७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

मेक्सिको सिटी –मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ। 

अहिले पनि मेक्सिकोका विभिन्न सहरहरुमा यस्ता पूर्व सूचना प्रणाली जडान गरिएको छ। त्यस कार्यक्रमलाई थप विस्तार गरिने भएको जानकारी दिइएको छ। 

मेक्सिकोमा गएको सेप्टेम्बर महिनामा मात्र दुई ठूला भूकम्प गएका थिए । सेप्टेम्बर १९ मा गएको पछिल्लो भूकम्प ७.१ रेक्टर स्केलको थियो । यसबाट ठूलो जनधनको क्षति पुगेको थियो । 

महिना दिनमा नै यसरी पराकम्पनमात्र नभएर दुई ठूला र अलग अलग भूकम्पका कारण यहाँको जनजीवन अत्यन्तै प्रभावित पनि भएको थियो । त्यहाँ भूकम्पको जोखिम रही नै रहेको भन्दै यसबाट आगामी दिनमा हुनसक्ने क्षति कमगर्न पूर्व सूचना प्रणाली जडान गर्न लागिएको बताइएको छ। 

मेक्सिको सिटीका मेयर माइगल एन्जेल मनसेराले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका छन्। उनले विशेषगरी मेक्सिको सिटीमा यो पूर्व सूचना प्रणाली जडान गरिने तयारी गरिएको जानकारी दिएका हुन्। 

उनका अनुसार उक्त सिटीमा एक हजार वटा यस्ता पूर्व सूचना प्रणाली जडान गरिने र तिनीहरु विशेषगरी विद्यालय, भूकम्पीय हिसाबले बढी जोखिमपूर्ण अवस्थामा रहेका स्थानहरुका साथै बाक्लो बस्ती र अग्ला घरहरु रहेका स्थानमा जडान गर्न लागिएको हो। 

मेक्सिोका विभिन्न स्थानमा यसअघि नै पनि यस्तो प्रणाली जडान गरिएको छ। तर थप भूकम्पीय जोखिमका समाचारहरु आइरहेकोले यो प्रणालीलाई थप विस्तार गर्न लागिएको पनि सो समाचारमा जनाइएको छ। 

प्रकाशित: २९ आश्विन २०७४ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App