैजसो आकांक्षी अहिले काठमाडौंमै छन् । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि इलामका अगुवा नेता कुलबहादुर गुरुङसम्मलाई भेटेर आफ्ना लागि ‘लबिङ’ गरिरहेका छन् ।
    कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यसहित सचिवद्वय निरोज खड्गी र खगेन्द्र देवानलगायत पनि अहिले काठमाडौंमै छन् । सभापति कर्माचार्य आउँदो निर्वाचनका लागि कुनै पदमा उम्मेदवार छैनन् । तर, उनी आफूनिकट उम्मेदवारलाई टिकट दिलाउन सक्रिय रहेको उम्मेदवारकै एक आकांक्षीले सुनाए । सचिव देवान क्षेत्र नम्बर २ को २ बाट प्रदेशतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनको उम्मेदवारका रूपमा सिफारिस भएका छन् भने खड्गी समानुपातिकको सिफारिसमा छन् ।
    आउँदो निर्वाचनमा जिल्लाको क्षेत्र १ र २ दुवैबाट  प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने उम्मेदवारको सिफारिसमा परेका नेतात्रय केशव थापा, बेनुपराज प्रसाईं र भेषराज आचार्य पनि केही दिनयता काठमाडौंमै छन् । क्षेत्र १ को २ बाट उम्मेदवारको सिफारिसमा परेका क्षेत्रीय सभापति दुर्गाकुमार बराल, क्षेत्र २ को १ बाट सिफारिसमा परेका डम्बर खड्का, केदार थापा, भूपेन्द्र कट्टेललगायत पनि काठमाडौंमै छन् । उम्मेदवारको सिफारिस सूचीमा रहेका कांग्रेसका नगेन्द्र कुमाल र सुजाता परियारलगायत पनि काठमाडौंमै रहेको स्रोतले जनाएको छ ।
    उम्मेदवारी निश्चित गर्नकै लागि काठमाडौं पुगेका उम्मेदवारका एक आकांक्षीले ठट्टा गर्दै भने, ‘घरबाट आउँदा हामी आकांक्षीहरू एकअर्काबीच सल्लाहबिना एक्लाएक्लै काठमाडौं आएछौं, कोही त एकै दिन आइएछ, काठमाडौंमा झ्वाट्ट सबैसँग भेट हुँदा पो अचम्ममा परियो ।’
    पहिलो हुने निर्वाचित हुने प्रणालीको निर्वाचनका उम्मेदवार मात्र होइन, समानुपातिकतर्फ पार्टीको सिफारिसमा परेका उम्मेदवारसमेत आफ्नो उम्मेदवारी निश्चित गर्न काठमाडौं पुगेका छन् । जिल्लास्थित कांग्रेसबाट समानुपातिकको सूचीमा परेका विष्णु दाहाल र तोयानाथ भट्टराईलगायत काठमाडौं पुगेका हुन् । दाहालले आफू २०६४ साल र ०७० सालका दुवै संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा सिफारिस भए पनि सांसदमा भने नपरेको गुनासो गरिन् । ‘म पटकपटक समानुपातिकको सिफारिसमा परे पनि पार्टीले सांसद बनाएन,’ काठमाडौंमै रहेकी उनले नागरिकसँग भनिन्, ‘यो पटक उही प्रयास दोहो¥याउन काठमाडौं आएकी हुँ ।’ उनले ‘च्यानलमार्फत’ आफ्ना कुरा पार्टीको उच्च तहमा पु¥याइसकेको बताइन् ।
    क्षेत्र १ को २ बाट उम्मेदवारको सिफारिसमा परेका क्षेत्रीय सभापति बरालले आफ्ना कुरा पार्टीको माथिल्लो तहमा पु¥याइसकेको बताए । ‘मैले काठमाडौं आएर पार्टीका नेता रामचन्द्र पौडेल र रामशरण महतलगायतलाई भेटेर आफ्ना कुरा राखें,’ उनले भने, ‘म स्थानीय तहमा पनि अन्तिम समयमा टिकट नपाएर शिकार भएको व्यक्ति भएकाले आउँदो निर्वाचनमा टिकट पाउने आशा छ ।’ उनी स्थानीय तह निर्वाचनमा सूर्याेदय नगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिन जिल्लाबाट सिफारिसमा परेका थिए । नगर प्रमुखका उम्मेदवारकै रूपमा दर्जनौं स्थानमा चुनावी सभामा प्रस्तुत भइसकेपछि कांग्रेसले चुनावको केही दिनमात्र बाँकी रहँदा नगर प्रमुखको टिकट प्रेम चाम्लिङलाई दिएको थियो । बरालले कांग्रेसका केन्द्रीय नेता भेट्न इलामका उम्मेदवारका आकांक्षीको अहिले काठमाडौंमा मेला लागेको सुनाए । काठमाडौंमै रहेका अर्का एक आकांक्षीले भने, ‘सबै ठूला नेताकहाँ हामीजस्ताको मेला लागेको रहेछ । यहाँ आएर पनि नेता भेट्न पाए त हो नि ! कुनै केन्द्रीय नेताको नाकमुख देख्न पाइएको छैन अहिलेसम्म ।’
