६ वैशाख २०८१ बिहीबार
अन्य

मखमली सपना !

अरुलाई तिहार नआउँदै भक्तपुर गुन्डुका किसानलाई भने तिहार लागिसक्छ । हरेक वर्ष उनीहरू भदौदेखि नै भाइटीकाका लागि मखमलीको माला तयार पार्न जुट्छन् । 

माला उनिरहेका किसानले मालासँगै आफ्ना मखमली सपना पनि गाँस्छन् । अचेल गुन्डुका किसान फूल टिप्न र माला गाँस्न व्यस्त छन् । कोही भने बजारीकरणमा लागेका छन् । तिहारअगावै उनीहरूका घरमा मालाका भारी छन् । गुन्डुका महिलाका मुहारमा आत्मनिर्भरताको खुसी समेत झल्केको छ । 

माला उनिरहेका किसानले मालासँगै आफ्ना मखमली सपना पनि गाँस्छन् । अचेल गुन्डुका किसान फूल टिप्न र माला गाँस्न व्यस्त छन् । कोही भने बजारीकरणमा लागेका छन् । तिहारअगावै उनीहरूका घरमा मालाका भारी छन् । गुन्डुका महिलाका मुहारमा आत्मनिर्भरताको खुसी समेत झल्केको छ । 

गुन्डुकी स्थानीय कमला बस्नेतले दुई रोपनीमा मखमली खेती गरेकी छन् । मखमलीबाट हुने आम्दानीले उनको आर्थिक अवस्था निकै मजबुत भएको छ । नुवाकोट माइती भएकी उनी मखमलीको माला बिक्री गरिसकेर माइत जाने तयारीमा छन् । 

आफ्नो बारीमा फूलेको मखमलीबाट बस्नेतले दुई हजार पाँच सय थान माला तयार पारिसकेकी छन् । यसपालि प्रतिगोटा २० देखि २५ रुपैयाँमा माला बिक्ने उनको अनुमान छ । केही थान माला भने उनले साँचेर राखेकी छन् । ‘भाइका  लागि केही माला लैजानुपर्छ,’ उनले भनिन्, ‘मेरा लागि ती माला अमूल्य छन् ।’ 

भक्तपुरकै डोकाथलीकी मेनुका बस्नेतले पनि एक रोपनीमा मखमली लगाएकी हुन् । तिहारका लागि मखमली फूलाउन उनले चैतदेखि नै कडा मेहनत गरेकी हुन् । भदौबाट मखमली फूल्न थालेको हो । जग्गा भाडामा लिएर मखमली खेती गरेकी उनले आठ वर्षदेखि यसैलाई व्यवसाय बनाएकी छन् । 

मखमली फूलले नै उनलाई आत्मनिर्भर बनाएको छ । मखमली बिक्री गरेको रकमले उनलाई आफ्ना रहर पूरा गर्न सजिलो भएको छ । ‘पोहोर  तिलहरी बनाएँ,’ उनी मखमली माला उन्दै भनिन्, ‘यसपटक नौगेडी बनाउँछु ।’ 
उनलाई मात्र होइन, गाउँका धेरै महिलालाई मखमली फूलखेतीले आत्मनिर्भर बनाएको छ । फूलखेतीबाटै उनीहरूले सामान्य घरखर्च चलाउन पाएका छन् । दसैँ–तिहारजस्ता पर्व मनाउने खर्च जुटाउन पाएका छन् । 

चारआना बारीमा मखमलीखेती गरेकी प्रमिला सापकोटाको रहर पनि फूलखेतीले नै पूरा गरेको छ । उनको  बारीमा मखमली फूल्दै छ । ‘तिहार आउन लागिसक्यो, यसपालि सबै फूलको माला उन्न भ्याइन्नजस्तो छ,’ सापकोटाले भनिन् । 
आधा रोपनीमा मखमली रोपेकी सविना नगरकोटीका पिँढी मखमली मालाले भरिएका छन् । उनी दिनभर पिँढीमा बसेर माला उन्छिन् र पालीमा झुन्ड्याउँछिन् । घरको माथिल्लो कोठामा पनि माला थन्क्याएकी छन् । ‘अहिले  त जता हेरे पनि फूल र माला,’ उनले भनिन्, ‘यही मालाले हामीलाई खुसी दिन्छ ।’ 

गाउँमा सबैजसोको फूलखेती भएकाले माला उन्ने खेताला पाउन मुस्किल भएको उनले बताइन् । यहाँबाट मखमलीका माला तिहारका लागि विराटनगर, पोखरालगायत स्थानमा समेत बिक्रीका लागि पठाइन्छ । पहिले गुन्डु क्षेत्रमा मात्र मखमली खेती हुने गरेकामा अहिले भने कटुन्जे, सूर्यविनायक, लुभु, झौखेललगायत स्थानमा पनि फूलखेती फैलिएको छ । गुन्डुका छोरीहरू बिहेपछि जता जान्छन्, उतै मखमली रोप्न थालेको गुन्डुवासी सुनाउँछन् । 

प्रकाशित: ३० आश्विन २०७४ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App