७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीको स्वास्थ्य जोखिममा

फाइल फाेटाे

काठमाडौं – आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जोखिममा परेको छ । केसी ११ दिनदेखि अनशनमा छन् ।

स्वास्थ्यअवस्था खस्किएपछि आकस्मिक उपचारका लागि तत्कालै आवश्यक पर्नसक्ने स्वास्थ्य उपकरण र औषधि तयार गरिएको छैन । सहयोगी र विद्यार्थीले अस्पताल प्रशासनसँग आपत्कालका लागि आवश्यक उपकरण माग गरे पनि सुनुवाइ नभएको बताएका छन्।

जतिखेरै पनि मुटु बन्द हुनसक्ने र अन्य अंग सञ्चालन समेत जोखिम पर्नसक्ने भन्दै उनीहरूले ती अंग पुनः सञ्चालनमा सहयोग गर्ने उपकरण ‘डिसी सक’ र  कृत्रिम श्वासप्रश्वास यन्त्र ’भेन्टिलेटर’ व्यवस्था गर्नुपर्ने बताएका छन् ।
डा. केसीले चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने प्रमुख मागसहित १९ असोजमा अनशन थालेका थिए । विधेयक प्रवेश नै नगराई व्यवस्थापिका संसद्को आयु सकिएपछि अनशन अन्त्य अनिश्चित बनेको छ । ‘पटकपटकको अनशनले उहाँ धेरै गलिसक्नुभएको छ, डाक्टरहरूले पनि यसपटक धेरै दिन लम्ब्याउन सक्नुहुन्न भनेका छन्,’ डा.केसीका भाइ किशोरले भने । उपचारमा संलग्न चिकित्सकका अनुसार रगतमा क्याल्सियमको मात्रा निकै नै न्यून देखिएको छ । क्याल्सियमले मुटु सञ्चालनमा सघाउँछ । यसको कमीले अचानक मुटुको धडकन बन्द हुनसक्ने जोखिम रहेको चिकित्सक बताउँछन्। 

शरीरमा अक्सिजनको मात्रा निरन्तर कम हुन थालेपछि उनलाई २४सै घण्टा अक्सिजन दिइएको छ । एकैछिन मात्र पनि अक्सिजन माक्स निकाल्दा श्वासप्रश्वासमा समस्या देखिन थालिसकेको छ।

सुरुदेखि देखिएको छाती तथा टाउको दुख्ने, रिँगटा चल्ने, मांशपेशी बाउँडिने समस्या खप्नै नसक्ने अवस्थामा पुगेको चिकित्सक बताउँछन् । ‘अनुहार हेर्दा दुखाइ बढेको थाहा पाइन्छ,’ एक चिकित्सकले भने।

डा. केसीको रक्तचाप पनि कम भइरहेको छ । पछिल्लो समय केही बेर बोल्दा पनि रिँगटा लाग्ने र पसिना आउने समस्या देखिएको छ । रक्तचापसँगै रगतमा माइक्रोइलिमेन्टससमेत निरन्तर घटिरहेकाले प्रमुख अंगले जुनसुकै समय काम गर्न छोड्ने जोखिम रहेको चिकित्सक बताउँछन्।

आइतबारको रिपोर्टअनुसार शरीरमा सेतो रक्तकोशको मात्रा तीन हजारभन्दा कम भइसकेको छ । यसले संक्रमणको जोखिम बढाउँछ । संक्रमणको जोखिम कम होस् भनेर डा. केसीसँग अत्यन्त जरुरी बाहेकका भेटघाटमा कमी गरिएको उनी निकटका चिकित्सक डा. अभिशेक सिंहले बताए।

अघिल्लो अनशनदेखि सुरु भएको ‘ग्यास्ट्राइटिस’ को समस्या पनि निकै बढ्दै गएको र पेटको माथिल्लो भागको दुखाइसमेत बढिरहेको छ । तेस्रो दिनदेखि नै पिसाबमा किटोन बडी पोजेटिभ देखिएको छ । चिकित्सकका अनुसार शरीरमा ग्लुकोज, फ्याट (बोसो) टुक्रिएर मांसपेशी टुक्रिन थालेको छ । यसका कारण पाखुरा र गोडाको मांसपेशी दुब्लो देखिन थालेको चिकित्सक बताउँछन् ।

सहायक मागमा वार्ता सकारात्मक 
प्रमुख मागको रुपमा रहेको चिकित्सा शिक्षा विधेयकबाहेकका अन्य मागमा सरकार र डा. गोविन्द केसी पक्ष सहमतिनजिक पुगेका छन् । प्रमुख मागको रुपमा रहेको विधेयक पारित नगरी संसद्को आयु शनिबार सकिएको छ । 
मुख्य मागमा उच्च तहबाटै समाधान खोज्ने प्रयास भइरहेको आश्वासन सरकारी टोलीले दिएपछि शनिबारदेखि वार्ता जारी छ । सरकारले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नगेन्द्र उपाध्यायको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । टोलीमा स्वास्थ्य सचिव डा. किरण रेग्मी र निमित्त शिक्षा सचिव डिल्लीराम रिमाल सदस्य छन् । 
डा. केसीका तर्फबाट डा. वाइपी सिंह, डा. अभिशेक सिंह, डा.कस्चेभ श्रेष्ठ र अधिवक्त ओम अर्याल छन् । स्रोतका अनुसार एमबिबिएस तहमा सरकारले तोकेभन्दा बढी शुल्क लिने काठमाडौं विश्वविद्यालयको निर्णय सच्याउने पहल गर्न सरकार सकारात्मक भएको छ । यसबारे सरकारी वार्ताटोलीले काठमाडौं विश्वविद्यालयका डिन डा. राजेन्द्र कोजुलाई बोलाएर सोधपुछ गरेको छ। 

केसीले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिवि पदाधिकारीलाई समेत बर्खास्त गर्न माग गरेका छन् । यस विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको आयोगले छानबिन गर्ने भएको छ । 
डा. केसीको अर्को माग कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन सुरु गर्नेगरी बजेट तथा अन्य व्यवस्था गर्नसमेत सरकार सकारात्मक भएको छ । स्वास्थ्य मन्त्रालयले पठनपाठन सञ्चालनकै लागि कार्यदल बनाएर काम गरिरहेको भन्दै हाल छुट्याइएकोमा नपुग बजेट थप्न तयार भएको छ। 

प्रकाशित: ३० आश्विन २०७४ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App