८ वैशाख २०८१ शनिबार
अर्थ

भीडले त्रिभुवन विमानस्थल अस्तव्यस्त

त्रिभुवन विमानस्थलकाे अान्तरिक टर्मिनलमा यात्रुकाे भीड । तस्बिर: नागरिक

काठमाडौं – केही दिनयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाज तथा यात्रु चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनलाई हम्मे परेको छ। 

विमानस्थलले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर जहाज उडान–अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ । नियमित उडान तालिकाअनुसार गन्तव्य जानुपर्ने जहाजको चाप विमानस्थल कार्यालयले व्यवस्थापन गर्न नसक्नु र सँगैसँगै मौसम खराब भइदिँदा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्। 

त्रिभुवन विमानस्थलका अनुसार दैनिक अधिकतम ३ सयसम्म उडान–अवतरण क्षमता विमानस्थलको छ । तर, केही दिनअघि ५ सयभन्दा बढी उडान–अवतरण हुन पुगेको थियो जसलाई व्यवस्थापन गर्न विमानस्थललाई हम्मे भएको थियो । ६ वर्षअघि एकै दिन ४ सय ३६ उडान–अवतरण भएको रेकर्ड विमानस्थलसँग छ। 

‘केही दिनयता आन्तरिक उडान डेढ घन्टासम्म डिले भइरहेका छन्,’ त्रिभुवन विमानस्थलका प्रवक्ता तथा विमानस्थल सञ्चालन निर्देशक प्रेमनाथ ठाकुरले आइतबार नागरिकसँग भने, ‘त्यसमाथि मौसम खराबीले पनि समस्या पारेको छ । फेरि यही बेला ट्याक्सी वे मर्मत गर्नुपरेका कारण थप गाह्रो भएको हो । जहाज पार्किङ क्षेत्र अभाव त पहिलेदेखिकै समस्या हो ।’

आइतबार बिहानैदेखि काठमाडौं उपत्यका वरिपरि हुस्सु लागेपछि त्रिभुवन विमानस्थलको उडान–अवतरण प्रभावित हुन पुगेको ठाकुरले जानकारी दिए । मौसम खराब हुन जाँदा ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर) उडान बन्द गरी ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) उडान गर्नुपरेपछि बिहानैदेखि अधिकांश उडान डिले भएको उनले बताए । 
‘उडान डिले हुनुमा विमानस्थल व्यवस्थापनको मात्र दोष छैन,’ ठाकुरले भने, ‘वायुसेवा कम्पनीले जहाज थपेको थप्यै छन् र सँगसँगै उडान संख्या पनि त्यही अनुपातमा बढिरहेको छ । त्यसमाथि विगतमा पाँच उडान गर्ने वायुसेवा अहिले १५ उडान गरिरहेका छन् । अनि डिले हुनु स्वाभाविक हो । सीमित स्रोत साधनभित्र रहेर काम गर्नुपर्ने वाध्यता हामीसँग छ ।’
यता वायुसेवा कम्पनीहरू भने समयक्रम अनुसार विमानस्थल सुधार र विस्तार नगर्ने व्यवस्थापनकै कारण वायुसेवा र यात्रुले दुःख पाएको दाबी गर्छन् । ‘विमानस्थल अत्यन्तै साँघुरो भइसकेको छ । अधिकतम दुई सय उडान–अवतरण क्षमता भएको विमानस्थलमा दिनहुँ पाँच सय उडान–अवतरण हुन थालेको छ,’ एक वायुसेवाका उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, ‘जब यात्रु र जहाजको चाप बढ्छ, तब विमानस्थल व्यवस्थापन ट्याक्सी वे मर्मत गर्न थाल्छ । यसैलाई अव्यवस्थित व्यवस्थापन भनिन्छ।’

उनका अनुसार पछिल्लो पटक यती एयरलाइन्सले ७२ सिट क्षमतायुक्त दुईथान ‘एटिआर७२–५००’, बुद्ध एयरले ७२ सिटे एकथान एटिआर७२–५००, श्री एयरलाइन्सले ५० सिटे ‘सिआरजे–२००’ दुईथान र ७० सिटे एकथान सिआरजे–७०० तथा समिट एयरले १९ सिटे एकथान ‘एलइटी४१०’ सिरिजको जहाज थपेका छन्। 

अब यतीसँग सात, बुद्धसँग नौ, श्रीसँग तीन, तारासँग सात, सिम्रिक एयरसँग दुई, समिटसँग तीन गरी करिब तीन दर्जन जहाज छन् जसले नियमित तालिकाअनुसार काठमाडौंबाट व्यावसायिक उडान गरिरहेका छन् । अहिले प्रमुख पर्यटक मौसम भएका कारण काठमाडौंबाट लुक्ला, पोखरा र भरतपुर जाने पर्यटक बढेका छन् । दसैं र तिहारको स्वदेशी यात्रु चाप झन् बढिरहेको छ। 

मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित उडान केही कम गर्न सम्बद्ध वायुसेवालाई आग्रह गरे पनि कसैले घटाइसकेका भने छैनन् ।
‘सबै वायुसेवा कम्पनीका एक–एक ठूला जहाजलाई पोखरा, भैरहवा, नेपालगन्ज वा विराटनगर विमानस्थलमा आधार गर्न आग्रह गरेका छौं,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘यति गर्न सके त्रिभुवन विमानस्थलमा चाप कम गर्न सकिन्थ्यो।’

वायुसेवा कम्पनीका अनुसार मौसम खराब भएपछि जबर्जस्ती जहाज उडाउन मिल्दैन । बाध्य भएर मौसम खुल्ने पर्खाइमा बस्नुपर्छ । जब मौसम खुल्छ, त्यसपछि बल्ल उडान गर्नुपर्छ । यसका कारण बिहानदेखिको उडानचाप विस्तारै धकेलिँदै दिउँसो र रातिसम्म पुग्ने गर्छ । खराब मौसमका कारण जहाज डिले हुँदा यात्रुलाई मात्र नभई वायुसेवालाई पनि समस्या परिरहेको छ।  

विमानस्थलका अनुसार भिएफआर र आइएफआर दुई किसिमबाट उडान–अवतरण हुने नियम छ । मौसम खराब भएका बेला भिएफआर उडान–अवतरण गर्न नसके आइएफआर उडान गर्न सकिन्छ तर यसका लागि काठमाडौं विमानस्थलमा २ हजार ८ सय मिटर दृश्यांश (भिजिबिलिटी) हुनुपर्छ भने अन्य विमानस्थलमा न्यूनतम २ हजारदेखि २ हजार ५ सय मिटर भिजिबिलिटी हुनुपर्छ । भिएफआर उडानका लागि न्यूनतम ५ हजार मिटर भिजिबिलिटी चाहिन्छ । काठमाडौंबाहेक विराटनगर, सिमरा, भैरहवा र नेपालगन्ज विमानस्थलमा आइएफआर उडान गर्न मिल्ने सुविधा छ ।
त्रिभुवन विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन् । आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ ।  

प्रकाशित: ३० आश्विन २०७४ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App