७ वैशाख २०८१ शुक्रबार
समाज

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउन १६ लाख

चिट चोराउन प्रयोग गरिएको डिभाइस।

काठमाडौं – चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तह (एमबिबिएस) प्रवेश परीक्षामा चिट चोराउन नेपाली र भारतीय गिरोहले प्रतिविद्यार्थी १६ लाख रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

शनिबार काठमाडौंमा सञ्चालित प्रवेश परीक्षामा सहभागी विद्यार्थीलाई उत्तीर्ण गराउन नेपाली र भारतीय गिरोहले आधुनिक उपकरण दिएर चिट चोराउँदै गर्दा ४ विद्यार्थीसहित १६ जना पक्राउ परेका थिए।

पक्राउ मुख्य अभियुक्तहरू भारतीय चिकित्सक शौरभकुमार र महाराजगञ्ज मेडिकल क्याम्पसमा रेडियोलोजी दोस्रो वर्षमा अध्ययनरत भारतीय सुवेश देव र नेपाली सैलेशकुमार झा, आशुतोषकुमार झा, नवराज निरौला गौतमले एमबिबिएस पढ्ने तयारीमा रहेका विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराइदिने भन्दै प्रतिविद्यार्थी १६ लाख रुपैयाँ शुल्क तोकेका थिए।

भारतमै कन्सल्टेन्सी चलाएर बसेका शौरभकुमारले चिकित्सक बन्न लालायित विद्यार्थीलाई सेटिङमा नेपाल पठाउने गरेका थिए भने सुवेशले नेपालमा सहजीकरण गर्थे। 

नेपालमा कन्सल्टेन्सी चलाएर बसेका निरौलासहित तीनजनाले प्रवेश परीक्षाको प्रश्नपत्र आउट गराउने, नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने र चिट चोर्न आधुनिक उपकरण उपलब्ध गराउने गरेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए।

‘भारतीय विद्यार्थीबाट १० लाख भारु लिएर प्रवेश परीक्षामा पास गराउन उनीहरूलाई नेपाल ल्याउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसएसपी लोहनीले भने, ‘नेपाली विद्यार्थीसँग पाँच लाखसम्म लिएको देखिएको छ।’

चिट चोराउनेलाई किर्ते र साइबर अपराध
प्रहरीले शनिबार पक्राउ गरेका १६ जनामध्ये ४ विद्यार्थीलाई सरकारी साक्षी बनाएर बाँकीलाई साइबर अपराध र किर्ते अभियोगमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ ।
महाशाखाले १२ जनाविरुद्ध आइतबार न्यायिक हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा पेस गरेकोमा पहिलो चरणमा पाँच दिनको म्याद पाएको छ।

प्रहरीले सुवीर देव शौरभकुमार, अजय यादव, हीरेन्द्र शर्मा, मुकेश राय, समीरकुमार झा, देवेसकुमार झा र नवराज निरौला गौतमलाई साइबर अपराध अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। 

प्रहरीले नक्कली परीक्षार्थी र चिट चोराउने ४ विद्यार्थीलाई पक्राउ गरेको सूचना पाएर समीरकुमार र देवेस स्थलमार्गबाट भागेर सिन्धुली पुगेका थिए । यी दुवै शनिबार बेलुका सिन्धुलीबाट पक्राउ परेका थिए।

ज्ञानेन्द्र ठाकुर र सञ्जयकुमार यादवलाई साइबर अपराधसँगै किर्ते अभियोगसमेत लगाइएको छ । एसएसपी लोहनीका अनुसार यी दुबैले चिट चोराउन वायरलेस डिभाइस प्रयोग गराएसँगै एमबिबिएस प्रवेश परीक्षाका परीक्षार्थी पप्पु यादवको नागरिकता किर्ते गरेका थिए । ज्ञानेन्द्र पप्पुको नागरिकतामा आफ्नो तस्बिर टाँसेर प्रवेश परीक्षा दिन जाँदा पक्राउ परेका थिए। 

चार विद्यार्थी सरकारी साक्षी
वायरलेस उपकरण प्रयोग गरी चिट चोरेर एमबिबिएसको प्रवेश परीक्षा पास गर्ने प्रयास गर्दागर्दै जोरपाटीको नामी कजेल परीक्षा केन्द्र रहेका राजीवकुमार सिंह, बौद्धको अरुणिमा माध्यामिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका सिखा झा, राहुल झा र सक्षमराज भण्डारीलाई प्रहरीले अभियुक्त नबनाई सरकारी साक्षी बनाएको छ।