    कांग्रेस इलामका सचिव खगेन्द्र देवानले आफ्ना कुरा माथिल्लो तहका नेतासामु प्रत्यक्ष सुनाउन राख्न आफू काठमाडौं पुगेको बताए । ‘हुन त पार्टीले कार्यकर्ताको जनआधार, पार्टीमा सक्रियता र आवश्यकता हेरेरै टिकट दिन्छ तर आफ्नो वास्तविकता ठूला नेतालाई प्रत्यक्ष सुनाउन पाए हुन्थ्यो भन्ने त कसलाई लाग्दैन र !,’ उनले भने, ‘कांग्रेसले साबिकका गाविस र नगरपालिकादेखि नै जनताको सिफारिस ल्याएकाले त्यहीअनुसारका उम्मेदवारले टिकट पाउँछन् जस्तो लाग्छ ।’ कांग्रेसले जिल्लाका कुनै पनि क्षेत्रका उम्मेदवारको नाम पार्टीभित्र सर्वसम्मत रूपमा निर्णय गर्न सकेको थिएन ।
    एमालेका उम्मेदवारका आकांक्षी भने काठमाडौं गएका छैनन् । तर, उनीहरूले जिल्लाबाटै आफूनिकट प्रदेश र केन्द्रीय नेतालाई तारन्तार सम्पर्क गरी ‘टिकट मिलाइदिन’ आग्रह गरिरहेको स्रोतले जनाएको छ । एमालेमा उम्मेदवारका आकांक्षीले प्रदेश कमिटीदेखि केन्द्रीय कमिटीका नेतासमेतलाई सम्पर्क गरिरहेको स्रोतले जनाएको छ ।
    ‘इलामका उम्मेदवारका आकांक्षीको रातदिनको फोनले नेताज्यू निकै बिजी हुनुभएको छ,’ एमालेका एक केन्द्रीय नेताका सहयोगीले सुनाए, ‘प्रत्यक्ष आफैं र अरूमार्फत आफूलाई टिकट दिलाइदिन भनसुन गराउनेको संख्या धेरै छ इलामबाट पनि ।’ एमालेले पहिलो हुने निर्वाचित हुने प्रणालीमा प्रतिनिधिसभा सदस्यका लागि जिल्लाका दुवै र प्रदेशसभाका दुई निर्वाचन क्षेत्रका उम्मेदवारको नाममा भने सहमति जुटाइसकेको छ ।     प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र १ मा झलनाथ खनाल र क्षेत्र २ मा सुवासचन्द्र नेम्बाङको नाम सर्वसम्मत छ । क्षेत्र १ को २ मा काजीमान कागते र क्षेत्र २ को १ मा रामबहादुर रानाको नाम पनि सर्वसम्मत भइसकेको छ । अन्य क्षेत्रका उम्मेदवार जिल्लाबाटै टिकटका लागि लबिङमा छन् । ‘काठमाडौं गए वा नगए पनि पार्टीले सिफारिसमा परेका उम्मेदवारको योग्यता, क्षमता, दक्षता, जनआधारलगायतलाई नै आधार बनाएर टिकट दिने हो,’ एमाले प्रचार विभाग प्रमुख उमेश गुरुङले भने, ‘टिकटकै लागि काठमाडौं धाउनुपर्छ भन्ने छैन, पार्टीले जे निर्णय गर्छ न्यायपूर्ण ढंगले नै गर्छ भन्ने लाग्छ ।’ इलाममै रहेका गुरुङ जिल्लाको निर्वाचन क्षेत्र १ को १ बाट पहिलो हुने निर्वाचित हुने प्रणालीको निर्वाचनमा उम्मेदवारको सिफारिसमा छन् ।  
    माओवादी केन्द्रले पार्टीबाट सबैजसो उम्मेदवार सर्वसम्मत रूपमै सिफारिस गरेको छ । तर, भर्खरै एमाले, माओवादीबीच भएको चुनावी तालमेलका कारण जिल्लामा माओवादीको भागमा कुन निर्वाचन क्षेत्र पर्छ भन्नेबारे अझै अन्योल छ । प्रतिनिधिसभाका लागि हुने निर्वाचनमा जिल्लाका दुवै क्षेत्र एमालेलाई छाडेको माओवादीले प्रदेशसभाका ४ मध्ये २ क्षेत्रमा माओवादीका उम्मेदवार उठाउनुपर्ने दाबी गरिरहेको छ ।
    माओवादीका जिल्ला कार्यालय सचिव जीवन शर्माले प्रदेशसभाका २ क्षेत्र पार्टीको भागबन्डामा पर्नसक्ने बताए । ‘उम्मेदवारका लागि त हामीभित्र रस्साकस्सी छैन तर निर्वाचन क्षेत्र आफ्नो भागमा लिन चाहिँ निकै प्रयास गर्नुपरिरहेको छ,’ उनले भने, ‘केन्द्र तहले सबै निर्वाचन क्षेत्रमा भागबन्डा मिलाउने भएकाले इलामका लागि हामीले पार्टीको माथिल्लो तहमै यसका लागि प्रयास गरेका हौं ।’  

प्रकाशित: २९ आश्विन २०७४ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App