परीक्षा हलमा प्रवेश गरेपछि प्रश्नपत्र फोटो खिचेर भाइबरमार्फत बाहिर पठाउन विद्यार्थी संलग्न रहेको खुलेको छ । चिट चोरेबापत सार्वजनिक अपराध र प्रश्नपत्र आउट गराएबापत साइबर अपराध आकर्षित हुन्छ। 

अनुसन्धानमा परीक्षार्थीका अभिभावकले जानाजान आफ्ना सन्तानलाई चिट चोराएर भए पनि एमबिबिएस पढाउन पैसा खर्च गरेको खुले पनि विद्यार्थीको भविष्य हेरेर उनीहरूलाई सरकारी साक्षी बनाएको अनुसन्धानमा संलग्न अधिकारीले जानकारी दिए । प्रहरीले चिट चोर्दाचोर्दै पक्राउ परेका चारै विद्यार्थीका अभिभावकलाई बोलाएर सचेत गराउने तयारी गरेको छ। 

संस्थानका अनुसार उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा अन्य ८ जना नक्कली परिक्षार्थी फेला परेका थिए । उनीहरुलाई परीक्षा केन्द्रबाट निष्कासन गरिएको थियो । तीन जना भने इलेक्ट्रोनिक डिभाइस सेटसहित पक्राउ परेका थिए। 

परीक्षा स्थगित 
शनिबार काठमाडौं उपत्यकाका १७ वटा क्याम्पसमा सञ्चालित प्रवेश परीक्षाको प्रश्नपत्र परीक्षा चल्दाचल्दै बाहिरिएको र केही परीक्षार्थीले इलेक्ट्रोनिक डिभाइसमार्फत चिट चोरेर परीक्षा दिएको पुष्टि भएपछि संस्थानले सो परीक्षा रद्द गरेको छ । 
संस्थानले आइतबार सूचना निकालेर ८ जना नक्कली परीक्षार्थी र चिट चोर्ने ३ जना गरी ११ जना अनुसन्धानको दायरामा रहेकाले शनिबार लिइएको परीक्षाको नतिजा प्रकाशन स्थगित गरिएको जानकारी दिएको छ।

नक्कली चिकित्सक खोजी सुस्त
एमबिबिएस र एमडी प्रवेश परीक्षा र नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा नक्कली विद्यार्थी राखेर परीक्षा दिन लगाउने र परीक्षा अगाडि नै प्रश्नपत्र बाहिर ल्याएर उत्तीर्ण गराउने गिरोह सक्रिय देखिएपछि प्रहरीले २०७२ मा अनुसन्धान अगाडि बढाएको थियो। 

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको र अध्ययन नै नगरे पनि अर्काको नामको एनएमसी नम्बर प्रयोग गरेर चिकित्सक हुँ भन्दै बिरामी जाँच गरेको आशंकामा अनुसन्धान अगाडि बढाउँदा एक हजार शंकास्पद चिकित्सकको सूची बनेको थियो।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिल मिलेर २०७२ बाट मेडिकल काउन्सिलको प्रवेश परीक्षामा पटकपटक अनुत्तीर्ण भएका र दर्जनौं पटकको प्रयासमा पास भएका १ सय २५ जनाको शैक्षिक प्रमाणपत्र अध्ययन गरी २५ जनालाई पक्राउ गरेको थियो। 

दोस्रो चरणमा एक हजार शैक्षिक प्रमाणपत्रको अध्ययन गर्दा १ सय ९ जनाको नक्कली रहेको खुल्यो, जसमध्ये ४६ जना पक्राउ परे । अनुसन्धानमा एक सय ४३ जना नक्कली चिकित्सक रहेको खुल्यो, जसमध्ये ५६ जना पक्राउ परे भने ७८ फरार भए।

पक्राउ परेका अधिकांश चिकित्सकले अदालतबाट सफाइ पाएपछि ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेकाको खोजीक्रम स्थगित ग¥यो । नक्कली शैक्षिक प्रमाणपत्र रहेको पुष्टि भएका केही चिकित्सक बलियो राजनीतिक संरक्षणमा रहेकाले समेत ब्युरो पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन हच्कियो।
ब्युरोले नक्कली चिकित्सकसँगै नक्कली पाइलट र नक्कली इन्जिनियरको समेत खोजी सुरु गरेको थियो । तर एक वर्षदेखि नक्कली चिकित्सक, पाइलट र इन्जिनियरको खोजी काम ठप्प छ । 

 

प्रकाशित: ३० आश्विन २०७४ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App